सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
संगीत–बहस

कस्तो हुन्छ जनताको गीत ?

शनिबार, ३० भदौ २०८०, १४ : ४२
शनिबार, ३० भदौ २०८०

मैले गाउने गीत पहाडको हैन, हिमालको हैन
हैन हैन लेकै फूल्ने लाली गुराँसको
आकाशमा डुलिहिँड्ने बादलको हैन... । 

२०२७–२८ सालतिर पूर्वी पहाडी जिल्लामा गरिएकोे लामो गीतियात्राको सिलसिलामा तेह्रथुमको आठराई पुगेपछि त्यहाँ आयोजित एक कार्यक्रममा रामेश र मञ्जुलले यो राल्फाली गीत गाए । देशलाई ढुंगा, माटो, हिमाल, पहाड र वन–जंगलले भरिएकोे एउटा भौगोलिक सीमा क्षेत्र मात्र ठान्ने अनि जनतालाई किरा–फट्याङ्ग्रा सरहका रैती ठान्ने पञ्चायती ‘राष्ट्रवाद’को सांकेतिक विरोधमा गाइएको उक्त गीत सुनेपछि त्यस गीतमा रहेको ‘म’ अर्थात् ‘व्यक्तिपरकता’माथि वामपन्थी विचार अँगोलेका ‘सचेत’ श्रोताले यस्तो सुझाव र प्रतिक्रिया दिए –

‘म’ भन्ने शब्द हटाएर ‘हामी’ भन्ने शब्द राखिनुपर्छ, याने व्यक्तिको महत्त्वलाई भन्दा समूहको महत्त्वलाई बढी महत्त्व दिनुपर्छ । लाली गुराँस, हिमाल र बादलको ठाउँमा मजदुर, किसान, ज्यामी र कर्मीहरूलाई स्थान दिनुपर्छ । ‘हैन’ भन्ने नकारात्मक शब्दबाट नभएर ‘हो’ भन्ने सकारात्मक अभिव्यक्तिबाट गीत सुरु गर्नुपर्छ, (मञ्जुल, सम्झनाका पाइलाहरू) ।’

जनताको पंक्तिबाट प्राप्त भएको सुझाव र सल्लाहलाई आत्मसात गर्दै उपरोक्त गीतलाई यसरी पुनर्लेखन गरियो –

हामीले गाउने गीत मजदुरहरूको, किसानहरूको

रगत सुकाई काम गर्ने श्रमिकहरूको

दुनियाँको निर्माण गर्ने कर्मीहरूको ।

हामीले गाउने गीत 

स्कुलमा भोकभोकै आउने साना नानीहरूको

दिनभरि कामगरी रातभरि भोकै सुत्ने गरीब खेतालाको

पेट भर्नेगरी खान पाए हुन्थ्यो, 

आङ ढाक्ने गरी लाउन पाए हुन्थ्यो भनेर

भोकभोकै नाङ्गा नाङ्गै मर्ने गरीब जनताको

हामी बाँचिरहेको देशको ।

हामीले गाउने गीत

भोकाहरूको नाङ्गाहरूको निमुखा र बेसहारा गरिबहरूको

दुःखैदुःखमा पिल्सिएका निर्धाहरूको ।

हामीले गाउने गीत, न्याय नपाएर झ्यालखानमा सडिरहेका निर्धाहरूको

सुरक्षा नपाएर लुटिएका, बलात्कार गरिएका अदानाहरूको

ठिही र सिठीमा अख्रिएर मरेका टुहराहरूको

बस्नलाई एउटा घर पाए पनि हुन्थ्यो

बाँच्नलाई आफ्नो देश पाए पनि हुन्थ्यो भनेर कराइरहने 

सुकुम्बासी, प्रबासीहरूको

हामीले भोगिरहेको स्थितिको ।

हामीले गाउने गीत शहिदहरूको, क्रान्तिकारीको 

शोषितहरूको निम्ति बोल्ने बुद्धिजीवीको

जनताको निम्ति लड्ने योद्धाहरूको 

(रचनाः मञ्जुल, संगीतः रामेश)

पछि २०३६ सालमा विराटनगरमा आयोजित पहिलो ‘संकल्प गीति कार्यक्रम’मा त्यसका कलाकारले यही गीतबाट आफ्ना गीतहरूको परिचय दिएका थिए । त्यसयता यो गीतले निर्दिष्ट गरेको दिशालाई पछ्याउँदै आम श्रमजीवी गरिब जनताको पक्षपोषण गर्ने, समाजमा विद्यमान शोषण, अन्याय र अत्याचारको विरोध गर्ने, सामाजिक विषमता र कुरीतिहरूको विरुद्ध चेतनाको बिगुल फुक्ने, राष्ट्रिय स्वभिमानको प्रवद्र्धन गर्ने र श्रमजीवी जनताको अन्तर्राष्ट्रिय ऐक्यबद्धताको आह्वान गर्ने हजारौँ जनगीतहरूको रचना गरिएका छन्, संगीत भरिएका छन् र गाइएका छन् । तिनै जनगीतहरूको आह्वानमा साँच्ची नै पञ्चायती निरङ्कुशताको विरुद्धमा मानिसहरू ‘गाउँ गाउँ र बस्ती बस्तीबाट’ उठेका थिए । सामन्ती व्यवस्थाको ‘थोत्रो घर भत्काउन दाइ र दिदीहरू झम्पल र डोको बोकेर’ हिँडेका थिए । एउटा जबर्जस्त सांगीतिक ज्वारभाटा उठेको थियो, नेपालको सांस्कृतिक महासागरमा । 

यही प्रगतिशील सांस्कृतिक ज्वारभाटाबाट उत्पन्न तरङ्गलाई नेपाली समाजको आमूल परिवर्तनको उद्देश्य बोकेका राजनीतिक पार्टीहरूले आफ्नो विचार र सन्देश विशाल जनसमुदायमा पुर्‍याउने प्रभावकारी साधनको रूपमा प्रयोग गरे । अघि–अघि जनताका कलाकारहरू आफ्ना सांगीतिक डोजरले बाटो सम्याउँदै जान्थे, अचेतनाको हिउँ बग्लेर फराकिलो बनेको सोही बाटोबाट विचारको माल बोकेर राजनीतिक पार्टी र यसका नेताहरू जनताको घरदैलोमा पुग्थे र उनीहरूलाई आफ्नो पार्टीमा संगठित गर्थे । यसरी नै राजनीतिक पार्टीका नेता–कार्यकर्ताले पनि जनकलाकारहरूको निम्ति कार्यक्रमको आयोजना गरिदिने, उनीहरूको सुरक्षा गर्ने, खानपान र बस्ने ठाउँको व्यवस्था गरिदिने काम गर्दथे । यसरी निरङ्कुस पञ्चायती व्यवस्थाको कारण भूमिगत रूपमा काम गर्न बाध्य कम्युनिस्ट पार्टी र जनकलाकारबीच नङ–मासुको सम्बन्ध स्थापित भएको थियो । 

जब २०४६ सालको जनआन्दोलनपश्चात् ३० वर्षे निरङ्कुस पञ्चायती तानाशाही व्यवस्थाको अन्य भयो र भूमिगत पार्टीहरू सतहमा आए तब जनसांस्कृतिक आन्दोलन र राजनीतिक आन्दोलनबीच उचित तालमेल मिल्न नसकेको अनुभव गर्न थालियो । राजनीतिक आन्दोलनको मूल मुद्दा संविधान, सरकार, संसद् र चुनावजस्ता विषयमा केन्द्रित हुन थाल्यो भने सामाजिक रूपान्तरणसँग सम्बन्धित जनसांस्कृतिक मुद्दाहरू राजनीतिको तत्कालिक प्राथमिकताको सूचीमा पर्न छाड्यो । फलस्वरूप परिवर्तित सन्दर्भमा सुस्पष्ट राजनीतिक दिशानिर्देश, व्यावहारिक संयोजन र उचित प्रेरणाको अभावमा प्रगतिशील सांगीतिक–सांस्कृतिक आन्दोलन आज दिशाहीनझैँ बन्न पुगेको छ । एउटा छुट्टै सामाजिक र सांस्कृतिक मूल्यको निर्माणमा आफ्नो उमेर खर्चेका जनताका कलाकारहरू बदलिएको राजनीतिक माहोलबीच आफूलाई एक्लो र निरीह भएको महसुस गरिरहेका छन् । 

उनीहरूमध्ये कतिले आफ्नो पूर्वमूल्य र मान्यताविपरीत तथाकथित ‘मूलप्रवाह’मा प्रवेश गरी आफूलाई ‘व्यावसायिक’ बनाउँदै छन् भने कति चाहिँ कतै एकलासमा बसेर हुरीको बत्तीलाई हत्केलाले छेकेझैँ आफ्ना मान्यतालाई कायम राख्न सक्दो प्रयास गरिरहेका पनि देखिन्छन् । बाँकी ‘सक्रिय’ भनिएका कलाकार पनि चुनावी अभियान वा अन्य केही उत्सवजन्य (सेरेमोनियल) प्रयोजनका लागि गरिने सांगीतिक कार्यक्रममा सीमित हुँदै गएका देखिन्छन् । जेहोस् नेपाली वामपन्थी राजनीतिक आन्दोलनको विस्तार र सामाजिक जनजागरणको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्ने एउटा युगान्तकारी सांगीतिक–सांस्कृतिक अभियानमा अहिले एक किसिमको शिथिलता देखिएको भने पक्कै हो ।  

के हो ‘जनताको गीत’ ?  

जनताका गीतलाई प्रगतिशील गीत, जनवादी गीत, स्वस्थ र सार्थक गीत वा जीवनवादी गीत पनि भन्ने गरिएको छ । यसरी नै कतिपयले यस्ता गीतलाई ‘विद्रोही गीत’ वा ‘विरोध गीत’ पनि भन्ने गरेको देखिन्छ । समय र परिस्थितिअनुसार यसका कलाकार तथा श्रोताहरूले जनताका गीतलाई फरक–फरक शब्दावलीबाट चिनाउने वा सम्बोधन गर्ने गरेको पाइन्छ । 

पार्टीहरू प्रतिबन्धित भएको बखत ‘प्रगतिशील’ र ‘जनवादी’ शब्द ‘कम्युनिस्ट’ शब्दको विकल्पकोे रूपमा पनि प्रयोग हुने गरेका थिए । यी दुई शब्दमध्ये ‘प्रगतिशील’ शब्दले वैचारिक पक्षलाई प्रतिनिधित्व गर्दथ्यो भने ‘जनवादी’ शब्दले चाहिँ कार्यपद्धति र कार्यशैलीलाई प्रतिनिधित्व गर्दथ्यो । 

2

तस्बिर २ : रामेश अरिम रायन र मञ्जुल (दायाँबाट) ।

यस आधारमा भन्नुपर्दा प्रगतिशील वा जनवादी गीत भन्नाले माक्र्सवादी दर्शन अर्थात् द्वन्द्वात्मक भौतिकवाद र ऐतिहासिक भौतिकवादलाई वैचारिक आधार मानेर बहुसंख्यक श्रमजीवी जनतालाई शोषणबाट मुक्त गर्न र न्याय र समानतायुक्त शोषणविहीन समाजको निर्माणखातिर जनतालाई जागरुक बनाउने उद्देश्यले गाइने गीत भन्ने बुझिन्छ । तर जनताका गीतमा समेटिएका विषयवस्तुलाई हेर्ने हो भने यस्ता गीत गाउन वा सुन्न माक्र्सवादी वा कम्युनिस्ट नै हुनुपर्ने कुनै जरुरत देखिँदैन । 

यति चाहिँ पक्कै हो यस्ता गीतको प्रयोग, प्रसार र प्रवद्र्धन चाहिँ वामपन्थी पार्टीहरूले नै गरेका हुन् । पछि यिनै प्रगतिशील वा जनवादी गीतलाई नै सरल ढंगले बुझ्ने गरी ‘जनताका गीत’ भन्न सुरु गरियो । अझ ‘जनताका गीत’लाई आम श्रोता (गैरकम्युनिस्टमा समेत) बीचमा ग्राह्य बनाउने उद्देश्यका साथ यी गीतलाई हाल ‘स्वस्थ र सार्थक गीत’ वा ‘जीवनवादी’ गीत पनि भन्न थालिएको छ । तसर्थ मायाप्रीतिका निजात्मक अभिव्यक्तिमा सीमित आमधाराका गीतहरूभन्दा भिन्न, श्रमको सम्मान गर्ने, समाजमा व्याप्त अन्याय, शोषण र विसंगतिविरुद्ध जागरण भर्ने, विश्वशान्ति, मानवता र भ्रातृत्वको भावना जगाउने, राष्ट्रिय स्वभिमान र देशभक्तिको भावनालाई उजागर गर्ने अनि जीवनलाई सार्थक, सभ्य र गतिशील बनाउन उत्प्रेरणा प्रदान गर्ने प्रगतिशील, जनवादी, सार्थक र जीवनवादी गीतहरू नै ‘जनताका गीतहरू’ हुन् ।

कसरी सुरु भयो जनगीति गायनको परम्परा ?

माया–प्रेमको नाममा अश्लीलता, निराशा र कुण्ठा, देशभक्तिको नाममा आमजनताको बेवास्ता र ढुंगा माटोको प्रशंसा अनि शासकको स्तुति गायनमा रुमलिएको मूलधारको नेपाली गीत संगीतको विकल्पको रूपमा आएको प्रगतिशील गीत–संगीतको यो धार २० को दशकमा सशक्त रूपमा देखापरेको भए पनि राष्ट्रियस्तरमा यसको व्यापक प्रचार र विस्तार भने ३० को दशकयता मात्र भएको पाइन्छ । 

हुन त राणाकाल अर्थात् २००७ अघि नै पनि स्वतन्त्रताको चाहना बोकेर प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा क्रान्तिको आह्वान गरिएका गीत लेखिएका थिए । गोपालप्रसाद रिमालको ‘एक दिनमा एक दिन एकचोटि आउँछ, उल्लटपुल्लट उथलपुथल हेरफेर ल्याउँछ’, सिद्धिचरण श्रेष्ठको ‘आमा म बौलाहा हैन’, युद्धप्रसाद मिश्रको ‘हाम्रो अदम्य क्रान्ति रोकेर रोकिदैन’ देवकोटाद्वारा रचित ‘सुनको दिन एक उदाउँछ रे’ जस्ता क्रान्तिकारी गीतहरू यसै सन्दर्भमा लेखिएका गीतहरू थिए । 

यसैगरी गोकुल जोशीले २०११ सालतिर ‘नमार गरिबलाई, नजाऊ अंग्रेजी पल्टनमा’ र ‘रोक्ने को हो दूरदर्शी विचारका धाराा’ जस्ता सशक्त जनगीतको रचना गरेका थिए । २०१५ सालतिर नै जनकवि गोकुल जोशी र जनकविकेशरी धर्मराज थापाले संयुक्त गीतियात्रा समेत गरेका थिए । ‘जनताको गीत’ नभनिए पनि सोही समयतिर रचना गरिएको धर्मराज थापाको ‘हो हो माले हो हो, हो तारे हो हो’ भन्ने गीतमा श्रमप्रति सम्मानभाव व्यक्त गरिएको छ  । यसका साथै श्यामप्रसाद शर्मा, अलिमियाँ, युद्धप्रसाद मिश्र, केवलपुरे किसान कविहरूले २००७ सालकै सेरोफेरोदेखि प्रशस्त जनगीतरूको रचना गर्दै आएका थिए ।

जनताका गीतले समेटेका विषयवस्तु

धेरै मानिसहरू के सोँच्छन् भने जनताका गीत भनेको क्रान्ति, युद्ध, संघर्ष, आन्दोलन, परिवर्तन, बलिदान, मुक्ति, चेतना, जागरण, स्वतन्त्रता, अधिकार, स्वभिमान, साहसजस्ता वीररसप्रधान शब्दावलीको प्रयोग गरेर कथिएका ‘खस्रा’ गीत हुन् । निश्चितै रूपमा जनताका गीतले मानिसको जीवनका समग्र पक्षलाई समेट्न सकेका छैनन् । सम्भवतः एउटा खास धार, विचार वा उद्देश्यमा आधारित भएर लेखिने गीतले मानिसको जीवनका हर पक्षलाई उत्तिकै अनुपातमा समेट्न सम्भव पनि हुँदैन ।  तथापि जनताका गीतले समयसापेक्ष रूपमा आमजनता, समाज र राष्ट्रसम्बन्धी निम्न विषयलाई समेटेको पाइन्छ ।

१) स्वपहिचानका गीतहरू :  ‘हामीले गाउने गीत मजदुरहरूको किसानहरूको’, ‘भोकै मर्ने महाकविका पेटका सारङ्गीहरू’, ‘जनताको गीत लेख्ने हामी गीतकार’ आदि । 

२) वर्गीय चेतना भर्ने गीतहरूः ‘जुत्ता सिउँछौ सार्कीहरू नाङ्गा छन् तिम्रा खुट्टाहरू’, ‘वर्गीय समाजमा वर्गीय प्रेममात्रै न्यानो र चोखो हुन्छ’, ‘छर्छौ तिमी बाली उठाउने अर्कै छ’, ‘सबै मलाई चोर भन्छन् तिमी पनि भन्छौ’, ‘अनिकाल लाग्यो भन्छन् खै कसलाई लाग्यो, जसले खेती गरेकोछ उसैलाई लाग्यो’ आदि । 

३) गोर्खाभर्तीको विरोध गरिएका गीतहरूः ‘नमार गरीबलाई नजाउ अंग्रेजी पल्टनमा’, ‘भाडाको सिपाई जन्माउने देश नेपाललाई नपार’ ‘जान्न म त नि गोर्खा भर्ति मलाया छाउनीमा’, ‘गाइ त मर्‍यो वनैको बाघलाई, भाइ त मर्‍यो विदेशी साइँलौ राजालाई’, ‘सिम्मा’ गीतिनाटक आदि ।  

४) लैंगिक विभेद र महिला जागरणसम्बन्धी गीतहरू : ‘आमा दिदीबहिनी हो कति बस्छौ दासी भई’, ‘स्नेहका मुहान नारीका मन अचाना बन्छन्’, ‘छोरीको यो जुनीलाई हेला गरी हिँड्नेलाई’, ‘नहेप नारीलाई यी हुन् दासी भनी’, ‘जीवन बग्छ नारीको हेर आँसुको नदीमा’ आदि । 

५) बिदेसिएका नेपालीका बारेमा लेखिएका गीतहरू : ‘देउराली भञ्ज्याङले बिर्सेको छैन प्रवासी दाजु तिमीलाई’, ‘बसाई हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’, ‘साहुको रिन तिर्न भनी गको मेरो छोरो मेरो बाबा हर्कजित फेरि फर्केन’ ‘तिमीलाई प्रबासी भन्न मन लागेन आफूलाई घरबासी भन्न गर्ब लागेन’, ‘डाँडाकाटी गयौ नि दाजु गाउँघरको मायालाई बिर्सेर, आँशु बरर’ आदि । 

६) जागरण र संकल्प गीतहरू : ‘गाउँ गाउँबाट उठ बस्ती बस्तीबाट उठ’, ‘हिँड मेरा दाइ हो झम्पल बोकेर’, ‘रक्त क्रान्तिको ज्वालामुखीमा’, ‘हाम्रो यो अदम्य क्रान्ति रोकेर रोकिँदैन’, ‘अँध्यारोमा पनि वीर बाटो भुल्दैनन्, खडेरीमा पनि फूल फुल्न भुल्दैनन्’ आदि । 

७) ऐक्यबद्धता गीतहरू : ‘हामी जित्नेछौँ एक दिन’ (वी स्याल ओभरकमको अनुवाद), ‘तिमी देऊ तिम्रा हातहरू म दिन्छु मेरा हातहरू’ आदि ।

८) सार्थक र गतिशील जीवनका गीतहरू : ‘संघर्ष हो जीवन जीवन संघर्ष हो’, ‘कार्यशील जिन्दगी बगिरहने नदी हो’,  ‘कोशी छेउ उभेको सिमल जति नि बाँच्दिनँ म’ (बुढो माझीको गीत), ‘यो जिन्दगी हाम्रो खेर नजाओस्’, ‘मर्नैपर्छ एक दिन सबैले, हामी पनि मर्छौं’ आदि । 

९) श्रमको सम्मानमा लेखिएका गीतहरू : ‘ड्राइभर दाइ खलासी भाइ हाम्रो धेरै माया तिमीलाई’, ‘तलाउको माझमा उठेको छालजस्तो’ (नर्सको प्रशंसामा रचिएको गीत), ‘खेत हिँड्यो किसान’,  ‘पौरखी तिम्रा हातहरूले रोपेका चियाका बुट्टाहरू’, ‘बिहानीको आभासमा मानिसहरू जुर्मुराउँदै उठ्दैछन्’ आदि । 

१०) सहिदको सम्मानमा लेखिएका गीतहरू : ‘रगतको टिका लगाउँदै सहिद’, ‘आँसुको सागर बगाउँदै चेलीले सिन्दुर पुछेको’, ‘अन्तिम विजय हाम्रै हो’, ‘यो सुनसान चिहानको गीत’ आदि । 

११) सामाजिक विभेदविरोधी गीतहरू : ‘छैनन् आँखा तर हामीलाई अन्धा नभन’, ‘मानिस छुत अछुत हुन्छ भन्दै भन्दिनँ’, ‘डुल्दै आयो गाइने दाजु हाम्रो आँगनमा कठै झुत्रे लुगा उसको आङैमा’ आदि । 

१२) देशभक्तिका गीतहरू : ‘तिमीलाई तिम्रो कविता प्यारो लाग्छ कि देश’, ‘मेरो देश स्वाभिमानी जनताहरूको देश’, ‘मुठी उचाली लड्छौँ बढ्छौँ देशका लागि उठ्छौँ’ आदि । 

१३) पारिवारिक माया प्रेम : ‘परदेशबाट दाजु फिर्नु भएन’, ‘सिमानापारि नौ डाँडापारि’, ‘न आयो मलाई तस्बिर उनको न आयो खबर’, ‘एउटा माइती दूर देश, सयपत्री फूल ओइली जाइजाला’, ‘चेलीको मनै रुन्छ बुझिदेऊ न माइती हो’, ’सिउँदोको सिन्दुर गलाको पोते, छैन है मेरो जीवन साथैमा’ आदि । 

१४) सामन्ती शोषणविरोधी गीतहरू : ‘कोही त भने जहाजमा हरर’, ’धानै खायो गाई तारी मालीले गाउँ खायो गाउँघरको जालीले’, ‘उज्यालो जीवन ल्याउनु छ छिट्टै’, ‘हो हो दाजु ठिकै भन्यौ चित्त बुझ्यो मेरो, सामन्तीलाई खत्तम पार्न मार्छु अब फेरो’ आदि । 

१५) राजनीतिक हत्याकाण्डविरोधी गीतहरू : ‘गड्याङ र गुडुङ मेघ पनि हैन आकाशै सफा छ, छिर्का र छिर्की रगतको टाटा आकाशै सफा छ’ (छिन्ताङ काण्ड), ‘सक्रान्ती मनी डाँडा है पारि जून पनि लुके छ, अँध्यारो बीच महादेव थानमा बन्दुकै भुकेछ’, ‘सुखानीको रगतले भन्छ हामीलाई’ आदि । 

s

तस्बिर ३ : रामेश, अरिम, जेबी टुहुरे, मञ्जुल र शम्भु राई (दायाँबाट)

माथि उल्लिखित विषयबाहेक पनि अन्य विविध विषयमा जनगीतहरू गाइएका छन् – जस्तै, बालबालिकासम्बन्धी गीतहरू, पार्टीगत गीतहरू, प्रगतिशील अनुशासनसम्बन्धी गीतहरू, राजबन्दीसम्बन्धी गीतहरू र विभिन्न व्यक्तित्वहरू जस्तै, नेल्सन मन्डेला, लु सुन आदिको प्रशंसामा रचिएका गीतहरू आदि । 

माथिका उदाहरणमा परेका गीतहरू राष्ट्रिय रूपमा चर्चा पाएका प्रकाशित गीतहरूका केही नमुनाहरू मात्र हुन् । यीबाहेक पनि सैयौँ हजारौँ गीतहरू जनताका गीतहरूको भण्डारमा समेटिएका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सोम राई
सोम राई
लेखकबाट थप