मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
कराँतेका गुरु–चेली

इतिहास रचेकी एरिका गुरुङ भन्छिन्, ‘मैले रजत जितेको होइन, स्वर्ण गुमाएकी रैछु’

सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । ठुला अन्तर्राष्ट्रिय प्रतियोगितामा देशका लागि ऐतिहासिक पदक जित्दा कुनै खेलाडीको मनोदशा कस्तो होला ? हामी ठान्छौँ—  खुसीको पराकाष्ठा होला, हर्षले आँखा रसाऊलान्, देशको सम्झना आउला, गर्वले छाती फुल्ला, आफन्तको सम्झना होला आदि । 

सात महिनाअघि एसियाली खेलकुद (एसियाड) को १९औँ संस्करणमा देशका लागि ऐतिहासिक रजत पदक जितेकी कराँते खेलाडी एरिका गुरुङले भने त्यस्तो कुनै अनुभव गरिनन् । 

‘यसअघि कुनै सामान्य प्रतियोगितामा पदक जितेजस्तो अनुभव भयो । कुनै ठुलो उपलब्धि हासिल गरेको भान नै भएन । स्वदेश फर्किएपछि बल्ल आफूले जितेको पदकको महत्व बुझेँ,’ आफ्नो अनुभव सुनाइरहँदा १९ वर्षीया एरिका मुसुक्क हाँस्छिन् । 

Eirika Gurung

चीनको हाङ्झोउमा आयोजित प्रतियोगिता (सन् २०२३ को सेप्टेम्बर २३ – अक्टोबर ८)मा एरिकाले महिला कुमुते (६८ केजीभन्दा माथिको तौलसमूह)मा रजत पदक जितेकी थिइन् ।  

त्यतिबेला रजत जितेको उनको खुसीलाई स्वर्ण गुमाएको दुःखले छोपेको रहेछ । ‘पहिलो सहभागितामै एसियाडजस्तो ठुलो प्रतियोगितामा रजत जित्दा खुसी पनि लाग्यो । स्वर्णको अत्यन्तै नजिक पुगेर चुक्दा रुन पनि मन लाथ्यो,’ एरिका आफ्नो अवस्था सुनाउँछिन्, ‘साँच्चै भन्दा मेरो मनस्थिति दोधारे अवस्थामा थियो । फाइनलमा हार्ने सबै खेलाडीलाई सायद यस्तै हुँदो हो !’

कराँते प्रशिक्षक कुशल श्रेष्ठका लागि विमानस्थलको दृश्य नौलो थिएन । अनौठो महसुस गरेकी एरिकाले साथमै रहेका प्रशिक्षक कुशललाई भनिछन्— गुरु ! मैले एसियाली खेलकुदमा रजत जितेको होइन रैछ, बरु मैले स्वर्ण पदक गुमाएकी रैछु ।’

इन्डोनेसियामा पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण जितेकाले पनि उनका लागि एसियाडको रजत पदक सामान्य थियो । रजत जितेपछि उनलाई खेल पदाधिकारी, प्रशिक्षक र सहकर्मीले बधाई दिए, उनले सहज रूपमा लिइन् । सामाजिक सञ्जालबाट पनि उनलाई बधाईको ओइरो लाग्यो । त्यसअघिका प्रतियोगितामा पदक जित्दा यसरी बधाई आइरहन्थ्यो, त्यसैले यसलाई उनले सामान्य रूपमा लिएकी थिइन् ।

चीनबाट स्वदेश फर्कंदा विमानस्थलमा उनले नसोचेको दृश्य देखिन् । उनीहरूको स्वागतका लागि समर्थक र सिङ्गो नेपाली खेलकुद विमानस्थलमा पुगेको थियो । ‘बाजागाजा, फूलमाला, सिँगारिएका गाडीहरू देख्दा अचम्म लाग्यो,’ उनी भन्छिन्, ‘कुनै उत्सवभन्दा कम थिएन । त्यसपछि मात्र मैले त्यो पदकको महत्त्व बुझेँ ।’ 

कराँते प्रशिक्षक कुशल श्रेष्ठका लागि विमानस्थलको दृश्य नौलो थिएन । अनौठो महसुस गरेकी एरिकाले साथमै रहेका प्रशिक्षक कुशललाई भनिछन्— गुरु ! मैले एसियाली खेलकुदमा रजत जितेको होइन रैछ, बरु मैले स्वर्ण पदक गुमाएकी रैछु ।’

एरिकाको यस भनाइले नेपाली खेलकुदमा निकै ठुलो अर्थ राख्ने कुशलको बुझाइ छ । 

अन्तिम आशा थिइन् एरिका

त्यो पदक देशका लागि र एरिका आफ्नै लागि पनि धेरै अर्थमा महत्त्वपूर्ण थियो । १९औँ एसियाडमा नेपालले महत्वाकाङ्क्षी लक्ष्यसहित निकै ठुलो खेल टोली सहभागी गराएको थियो । प्रतियोगितामा नेपालबाट २९ खेलका दुई सय ५० जनाभन्दा बढी खेलाडीले भाग लिएका थिए ।

प्रतियोगिता सुरु भएपछि विश्व खेलकुदमै प्रभुत्व जमाउन सफल एसियाका धुरन्धर खेलाडीका अगाडि नेपाली खेलाडीको जोडबल चलेन । प्रतियोगिता अगाडि बढ्दै जाँदा विभिन्न खेलमा सहभागी नेपाली खेलाडी एकपछि अर्को गर्दै घर फर्किरहेका थिए । 

प्रतियोगिता समाप्त हुने दिन पनि नजिकिँदै थियो । महिला कबड्डी टोलीले जितेको एउटा कांस्य पदक बोकेर नेपाली खेल टोली स्वदेश फर्कनुपर्ने अवस्था प्रबल बन्दै थियो । उसो त एसियाली खेलकुदको इतिहासमा कबड्डीले पनि देशका लागि पहिलोपटक कांस्य जितेको थियो ।

निराशाबिच उनले हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा लेख्न भ्याएछन् । त्यसको जानकारी उनले नेपालमा रहेका कराँते महासंघका अध्यक्ष युवराज लामालाई पनि गराए । त्यतिबेलासम्म एरिकाको स्पर्धा भने बाँकी नै थियो ।

यस्तो स्थितिमा नेपाली खेल टोलीका लागि कराँते मात्र आशा र भरोसाको केन्द्रका रूपमा रहेको थियो । सुरुआती चरणमा कराँते खेलाडीले पनि सोचेजस्तो सफलता हात पार्न सकिरहेका थिएनन् । नेपाली खेल टोली निराश थियो र अघिल्लो संस्करणभन्दा कम उपलब्धि बोकेर स्वदेश फर्किनुपर्ने त्रासमा पिल्सिएको थियो । 

‘हामी निकै दबाबमा थियौँ । जो भेटिए पनि अब कराँतेको मात्र भर छ भन्थे । नेपालबाट पनि तारन्तर फोन आइरहन्थ्यो । सबैको आँखा कराँतेमै थियो । अप्रत्याशित रूपमा पर्न आएको यस्तो दबाबले हामीलाई सकारात्मक ऊर्जा थप्ने काम पनि गर्‍यो,’ कराँते प्रशिक्षक कुशल श्रेष्ठ त्यतिबेलाको अवस्था सम्झन्छन् । एसियाली खेलकुदमा उनी कराँते प्रशिक्षकको भूमिकामा थिए ।

त्यसपछि प्रतियोगिताको उत्तरार्धतिर चमत्कार भयो । पहिलोपटक ठुलो अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव बटुल्न चीन पुगेकी १९ वर्षीया एरिकाले देशलाई ऐतिहासिक सफलता दिलाइन् । उनले आफ्नो स्पर्धाको सेमिफाइनलमा हङ्कङकी यान काई होलाई ८–४ अंकले हराउँदै रजत पक्का गरिन् ।

नेपाली खेल टोलीको मुहार उज्यालो बनाउन त्यो पदक पर्याप्त थियो, तर एरिकाको त्यो रजतले अर्को ऐतिहासिक उपलब्धिको ढोका पनि उघारेको थियो । उनी फाइनलमा पुगेकी थिइन् र फाइनल जित्न सके नेपालले एसियाली खेलकुदको इतिहासमा हालसम्मकै सबैभन्दा ठुलो उपलब्धि हासिल गर्ने सम्भावना थियो ।  

नेपाली खेलकुदले त्यो मिठो क्षणको अनुभव गर्न भने पाएन । अर्थात् स्वर्ण पदकका लागि भएको भिडन्तमा एरिका कजाकस्तानकी प्रतिद्वन्द्वी सोफिया बेरुत्सेभासँग ३–० अंकले पराजित हुन पुगिन् । नेपालले एउटा स्वर्णिम अवसर गुमायो । 

‘पहिलोपटक ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएकी थिएँ । नयाँ खेलाडी भएकाले मसँग गुमाउनभन्दा पनि जित्नका लागि धेरै कुरा थियो । प्रशिक्षकले पनि जित्नैपर्छ भनेर दबाब दिनुभएको थिएन । उहाँले हामीलाई स्वाभाविक प्रदर्शन गर्न मात्र भन्नुभएको थियो । यी सब कुराले मेरो आत्मविश्वास बलियो बनाउन मद्दत गर्‍यो । यो पदक यस्तै सकारात्मक परिस्थितिहरूको उपज हो,’ एरिका भन्छिन् । 

MB2A0990

जब निराश प्रशिक्षकले राजीनामा लेखे

एसियाली खेलकुदमा कराँतेबाट धेरैले पदकको आशा गरेका थिए, तर, सुरुवाती चरणमा उत्कृष्ट प्रदर्शन गरे पनि कराँते खेलाडीहरू एकपछि अर्को गर्दै पदकबाट टाढिँदै थिए । आशा गरिएका खेलाडीले नै पदक जित्न नसकेपछि प्रशिक्षक कुशल पनि निराश बनेका थिए ।

त्यही निराशाबिच उनले हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा लेख्न भ्याएछन् । त्यसको जानकारी उनले नेपालमा रहेका कराँते महासंघका अध्यक्ष युवराज लामालाई पनि गराए । त्यतिबेलासम्म एरिकाको स्पर्धा भने बाँकी नै थियो । 

‘पदक नआएपछि म हतास भइसकेको थिएँ । नैतिक जिम्मेवारी लिँदै राजीनामा लेखेँ । त्यसको जानकारी टेलिफोनबाटै कराँते महासंघका अध्यक्ष युवराज गुरुलाई पनि दिएँ । उहाँले त उल्टै मलाई हकार्नुभयो । एरिकालगायत केही खेलाडीको प्रतिस्पर्धा बाँकी नै रहेकाले अन्तिम समयसम्म कुर्न सुझाव दिनुभयो । आखिर उहाँले भनेको कुरा सत्य साबित भयो,’ प्रशिक्षक कुशल भन्छन् ।

440704345_1149070296538286_2369343503779067395_n

कुशलको अनुभवमा नेपाली खेलकुदमा एउटा नराम्रो परिपाटी विकास हुँदै आएको छ । ‘नेपाली खेलकुदमा एउटा नराम्रो परम्परा छ । खेलाडीले राम्रो गरे खेलाडी हिरो हुन्छ । खेलाडीले नराम्रो प्रदर्शन गरे त्यसको सबै दोष प्रशिक्षकको टाउकोमा थोपरिन्छ । एउटा कुशल खेलाडी तयार पार्न प्रशिक्षकले कति परिश्रम गरेको छ भन्ने कुरालाई कहिल्यै ध्यान दिइँदैन,’ उनको गुनासो छ । 

  • पहिलो सहभागितामै नसोचेको सफलता

खासमा एसियाली खेलकुदमा सहभागी हुनुअघि एरिकासँग अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव थिएन । चीन पुग्नु केही दिनअघि उनले इन्डोनेसियामा विश्व सितेरियो कराँते च्याम्पियनसिप खेलेकी थिइन् । उनले खेलेको त्यो नै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । विश्व च्याम्पियनसिपको आफ्नो तौल समूहमा उनले स्वर्ण पदक पनि जितेकी थिइन् ।

नेपाली खेलाडीले एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा जितेको भने यो दोस्रो रजत पदक हो । यसका अतिरिक्त एसियाली खेलकुदको कराँतेमा नेपाली खेलाडीले जितेको यो नै पहिलो रजत हो ।

‘इन्डोनेसियामा मैले जीवनकै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएँ । त्यहाँ जितेको स्वर्ण पदकले मेरो आत्मविश्वास बढाउन मद्दत गर्‍यो । खेलाडी सफलताका भोका हुन्छन् भन्ने सुनेकी थिएँ । इन्डोनेसियाको सफलताले मेरो पनि भोक बढाएको थियो । मभित्र अझ ठुलो सफलता हात पार्ने हुटहुटी जागेको थियो । त्यसका लागि एसियाली खेलकुद उपयुक्त थलो बन्न पुग्यो,’ कराँतेकी यी उदीयमान खेलाडी एरिका भन्छिन् । 

नेपालले पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको छ । पहिलो संस्करण सन् १९५१ मा भारतको नयाँ दिल्लीमा आयोजना भएको थियो । त्यसयता नेपाल हरेक संस्करणमा सहभागी हुँदै आएको छ । एसियाली खेलकुदको ७२ वर्ष लामो इतिहासमा नेपालले जितेको यो केवल तेस्रो रजत पदक हो । 

नेपाली खेलाडीले एसियाली खेलकुदको व्यक्तिगत स्पर्धामा जितेको भने यो दोस्रो रजत पदक हो । यसका अतिरिक्त एसियाली खेलकुदको कराँतेमा नेपाली खेलाडीले जितेको यो नै पहिलो रजत हो । सन् १९९८ मा थाइल्यान्डमा सम्पन्न एसियाडमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलो र सन् २०१८ मा इन्डोनेसियामा सम्पन्न एसियाडमा प्याराग्लाइडिङ टोलीले दोस्रो रजत पदक जितेका थिए ।

  • गुरुभन्दा चलाख चेली

एरिकाले जितको सुरुआत जापानकी खेलाडी युजुकी सवाईलाई हराउँदै गरेकी थिइन् । विश्व कराँते महासंघको वरीयतामा पाँचौँ स्थानमा रहेकी युजुकी जापान कराँते प्रिमिअर लिग र कन्टिनेन्टल च्याम्पिअनसिपकी स्वर्ण पदक विजेता खेलाडी थिइन् । यो घटनासँग एउटा रोचक प्रसङ्ग जोडिएको रहेछ । 

पहिले खेल नै बलियो प्रतिद्वन्द्वीसँग परेपछि प्रशिक्षक कुशल पनि दबाबमा परेछन् । खेलाडी झन् उसै पनि मानसिक दबाबमा पर्ने नै भए । पहिलो प्रतिद्वन्द्वी नै विश्वस्तरीय भएको थाहा पाएमा एरिकाको मनोबल खस्कन सक्थ्यो । 

‘मैले एरिकालाई केही बताइन् । उनलाई केवल स्वाभाविक खेल पस्कन भनेँ । खेल सकिएपछि बल्ल थाहा भयो, एरिकाले त जापानी खेलाडीको बारेमा मभन्दा पनि बढी जानकारी बटुलिसकेकी रैछन,’ प्रशिक्षक कुशल भन्छन्, ‘एरिका इन्टरनेट युगकी पुस्ता हुन् भनेर मैले भुसुक्कै बिर्सिएछु ।’ 

440090994_706342184813989_287926898069880956_n

नेपाली खेलकुदकी ‘अपवाद’ खेलाडी

राष्ट्रको जर्सी लगाएर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नु र पदक जितेर देशको गौरव बढाउनु कुनै पनि खेलाडीले देख्ने सपना हो । हरेक खेलाडीले यो सपना पालेका हुन्छन् । त्यो सपना साकार पार्न खेलाडीले वर्षौँ मैदानमा पसिना बगाएका हुन्छन् । 

तल्लो स्तरदेखि नै निरन्तरको सङ्घर्षबाट खारिएका खेलाडी अन्ततः राष्ट्रिय टोलीसम्म पुग्छन् । राष्ट्रिय टोलीमा पुगेका खेलाडीले पनि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाउँछन् नै भन्ने छैन । यसका लागि पनि खेलाडीले आफूलाई अन्य सहकर्मीभन्दा अब्बल साबित गर्नुपर्ने हुन्छ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएका हरेक खेलाडीले देशका लागि पदक जित्नै गौरव पनि प्राप्त गर्दैनन् । यो सन्दर्भमा भने नेपाली खेलकुदकी ‘अपवाद’ खेलाडी हुन्, एरिका । उनले सानै उमेरमा आफूलाई अब्बल साबित गरिन् । 

एसियाली खेलकुदका क्रममा आएका केही समाचार र सामाजिक सञ्जालमा देखिएका केही कुराबाट भने उनी विचलित बनेका रहेछन् । 

सुरुमा उमेर कम भएका कारण अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न अवसर पाइनन्, हिम्मत हारिनन् । निरन्तर प्रयास गरिरहिन् । नवौँ राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जितिन् । पहिलोपटक राष्ट्रिय टोलीमा परिन् । एसियाली खेलकुद सङ्घारमै थियो । छनोट प्रतियोगितामा पनि उत्कृष्ट प्रदर्शन गरिन् ।

पहिलोपटक राष्ट्रिय टोलीमा परेलगत्तै इन्डोनेसियामा पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाइन् । पहिलो अन्तर्राष्ट्रिय सहभागितामै स्वर्ण पदक जितिन् । अनि, एसियाकै धुरन्धर खेलाडीहरूको जमघट हुने बृहत् खेल मेलामा भाग लिन इन्डोनेसियाबाटै चीन पुगिन् ।

त्यसपछि एसियाली खेलकुदको पहिलो सहभागितामै देशलाई ऐतिहासिक रजतपदक पनि चुमाइन् । यसरी उनको खेल यात्राको हरेक पाइलामा ‘पहिलो’ शब्द अभिन्न रूपमा जोडिन पुग्यो । नेपाल मात्र होइन, विश्व खेलकुदमा यस्तो सफलता हात पार्ने खेलाडी निकै कम हुन्छन् ।

‘खेलप्रतिको आशक्ति, निरन्तरको परिश्रम, एकपछि अर्को सफलता हात पार्ने हुटहुटी, अनुशासित जीवनशैली अनि बलियो आत्मविश्वास— समग्रमा यही हो एरिकाको सफलताको रहस्य,’ राष्ट्रिय टोलीमा उनलाई निरन्तर प्रशिक्षण गराउँदै आएका प्रशिक्षक कुशल भन्छन् ।

  • समाचारको शीर्षकप्रति गुनासो 

प्रशिक्षक कुशल नेपाली खेलकुदको स्तरवृद्धि गर्न सञ्चारमाध्यमले निकै ठुलो भूमिका निर्वाह गर्दै आएको बताउँछन् । उनका अनुसार, खेलाडीको आत्मविश्वास बढाउन होस् वा खेलकुद क्षेत्रको कमी–कमजोरी औँल्याउन मिडियाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

एसियाली खेलकुदका क्रममा आएका केही समाचार र सामाजिक सञ्जालमा देखिएका केही कुराबाट भने उनी विचलित बनेका रहेछन् । 

एरिकाले सेमिफाइनल जितेपछि नेपाललाई रजत पदक पक्का भएको थियो । योसँगै स्वर्ण पदक जित्ने सम्भावनाको ढोका पनि खुलेको थियो । तर सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ‘नेपाललाई रजत पक्का’ भन्ने शीर्षकमा मात्र समाचार आए । 

‘नेपालले स्वर्ण जित्ने सम्भावना बलियो भनेर खासै समाचार आएनन् । यस्तो शीर्षकमा समाचार आएको भए, त्यसले खेलाडीको हौसला बढाउन मद्दत गथ्र्यो,’ कुशल भन्छन्, ‘समाचारको शीर्षक देख्दा लाग्थ्यो, हामी रजत पदक जित्न मात्र चीन आएका हौँ । अब हाम्रो लक्ष्य पूरा भइसक्यो ।’

उनका अनुसार, जानेर वा अञ्जानमा आउने यस्ता समाचार र शीर्षकले महत्त्वपूर्ण खेलअघि खेलाडीलाई मानसिक रूपमा प्रभावित गर्छ ।

  • अमृत र विष दुवै हो ‘स्टारडम’ 

चीन प्रस्थान गर्नुअघि नेपाली खेलकुदका लागि एरिका खासै चर्चित नाम थिएन । रजत जितेर फर्केपछि देशभित्र रातारात उनको परिचय फेरिएको थियो । 

उनी नेपाली खेलकुदमा ऐतिहासिक खेलाडीका रूपमा स्थापित भएकी थिइन्, चर्चाको शिखरमा थिइन् । समाचारपत्रका पानाहरूमा उनकै चर्चा थियो । टेलिभिजनका क्यामेराहरू उनीतिरै सोझिन थालेका थिए । उनको अन्तर्वार्ता लिन सञ्चारकर्मीबिच होड नै चलेको थियो । 

एसियाली खेलकुदबाट ऐतिहासिक रजत जितेर फर्किएपछि एरिका यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता खेल्न अमेरिकामा पुगिन् । रमाइलो कुरा त, उनले आफ्नो खेलजीवनको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जित्न भ्याइन् । 

त्यतिबेला प्रशिक्षक कुशल भने अर्कै चिन्तामा थिए । ‘स्टारडम’का कारण देश–विदेशका धेरै खेलाडीको भविष्य अन्धकारमा जाकिएको उनले देखेका थिए । त्यसमाथि एरिकाको उमेर निकै कम थियो । त्यसैले एरिकाको भविष्यलाई लिएर उनी चिन्तित बनेका थिए ।

‘एरिकाले सानै उमेरमा ठुलो उपलब्धि हासिल गरेकी थिइन् । एक्कासि उनको चर्चा चुलिएको थियो । स्टारडमले सधैँ राम्रो मात्र गर्दैन, घातक परिणाम पनि दिन्छ भन्ने मैले बुझेको थिएँ,’ कुशल भन्छन्, ‘रजत जितेर फर्किएपछि मैले उनलाई स्टारडमबाट धेरै उत्साही नहुन सल्लाह दिएको थिएँ । स्टारडम अमृत पनि हो र विष पनि हो ।’

  • अमेरिकामा स्वर्ण र रजत

एसियाली खेलकुदबाट ऐतिहासिक रजत जितेर फर्किएपछि एरिका यूएसए ओपन अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता खेल्न अमेरिकामा पुगिन् । रमाइलो कुरा त, उनले आफ्नो खेलजीवनको तेस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि पदक जित्न भ्याइन् । 

अमेरिकाको टेक्सासमा मार्च २६ देखि ३१ तारिखसम्म सम्पन्न यूएसए ओपनर कराँते प्रतियोगितामा उनले एक स्वर्ण र एक रजत पदक चुमिन् । 

उक्त स्पर्धाको फाइनलमा महिला ६८ केजीभन्दा माथिको तौल समूहमा रजत पदक हात पारेकी एरिका आयोजक राष्ट्र अमेरिकी खेलाडीसँग ३–२ अङ्कले पराजित भएकी थिइन् । त्यसअघि उनले सोही समूहको यू–२१ एलिट स्पर्धामा भने स्वर्ण पदक जितेकी थिइन् । 

396035854_1477104913142872_8158545061498594799_n

  • अबको लक्ष्य एसियाडमा ‘पहेँलो धातु’

एरिकालाई लाग्छ, खेलाडी सफलताका भोका हुन्छन् । इन्डोनेसियामा स्वर्ण जितेपछि उनलाई चीनमा पदक जित्ने भोक जागेको थियो । त्यसो भए एरिकाको अबको लक्ष्य के हो त ? ‘सन् २०२६ को एसियाली खेलकुदमा पहेँलो धातु अथार्त्, स्वर्ण पदक,’ प्रश्न भुइँमा झर्न नपाउँदै उनको जवाफ आयो । 

सन् २०२६ को एसियाली खेलकुद जापानमा आयोजना हुँदै छ । त्यसका लागि अझै दुई वर्ष समय बाँकी छ । यसबिचमा थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगिता छन् । ती प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आफूलाई आगामी एसियाली खेलकुदमा स्वर्ण पदकको हकदार बनाउने लक्ष्य एरिकाकोे छ ।

प्रशिक्षक कुशल पनि आगामी एसियाडमा एरिकाले स्वर्ण पदक जित्नेमा आशावादी छन् । ‘नेपाली कराँतेमा एरिका सम्भावना बोकेकी खेलाडी हुन् । उमेरका हिसाबले पनि उनको खेलजीवन लामो छ । सबै पक्षको सहयोग पाउने हो भने उनले आगामी एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सक्छिन् । यो मेरो विश्वास हो,’ कुशल भन्छन् ।

  • मनमैजु डोजोमा सिकिन् कराँतेको कखरा

एरिकाको मूलघर धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका–१३ स्थित लाहुरे गाउँमा हो । उनी हाल बुवा, आमा र बहिनीसँग काठमाडौँको मनमैजुमा बस्छिन् । उनले स्कुले शिक्षा पनि मनमैजुबाटै पूरा गरेकी हुन् । कराँते खेल्न थाल्दा उनी नौ वर्ष थिइन् ।

एरिकालाई सबैभन्दा मन पर्ने खेल कराँते नै हो । के उनलाई अरु खेल मन पर्दैन त ? ‘मलाई कराँतेपछि सबैभन्दा मन पर्ने खेल फुटबल हो ।

‘मनमैजुमा जताततै कराँतेकै माहोल थियो । अरुले सेतो गी लगाएर कराँते सिक्न गएको देख्दा मलाई पनि रहर लाग्यो । बुवा–आमाले पनि कराँते सिक्न प्रोत्साहन गर्नुभयो । सिक्दै जाँदा बिस्तारै यो खेलले मोहनी लगायो,’ एरिका भन्छिन् ।

उनलाई कराँतेको कखरा सिकाउने पहिलो गुरु निरज महर्जन हुन् । उनी अहिले पनि आफ्नो पहिलो गुरु निरजप्रति आभारी छिन् । ‘उहाँकै औँला समाएर म आजको स्थितिसम्म पुगेकी हुँ । पहिले उहाँसँग स्कुलमा कराँते सिकेँ । त्यसपछि गुरुकै मनमैजु डोजोमा सिक्न थालेकी हुँ,’ उनी भन्छिन् । 

एरिकालाई सबैभन्दा मन पर्ने खेल कराँते नै हो । के उनलाई अरु खेल मन पर्दैन त ? ‘मलाई कराँतेपछि सबैभन्दा मन पर्ने खेल फुटबल हो । अहिले पनि फुटबलका प्रतियोगिताहरू हेर्छु,’ एरिका भन्छिन् ।

एरिकाको विचारमा एउटा खेलाडीका लागि सबै खेल उत्तिकै महत्त्वपूर्ण हुन्छ । ‘खेलाडी हुनु भनेको भावना हो । त्यसैले एउटा खेलाडीले आफ्नो खेलाडीलाई मात्रै होइन, सबै खेललाई उत्तिकै माया र सम्मान गर्छ । ‘म सबै खेल र तिनका खेलाडीलाई सम्मान गर्छु । मेरो विचारमा खेलकुद भावना हो र संस्कृति पनि हो,’ उनी भन्छिन् । 

  • जीवनशैली 

स्नातक तहमा अध्ययनरत एरिकाको जीवनशैली निकै व्यस्त छ । बिहानमा उनी राष्ट्रिय टोलीसँग नियमित प्रशिक्षण गर्छिन् । घरमा गएर खाना खाइनसक्दा उनलाई पुलिस क्लबमा प्रशिक्षणका लागि जान हतार भइसक्छ । 

सशस्त्र प्रहरी बलको एपीएफ क्लबको आठौँ राष्ट्रिय खेलकुदमा कांस्य जितेकी उनी हाल अर्को विभागीय टोली नेपाल पुलिस क्लबमा आबद्ध छिन् । पुलिस क्लबको प्रशिक्षण सकिएपछि उनी हतार–हतार मनमैजु डोजो पुग्छिन् ।

मनमैजु त्यही डोजो हो, जहाँ उनले कराँतेको कखरा सिकेकी थिइन् । भविष्यमा आफूजस्तै प्रतिभाशाली खेलाडी तयार पार्ने उद्देश्यले उनी हाल मनमैजु डोजोमा स–साना बालबालिकालाई कराँतेको प्रशिक्षण गराउँछिन् । 

त्यसपछि राति मनमैजु डोजोमै आफूले पनि केही समय अभ्यास गर्छिन् र घर फर्किन्छिन् । यही व्यस्त समयका बिच उनले आफ्नो अध्ययनका लागि समय निकाल्नुपर्छ । ‘समयले कसलाई पो पर्खन्छ र आफैँले हो नि समयको उचित तालमेल मिलाउने त,’ उनी भन्छिन् ।

434404698_436280478918216_305347911921835112_n

  • नेपाली खानामै छ सबै पौष्टिक तत्त्व

एरिकाका अनुसार, एउटा खेलाडीका लागि चाहिने सबै पौष्टिक तत्त्व नेपाली खानमै पाइन्छ । त्यसलाई व्यवस्थित तरिकाले ग्रहण गर्न सिक्नुपर्छ । ‘प्रशिक्षणका क्रममा पनि हामीलाई यो कुरा सिकाइन्छ । खेलाडीलाई चाहिने सम्पूर्ण पौष्टिक तत्त्व नेपाली परिकारमै हुन्छ,’ उनी भन्छिन् ।

उनले फरक–फरक दिन बेग्लाबेग्लै खानेकुरा खान्छिन् । ‘व्यवस्थिति तरिकाले खान जान्यो भने एउटा खेलाडीका लागि आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट, फ्याटजस्ता सबै तत्व हाम्रै परम्परागत खाने कुरामा पाइन्छ,’ प्रशिक्षक कुशल भन्छन्, ‘क्वाँटी, साग, सख्खर, मासुजस्ता परिकार खेलाडीका लागि उपयुक्त छन् ।’

कुशलका अनुसार, राष्ट्रिय खेलकुद परिषद्ले पनि मिसन– २०२६ अन्तर्गत राष्ट्रिय टोलीमा परेका खेलाडीलाई ‘डाइट’का लागि नियमित रूपमा ‘पकेट मनी’ उपलब्ध गराउँदै आएको छ । थोरै भए पनि यसले खेलाडीलाई राहत पुर्‍याएको छ ।

  • ‘खेलाडी दराजमा थन्क्याउने गहना होइनन्’

एरिका र उनका प्रशिक्षक कुशलसँगको भलाकुसारी बिट मार्ने अवस्थामा पुग्दै थियो । संयोगले कुराकानीको अन्त्यतिर नेपाली खेलाडीको आर्थिक अवस्था र खेलाडी पलायनको प्रसंग निस्कियो । यो प्रश्नमा दुवै गुरु–चेली केही समय मौन बसे । सायद उनीहरूसँग भन्नका लागि केही थिएन । त्यसपछि कुशल जवाफ दिन अगाडि सरे । 

उनी भन्छन्, ‘राज्यसँग हामी खेलाडीको कुनै गुनासो छैन । राज्यले हाम्रा लागि सक्दो गरेकै छ । अधिकांश नेपाली खेलाडीको आर्थिक अवस्था दयनीय छ । त्यसैले परिवारको जिम्मेवारी आफ्नो काँधमा आएपछि प्रतिभाशाली खेलाडीहरू पनि खेल क्षेत्रबाट पलायन हुन्छन् । नेपाली खेलकुदका लागि यो सबैभन्दा ठुलो दुर्भाग्य हो । यसतर्फ भने राज्यको ध्यान जानु आवश्यक छ ।’ 

खेलाडीलाई देशको गहना भनेर सम्बोधन गरिने प्रवृत्तिप्रति पनि उनले असहमति व्यक्त गरे । ‘यसलाई आ–आफ्नो तरिकाले व्याख्या गर्न सकिन्छ । पक्कै पनि खेलाडी राष्ट्रको गहना हुन्, तर आफूलाई काम पर्दा गहना लगाएर सजिने अनि, काम सकिएपछि गहना फुकालेर दराजमा राख्ने प्रवृत्ति गलत हो,’ कुलश भन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया