सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

शिक्षक आन्दोलनमा देखिएका चार फरक दृश्य

‘आँधी खोला उर्लेर आयो, आउने थिएनौँ विधेयकले बोलायो...’
बिहीबार, ०४ असोज २०८०, १९ : ५५
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा शिक्षकहरू बुधवारदेखि काठमाडौं केन्द्रीत आन्दोलनमा छन् । देशका ७७ वटै जिल्लाबाट भेला भएर उनीहरुले आन्दोलन चर्काइरहेका छन् । माग सम्बोधन नभएसम्म उनीहरूले विरोधका कार्यक्रमहरूको निरन्तरता दिने बताइरहेका छन् ।

देशैभरीबाट आन्दोलनमा आएका शिक्षकहरुमा पनि विविधता छ । तर, उद्देश्य भने एउटै, जसरी भएपनि विद्यालय शिक्षा विधेयक खारेज गर्नुपर्ने । 

माइतीघरबाट बानेश्वर सम्मको रिपोर्टिङमा हामीले फरक क्षमता भएका शिक्षक जो ह्विलचियरमा आएर आन्दोलनको ऐक्यबद्धता जनाउनेदेखि स्तनपान गराइरहेका आमाहरूलाई पनि भेट्यौँ । सिंगो जिउभरी विरोधस्वरुप कालो कपडामा आफ्ना नाराहरू लेखिएको बस्त्रधारण गर्ने व्यक्ति पनि भेट्यौँ ।

दृश्य –१ : दूधे बालक बोकेर आन्दोलनमा 

रामेछापबाट आएकी हुन् मेनुका माझी, जो बाल शिक्षाको कोटामा कार्यरत छिन् । बिहीबार शिक्षकहरूको आन्दोलनमा बच्चा बोकेर सहभागी उनी भन्दै थिइन्, ‘आफ्नो अधिकारका लागि काठमाडौँ जाऊँ भनेर सबै शिक्षक साथीहरूले भन्नु भयो र म पनि आएँ ।’

दूधे बालकसहित रामेछापबाट काठमाडौँको यात्रा अनि बानेश्वर सडकको यो तातो घामले गाह्रो भएको छैन भन्ने हाम्रो प्रश्नमा उनले भनिन्, ‘गाह्रो त भएको छ तर सरकारले हाम्रो गाह्रो अफ्ठ्यारो सुन्दैन । आफ्ना माग पूरा हुन्छन् भने आन्दोलनमा किन सहभागी नहुने भन्ने लाग्यो र छोरी बोकेरै काठमाडौँसम्म आएँ ।’ उनले अब आफ्नो मात्र होइन, सबै शिक्षकहरूका मागहरु पूरा होऊ्न्, सबैलाई समान ब्यबहारले हेरियोस् भन्ने माग राखिन् ।

उनीजस्तै सानी छोरी बोकेर आन्दोलनमा सहभागी अर्की शिक्षक हुन् रुकमाया तामाङ । उनी पनि शिक्षा विधेयकको विरोधमा सिन्धुपाल्चोकबाट काठमाडौँसम्म आएकी छिन् । 

जुगल गाउँपालिकास्थित आधारभूत विद्यालयमा प्रावि तहमा शिक्षणरत उनले विद्यालय विधेयक २०८० बेठिक भएकैले विरोधका लागि आउनु परेको बताइन् । 

उनले रातोपाटीसँग भनिन्, ‘सोच्न पर्नेहरूले नसोचिदिएर र बुझ्नेहरूले नबुझिदिएपछि बच्चा बोकेर काठमाडौँसम्म आउनुपर्ने बाध्यता आइलाग्यो । अब हाम्रा हक अधिकार सुनिश्चित हुनु  पर्‍यो । विद्यालय शिक्षा विधेयक २०८० खारेज हुनु  पर्‍यो ।’

दृश्य–२ : स्थानीय भाकमा नाच्दै गाउँदै विरोध जनाउँदै

स्याङ्जाबाट आएको टिम जो नाच्दै गाउँदै विधेयकको विरोधमा उत्रिए ।

 ‘आँधी खोला उर्लेर आयो, आउने थिएनौँ विधेयकले बोलायो...’

‘आन्दोलन भर्खर सुरु भाछ भर्खर, हाम्रो माग पूरा गर सरकार...’

यस्तै शब्दमा उनीहरू बानेश्वरस्थित अल्फाविटा अघि भाका हालेर गाउँदै नाच्दै थिए । 

स्याङ्जाबाट गाडी रिजर्भ गरेर सयौँको संख्यामा उनीहरू काठमाडौँ आएका छन् । शिक्षा ऐन २०२८ भन्दा पनि प्रतिगामी विधेएका आएको र विधेयक संघीय ऐनभन्दा पनि सरकार जिम्मेवारीबाट पन्छिनका लागि स्थानीय सरकारलाई हस्तान्तरण गर्न हतारिएको र शिक्षकहरूका पीरमर्कामा संवेदनशील हुन नसकेको उनीहरूको आरोप छ ।

दृश्य–३ : काठमाडौँका मेयर बालेन र शिक्षाविद् विद्यानाथ कोइरालामाथि आक्रोश

नेपाल शिक्षक महासंघको अगुवाइमा जारी आन्दोलनमा देखिएको अर्को दृश्य हो, काठमाडौँका मेयर बालेन शाह र शिक्षाविद् विद्यानाथ कोइराला माथिको आक्रोश । 

पाल्पाको तानसेनबाट आएका झविन्द्र देवकोटा जो आफ्नो शरीर ढाक्ने गरी कालो कपडामा विरोधका पर्चा पम्प्लेट बोकेर आन्दोलनरत थिए ।

उनले रातोपाटीसँग भने, ‘शिक्षकहरूका लागि अन्याय भएको, पालिकाहरूलाई विद्यालय शिक्षा दिँदा शिक्षकहरू हेपिनु परेको र २०६२/०६३ को आन्दोलनपछि शिक्षकहरूलाई सरकारले पटक पटक धोका दिएकाले सशक्त रूपमा आन्दोलनमा उत्रिनु परेको हो ।’

उनले काठमाडौँ महानगरका मेयर शाहलाई चुनौती दिँदै थपे, ‘मेरो विरोध बालेन र विद्यानाथ जस्ताका लागि पनि हो, जसले दूर दराजका सामुदायिक विद्यालयमा गएर कार्यालय सहयोगीले झैँ एक महिना घण्टी बजाएर देखाउन सकुन् !’ 

शिक्षकहरूको आन्दोलनले विद्यार्थीको भविष्यमा असर पुग्ने भन्दै असहमति जनाएका बालेनले बुझ्दै नबुझी विरोध गरेको उनको आरोप थियो । उनले हरेक आन्दोलनमा विद्यालय बन्द रहने र शिक्षकको आन्दोलनमा विद्यालय बन्द नै हुने भन्दै बालेनमाथि विरोध जनाए ।

यस्तै, आन्दोलनमा उत्रिएका देवकोटाले शिक्षाविद् कोइरालालाई पनि दूर दराजमा भएका आधारभूत विद्यालयहरूको अवस्था र त्यहाँको मनोविज्ञानमा रहेर एक महिना अध्यापन गरेर देखाउन चुनौती दिए । 

उनले राजधानीमा बसेर ठूला घरमा बसेर  बालेन र विद्यानाथ जस्ताहरूले सामुदायिक विद्यालयको अवस्थाका बारेमा बुझ्दै नबुझी धारणा बनाएर बोल्ने गरेको आरोप पनि लगाए ।

दृश्य–४ : वैशाखी टेकेर दिनभर अलमल

जारी शिक्षकहरूको आन्दोलनमा देखिएको अर्को दृश्य हो वैशाखी टेकेर अस्पताल पुगेकी पशुपति पाण्डेको । खुट्टाको उपचारका लागि बिहानै बानेश्वरस्थित एभरेस्ट अस्पताल पुगेकी पाण्डे दिउँसोका ३ बजेसम्म अस्पताल अगाडि अलमलमा थिइन् ।

‘न मलाई आन्दोलन छ भन्ने थाहा थियो, न कसैले भन्यो,’ रातोपाटीसँग उनले गुनासो पोख्दै भनिन्,‘बिहान पठाओ बाइकले ल्याइदिएको थियो, अहिले न बाइक चलेको छ, न गाडी चलेको छ । भीडले न त पैदल नै हिँड्न पाइएको छ।’

शिक्षकहरूको आन्दोलनका कारण प्रहरीहरूले बानेश्वरदेखि बिजुली बजार तर्फका दुवै किनारमा रहेका फुटपाथसमेत बन्द गराउँदा पशुपति जस्ता थुप्रै सर्वसाधारण मारमा देखिन्थे । 

कतिपय आन्दोलनकारीहरूमाथि बर्बराइहरेका थिए त कोही प्रहरी प्रशासनमाथि । खुट्टाको उपचारपछि घर जान नपाएकी पशुपति सुनाइरहेकी थिइन्, ‘हिँडेर कतै जाऊँ न भनेर वैशाखीको सहारमा अलि पर पुगेकी थिएँ । यहाँ त जे पनि हुन सक्छ भनेर प्रहरीले भन्नु भयो । अनि, अस्पतालमै आएर बसेकी हुँ।’

‘कमजोरी त सरकारकै होला नि ! यत्रो धेरै शिक्षकहरूले सडकमा रमिता देखाउनु परेको सरकारकै कारणले त होला, ‘पशुपति घर जान नपाएको प्रति गुनासो गर्दै भनिन्,‘जे भएपनि दुःख म जस्ता धेरैले पायौँ, म मात्र होइन, अन्य थुप्रै सर्वसाधारणले पनि भोग्नु पर्‍यो ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप