शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
कथा

श्रीमतीको घरमा लोग्ने

शनिबार, २० असोज २०८०, १२ : २८
शनिबार, २० असोज २०८०

 

पुसको ठिही । बिहान सडक छेउको घाँसमा चिनी छरेझैँ तुसारो हुन्छ । दिन केही घुर्मैलो हुन्छ । अपराह्नपछि चलेको सिरेटोले मुटु छेड्छ ।

 

मैले पछाडिबाट ऋषिलाई काँधमा थपथपाएर स्कुटर छिटो हाँक्न भनेँ । म भने ऋषिकै ढाडमा टाँसिएर चिसो छल्ने असफल प्रयासमा लागेँ । ऋषिको भुल्ने स्वभावले बालापनलाई पनि माथ गर्छ । आज पनि पञ्जा ल्याउन भुलेछन् । अब यात्रामा चिसो हावाको टोकाइले ऋषिका हात नीला हुन्छन् । उसै त प्रायः गरी उनका हात चिसा हुन्छन्, बिरालाको नाक जस्तो । आज त झन् आकाश नै रोएर आँसु खसाल्ला जस्तो धुम्म छ नेपालगञ्ज ।

हामी एउटा साहित्यिक कार्यक्रममा गएर फर्किँदै थियौँ । निर्धारित समयभन्दा कार्यक्रम निकै तन्किएको हुनाले हामी फर्कन ढिलो भयो र यो चिसो मौसमको स्वाद चाख्न पायौँ ।

“अहो १ पानी पो पर्छ कि क्या हो ? पानी पर्‍यो भने त फसादै पर्छ ।” ऋषि एकोहोरो फतफत गरिरहे । म केही बोलिन ।

“ल, छिट्टायो त ।” ऋषिले यति भन्दा नभन्दै पानी सरर परिहाल्यो । हामीले हिँउदे झरीमा रुझ्ने आँट गरेनौँ र बाटो छेवैको रेष्टुरेन्टमा छिर्‍यौँ । वर्षा यामको बेला भए यस्तो रुझानको मिठास बेग्दै हुन्थ्यो । तर यो मीनपचासको मध्य समयमा रुझानको मिठास नाप्ने हिम्मत कस्को हुनु ?

“ए ! भाइ, यता तातोपानी ल्याउनू ।” बसाइँ केही लम्बिने देखेर मैले वेटरलाई तातोपानीका लागि बोलाएँ ।

“मःम पनि भन न ।”

मैले ऋषिको वाक्य नसकिँदै त्यसै वेटरलाई मःम पनि भनिहालें । अर्डर लिएर वेटर  भित्र पस्यो । रेष्टुरेन्ट सुनसानै थियो । बेलुका रक्सीमा झुम्नेहरू आउने बेला भएकै थिएन, दिउँसो खाजा खानेहरूको समय यो होइन । साँझको पूर्वसन्ध्यामा यस्ता खाजाघर अलिक सुनसान नै हुन्छन् । म मेनुमा के के छन् र मूल्य कति कति छन् भनेर घोरिएँ । ऋषि फोनमा व्यस्त बने । 

अलि पर दुईजना महिला–पुरुष अलिक असहज लाग्ने गरी जिस्किएर बोल्दै थिए । मलाई अप्ठ्यारो लाग्यो । महिला भन्दा पुरुष निकै कम उमेरको देखिन्थ्यो  । झण्डै आमा–छोरा जस्ता तर जिस्काइको मात्रा हद पार गर्ला झैँ ।

“सर, नमस्कार ।”

महिलाले ऋषिलाई नामै सम्बोधन गरेर नमस्कार गरिन् र हामी भएतिरै लम्किइन् । त्यो पुरुष काउन्टरमा बसेर के के काम गर्न थाल्यो ।

‘अहो रमा, के छ हालखबर ? कस्तो छ  तिमीलाई ?” ऋषिले निकै आत्मीय पाराले सोधे ।

“ठिकै छ सर ।” रमाले छोटो बोलीमा जवाफ दिई । अनि, हामीतिर बढेका पाइला थामी ।

“अँ साँच्चै, तिमीले त बिहे गर्‍यौ रे । बधाई छ है नव जोडीलाई”, ऋषिले जिस्कने पाराले भने ।

असजिलो खालको मन्द हाँसो हाँसेर त्यो महिला काउन्टरतिर लागी । जाँदाजाँदै ‘धन्यवाद सर’, भन्न छुटाइन ।

मैले जिज्ञासु नजरले हेरको देखेर ऋषिले नजिकै आएर भने, “रमाले बिहे गरिछिन् ।”

“यो उमेरमा बिहे ?” मैले आँखीभौँ खुम्च्याउँदै झण्डै सासले मात्रै बोलेर सोधेँ ।

“बिहेलाई उमेरले के फरक पार्छ र ?” ऋषिले सामान्य जवाफ दिए ।

मलाई ऋषिको जवाफले चित्त बुझेन । प्रश्नमाथि प्रश्नका चाङ लागे । यो उमेरमा भर्खरै बिहे ? किन ? कसरी ? कोसँग ?

मेरो जिज्ञासु भाव देखेर ऋषिले भने, “एकल महिला हुन् । अहिले मन मिल्ने जोडी पाइन् होला र बिहे गरिन् । ऊ तिनै हुन् , यिनका नयाँ पति ।”

मैले ऋषिको इसारापट्टि ध्यान दिएँ, म झनै अचम्मित भएँ । किनभने अघि त्यहाँ ती महिलासँग जिस्किने पुरुष त त्यही कम उमेरको केटो रहेछ । प्रत्येक बोलीमा ‘सानू’ भनेर बोलेको सुनेकी थिएँ मैले । कुराको जरो यतातिर पो रहेछ ।

“यिनका छोराछोरी छैनन् ?” मैले ऋषिलाई सोधे ।

“छन्, छोरा–बुहारी छोरी–ज्वाई, नाति नातिना” ऋषिले छोटो उत्तर दिए ।

“अनि त्यो केटाको नि ?” मैले प्रश्न थपेँ ।

“केटो अविवाहित नै हो, उसको पहिलो बिहे यो ।” मेरा प्रश्नहरूका ऋषिले सहज उत्तर दिँदै गए । तर, मेरो मनमा अझ असहजता थपिँदै गयो । हाम्रो जस्तो पुरुषप्रधान समाजमा यो कसरी सम्भव भयो होला र ? कि यो प्रेमिल मेल हुनुपर्छ कि पर्दापछाडि खेल हुनुपर्छ ।

मैले ती महिलातिर हेरेर मुस्कुराएँ, उनले पनि मीठो मुस्कान फालिन् । पक्कै उनकै कुरा गर्‍यौँ हामीले भन्ने लख काटिन् होला ।

तातोपानीको गिलास हातमा बोकेर हात तताउँदै म उनी भएतिरै लम्किएँ । ऋषि मोबाइलमा जोतिन थाले ।

“दिदी, नयाँ बिहे गर्नुभएछ बधाई ।” उनी हाँसिरहिन् मात्रै, जवाफ फर्काइनन् । तर मलाई उनीसँग बोलेर मनका जिज्ञासा मेटाउनु थियो ।

“परिवारमा को को हुनुहुन्छ ? यो कसरी भयो ? मलाई त खसखस लागेर सोध्न आएँ ।” मैले भनेँ ।

“अहिले हामी दुईजना छौँ । उहाँ मेरो पति रमेश र म ।” यति भन्दा उनी र उनको पति भनिएको केटाले मुखामुख गरे । उनले कुरा सुचारु गरिन् ।

“आठ वर्ष पहिले मेरो पहिलो पतिको देहान्त भयो । त्यसपछि एक्लै संघर्ष गरेर छोराछोरी पालनपोषण गरेँ । छोराछोरीको बिहेदान सकियो । उनीहरूको आफ्नै संसार बन्यो । नातिनातिना जन्मिए । सबै आ–आफ्ना दुनियाँमा रमाउँदै गए । 

यता, मलाई चाहिँ एक्लोपनले अँगाल्दै गयो । मेरो संसार फरक हुँदै गयो । विगत केलाएर आफ्नै मनलाई डस्नुभन्दा बिहे गरेर नयाँ साथी बनाउने निधो गरेँ । यसै सिलसिलामा आफन्तको माध्यमबाट रमेशसँग भेट भयो । हाम्रो कुराकानी मिल्यो, मैले रमेशलाई बिहे गरेर यस घरमा ल्याएँ ।”

मैले एकछिन दुवैलाई पालैपालो हेरेँ र मनमनै भने, ‘वाह, ठिक गर्नुभयो ।”

मेरो मनले न्याय पाएकै थिएन, झनै अचम्ममा परेँ ।

यो पुरुषप्रधान समाजमा बिहे गरेर श्रीमतीको घर जानु ? त्यो पनि गाउँ समाज, झन् यति अनमेल विवाह । यो समाजले कसरी पचायो होला ? कति धेरै चुनौती परे होलान् ? 

प्रश्नको उत्तर खोज्दै गर्दा रमेशप्रति आदरभाव जागेर आयो मेरो मनमा । उनको महान् हृदयलाई सलाम गरेँ मनमनै । कामना गरेँ उनको मन यस्तै रहिरहोस् सधैँ । नबदलियोस् मौसम जसरी ।

हाम्रो कुराकानीसँगै आत्मीयता पनि बाक्लिँदै थियो । प्रायः अरूका कुरामा चासो दिन नरुचाउने मलाई यो परिवेशले राम्रोसँग तान्यो । मैले रमेशलाई पनि बोलाएर सोधेँ, “हजुरको परिवारले यो विवाहलाई स्वीकार गर्छ त ?”

रमेशले हातको फाइल काउन्टरमा राखे र मतिर आउँदै बोले, “हेर्नुस्, तपाई जस्तै उदेक मानेर यहाँ आउने धेरै छन् । अरू मानिस त हाँसोको पात्र जसरी हामीलाई हेर्छन् र जान्छन् । हाम्रो व्यापार हो, अरूको के मतलब । हामी चुप लागिदिन्छौँ । तपाईले मात्रै जान्न चाहनुभयो कारण र कथा ।” रमेश गम्भीर मुद्रामा देखिए ।

“म परिवारसँग सर–सल्लाह गरेरै रमासँग बिहे गरेर यहाँ आएको हुँ  ।” रमेशले छोटो बोले ।

रुकुमको एउटा विकट गाउँको समाजमा यो पक्कै सहज थिएन । यस्तो निर्णय गर्ने बाबुआमा पक्कै महान् हुनुपर्छ । उहाँहरूप्रति अथाह सम्मान जागेर आयो ममा । यति फराकिलो सोच नभए हाम्रो जस्तो रुढीवादी समाजमा यो सम्भवै थिएन । 

सत्तरी वर्षका बूढाले सात वर्षकी कन्या बिहे गरेको मिथक सुन्दै आएको समाजलाई उमेर पाकेकी महिलाले भरभराउँदो केटो बिहे गरेको पक्कै पचाउन सक्दैन । यिनीहरूको परिवारको महानता र यिनीहरूको आँट हिम्मतलाई मान्नै पर्छ । यो त सामाजिक क्रान्ति मात्रै नभएर सांस्कृतिक क्रान्ति पनि हो । जसले जरा गाडेर बसेको संस्कारलाई कुरीकुरी गरेको छ । परिवर्तनको शङ्खघोष गरेको छ । 

आफूभन्दा बढी उमेरका छोराछोरी, बुहारीहरूलाई खुसी राखेर रमाको जिन्दगीको रथ हाँक्न रमेशले देखाएको साहस अतुलनीय छ । सदियौँदेखि महिला थिचोमिचोमा थिए । रुढीवादी संस्कारले थिचेको थियो । कहीँ कतैबाट परिवर्तनको सुरुवात भएकोमा निकै खुसी लाग्यो । 

‘अनि बुबा आमाले मान्नु भयो सजिलै ?’ मैले फेरि  सोधेँ ।

‘भनेँ त परिवारमा सरसल्लाह गरेर नै आएको हुँ ।’ रमेशले दृढ स्वरमा मलाई हेरेर भने ।

‘सरी, सरी, मैले यो असहज समाज र मान्छेको आफ्नै मनलाई कसरी बुझाउनु भयो भनेर सोधेकी । तपाई त रिसाउनु भयो कि  क्या हो ?’ म  परिस्थिति बिग्रिएला भनेर सम्हाल्नतिर लागे ।

‘समाज सहज त हामीले बनाउने हो कि, मन त सहज झन् आफ्नै भइहाल्यो । सकारात्मक सोच र इमानदार मन हुनुपर्छ मिल्दै जान्छ ।” रमेशको जवाफ आयो । जवाफमा जीवन र दर्शन  महसुस गरेँ ।

‘भनेपछि शारीरिक रूपले, मानसिक रूपले सन्तुष्ट हुनुहुन्छ ?’ मैले उनीहरूलाई हाउभाउले जिस्काउँदै सोधे । 

एकछिनको सन्नाटापछि रमा बोलिन्, ‘हेर्नुस्, तपाईंको कुरा बुझेँ मैले । मानसिक प्यास मेटियो तपाईँको भने शारीरिक प्यास जहिले पनि छायामा पर्छ । शरीरको लागि मन विचलित गर्नेहरू कहिल्यै सन्तुष्ट हुन्नन् । तर, मनका लागि शरीरको उपभोग गर्नेहरू कहिल्यै असन्तुष्ट हुँदैनन् । मनलाई बिर्सँदै उपभोक्ता बनेर होडिनेहरू मृगतृष्णामै सीमित बन्छन् र भौतारिन्छन् बुझ्नुभयो ?’

‘माया यस्तो चिज हो, जसमा इमानदारिता छउन्जेल अर्को संसारको परिकल्पना नै हुँदैन । माया  छ भने दुःख पर्दा पनि सुखको खोजी हुँदैन । माया छैन भने सुखमा पनि सन्तुष्टि हुँदैन,’ रमेशले पनि आफ्ना कुरा राखे ।

‘समाज परिवर्तनको लागि ठुला र अजेय क्रान्ति गर्नै पर्दैन, केवल ससाना कुरा आफैबाट परिवर्तन गर्न सुरु गर्नुपर्छ, जस्तो कि हामी सामाजिक विभेद, छुवाछूत, उच नीच, वर्ण विभाजन सबै सबै तोडेका छौं । सकारात्मकताको बिन्दुबाट सुरु गरेर इमान्दार भएर आफू लागौँ, अरू बिस्तारै डोहोरिन्छन्, हैन र ?’ आफ्नो विचार सबै मैलाई प्रतिप्रश्न गरिन् रमाले  । म नजानिँदो तरिकाले बुझेझैँ गरेर उभिएँ । 

मैले मन थाम्न सकिन । रमालाई अँगालोमा कसेँ । रमेशलाई शुभकामना दिएँ । कार्यक्रमबाट फर्कँदा ल्याएको माला र खादा झोलाबाट झिकेर दुवैलाई लगाइदिएँ । गहभरि आँसु भरेर रमा बोलिन्, “मेरो यो निर्णयलाई मेरा छोराछोरीले स्वागत गरेपनि आफन्त र गाउँ समाजले निकै अपमानजनक बक्रदृष्टि लगाएका थिए । तपाईँको यो हौसलाले म त फूलजस्तै हलुङ्गो भएँ ।”

हाम्रो कुरा सुनिरहेका ऋषि “फूलको आँखामा फुलै संसार” भन्दै हामीतिर आए र मोबाइलमा हाम्रो  तस्वीर कैद गरे । त्यतिञ्जेल हाम्रो अर्डरको मःम आइसकेको थियो । बाहिर पानी पनि थामिइसकेको थियो । हामीले सटासट मःम निल्यौँ र घरतिर लाग्यौँ ।

एक दाना मकै माटोमा उम्रिन पनि त समय लाग्छ । सगरमाथाको महान् यात्रा पहिलो पाइलाबाट सुरु हुन्छ । प्रत्येक पाइलाको आहटमा सुतेको संसार जगाउने शक्ति हुन्छ । विशाल नदीको मुहान सानै हुन्छ  । आगोको झिल्को सानो हुन्छ, सुन्दर गुलाबको फूलको कोपिला सानै हुन्छ । यस्तै सानो घटनाले संसार बदल्ने शक्ति राखेको हुन्छ । त्यो प्रेमिल जोडीको  उच्च प्रेमले अङ्कुरण भएर छाउँदै गरेको अनुमान गरे ।

 खजुरा, बाँके

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना पौडेल ‘जिज्ञासु’
कल्पना पौडेल ‘जिज्ञासु’
लेखकबाट थप