बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

सर्वाधिक रन बनाउने गिल र सर्वाधिक विकेट लिने पाथिरानाबीचको फाइनल भिडन्त रोमाञ्चक हुने अपेक्षा

आइतबार, ३१ भदौ २०८०, १० : ४०
आइतबार, ३१ भदौ २०८०

काठमाडौँ । एसिया कप क्रिकेट प्रतियोगिताको फाइनल खेल आइतबार श्रीलङ्काको राजधानी कोलम्बोमा खेलिँदै छ । १६औँ संस्करणको उपाधिका लागि भारत र श्रीलङ्काबीच भिडन्त हुँदै छ । फाइनल खेल नेपाली समयअनुसार, दिउँसो ३ः१५ बजे सुरु हुनेछ । ‘सुपर फोर’ चरणको तालिकामा भारत पहिलो र श्रीलङ्का दोस्रो हुँदै फाइनलमा पुगेका हुन् । 

भारत आठौँ पटक उपाधि जित्ने धुनमा छ भने श्रीलङ्का पनि सातौँ उपाधि हात पार्ने अभियानमा छ । जारी प्रतियोगितामा दुवै टोलीको प्रदर्शन उत्कृष्ट देखिएको छ । हालसम्म भारतले एक खेलमा मात्र हार भोगेको छ । ‘सुपर फोर’ चरणको अन्तिम खेलमा बङ्गलादेशले भारतलाई ६ रनले हराएको थियो ।

यसैगरी श्रीलङ्काले पनि जारी प्रतियोगितामा एक खेलमात्र हारेको छ । ‘सुपर फोर’ चरणको खेलमा भारतले नै श्रीलङ्कालाई ४१ रनले हराएको थियो । जारी एसिया कपमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि भारत र श्रीलङ्काकै खेलाडी अगाडि छन् । 

भारतका युवा ओपनर शुभमन गिलले जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेर दुई सय ७५ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पहिलो स्थानमा छन् । उनले हालसम्म एक शतक र दुई अर्धशतक प्रहार गरेका छन् । 

गिलले बंगदोशविरुद्वकाे खेलमा एक सय २१ रन बनाएका थिए । उनले हालसम्म ६ छक्का र २९ वटा चौका प्रहार गरेका छन् । गिलले हरेक खेलमा भारतका लागि गतिलो सुरुआत गर्दै आएका छन् । अर्का ओपनर कप्तान रोहित शर्मा भने यो प्रतियोगितामा खासै प्रभावकारी देखिएका छैनन् । 

यसैगरी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा श्रीलङ्काका कुशल मेन्डिस दोस्रो स्थानमा छन् । उनले हालसम्म पाँच खेल खेलेर दुई सय ५३ रन बनाएका छन् । उनले तीनवटा अर्धशतक पनि प्रहार गरिसकेका छन् । उनले समूहगत चरणको अफगानिस्तानविरुद्धकाे खेलमा ८४ बलमा ९२ रन बनाएका थिए । उनले हालसम्म पाँच छक्का र २४ वटा चौका हिर्काएका छन् । 

यसैगरी सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा श्रीलङ्काकै सदिरा सामराबिक्रमा तेस्रो स्थानमा आसिन छन् । उनले हालसम्म पाँच खेल खेलेर दुई सय १५ रन बनाएका छन् । उनले दुईवटा अर्धसतक पनि प्रहार गरेका छन् । उनले हालसम्म दुई छक्का र १९ वटा चौका हिर्काएका छन् । ‘सुपर फोर’ चरणको बंगलादेशविरुद्धकाे खेलमा उनले ७२ बलको सामना गरी ९३ रन बनाएका थिए । 

यसका अतिरिक्त जारी एसिया कपमा सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा पनि श्रीलङ्काका खेलाडीहरू नै अगाडि छन् । श्रीलङ्काली बलर मथिसा पाथिरानाले पाँच खेल खेलेर ११ विकेट लिइसकेका छन् । जारी एसिया कपमा उनको उत्कृष्ट प्रदर्शन ३२ रन दिएर चार विकेट हो । 

यसैगरी अर्का श्रीलङ्काली बलर दुनिथ वेल्लालागे सर्वाधिक विकेट लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन् । उनले पाँच खेल खेलेर १० विकेट लिइसकेका छन् । जारी प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन ४० रन दिएर पाँच विकेट हो ।

सर्वाधिक विकेट लिने खेलाडीको सूचिमा भारतका कुलदिप यादव भने तेस्रो स्थानमा आसिन छन् । उनले हालसम्म केवल तीन खेल खेलेर नौ विकेट लिइसकेका छन् । जारी प्रतियोगितामा उनको उत्कृष्ट प्रदर्शन २५ रन दिएर पाँच विकेट हो । 

त्यसैले पनि भारत र श्रीलंकाबीचको फाइनल खेल निकै रोमाञ्चक हुने अनुमान गरिएको छ । श्रीलङ्का एसिया कप क्रिकेटको साबिक विजेता राष्ट्र पनि हो । सन् २०२२ मा भएको १५औँ संस्करणको फाइनलमा श्रीलङ्काले पाकिस्तानलाई २३ रनले हराएको थियो । तर, एसिया कपको त्यो संस्करण टी—२० ढाँचामा खेलाइएको थियो ।

एकदिवसीय ढाँचामा खेलाइएको एसिया कपको पछिल्लो संस्करणको उपाधि भने भारतले जितेको थियो । सन् २०१८ मा संयुक्त अरब इमिरेट्समा खेलाइएको एसिया कपको १४औँ संस्करणको फाइनलमा भारतले बङ्गलादेशलाई तीन विकेटले हराएको थियो ।

एसिया कपको फाइनलमा भारत र श्रीलङ्का नवौँ पटक भिड्न लागेका हुन् । हालसम्म भारत र श्रीलङ्काबिच आठ पटक एसिया कपको फाइनल खेल खेलिएको छ । त्यसमध्ये भारतले पाँच र श्रीलङ्काले तीन पटक सफलता हात पारेका छन् । 

सन् १९८४ मा भएको एसिया कपको पहिलो संस्करणको फाइनलमा भारतले श्रीलङ्कालाई पछि पार्दै उपाधि चुमेको थियो । त्यतिबेला फाइनल खेल खेलाइएको थिएन । राउन्ड रोविन लिग तालिकामा भारत पहिलो र श्रीलङ्का दोस्रो भएका थिए ।

यसैगरी सन् १९८८ मा खेलिएको तेस्रो संस्करणको फाइनलमा भारतले श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । सन् १९९०-९१ मा खेलिएको चौथो संस्करणको फाइनलमा भारतले श्रीलङ्कालाई सात विकेटले हराएको थियो ।

यसैगरी सन् १९९५ मा खेलिएको पाँचौँ संस्करणको फाइनलमा पनि भारतले श्रीलङ्कालाई आठ विकेटले हराएको थियो । सन् १९९७ मा खेलिएको छैटौँ संस्करणको फाइनलमा भने श्रीलङ्काले भारतलाई आठ विकेटले पराजित गरेको थियो ।

त्यसपछि सन् २००४ मा खेलिएको आठौँ संस्करणको फाइनलमा श्रीलङ्काले भारतलाई २५ रनले पराजित गरेको थियो । सन् २००८ मा खेलिएको नवौँ संस्करणको फाइनलमा पनि श्रीलङ्काले भारतलाई एक सय रनले हराएको थियो । 

 

यसैगरी सन् २०१० मा खेलिएको दसौँ संस्करणको फाइनलमा भारतले श्रीलङ्कालाई ८१ रनले पराजित गरेको थियो । त्यसयता एसिया कपको फाइनलमा भारत र श्रीलङ्काबिच भिडन्त भएको थिएन । हालसम्म श्रीलङ्काली भूमिमा भारत र श्रीलङ्काबिच तीन पटक एसिया कपको फाइनल खेल खेलिएको छ । त्यसमध्ये दुईवटा फाइनल श्रीलङ्काले जितेको छ भने भारतले एउटा फाइनलमा सफलता हात पारेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप