‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’

समाचार सारांश
- लेखक सरिता तिवारीको अध्ययन शैली र पुस्तक मोहबारे चर्चा गरिएको छ।
- कानुन व्यवसायी तिवारीले पढ्ने शैली, पुस्तक छनोट, र मनपर्ने पुस्तकबारे जानकारी दिएकी छिन्।
- नेपालको पठन संस्कृति, भावी योजना र 'चित्तौन कचेहेरी' फेस्टिभलबारे प्रकाश पारिएको छ।
कवि, स्तम्भकार र कानुन व्यवसायी सरिता तिवारीका तीनवटा कविता कृति प्रकाशित छन्— बुद्ध र लाभाहरू (२०५७), अस्तित्वको घोषणापत्र (२०६७) र प्रश्नहरूको कारखाना (२०७२) । समसामयिक विषयमा तीक्ष्ण टिप्पणी गर्ने तिवारीलाई हामीले यसपालिको ‘किताबका कुरा’ स्तम्भमा निम्त्याएका छौँ ।
- यहाँले पढ्नका लागि समयको व्यवस्थापन कसरी गरिरहनुभएको छ ?
अहिलेका दिनमा मेरो अध्ययनको क्षेत्र बाँडिएको छ । पेसागत रूपमा कानुनकर्मी पनि भएपछि पछिल्ला वर्ष दिनको केही समय कानुनकै सम्बद्ध पुस्तक, नजीर आदि पढ्ने बानी भइसकेको छ । मानवशास्त्रको शोधार्थी भएकाले कहिलेकाहीँ सम्बन्धित पुस्तक पनि पढ्नुपर्छ र आख्यान, गैरआख्यान पनि रुचि र समय मिल्दा पढ्ने नै गर्छु ।
पढ्ने कुरालाई एकनिष्ठ ध्यान चाहिन्छ, जुन दिनभरको समय टुक्राएर छिन्नभिन्नजस्तो दैनिकी बाँच्ने मान्छेका लागि धेरै कठिन छ । त्यसैले ध्यानविनाको टापटिप पढाइलाई पढेको कसरी भन्नु !
मेरो बिहान त प्रायः भान्सामै बित्छ तर दिउँसो मुद्दा हेर्ने दिन नपरेको दिन कार्यकक्षमा बस्ने, पढ्ने गरिन्छ । साँझ भान्साको काम सकिएपछि साहित्य र वैचारिक पुस्तक वा अनुसन्धान आदि सामग्री पढ्ने हो । दिनमा यति नै घण्टा भन्ने निश्चित छैन । कहिलेकाहीँ एउटा शब्द पनि पढ्ने स्थिति हुँदैन । हिजोआज पडकास्ट सुन्ने, युट्युबमा अडियो बुक सुन्ने पनि गरिन्छ । अडियो बुक सुन्ने समय त भान्साको काम गर्दागर्दै निकाल्छु, तर वास्तविक पठन समय भन्ने छैन । पहिलेपहिले निद्रा मारेरै पनि राति पढिन्थ्यो, अहिले निद्रा नपुग्दा गाह्रो हुन्छ । रातमा पढ्न सम्भव छैन, दिनमा समय मिल्दैन । साँझ–बिहान भान्साले खान्छ ! तैपनि कसोकसो किताब हेर्ने (गम्भीर पठन होइन) गरिएकै छ ।
- हालैका दिनमा कुन–कुन पुस्तक पढ्दै हुनुहुन्छ ? कस्ता छन् ती पुस्तक ?
म तीव्र पठन गर्न सक्दिनँ र एउटै किताब समातेर पढिरहने स्थितिमा म हुनै पाउँदिनँ । यसो भन्दा ‘एक्स्क्युज’ खोजेको सुनिएला तर गम्भीर पढाइका लागि समय व्यवस्थापन चुनौतीपूर्ण नै छ मलाई । यतिखेर भने मैले पढिरहेको किताब ‘द चित्तवन थारुज इन् साउथ्रेन नेपाल’ शीर्षकको अनुसन्धानमूलक पुस्तक हो । १९९९ मा छापिएको उलरिक मुलर बुकरको यो पुस्तक खास मैले मानवशास्त्रीय अध्ययनको प्रयोजनले पढ्न सुरु गरेकी हुँ ।
पढ्ने कुरालाई एकनिष्ठ ध्यान चाहिन्छ, जुन दिनभरको समय टुक्राएर छिन्नभिन्नजस्तो दैनिकी बाँच्ने मान्छेका लागि धेरै कठिन छ । त्यसैले ध्यानविनाको टापटिप पढाइलाई पढेको कसरी भन्नु !
यी लेखकले नेपालका अरु पनि ठाउँमा पुगेर अनुसन्धानमूलक काम गरेकी रहिछिन् । चितवन र यहाँको आदिवासी थारू जनजीवनमाथि यति मसिनो लेखाजोखा गरिएको पुस्तक मैले यसअगाडि भेटेकी थिइनँ । सेन, शाह र राणाकालमा चितवनको अवस्थिति, यहाँको अर्थतन्त्र, जिमिदारी प्रणाली हुँदै चितवन राष्ट्रिय निकुञ्जको स्थापना र त्यस यताको थारूहरूको जीवन पद्धतिको बुझ्न यो किताब महत्त्वपूर्ण लाग्यो । मैले खास चितवन चिन्ने हुटहुटीले नै धेरै समयदेखि खोजेर भेटाएको किताब हो यो ।
- किताबमा खर्च कति गर्नुहुन्छ ?
म लुगा, सुन वा अन्य सामानभन्दा किताब जोड्न रुचाउने हुँ पहिल्यैदेखि । पोखरा छँदै पहिलोपटक जागिर खाएर कमाएको पहिलो तलबले राहुल सांकृत्यायन, अरुन्धती रोय लगायत लेखकका किताब किनेकी थिएँ । यो सिलसिला पोखरा रहुन्जेल प्रत्येकपल्ट तलब आउँदा जारी रह्यो । त्यो बेला म २०–२१ वर्षकी उत्सुक केटी थिएँ, कविता लेख्थेँ । हामी निम्न वित्तका मान्छे, घरमा कसैले पैसा दिएर किताब जस्तो ‘अनावश्यक सोख’ मानिने चिज किन्नु सम्भव नै थिएन, तर जब आफूले कमाएको पैसाले किताब किन्न थालियो, त्यो जति रमाइलो केही नलाग्ने ! यसरी किताब किन्दा मुक्त पन्छी जस्तो ‘फिल’ आउँथ्यो । पछि पत्रपत्रिकामा लेख्न थालेपछि काठमाडौँ गएर अखबारमा लेखेर पाउने पैसा पाएपछि त्यो सबै पैसाले झोलाभरी किताब किन्ने मन हुन्थ्यो । यसरी किन्दा घर फर्कने गाडी भाडा पनि सकिएर साथीसँग सापट मागेर आएकी पनि छु ।
अहिले पनि म बजारमा आएका नेपाली राम्रा ठानिएका प्रायः पुस्तक आउनेबित्तिकै किन्छु । यसो गर्दा कहिले कहिले त मैले खासै ‘इन्टरटेन’ नगर्ने किताब पनि किनिहाल्ने रहेछु । औसतमा मासिक कमाइको १५ प्रतिशत हाराहारी खर्च गर्छु जस्तो लाग्छ तर कुनै बेला एकमुष्ट पनि मगाइन्छ । त्यस्तो हुँदा अलि धेरै पनि खर्च गरिन्छ । हिसाब राखेको त छैन तर आजभोलि धेरैजसो अनलाइनबाट तिर्ने हुँदा अनुमान गर्न सकिन्छ ।
- तपाईंलाई मन परेको कुनै विदेशी पुस्तक ?
भर्खरै मैले साह्रै सानो आकारको तर असाध्यै प्रभावशाली पुस्तक पढेँ— भिक्टर ई फ्राङ्कलको ‘म्यान्स सर्च फर मिनिङ’ । दोस्रो विश्वयुद्धमा नाजी सेनाको नियन्त्रणमा जर्मनीको मृत्युु शिविरमा रहेर बाँच्न र पुनः सामान्य जीवनमा फर्कन सक्नुको अनुभव समेटेर यो पुस्तक लेखिएको छ । यसमा मानिस कसरी आफू हुनु वा बाँच्नुको अर्थ खोज्दै थप बाँच्न लालयित हुन्छ भन्ने एकदमै जीवन्त शैलीमा आएको छ । उनी मनोचिकित्सा र स्नायुविज्ञानसँग सम्बन्धित व्यक्ति थिए र उत्तिकै आशावादी पनि । तिनले युद्धजस्तो भयानक त्रासदीकै बिच पनि मानिस कुन प्रेरणाले बाँच्छ भन्ने आफ्नै अनुभवजन्य ज्ञानको उपयोगले यति प्रभावशाली किताब लेखे, यो अद्भुत गजब लाग्यो । उनले आनन्द, शक्ति वा अन्य कुराका लागि होइन बरु मानिस आफ्नो अर्थपूर्णताको खोजीले बाँच्न वा केही गर्न प्रेरित हुन्छन् भन्छन् । मैले पढेका अचम्मै सुन्दर किताबमध्ये यो एक नम्बरमा पर्न गयो अब ।
तथ्य थाहा पाउन, इतिहास बुझ्न, समाज चिन्न गैरआख्यानकै आधार चाहिन्छ । तर्क–बुद्धि र बोधको आयाम विस्तारका लागि पनि गैरआख्यान पढ्नैपर्छ । पछिल्लो समय अडियो बुक सहजै पाइने हुँदा पनि दर्शन, इतिहास, राजनीति र समाज विज्ञानसँग जोडिने कुरा बुझ्न सजिलो भएको छ ।
- यहाँलाई मनपरेका नेपाली लेखक अनि पुस्तक ?
मलाई धेरै नै मन परेका नेपाली पुस्तकमा पारिजातका संस्मरणहरू र बीपी कोइरालाको ‘आत्मवृत्तान्त’ हुन् । सुरुमा पारिजात र पछिपछि आएर बीपी कोइराला मेरा सदा प्रिय लेखक बने । पारिजातका संस्मरण पुस्तकमा एउटा स्त्री लेखकले कस्तो पृष्ठभूमिबाट उठेर यो भूगोल, यहाँको माटो र साहित्यिक वृत्तलाई कसरी आत्मसात गर्यो ? उसले जीवनलाई कुन फाटकबाट हेर्यो ? उसको अस्तित्वको संघर्ष कति गहिरो र विशाल थियो ? ऊ के कस्ता छुद्रता र बेइमानीसँग जुध्दै आत्मसंकल्पमा बलियो भई उभियो ? उसको पठन र जिन्दगीको बोधका आयाम कस्ता थिए ? यो सर्लक्क बुझिन्छ । मलाई फेरि फेरि पनि फर्किएर पारिजात पढ्न इच्छा हुने धेरै कुरा छन् उनका संस्मरणमा । अर्को मुख्य कुरा उनको भाषा हो, यस्तो भाषा बिरलै लेखकले खिप्छन् । भाषाको कुरामा पारिजात मेरो चेतनाकी अनन्य लेखक हुन् ।
बीपी कति परिवर्तनकारी र क्रान्तिकारी चिन्तनका मानिस थिए भन्ने कुराले मात्र नभई उनको परिवार र बाल्यकाल हुँदै जीवनका महत्त्वपूर्ण समयका एकाउन्ट पढ्न पाइने उनको ‘आत्मवृत्तान्त’ नेपालको राजनीति र साहित्य दुवै आयामले अत्यन्तै पठनीय पुस्तक हो । बीपीको भाषामा फेरि अर्कै विलक्षण खिचाब छ, त्यो अनेकौँ पुस्तकहरूको संगतमा रहेको भाषा र मानस दुवैले सम्पन्न शिल्पी हातको भाषा हो, तर यो पुस्तक भाषाकै लागि भन्दा पनि इतिहासभित्र छिर्ने लयात्मक संगति र विचार निर्माणका लागि बढी उपयोगी हुने लाग्छ ।
- तपाईंले कुनै पुस्तक चोर्नुभएको छ कि ?
पुस्तक चोरेकै त छैन तर मागेर लिएका केही अनुभव छन् । तीमध्ये धेरै त फर्काएकै छु । केही चाहिँ यति मन परे कि, बजारमा किन्न पनि नपाइने भएकाले आफैँसँग राखेकी छु । सायद दिनेले सम्झेर मागेनन् भने दिन्न होला, (हाऽऽहाऽऽ) ।
- तपाईंका पुस्तक हराएका वा चोरी भएका घटना ?
मैले किनेका किताब पनि अरुले लगेर नफर्काएका घटना धेरै छन् । चोरी चाहिँ एउटा किताब भयो (अरु पनि भए होलान् तर त्यो चाहिँ मेरो मन पर्ने किताब थियो) । त्यो ‘पारिजात स्मृति ग्रन्थ’ थियो, मेरो डेराबाट हराएको । कालो गाता भएको, पारिजातको स्केचले आवरण बनेको उक्त किताबमा पारिजात बितेलगत्तै उनीमाथि लेखिएका निकट अतीतका आला संस्मरण र समीक्षाहरू थिए ।
त्यतिबेला मेरो व्यवस्थित पुस्तकालय थिएन, सायद कोही लेखकले नै लगे होलान् । अलि समयपछि थाहा पाएपछि कतिपयलाई सोधेँ, तर कसैले मसँग छ भनेनन् ! त्यसको नयाँ संस्करण बजारमा छैन जस्तो लाग्छ । पछि पाइन्छ कि भनेर किन्न खोज्दा पनि पाइनँ ।
- आफूले खोजेको तर नभेटेको वा मुस्किलले भेटेको कुनै पुस्तक पनि छन् कि ?
सिमोन द बुभोइरको अंग्रेजी संस्करणको ‘द सेकेन्ड सेक्स’ मैले निकै वर्षमा भेटेर किन्न पाएँ । पहिले नेपाली अनुवादको साह्रै निम्छरो भाषाको पुस्तक पढियो, पछि प्रभा खेतानले अनुवाद गरेको हिन्दी अनुवाद पढेँ । इन्डिया जाँदा दिल्लीको प्रसिद्ध किताब गल्ली दरियागन्जमा यो पुस्तक खोज्न खुब डुलेँ तर धेरै पछि आएर काठमाडौँमा भेटेँ । बल्लतल्ल भेटेर किनेको यो पुस्तक सबै पढिसक्ने धैर्य बन्न त सकेन तर यो पनि घरबाटै पढ्न लगेको मित्रले झन्डै गायब पारेनन् । यो किताब उनीसँग भएको पनि बिर्सेर कति दिन सोच्दासोच्दै कायल परेँ । पछि किताब हात लाग्यो । यस्तै कुरा देवीप्रसाद चट्टोपाध्यायको ‘लोकायत’ किन्ने बेला पनि भएको । यो किन्दा पत्रकार भाइ लक्ष्मण श्रेष्ठसँग गएर किनेको याद छ ।
आख्यानचाहिँ लेखकको कल्पनाशीलताको गहिराइ महसुस गर्न पढ्छु । त्यहाँ मानवीय चरित्रको उत्खनन, समाजले सास फेरिरहेको लय, कथाको जीवन्तता र पात्रहरूका मोहक संवाद होलान् भनेर पढ्छु । कति आख्यानमा यी पाँच कुरामध्ये एक–दुई कुरा मात्रै भेटिन्छन् ।
- यहाँले पहिलोपटक पढेको ठुलो आकारको पुस्तक कुन थियो ? त्यसबाट के पाउनुभयो ?
एसएलसी दिएर बस्दा पढेको निकोलाई अस्त्रोभस्कीको ‘अग्निदिक्षा’ । यो पुस्तक पढ्ने समयमा म विद्यार्थी राजनीतिमा थिएँ । रुसी कम्युनिस्ट क्रान्तिको पृष्ठभूमिमा लेखिएको यो किताब परिवर्तनको सचेत कोसिस गर्नुपर्छ भन्ने उत्साहलाई एकदमै सघन बनाइदिएको थियो । खास कुरा गर्दा त्यो समय आफ्नै सांस्कृतिक चेतनाको परिस्थितिजन्य खाँचोले यो पुस्तक पढ्न प्रेरित गरेको हुन सक्थ्यो । उसरी किताब सजिलोसँग पाइने अवस्थै कहाँ थियो र ! किताब किनेर पढ्ने पनि कहाँ सम्भव ! बल्लतल्ल गाता देख्नसम्म पाइएका किताब पढ्ने उत्कण्ठा कति हुन्थ्यो, अहिले सम्झँदा किताबको तिर्खा लाग्ने त्यो उमेरको लोभ लाग्छ । त्यो पुस्तकले मलाई जीवनका अनेकौँ खाले चिन्तनजन्य दरिद्रता र भयावह स्तरको अभावबाट निस्कन राजनीतिक चेतको कहिल्यै ननिभ्ने बत्ती बालिदिएको जस्तो लाग्छ ।
- आफ्नो सोचलाई नै बदलेको कुनै पुस्तक ? पाँचवटासम्म नाम लिनुपर्दा !
मेरो सोचलाई आधारभूत रूपमै बदलेका किताब मेरो वैचारिक जीवनका मुख्य चरण पनि हुन् । कुन किताबले कतिवेला कसरी प्रभाव पार्छन् भन्ने उमेर, रुचि, अनुभव र ग्रहणको मानसिक अवस्थाले निर्धारण गर्ने रहेछ । मलाई सानो आकारको भएरै पनि प्रभाव पारेको पहिलो महत्त्वपूर्ण पुस्तक अनिल बार्बेको ‘थ्यान्क यु मिस्टर ग्लाड !’ भन्ने थियो । यो स्कुलमै पढेको । क्याम्पस छिरेपछि पृथ्वीनारायण क्याम्पस पोखराको हाताभित्र रहेको पश्चिमाञ्चल क्षेत्रीय पुस्तकालयमा मैले थुप्रै नेपाली किताब पढेँ । त्यतिखेर ‘शिरीषको फूल’ र ‘पागल बस्ती’ जस्ता किताबले धेरै नै प्रभावित गरे । यो व्यक्त वा अव्यक्त प्रेमको कालखण्ड पनि थियो, भावुक कविता लेख्दै च्यात्ने समय थियो तर राजनीतिक प्रतिबद्धताले मैले यस्ता धेरै कविता यत्तिकै बिर्सिदिएँ, छापिनँ । कवितामा मलाई अत्यन्तै प्रभाव पार्ने कवि भने अवतार सिंह पाश हुन् । मेरो जीवन दृष्टि र कविताको रुचिमा उनका कविताको संकलन ‘बीच का रास्ता नहीं होता’ले विशेष स्थान राख्छ । यसपछि नाम लिनुपर्दा म हर्मन हेसको ‘सिद्धार्थ’ को छनोट गर्छु । सत्यको सन्धान र जोखिमको यात्रामा यो पुस्तक मेरो गुरु समान बन्यो । यहाँ पाँच पुस्तक भनेकोले यति नाम लिएँ, यस्ता अरु केही किताब पनि छन् जसको ममाथि पारेका प्रभावका रोचक कथा छन् । मोटामोटी माथि भनिएका पाँच पुस्तक मेरो वैचारिक जीवनका चार कालसँग सम्बन्धित छन् ।
- आख्यान र गैरआख्यानमध्ये कुन विधाका पुस्तक बढी पढ्न रुचाउनुहुन्छ ?
मलाई गैरआख्यान पढ्दा मजा लाग्छ । किनभने तथ्य (फ्याक्ट) थाहा पाउन, इतिहास बुझ्न, समाज चिन्न गैरआख्यानकै आधार चाहिन्छ । तर्क–बुद्धि (रिजनिङ) र बोधको आयाम विस्तारका लागि पनि गैरआख्यान पढ्नैपर्छ । पछिल्लो समय अडियो बुक सहजै पाइने हुँदा पनि दर्शन, इतिहास, राजनीति र समाज विज्ञानसँग जोडिने कुरा बुझ्न सजिलो भएको छ ।
आख्यानचाहिँ लेखकको कल्पनाशीलताको गहिराइ महसुस गर्न पढ्छु । त्यहाँ मानवीय चरित्रको उत्खनन, समाजले सास फेरिरहेको लय, कथाको जीवन्तता र पात्रहरूका मोहक संवाद होलान् भनेर पढ्छु । कति आख्यानमा यी पाँच कुरामध्ये एक–दुई कुरा मात्रै भेटिन्छन् । आख्यान भने म सकेसम्म किताब नै पढ्छु ।
- यहाँले कवितालाई नै किन रोज्नुभयो ? यहाँलाई कुन कुराले लेख्नलाई बढी प्रेरित गर्छ ?
कविता मेरो प्रेम र प्रेरणा दुवै हो । हुन त मैले अखबारी निबन्ध र स्तम्भ पनि राम्रै लेखेँ भन्ठान्छु । विमर्श र बहसजन्य आलेखहरू पनि लेखेकी छु तर कविता लेख्नु मेरा लागि आत्मासम्मै तृप्त हुने गरी कल्पनाको अज्ञात प्रेमीसँग ‘डेट गर्नु’जस्तो लाग्छ मलाई ! कविता लेख्नु मात्र होइन, अरुका कविता पढ्दा पनि म यदाकदा त्यस्तै अनुभव गर्छु । आजै मात्र मैले हिन्दीका कवि मित्रमोहन मुक्तको कविता पढेँ, अरुन्धती रोय र राना अयुबको नाममा लेखिएको ‘मेरी मनपसंद लड्की’ शीर्षकको कविता । मलाई यसले विभोर बनायो ! यस्तो म अरु पनि अनेक कविता पढ्दा महसुस गर्छु । बासु शशि र युद्ध प्रसाद मिश्र, कुन्ता शर्मा या निर्मला पुतुल, कात्यायनी वा माया एन्जेलो, एलेन गिन्सवर्ग वा लक्ष्मीप्रसाद देवकोटा— मलाई यस्ता कविहरू कसैले पनि आफ्नो कैदमा पारिहाल्छन् । ‘स्टिल आई राइज’ जस्ता विभेदविरुद्ध प्रेरणादायी कविता मात्र होइनन् मलाई बालकृष्ण समको ‘मेरो नुहाउने कोठा’ जस्ता लम्बेतान खस्रा कविता पनि मज्जाले मन पर्छन् । म जीवनप्रतिको स्वीकार र यसलाई बदल्ने, बाँच्नलायक बनाउने संकल्पले डोरिएर कविता लेख्ने हुँ भन्ठान्छु ।
- पछिल्लो समय नेपालको पठक संस्कृति कस्तो पाउनुहुन्छ ? आजका पाठकलाई के सुझाव दिन चाहनुहुन्छ ?
धेरै राम्रो छ । आजसम्मको कुरा गर्ने हो भने अहिले र आजकै समय नै पठन संस्कृतिको सबभन्दा गजबको समय हो । ‘सेल्फ हेल्प’ वा र्यान्डम पठन दुवै स्तरमा पाठक बढेका छन् । यो कुरा तपाईं चोकमा बसेर एक–एक जनासँग सोध्दै थाहा पाउनुहुन्न, किताब पसलहरूमा कस्ता किताब बिक्री भइरहेका छन् भन्ने विवरणबाट थाहा पाउन सक्नुहुन्छ । हरेक सहरमा किताबका मज्जाका स्टोरहरू स्थापित भइरहेका छन् । त्यहाँ लेखक, पाठक पुग्छन् । किताबको चर्चा गर्छन् । थप, बुक क्याफेहरू खुलिरहेका छन् । चितवनमै हामी विगत सात वर्षदेखि बुक क्याफेमा पुस्तक, लेखक, मुद्दा आदिको चर्चा गरिरहेका छौँ । काठमाडौँ, पोखरा, चितवन, बुटवल, विराटनगर, धरान, इटहरी, हेटौँडा, सुर्खेत आदि ठाउँमा किताब पठनको संस्कृति मात्र नभई हप्तैपिच्छे किताबमाथिकै छलफल,जमघट कसरी सम्भव भएका छन् ? यो मामिलामा चितवन त अग्रपंक्तिमै छ !
अलिकति भन्नैपर्ने के भने, विचारको गहनता र अनुसन्धानमूलक गम्भीर बोधको पठन चाहिँ अपेक्षित विकास भएको छैन । यसरी पढ्ने केन्द्रहरू लगभग दुर्लभ भइसके ! यस्तोमा वसन्त थापा, शेरा तामाङ, प्रत्युष वन्त वा यस्तै किसिमले उत्पादन हुनुपर्ने लेखक हामी बन्न सकेनौँ । जीवन्त समाजलाई यस प्रकारका लेखकको नयाँ पुस्ता चाहिन्छ । त्यो वातावरण अहिले छैन ।
- आगामी दिनमा तपाईंको के योजना छ ?
योजना भन्नुहुँदैन भन्छन्, (हाऽऽहाऽऽ) । मसँग हालसम्म योजना नै भन्न मिल्ने किताब लेख्नेसम्बन्धी केही खास कुरा छैनन् । चितवनमा पछिल्लो समय हामी राजनीति, साहित्य, पर्यावरण, कृषि, सामाजिक–सांस्कृतिक मुद्दाहरू र अधिकांशतः नसुनिने उत्पीडनका कथाहरू सुन्ने–सुनाउने दक्षिण एसियाली क्षेत्रकै अलि फरक किसिमको ‘फेस्टिभल अफ् आइडियाज– चित्तौन कचेहेरी’ गरिरहेका छौँ । त्यहाँ आदिवासी स्वादको खाना स्टलदेखि हस्तकला र स्थानीय उत्पादनको प्रदर्शन तथा बिक्री पनि गर्दै नाटक, कविता, गजलका कार्यक्रम पनि जोड्ने कार्यक्रम हुन्छन् । यसपटक २०८२ सालमा चितवनका र देशका सातै प्रदेशबाहेक सार्क क्षेत्रका विशिष्ट लेखक, कवि, एक्टिभिस्टहरूलाई निम्तो गरेर विचारको तरङ्ग अझ फराकिलो र बलियो बनाउने तयारीमा छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री डा. राणासँग बिमस्टेक महासचिवको भेटवार्ता
-
त्रिशूलीमा नुहाउन जाँदा बेपत्ता भएका दुई बालिका मृत फेला
-
भक्तपुरमा मोटरसाइकल चोरीमा संलग्न एकजना पक्राउ
-
माओवादीसँग गठबन्धन गर्ने कुनै योजना छैन : कांग्रेस
-
सेन्ट लुइसमा घुम्रपात आउँदा पाँच जनाको मृत्यु
-
हेटौँडामा वाग्ले, फागो र अधिकारी पुरस्कृत