बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
शिक्षक आन्दोलन

सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी रहने

बिहीबार, ०४ असोज २०८०, २१ : १२
बिहीबार, ०४ असोज २०८०

काठमाडौँ  । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो ।

दुई पक्षबीचको वार्तामा बुँदागत रुपमा छलफल भएको भन्दै कानुनमन्त्री धनरज गुरुङले सकारात्मक  छलफल भएको दाबी गरे । उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान फेरि बैठक बसेर सहमित जुटाउन प्रयास गरिने बताए । सहमित जुटाएर सहजरुपमा सामुदायिक विद्यालयमा पठनपाठनको व्यवस्था मिलाइने उनको भनाइ थियो । 

यस्तै नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णु प्रसाद भण्डारीले आजको बैठकमा सामान्य छलफलमात्रै भएको बताए । उनले भने,'औपचारिक वार्ता गर्न समितिका लागि पत्र लेखिँदैछ । आजको लागि माहोल तयार मात्रै भएको हो । पत्र आएपछि औपचारिक वार्ता हुन्छ ।'  

अध्यक्ष भण्डारीले सहमति नभएसम्म आफूहरुको आन्दोलन जारी रहने बताए । 

विद्यालय शिक्षा विधेयकको विरोधमा महासंघको अगुवाइमा शिक्षकहरु आन्दोलनमा होमिएपछि देशभरको सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ । शिक्षकहरुले काठमाडौँ केन्द्रीत आन्दोलन गरेर आफ्नो माग पुरा गर्न दवाव दिइरहेका हुन् ।

गत वर्षको तथ्याङ्अनुसार हाल देशभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय रहेका छन् । त्यसमा स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत रहेको शिक्षा मन्त्रालयले जनाएको छ । 

 यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार छ विद्यार्थी छन् ।  महासङ्घले सामुदायिक विद्यालयका अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सृजना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्याङ्कन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ । 

सरकारले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक गत भदौ २७ गते प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप