सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
एमाले प्रदेश अधिवेशन

कर्णाली एमाले अधिवेशन : अझै सुरु भएन मतदान

शनिबार, १३ असोज २०८०, १९ : ३३
शनिबार, १३ असोज २०८०

सुर्खेत । कर्णाली एमाले अधिवेशनको मतदान प्रक्रिया अझै सुरु हुन सकेको छैन । शनिबार साँझ ६ बजेबाट मतदान प्रक्रिया सुरु हुने भनेपनि अहिलेसम्म सुरु हुन नसकेको हो ।

अहिले मतदानस्थल भित्रको अवस्थालाई कडाई गरिएको छ । श्रोतका अनुसार केही मतपत्र छाप्ने काम पनि बाँकी रहेको बताइएको छ । बिहान ८ बजे नै प्रकाशित गरिसक्नुपर्ने उम्मेदवारको अन्तिम नामावली ढिलोगरी साँझ  प्रकाशित भएको थिाये । दिउँसो १२ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका रहेपनि नामावली प्रकाशनमा ढिलाइ भएपछि मतदान सुरु‌ हुन नसकेको बताइएको छ ।

प्रकाशित नामावली अनुसार अध्यक्षका लागि तीन जना, उपाध्यक्षका लागि तीन, सचिव दुई, उपसचिवका लागि तीन जनाबीच प्रतिस्पर्धा हुने भएको छ। यसअघि अध्यक्ष पदका लागि पाँच जनाको उम्मेदवारी दर्ता भएकामा दुई जनाले उम्मेदवारी फिर्ता लिएका थिए ।

कर्णाली प्रदेशसभा पूर्वसभामुख राजबहादुर शाही र कालीकोटका प्रेमबहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका हुन् । अध्यक्ष पदमा कालीकोटका प्रकाश रोकाया, सल्यानका गुलाबजङ्ग शाह र कालीकोटका मीनबहादुर शाहीबीच प्रतिस्पर्धा हुने भएको छ ।

सचिवमा दैलेखका रुद्रबहादुर शाही र सुर्खेतका ध्रुवकुमार शाहीबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि सचिवमा उम्मेदवारी दिएका सुर्खेतका डण्डीप्रसाद शर्माले सचिवमा रुद्रबहादुर शाहीलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए । 

प्रदेशको नेतृत्व सहमतिमा टुङ्ग्याउने प्रयास गरेको एमालेले अन्ततः निर्वाचन प्रक्रियाबाटै नेतृत्वको टुङ्गो लगाउने भएको हो । प्रदेश अधिवेशनको उद्घाटन गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहमतिका आधारमा नेतृत्व छान्न निर्देशन दिएका थिए । तर नेताबीचमा कुरा नमिल्दा निर्वाचनबाटै नेतृत्व चयन गर्नुपरेको नेकपा एमाले कर्णाली प्रदेशका अध्यक्ष विनोद शाहले जानकारी दिए । 

एमालेले प्रथम अधिवेशनबाट पाँच पदाधीकारीसहित एक सय ३५ सदस्य चयन गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप