शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
समाजवादीमा असन्तुष्टि

माधव नेपालको पार्टी : केहीलाई जिम्मेवारीको खातैखात, कसैको पुर्पुरोमा हात !

मङ्गलबार, ०२ असोज २०८०, १९ : ५५
मङ्गलबार, ०२ असोज २०८०

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केही नेताहरूलाई जिम्मेवारीको खातैखात रहेको छ भने केही एउटै जिम्मेवारी पनि नपाएर पुर्पुरोमा हात लगाउन बाध्य भएका छन् । अध्यक्ष माधवकुमार नेपालले गरेको नेताहरूको पछिल्लो जिम्मेवारी हेरफेरलाई लिएर कतिपय नेताहरूले असन्तुष्टि जनाउँदै पद अस्वीकार गरिसकेका छन् भने केहीले पार्टी नै परित्याग गरेको घोषणा गरेका छन् ।

पछिल्लो जिम्मेवारी हेरफेरप्रति असन्तुष्टि जनाउनेमा केन्द्रीय सचिव रामकुमारी झाँक्रीदेखि प्रदेश सभा सदस्य राजीव गुरुङ भनिने दीपक मनाङेसम्म रहेका छन् । अध्यक्ष नेपालले केही दिन पहिला जारी गरेको अन्तरपार्टी निर्देशन(अपानि) २१ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको जानकारी गराउँदै अरू धेरै नेताहरूको जिम्मेवारी हेरफेर गरेको उल्लेख छ ।

अध्यक्ष नेपालले पार्टी कमिटीमा कुनै छलफल नै नगरी नेताहरूको जिम्मेवारी हेरफेर र केन्द्रीय सदस्य मनोनीत गरेको भन्दै झाँक्री र गुरुङले असन्तुष्टि जनाएको मात्रै होइन केन्द्रीय सदस्य समेत रहेका लुम्बिनी प्रदेशका सचिव राजु गुरुङ र अर्का केन्द्रीय सदस्य सावित्री मल्लले त पार्टी नै परित्याग गरेको सार्वजनिक रूपमा घोषणा नै गरिसकेका छन् ।

विधि, विधान र पद्धतिको वकालत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग विद्रोह गरेर २ वर्ष अघि बनेको यो पार्टीमा पछिल्लो समय नेताहरूबाटै चरम असन्तुष्टि बढ्दै गएपछि अन्य नेता कार्यकर्तामा समेत पार्टी र आफ्नो भविष्यलाई लिएर चिन्ता र चासो प्रकट भइरहेको छ । अरू त अरू अध्यक्ष नेपालपछि दोस्रो वरियतामा रहेका सम्मानित नेता झलनाथ खनाल समेत नेताहरूको पछिल्लो जिम्मेवारी हेरफेर तथा अध्यक्षको कार्यशैलीप्रति सन्तुष्ट बन्न सकेका छैनन् । खनाल विदेश विभाग प्रमुख रहेका छन् । नेताहरूले तीव्र असन्तुष्टि जनाइरहेका बेला केही सीमित नेताहरूलाई भने यो पार्टीमा जिम्मेवारीको खात नै लागेको छ ।

सो पार्टीका केन्द्रीय उपाध्यक्ष राजेन्द्र पाण्डे अहिले चारवटा प्रमुख जिम्मेवारीमा रहेका छन् । प्रतिनिधि सभा सदस्य समेत रहेका पाण्डे संघीय संसदीय विभागको प्रमुख,राजकीय मामिला विभागको प्रमुख एमसीसी अनुगमन समितिको संयोजक र समाजवादी मोर्चाको सदस्यजस्ता महत्त्वपूर्ण जिम्मेवारीमा छन् ।

त्यस्तै अर्का उपाध्यक्ष प्रमेश हमाल पनि महत्त्वपूर्ण चार वटा जिम्मेवारीमा छन् । पार्टी स्कुल विभागको प्रमुख, समाजवादी मोर्चा नेपालको सदस्य सचिव, आर्थिक समितिको संयोजक र विदेश विभागको उपप्रमुखको जिम्मेवारी हमालले पाएका छन् ।

उपाध्यक्ष पाण्डे र हमालपछि उपमहासचिव प्रकाश ज्वाला पनि धेरै पार्टीमा धेरै जिम्मेवारी पाउने नेतामध्येमा पर्छन् । नेता ज्वाला भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री, कर्णाली प्रदेश कमिटीको इन्चार्ज, केन्द्रीय संगठन विभागको उपप्रमुख र आर्थिक समितिको सदस्य रहेका छन् ।

अर्का उपमहासचिव डा. विजय पौडेलले त पाँचवटा महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका छन् । डा. पौडेल अर्थ योजना विभागको प्रमुख, मोर्चा फाँटको प्रमुख, राष्ट्रिय समाजवादी जागरण यात्रा मूल व्यवस्थापन कमिटीको संयोजक र आर्थिक समितिको सदस्य छन् । त्यस्तै विदेश विभागको सदस्य र पार्टी स्कुल विभागको समेत पौडेल सदस्य छन् ।

एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधर चारवटा महत्त्वपूर्ण जिम्मेवारीमा छन् । तुलाधर विपद् व्यवस्थापन विभागको प्रमुख,बागमती प्रदेश कमिटीको इन्चार्ज,आर्थिक समितिको सदस्य र एम.सी.सी. अनुगमन समितिको सदस्य रहेका छन् ।

अर्का उपमहासचिव जगन्नाथ खतिवडा प्रचार विभाग प्रमुख,समाजवादी प्रेस संगठनको इन्चार्ज र एम.सी.सी. अनुगमन समितिको सदस्य छन् । भूगोलको जिम्मेवारी नै पाउन नसकेकी सचिव रामकुमारी झाँक्री जिम्मेवारी विहीनजस्तै बन्दा अर्का सचिव गरिमा शाहले भने थेग्नै नसक्ने जिम्मेवारी पाएकी छन् ।

शाह सुदूरपश्चिम प्रदेश कमिटीको इन्चार्ज,अनेमासंघको सह इन्चार्ज, राष्ट्रिय सभा संसदीय दलको सचेतक, एमसीसी अनुगमन समितिको सदस्य र राष्ट्रिय समाजवादी जागरण यात्रा मूल व्यवस्थापन कमिटीको सदस्यको जिम्मेवारीमा छन् ।

यता केन्द्रीय कमिटी सदस्य केशव विष्टले पनि पाँचवटा महत्त्वपूर्ण जिम्मेवारी पाएका छन् । विष्ट नेपाल खेलकुद महासंघ, समाजवादीको अध्यक्ष, नेपाल खेलकुद महासंघ समाजवादीकै सह-इञ्चार्ज, केन्द्रीय खेलकुद विभागको उपप्रमुख, सुनसरी जिल्ला कमिटीको सह-इञ्चार्ज, सुनसरी क्षेत्र नं. ३ को इञ्चार्ज पनि विष्ट नै छन् ।

यता जिम्मेवारी हेरफेरप्रति असन्तुष्टि जनाउँदै राजीनामाको घोषणा गरेका केन्द्रीय कमिटी सदस्य राजु गुरुङको पनि जिम्मेवारी कम छैन । उनी लुम्बिनी प्रदेश कमिटीको सचिव, रुपन्देही जिल्ला कमिटीको इन्चार्ज, राष्ट्रिय समाजवादी जागरण यात्रा मूल व्यवस्थापन कमिटीको सदस्य रहेका छन् ।

यी नेताको तुलनामा अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसालको जिम्मेवारी भने अत्यन्त कम छ । समग्र पार्टी सञ्चालनको जिम्मेवारी पाएका अध्यक्ष नेपाल संसदीय दलको नेता र समग्र पार्टीको नेतृत्व गरिरहेका छन् । त्यस्तै महासचिव घनश्याम भुसाल पार्टीका मोर्चा संगठन अनुगमनको जिम्मेवारीमा छन् ।

कम्युनिस्ट पार्टीमा संगठन विभागको नेतृत्व समेत महासचिवले गर्ने सामान्य प्रचलन रहेपनि यो पार्टीमा भने महासचिव भुसालले त्यो जिम्मेवारी पाउनबाट वञ्चित छन् । बरु संगठन विभागको जिम्मेवारी मन्त्री समेत रहेका उपाध्यक्ष डा. बेदुराम भुसालले सम्हालिरहेका छन् । भुसाल आर्थिक समितिको सदस्य समेत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप