मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

बालेन हठ र आममान्छेको बृहत्तर हितमा उभिएका शालीन विद्रोही ईः

बुधबार, १० असोज २०८०, ११ : ४१
बुधबार, १० असोज २०८०

कसैको कार्यमा चित्त नबुझ्दा गरिने विरोध, प्रतिकार र प्रतिरोधको शैली फरक फरक हुन्छन् । चित्त नबुझेको कुरामा असहमति जनाउनु आमप्राणीको प्रवृत्ति हो । असहमतिलाई विभिन्न शैली र सङ्केतबाट प्रकट गर्ने चलन विश्वव्यापी छ । असहमति व्यक्तिगत र संस्थागत दुवै प्रकारका हुन्छन् । विरोध गर्दा एउटा व्यक्ति संस्था जस्तो बन्न पुग्दो रहेछ । संस्थाको विरोध आममान्छेको बृहत्तर हित प्रवर्धन गर्न केन्द्रित हुन्छ र हुनु पर्छ । 

राणा शासन कालमा नै समाज सुधार र धर्म सुधारको माग राखेर १९८८ असार २२ गते आफ्ना ६८ जना अनुयायीसहित योगमाया न्यौपानेले अरुण नदीमा जल समाधि लिइन् । छुवाछूत, बालविवाह, सतीप्रथा, राजनीतिक भ्रष्टाचार जस्ता मुद्दलाई श्री ३ हरुले सम्बोधन नगरेको भन्दै उनले जलसमाधि लिएकी थिइन् । यस्तै सार्वजनिक स्वास्थ्यको विषयलाई लिएर डाक्टर गोविन्द केसीले २०६९ असारदेखि २०७९ असोजसम्म २० पटक अनशन बसे । करिब १६० दिनभन्दा बढी सत्याग्रहमा बसेर उनले राज्यलाई आफ्नो माग पूरा गराउन गरेको प्रतिरोध एउटा गर्व गर्न लायक थियो । त्यस्तै न्याय माग्दै सत्याग्रहमै ३३४ औँ दिन (२०७१ असोज ६) जीवन गुमाउने व्यक्ति हुन् नन्दप्रसाद अधिकारी । उनकी श्रीमती गङ्गामायाको सत्याग्रह पनि जारी छ । गङ्गामाया र नन्दप्रसादको सत्याग्रह भने द्वन्द्वकालीन हिंसालाई लिएर व्यक्तिगत मागसँग जोडिएको छ । तर डाक्टर केसी र ईःको माग भने आम मान्छेको बृहत्तर हितसँग सम्बन्धित हो । 

यस्तै गरी अनशन बसेर नै भारतबाट ब्रिटिस साम्राज्य धपाउने व्यक्ति हुन् महात्मा गान्धी । उनको नाम स्वर्ण अक्षरले लेखिएको छ । अन्ना हजारेले पनि सन् २०११ देखि अनशन बसेर सामूहिक हितका लागि काम गर्दै हाल राजनीतिमा सक्रिय छन् । आफ्नो र अन्य मान्छेका लागि स्वच्छ कानुनी कारबाहीको माग गर्दै टर्कीमा मानव अधिकारवादी वकिल इबु तिम्तिक भोक हडतालका क्रममा २३८ औँ दिन मृत्यु वरण गरे । 

यसरी विभिन्न समय र काल खण्डमा आमसर्वसाधारणको हितका लागि सत्याग्रहीहरूले आफूलाई पीडा दिई मृत्यु वरण गर्दै राज्य र राज्यका निकायसँग प्रतिरोधात्मक शैलीमा धेरेले विरोध गरेका छन् ।

सडक पेटीका व्यापारीलाई महानगरले एक वर्षदेखि लखेट्दै आएको विषयलाई लिएर गत मङ्गलबारदखि आज (बुधबार) सम्म ९ दिन काठमाडौँ महानगरपालिकाको कार्यालय राष्ट्रिय सभा गृह भृकुटीमण्डप अघि उभिएर ईः नामक अभियन्ताले मेयर बालेन शाहलाई ध्यानाकर्षण गराइरहेका छन् । उनले गास, बास र कपासको विकल्प नभएका सडकपेटीका व्यापारीहरुलाई विकल्प दिन आह्वान गर्दै उभिएका हुन् । 

२०६४ पछि संविधान नबन्ने बेलासम्म सडकमा पहिलोपटक सामूहिक हितको आवाज उठाउँदै निस्केका अभियन्ता हुन् ईः यिनको नाम इशान अधिकारी भए पनि यिनी आफूलाई ईःईः नामले चिनाउन रुचाउँछन् ।  

विभिन्न चरणको सडक सङ्घर्ष प्रदर्शनमा सामेल ईः २०७७ मा ओली सरकारको पालामा भएको ‘इनफ इज इनफ’को सहरी विद्रोहको झल्को दिने प्रदर्शनको अभियन्ता र २३ दिनसम्म अनशन बसेर चर्चामा आएका एक युवा अभियन्ता हुन् । जनताको स्वास्थ्यका लागि सरकारलाई दबाब दिने उद्देश्य स्वरूप कोभिडको महामारी फैलिएको बेला राज्य संवेदनशील र अभिभावकीय भूमिकामा चुकेको भन्दै ईः ले २३ दिन अन्न पानी छोडेर सत्याग्रहमा बसेका थिए । कोविडको बेला उनको माग थियो अदालतले जारी गरेको आदेश तत्काल कार्यान्वयन, कन्ट्याक्ट ट्रेसिङ् र विज्ञ सुझाव समिति गठन गर्नुपर्ने, कोविडमा अग्र पङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षा कर्मीलगायत सम्बद्धपक्षको सुरक्षा र नागरिकहरूलाई राहत र सुरक्षा, जोखिमको जानकारी, स्वास्थ्य क्षमतामा वृद्धि र खर्चको पारदर्शिता र जबाफदेहता हुनुपर्ने जस्ता माग राखेका थिए । 

उनै ईः यतिबेला चर्चा र कष्टको पीडामा छन् । उनका खुट्टा सुन्निएर हात्ती पाइले रोग लागेको खुट्टा जस्ता देखिएका छन् । शारीरिक रूपमा पनि कमजोर देखिएका छन् । घामको असरले उनका मुखका छाला र घाम परेका शरीरका छाला उप्किएर गएका छन् भने उनी घामको किरणले डढेर कालो देखिएको छ । उनको शारीरिक अवस्था कमजोर बन्दै गइरहेको छ । उनलाई आजसम्म विभिन्न राजनीतिक दल स्वस्तन्त्र युवा समूह आदिको सहयोग समर्थन र ऐक्यबद्धता चलिरहेको छ । 

‘हाम्रो चिनारी करुणा कि क्रुरता’ उनको प्रश्न छ । सडकपेटीमा बसेर वर्षाैंदेखि व्यापार व्यवसाय गरेका फुटपाथका व्यवसायी, निम्न पुँजीका व्यक्ति र तिनको व्यवसाय र समस्या लक्षित मागसहित ईः मौन रूपमा उभिएर काठमाडौँ महानगरपालिकाको ज्यादति र साना व्यवसायीलाई लखेट्ने, दुःख दिने र नगरप्रहरीद्वारा भएका दमन र अत्याचारको विरोधमा आफ्ना मागसहित उभिएका हुन् ।’

सडकपेटी अस्तव्यस्त बनाउनु हुन्न र कुरूप पारिनु हुन्न । यो सैद्धान्तिक मान्यता हो । तर यसलाई व्यवस्थापन गर्न र विकल्प दिन अवश्य सकिन्छ । सामान्य मान्छेको रोजीरोटीको विषय भए पनि सरहको लाइफ सर्कल चल्न सबै प्रकारका मान्छे सहरका लागि आवश्यक हुन्छ । सहरमा सामान्य मजदुर ज्यामीदेखि प्राविधिक, अर्ध प्राविधिक, दक्ष, अदक्ष जनशक्ति सबैको जरुरी हुन्छ । सहरमा ज्यालादारीमा छाक टार्नेदेखि निम्न मध्यम वर्ग, मध्यम वर्ग हुँदै उच्च वर्गको बसोबास छ । त्यसैले सहर सबैको हो । निर्वाचन जित्नुअघि बालेन शाहले जे र जस्ता प्रतिबद्धता सडकमा बसेर व्यवसाय गर्नेका लागि गरेका थिए ती प्रतिबद्धता पूरा गराउन एउटा शुभेच्छुकको नाताले उनलाई सम्झाएको ईःले बताएका छन् । असली हितैसीले कमजोरी देखाइदिनु पर्छ । मैले सोही धर्म निर्वाह गर्नुपर्छ । ‘विकल्पबिना दमन गरेर लखेटिएकाहरूको आवाज बोलेको हुँ, मित्रले रूखो बोलेर सत्य कुरा भनिदिन्छ । अवसरवादीले आफूलाई मन परेको र आफ्नो स्वार्थ रक्षाका लागि गुलिया कुरा मात्र सुनाइदिन्छ’ ईःले भनेका छन् । 

संविधान सभाबाट २०७२ मा संविधान जारी भएपछि सबै पक्ष समेटन नसकेको भन्दै ‘यो संविधान मेरो होइन भन्ने’ अभियानका क्रममा त्यसको विरोध स्वरूप सिंहदरबारको पर्खालमा रातो पोत्नेदेखि अकुपाई बालुवाटार, हनुमान ढोका निजीकरण गर्न खोजेको विरुद्ध उभिएका थिए ईः । उनी विवेकशील दल निर्माणका क्रममा पनि सक्रिय व्यक्ति हुन् । ईःको माग राज्य र काठमाडौँ महानगरपालिकाका लागि भार पर्ने विषय पनि होइन । गरिबको पक्षमा आफू लागिपर्ने प्रतिबद्धता जाहेर गर्दै सर्वाधिक मतसहित मेयर जितेका बालेन शाह र त्यस्तै लोकप्रिय मतसहित उपमेयर जितेकी सुनिताले युवा ईः र उनले ध्यानाकर्षण गराएको विषयलाई कम ठान्नु हुँदैन ।

बालेन र सुनिताको असफलता भनेको युवाको असफलतामा दर्ज हुनेछ । यसर्थ राजनीतिमा आकर्षित युवा पुस्तालाई आड, भरोसा र आँट दिँदै दृष्टान्त पेस गर्न पनि महानगरका जोडी सुनिता र बालेनले विरोधको स्वर सुन्ने र आफूलाई शासक नभएर सेवक बन्ने राजनीतिक र मानवीय उदारता देखाउनु पर्ने हो । तर महानगरपालिकाका बालेन आफ्नो हठ छोडेका छैनन् । 

युवा ईः लगातार ९ दिनदेखि उभिएर थकित छन् । उनको स्वास्थ्यमा कुनै पनि बेला जोखिम आउन सक्छ । लौरोको सहाराबिना उभिन नसक्ने बनेका छन । उनले अभद्र र अशिष्ट प्रदर्शन गरेका छैनन् । शिष्ट मौन र नवीन शैलीमा उनी उभिएका छन् । सभ्य र सुसंस्कृत विरोधको रचनात्मक शैलीलाई स्याबासी दिन र सबैका लागि अनुकरणीय बनाउन पनि उनका मागबारे महानगरपालिका र सम्बद्ध पक्ष सरकारसमेतको सरोकार अपरिहार्य देखिन्छ । 

अबको राजनीतिमा हुनुपर्ने विरोध र सिर्जनात्मक शैली भनेको यस्तै हुनु पर्छ । अरूलाई दुःख नदिई आफैँलाई पीडामा राखेर स्वपीडन अनशन र आत्मदाहको उदाहरण हो यो । अहिले उभिएर विरोध प्रकट गर्ने असहमति व्यक्त गर्ने, आफ्नो माग प्रस्तुत गर्ने नवीन र सुसंस्कृत विरोध, भुइँमान्छेको समस्याप्रतिको निष्ठा र समर्पणमा उभिएका एउटा शालीन विद्रोही, भद्र अवज्ञाकारी ईःलाई यो पङ्क्तिकरको पनि हार्दिक नैतिक समर्थन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप