बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
सम्झनाका कुइनेटाहरूबाट

सूर्य कन्दङवा र बुद्धको प्रतिमा

शनिबार, ३० भदौ २०८०, १३ : ३४
शनिबार, ३० भदौ २०८०

ऊ बाँसझ्याङका फुर्कामा टाँड बनाएर बास बस्छ रे । ऊ वैरीका आँखा छल्दै भदौरे भेल उर्लिएको तमोर नदीमा झ्वाम्मै हाम्फालेर उम्किन्छ रे । सात दिनको बाटो एकै दिनमा हिँडिभ्याउँछ रे ऊ । ऊ जादुगरी काइदाले अलप हुन्छ रे, दस जना हतियारधारी पुलिसको घेरा एक्लै तोडेर । ज्या है, उसको त हातै पो काटियो रे ! हात मात्र कहाँ र, उसको त लौ टाउकै पो गिँडियो रे ! चुलबुले र खुलदुले मानसिकता भएका किशोरकिशोरीको कलिलो भावुकता भरिएको संसारमा यसरी ऊ तरुणवयमैै रोमाञ्चक किंवदन्तीको पात्र बनेको थियो । त्यो प्रजातन्त्रको पहेँलो पगरी गुथेको पञ्चायत व्यवस्थाको पहिलो दशकतिरको कुरा हो । अत्याचारी व्यवस्था उसको अस्तित्व नै मेटिदिन जति लागिपरेको थियो, उसको रहस्य र पराक्रमले भरिपूर्ण पहिचान जनमानसमा चैते हुरीको डढेलोझैँ त्यति नै फिजिँदै र झ्याङ्गिँदै गएको थियो । को हो त्यो किंवदन्तीको पात्र ? ऊ कहाँको हो र उसको कुन चरित्र र कुन कृत्यले उसलाई बनाइदियो त्यस्तो अद्भुत पात्र ? 

जीवनका भिन्नभिन्न कालखण्डमा जन्म र कर्मको प्रकृति हेरी भिन्नभिन्न नामले ऊ चिनियो । सूर्य सुब्बा, सूर्य सर, कमरेड सूर्य र माननीय सूर्यप्रसाद कन्दङवा । तेह्रथुम जिल्लाको आठराई भेगको विद्रोही माटोले जन्माएको इतिहासको एक अनुकरणीय र प्रेरक पात्र ऊ– सूर्य कन्दङवा । जुन सालमा स्वतन्त्रताका अग्रदूतहरू गङ्गालाल र धर्मभक्त, शुक्रराज र दशरथ चन्द जहानियाँ राणाशाहीका क्रूर हातबाट मारिएका थिए, त्यही १९९७ सालमा उसले नेपाली धरतीको माटो छोएको थियो । र आफ्नो भागमा केही नपारीकन, आफूले अरूलाई दिन सकिने जति सबै कुरा दिएर ऊ २०५६ सालमा यस धरतीबाट सदाका लागि बिदा भयो । सूर्य सुब्बा, सूर्य सर, कामरेड सूर्य र माननीय सूर्यप्रसाद कन्दङवा ।

कहाँसम्म भने सूर्यले कक्षा पाँचमा पढ्दापढ्दै महिनावारी फिस तिर्न नसकेर तुरुक्क आँसु चुहाउँदै विद्यालय छाड्न विवश हुनुपर्‍यो । तर उनको नामको पछाडि उनका बाबुले अप्रिय नासोका रूपमा छाडिगएको ‘सुब्बा’को पुच्छर भने झुन्डिएकै थियो– सूर्य सुब्बा ! 

सूर्य कन्दङवा हुँदा खाने परिवारमा होइन, निकै नै हुनेखाने परिवारमा जन्मिएका थिए । फौदराज सुब्बा उनका बाबु तिनताकका जङ्गी जिम्मावाल सुब्बा थिए । त्यस जमानाको जिम्मावाल भनेको गाउँको राजा । जिम्मावालका हातमा बेठबेगारको नाउँमा रैती दुनियाँलई मनपरीसँग निचोरेर खाने रीतिथितिको निर्मम सनासो थियो । निमुखो रैतीले वर्षको एक साता उसलाई सित्तँैमा आफ्नो पसिना अर्पण गर्नुपर्थ्यो । त्यति मात्र कहाँ र ? चाडपर्वमा ढोगभेट गर्न जाँदा उसका पाउमा कोसेलीपात र नजरानासमेत  चढाउनुपर्थ्यो । जिम्मावालका अगाडि उसको रैती किलामा बाँधिएको पशु जस्तै थियो, जसलाई जसरी चाह्यो उसले त्यसरी नै कजाउन सक्थ्यो । देशको राजधानीमा हुकुमी राणाशासन ढलेको धेरै वर्ष भइसकेको थियो । तर गाउँमा श्री ३ महाराजहरूको काँचो वायु भने अझै काँचै थियो । त्यो कतै मुखियाका भेषमा जीवित थियो, कतै जिम्मावाल सुब्बाका भेषमा ।

तर बागी सूर्यले बाबुबाजेको बिँडो थामेनन् । उसो त सुब्बा फौदराज अलि उदार मनका थिए । उनले आफ्नै जीवनकालमा बेठबेगारको पैतृक रीतिलाई निकै नै कमजोर तुल्याइसकेका थिए । उसमाथि सूर्य आठ वर्षका छँदा उनका बाबु जिम्मावाल सुब्बा साहेबको चोला उठिहाल्यो । परिवारको सगर थामिदिने जेठोबाठो नभएपछि सूर्यका परिवारको आर्थिक अवस्था पूरै ओरालो लाग्यो । अब उनीसँग न हिङ बाँकी रह्यो, न त हिङ बाँधेकोे टालो नै । कहाँसम्म भने सूर्यले कक्षा पाँचमा पढ्दापढ्दै महिनावारी फिस तिर्न नसकेर तुरुक्क आँसु चुहाउँदै विद्यालय छाड्न विवश हुनुपर्‍यो । तर उनको नामको पछाडि उनका बाबुले अप्रिय नासोका रूपमा छाडिगएको ‘सुब्बा’को पुच्छर भने झुन्डिएकै थियो– सूर्य सुब्बा ! 

मेधावी सूर्य पढाइमा छुरा थिए । जिम्मावाल सुब्बाका छोराले फिस तिर्ने पैसा नहुनाको दुःखले पढाइ छाडेको कुरा कतिपय मनकारी सज्जनहरूका आँखामा पर्‍यो । त्यसैले तिनले बल गरेर उनको फिस मिनाहा गराइदिए । उनले आफ्ना कलिला हातले अनौ समातेर बिहानबेलुका आफ्नो हलो आफैँ जोते, आफ्नो कोदालो आफैँ खने र आफ्नो डोको आफैँ बोके । अनि हातमा किताबकापी बोकेर ज्ञान र जुक्तिको खोजीमा दिउँसो दिउँसो विद्यालय धाइरहे । जिम्मावाल फौजदार सुब्बाका एक मात्र सन्तान– सूर्य सुब्बा !

तेह्रथुमको आठराईलाई पायक पर्ने दुरीमा रहेको दार्जिलिङको नयाँ हावाले राम्रैसँग छोएको थियो । रैथाने मुखिया र सुब्बाका छोराहरू विद्या आर्जन गर्न उता दार्जिलिङ धाउँथे । अनि उताबाट नागरिक हकको चेतना बोकेर मास्टरहरू यता आठराई आउँथे । यसरी दसगजापारिबाट न्यायको नवीन चेतना आठराईमा भित्रियो, समानताको सन्देश विद्यालयबाट गाउँगाउँसम्म फिँजियो । यसबीच सीएम कन्दङवा, बल्लभमणि दाहाल र महेश्वरमान श्रेष्ठहरू सत्ताका जल्लादी आँखा छलेर सुलसुले शैलीमा मार्क्सवादको विद्रोही चेतनाका तरङ्गहरू यताउति छर्ने काम गरिरहेका थिए । त्यो चेतनाले हाम्रो किंवदन्तीको कौतुकको पात्रलाई छोयो र त्यसले उसलाई भित्रैदेखि हल्लाइदियो ।

गरिबीको पीडा कस्तो हुन्छ, आफ्नैै जीवनको अनुभवबाट सूर्यलाई थाहा भइसकेको थियो । र उनलाई थाहा भइसकेको थियो, अभावमा बग्ने आँसुको स्वाद कस्तो हुन्छ अनि अपमानले हृदयमा उब्जाउने क्लेशकारक हीन भावना ? हो, त्यसको अनुभूति पनि त उनलाई राम्रैसँग भइसकेको थियो । दुःखीले दुःखमा दुःखीलाई नै साथी बनाउँछ र दुःखीले दुःखीलाई साथी बनाउन उसको दुःखमा साथ दिने यत्न गर्छ । नभन्दै सूर्यले त्यसै गरे । उनले पितापुर्र्खादेखि कज्याई आएका रैथानेहरूलाई बेठबेगारको साङ्लोबाट मुक्त गरिदिए । अनि उनले आफैँ अघि सरेर सुरु गरे– बेठ–बेगर र कोसेलीपात, नजरानाविरोधी आन्दोलन । उनका काका थिए, एक जना नरबहादुर लिम्बू । उनी थिए मै हुँ भन्ने मिजासका जिम्मावाल सुब्बा । सूर्यले ती मै हुँ भन्नेको मेख मार्न उनको जिम्मावाले हुकुमविरुद्ध धावा बोले । अनि सँगसँगै सुरु भयो, भूपति भइखाएका मुखिया र सुब्बाहरूविरुद्धको मोहियानी हक आन्दोलन ।

आठराईको सेरोफेरोमा चेतनाको आगो बल्यो । आगो झोस्ने राँको सूर्यका हातमा थियो र उनको वरिपरि झुम्मिएको थियो, न्यायका पक्षपाती मतवाली र तागाधारी युवाहरूको झुन्ड । उनलाई सलाई दिने सीएम कन्दङवा, बल्लभमणि दाहाल, महेश्वरमान श्रेष्ठहरू नेपथ्यमा थिए । अनि पूर्र्व कोसी नाम गरेको लोसेलोसे पाराको कम्युनिस्ट सङ्गठनले पनि उनका विद्रोही पाइलामा धेरथोर ऊर्जा भरिदिएको थियो ।

जहाँ गरिब र सुकुम्बासी किसान बालीमा ठगिएको छ, हुल बाँधेर त्यहाँ बाली काट्न सूर्य समूह हाजिर हुन्छ ।

मुखिया र जिम्मावाल, भूपति र जालीफटाहाको सातो खाने सूर्य समूहको शैली आफ्नै प्रकारको थियो । जोताहालाई मोहियानी भाग नदिने कुटिल चालमा भूपतिहरू तिनलाई हलीबाट भकाभक निकाला गर्न थाले । त्यसको प्रतिकारमा सूर्य समूहका योद्धाहरूले के गरे ? यार, तिनले त तमासै गरे । एक दिन मोहियानी खोसिएको एक हल गोरु लाग्ने जग्गामा तिनले चौँतीस हल गोरु नारे । हलीहरूमाझ कत्रो एकता छ, भूपतिहरूलाई देखाइदिने एउटा सानदार बागी नाटक थियो त्यो । जब चुसाहा भूपतिहरूले त्यो देखे, ती जुम्य्राहा लगौटी भिजाउँदै त्राहिमाम भए ।

जहाँ गरिब र सुकुम्बासी किसान बालीमा ठगिएको छ, हुल बाँधेर त्यहाँ बाली काट्न सूर्य समूह हाजिर हुन्छ । जहाँ बालविवाह र बहुविवाहको मेसो चलेको छ, त्यहाँ सूर्य समूहको जुलुस र नाराको तुमुल ध्वनिले आकाश थर्किन्छ । जहाँ छुवाछूतबाट दलितलाई आहत तुल्याइन्छ, त्यहाँ सूर्य समूहको किरणको ताप र प्रकाशको न्यानो पुगिहाल्छ । यसरी किंवदन्तीको पात्र अथक र अटल न्याययोद्धाको भेषमा आठराई भेगका सारा छाप्रा र टहराहरूमा व्याप्त भयो ।

हामी मतवालीले जाँड खाएर मात्रै हुँदैन, विद्ये पढ्न स्कुल जानु पर्छ । निरक्षर लिम्बू बस्तीमा शिक्षाको प्रचारमा डटेको सूर्यको स्वर अँध्यारा छाप्रा र टहराहरूले यसरी सुने । पढीगुनी के छ काम होइन, अब त पढीगुनी सबै कामको जमाना पो आयो !

सूर्य कन्दङवा प्रखर विचारक थिएनन्, न त उनी कुशल वक्ता नै थिए । उसो त साँचो अर्थमा उनी कवि पनि थिएनन् । तर विचार, वक्तव्य र कविताले उभिने ठाउँ पाउनलाई उनैको खाँचो पथ्र्यो ।

त्यो बेला आकाशैभरि निरङ्कुशतन्त्रको बिखालु बादल नित्य निरन्तर मडारिइरहन्थ्यो । त्यसैले सत्ताका धूर्त सिकारीहरूका आँखा छलेर जनतालाई जगाउने राजनीति गर्न त्यसमा छलकारी खोल हाल्नुपर्थ्यो । विद्यार्थी सङ्गठन, यो भयो एउटा खोल हालेको साधन । ‘आठराई खेलकुद विकास समिति’, यो भयो खोल हालेको अर्को साधन । आठराईको ‘साहित्य सङ्गम’ त खोल हालेका त्यस्ता साधनहमध्येको माउ नै भइहाल्यो । त्यो सङ्गम साँच्चै भन्ने हो भने साहित्य र राजनीतिको मधुर सङ्गम भएको बहुविचारयुक्त आन्दोलन थियो, जसमा देखाउनलाई मात्र साहित्यको पातलो खोल हालिएको थियो । म सम्झन्छु, सङ्गमका तीन सारथिमध्ये एक जना थिए– भानुभक्त पोखरेल, रुमानीपना र भावुकताको मुलायम भेषमा जीवनमुखी कविता रच्ने औधी रसिक कवि । अर्का थिए डिल्लीप्रसाद सिटौला । अनि तेस्रो सारथि सूर्य कन्दङवा । झलक्क हेर्दा विचारमा तटस्थ जस्ता लाग्ने श्री पोखरेलको चित्त नजानिँदो गरी वामपन्थतर्फ झुकेको छनक पाइन्थ्यो । उता सिटौला र कन्दङवा थिए– क्रमशः काङ्ग्रेस र कम्युनिस्टका जब्बर प्रवक्ता ।

साढे तीन दशकअघि एउटा कवि गोष्ठीमा वाची सुनाएको विद्रोही डिल्ली सिटौलाको एउटा रुमानी कविताका चार पाउ मेरो स्मृतिपटमा अझै ताजै छन्ः

यौवनको मदमत्त तुफानमा

क्षयरोग पाइरहेछु

होस् गरी सम्हाल प्रिय

म ढल्नै आँटेको छु ।

०००

सूर्य कन्दङवा प्रखर विचारक थिएनन्, न त उनी कुशल वक्ता नै थिए । उसो त साँचो अर्थमा उनी कवि पनि थिएनन् । तर विचार, वक्तव्य र कविताले उभिने ठाउँ पाउनलाई उनैको खाँचो पथ्र्यो । उनी चौतारी बनाउन सघाउँथे जहाँ उभिएर विचारकले विचार प्रकट गर्थ्यो, वक्ताले भाषण ठोक्थ्यो र कविले कविता बाँची सुनाउँथ्यो । उनले ‘साहित्य सङ्गम’ नामक चौतारी चिन्न मात्र आफ्नो बल र बुद्धि लगाएनन्, २०२६ सालमा मेची स्तरीय साहित्य सम्मेलनको मौलो पनि उनैले गाडे । साहित्यको उनीसमेतले चिनेका चौतारीमा बसेर मैले साहित्य पढ्न, साहित्य बुझ्न र साहित्य लेख्न सिकेको हुँ । उनी मेरा गुरु, उनी मेरा मित्र, उनी मेरा प्रिय कामरेड !

हातमा अनेक सीप र मनमा असीम जाँगर भएका सूर्यका लागि श्रम, सम्मान र गौरवको विषय थियो । उनी आफ्ना कुर्सी र टेबुल आफ्नैै कुशल हातले बनाउँथे । आफ्ना नाङ्ला र चाल्ना उनी आफ्नैै छरिता औँलाले बुन्थे । कसैको हलो भाँचिँदा ऊ सूर्यलार्ई गुहार्न उनका आँगनमा टुप्लुक्क आइपुग्थ्यो । ए सूर्य, मेरो त हलो पो भाँच्चियो हाव । हाई स्कुलका हेड सर सूर्यले बिहानबेलुका हलो जोतेको दृश्य देख्दा सुकिला दर्शकहरूलाई कस्तो लाग्दो हो ? पढेलेखेकाले ओरको सिन्को पर सार्नुहुँदैन भन्ने सकुलगुन्डे भावनाको रोग सल्किएको समाजमा सूर्य एउटा हाँक पनि थिए, एउटा विद्रोह पनि थिए, एउटा पाठ पनि थिए । बडो चाखलाग्दो एउटा कुरा छ । पुलिस टिपटप सूर्यलाई पक्राउ गर्न आउँथ्यो, हली सूर्य कतै हलो जोतिरहेका हुन्थे । पुलिस सुस्केरा हाल्दै खाली हात फर्किन्थ्यो, सूर्य चाहिँ थोरै अगाडि उछिट्टिएका सेता दाँत चमचम चम्काउँदै हाँस्थे, ठीक छ, बजियाहरू आज हिस्स परेर बाटो लागे ।

के छ हाव खगेन्द्र ? एमालेको सांसद भएताका एक दिन एकाबिहानै सूर्य कन्दङवाले मेरो खुइले गेटबाट भित्र छिर्दै भने । आँखा फारेर हेरेँ– आजको सांसद सूर्य हिजो मैले चिनेको सादा सूर्यभन्दा केही फरक छैन । उस्तै कुर्तासुरुवालमाथि जुवारी कोट । खुट्टामा कपडाका मामुली जुत्ता । ओठमा साबिकको उही शालीन मुस्कान । तर यसपाला त्यो मुस्कानमा ज्यान र उमङ्ग भने थिएन । कान्तिविहीन दुब्लो अनुहार, झन् माथि उठेका चल्लीका चुच्चा हाड, उदास मुद्रा ।

बजियाहेर्ले पार्टी बिगारे हाव खगेन्द्र !

कुन बजियाहेर्ले, सर ?

हाम्रै नेताहेर्ले ।

कसरी बिगारे, सर ?

जे पनि खान थाले हाव ! भछ्छे, अभछ्छे भन्न छाडे ।

तिनै सूर्य हुन्, जो आँधीको वेगमा हुत्तिँदै हिँड्थे र बोल्दा जसका शब्दशब्दमा आगाका फिलुङ्गा निस्किरहे जस्तो लाग्थ्यो । अहिले मानौँ, त्यो सूर्य अभछ्छेका भक्षकहरूको खग्रास ग्रहणले ग्रस्त छ । मानौँ, “बजियाहेर्ले” पार्टीलाई बिगारेर सूर्यको तेज, ओज र गरिमालाई नै निस्तेज पारिदिएका छन् । आफू ८ वर्षको छँदा बाबुको मृत्यु, प्रस्रव वेदनाले जीवनसङ्गिनीको मृत्यु, जन्मेको पाँचै दिनमा एक मात्र सन्तानको मृत्यु अनि त्यसको वर्ष दिनपछि आमाको मृत्यु । सूर्यलाई न बाल्यकालको सुखभोग गर्ने सुयोग मिल्यो, न त मिल्यो यौवनको उमङ्गको अनुभूति गर्ने अवसर नै, न त सन्तानका आँखाको ऐनामा आफ्नो अमरत्व देख्न पाउने सौभाग्य नै उनलाई प्राप्त भयो । उनको जीवनका कुल ६ वर्ष कालकोठरीमा बिते । गाउँका ठालु, सरकारी गुप्तचर र पुलिसको लखेटाइमा अरू कति वर्ष बिते कति ! अभाव, भोक र असुरक्षा त सूर्यका जीवनभरिका अन्तरङ्ग मित्रहरू नै थिए भने पनि हुन्छ । तर निजी जीवनका वियोगव्यथा, कष्ट र बुहार्तनबारे सूर्यको कुनै गुनासो थिएन । उनको गुनासो यही मात्र थियो, बजियाहेर्ले जे पायो त्यही खाएर पार्टी बिगारे । यसो भन्दा उनका आँखाको क्रुद्ध भावले भनिरहेझैँ मलाई लाग्यो– बजियाहेर्ले हाम्रा सपनाको हत्या नै गरिदिए !

जसरी प्रतिमाको विशालतामा कैद गरेर बुद्धको सन्देशको हत्या गरिएको छ, उसै गरी अहिले सूर्यको आदर्शको हत्या गरिँदै छ ।

सूर्यको स्मृतिमा हालै एउटा स्मारिका प्रकाशित भएको छ– स्मृतिका पानामा सूर्य कन्दङवा । स्मारिकाको विमोचन समारोहमा श्रोताहरूले अनेकौँ असङ्गत र अनिष्टकारी मुद्रा देख्नुप¥यो र नानाओली काइते कुरा सुन्नुपर्‍यो । जसले विलासको वेदीमा आचरणको सरलतालाई बलि चढाइसकेका छन्, तिनले सूर्यको सरलताको भारी बखान गरे । अनि जसले आदर्शलाई उपभोक्तावादका पैतालामुनि कुल्चिसकेका छन्, तिनले सूर्यले बोकेको आदर्शको उत्पात वर्णन गरे । कपट र धुत्र्याइँले भरिपूर्ण ती वचन सुन्दा मलाई स्वयम्भू चोकमाथिको बुद्धको सुनले लेपन गरिएको विशाल प्रतिमाको याद आयो । त्यस प्रतिमाको अस्वाभाविक विशालताले त्यसलाई हेर्नेका चित्तमा लघुताभास पैदा गरिदिन्छ । अनि बुद्ध प्रेरणा प्राप्त गर्ने जीवन्त प्रतीक होइन, पूजा गरिने मृत मूर्ति बन्न जान्छ । र त्यो कर्मकाण्डीले ठगिखाने वस्तुमा पतित हुन्छ ।

जसरी प्रतिमाको विशालतामा कैद गरेर बुद्धको सन्देशको हत्या गरिएको छ, उसै गरी अहिले सूर्यको आदर्शको हत्या गरिँदै छ । जब खोटा चरित्रहरू सद्दे चरित्रको तारिफ गर्न थाल्छन्, त्यसको सद्देपनामाथि स्वतः आशङ्का पैदा हुन्छ । यो सुन्दर र सजीव प्रतीकलाई कुरूप र विरूप तुल्याएर हाम्रा सपनाको हत्या गर्ने चालबाजी हो । अब सूर्यको स्वाँगे प्रशंसा गर्नुमा कुनै हानि छैन । किनभने जाली महाकाली सन्धिको अस्वीकृतिमा उठ्ने सूर्यका हातहरू अब जीवित छैनन् । आदर्शनाशक पजेरो र महलविरुद्ध बोल्ने उनको कण्ठ पनि अब मौन भएको छ । जीवनको फोहोर बढार्न भनेर आँधीको गतिमा चल्ने उनका पाइलाहरू पनि अब दृश्यबाट सदाका लागि अलप भइसकेका छन् ।

मलाई आफू सानो छँदाको एउटा विचित्रको भावनाको सम्झना हुन्छ । राईलिम्बूहरूका साह्रै चिम्सा आँखा देख्दा यत्रो विशाल संसार तिनले कसरी देख्न सकेका हुनन् भनी मलाई ताजुब लागेर आउँथ्यो । आँखाबारे केही जान्ने भएपछि अहिले मेरो त्यो भावना फेरिएको छ । हाम्रो वरिपरि अर्नाका जत्रा आँखा हुनेहरू थुप्रै छन् । तर तीमध्ये कतिपयका बल्ड्याङ्ग्रे आँखा आफ्ना तुच्छ स्वार्थहरूभन्दा एक इन्च परसम्म पनि देख्न सक्दैनन् । तर सूर्य सरका चिम्सा आँखा आफ्ना तुच्छ स्वार्थको लछुमन रेखाभन्दा धेरै परसम्म देख्न सक्थे । आँखा हुनु त त्यस्ता पो ! 

सम्झनाका कुइनेटाहरूबाट

गोडमेल संस्करण

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप