चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान

समाचार सारांश
- रोस्टन चेस वेस्ट इन्डिज टेस्ट टिमको नयाँ कप्तान बनेका छन्। उनको कप्तानी डेब्यु खेल टेस्ट करियरको ५०औं खेल हुनेछ।
- चेसले ४९ टेस्टमा २ हजार २६५ रन बनाएका छन् भने ८५ विकेट लिएका छन्। उनले अस्ट्रेलियाविरुद्धको शृङ्खलामा कप्तानी गर्नेछन्।
- जोमेल वारिकनलाई उपकप्तान नियुक्त गरिएको छ। यो शृङ्खला २०२५-२७ को विश्व टेस्ट च्याम्पियनसिपको पहिलो शृङ्खला हुनेछ।
बारबाडोस । रोस्टन चेस वेस्ट इन्डिज टोलीको नयाँ टेस्ट कप्तान चयन भएका छन् । कप्तानका रूपमा उनको पहिलो खेल टेस्ट करियरको ५० औँ खेल हुनेछ । उनले ४९ औँ खेल दुई वर्षभन्दा अघि दक्षिण अफ्रिकाविरुद्ध जोहानसवर्गमा खेलेका थिए । त्यसयता वेस्ट इन्डिजले १३ वटा टेस्ट खेलिसकेको छ ।
दायाँ हाते ब्याटरले ४९ टेस्टमा २६.३३ को औसतले २ हजार २६५ रन बनाएका छन् । उनले यसक्रममा ५ शतक र ११ अर्धशतक बनाएका छन् । उनको उच्च स्कोर १३७ रन हो । त्यस्तै, अफ ब्रेक बलिङ गर्ने उनले ४६.०० को औसतले ८५ विकेट पनि लिएका छन् । उनको सबैभन्दा राम्रो प्रदर्शन ६० रन खर्चेर ८ विकेट लिनु हो ।
उनले टोलीलाई अस्ट्रेलियाविरुद्धको तीन खेलको घरेलु शृङ्खलामा नेतृत्व गर्नेछन् । पहिलो खेल उनको घरेलु मैदान ब्रिजटाउनमा जुन २५ देखि सुरु हुनेछ । दुवै टोलीका लागि सन् २०२५–२७ सम्मको विश्व टेस्ट च्याम्पियनसिप चक्रको यो पहिलो शृङ्खला हुनेछ ।
चेसले यसअघि वेस्ट इन्डिजलाई एक एकदिवसीय र एक टी–२० अन्तर्राष्ट्रियमा नेतृत्व गरिसकेका छन् । यसैगरी, देब्रे हाते स्पिनर जोमेल वारिकनलाई उपकप्तान नियुक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा आदेश आउन ढिलाइ, अदालतबाहिर नाराबाजी
-
अनेरास्ववियुको मतगणनामा कडरियाको सुरुवाती अग्रता
-
रूकुम पश्चिममा पानी बोकेको मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
-
सिंहदरबार बोलाइएको विषयमा भण्डारीको स्पष्टीकरण: ‘व्यक्तिगत भेटघाट मात्र हो’
-
भारतीय विमान दुर्घटनाप्रति परराष्ट्र मन्त्रालयद्वारा दुःख व्यक्त
-
रियलमा आबद्ध हुनु ‘सपना पूरा भएको क्षण’