बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदमा रजत पदक जित्ने एरिकाले पाउँछिन् १९ लाख ५० हजार नगद पुरस्कार

सोमबार, २२ असोज २०८०, १२ : ५१
सोमबार, २२ असोज २०८०

काठमाडौँ । चीनमा सम्पन्न १९ औँ एसियाली खेलकुद प्रतियोगितामा रजत पदक जित्ने नेपाली खेलाडी एरिका गुरुङले सरकारबाट १९ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने भएकी छन् । कराँते खेलाडी एरिकाले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् ।

राष्ट्रिय खेलकुद विकास नियमावली—२०७९ ले अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीहरुले पाउने नगद पुरस्कारको बारेमा ब्यवस्था गरिएको छ । नियमावलीमा एसियाली खेलकुदको ब्यक्तिगत स्पर्धामा रजत पदक जित्ने खेलाडीले १९ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउने ब्यवस्था गरेको छ ।  

एरिकाका अतिरिक्त प्रशिक्षक, ब्यवस्थापक, फिजियो वा चिकित्सक र सम्बन्धित खेल संघले पनि नगद पुरस्कार प्राप्त गर्नेछन् । नियमावलीमा एसियाली खेलकुदमा रजत पदक जिताउने प्रशिक्षकलाई तीन लाख ९० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रावधान छ । 

यसैगरी सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियो वा चिकित्सकलाई एक लाख ९५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने प्रावधान नियमावलीमा छ । एसियाली खेलकुदमा रजत पदक जित्ने खेलको सम्बन्धित खेल संघले पनि ६ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ ।

यसैगरी १९ औँ एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । कांस्य पदक जितेवापत महिला कबड्डी टोलीका खेलाडीले भने जनही तीन लाख ९० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।

एसियाली खेलकुदको सामूहिक स्पर्धामा कांस्य पदक जित्ने खेलाडीलाई जनही तीन लाख ९० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने प्रावधान नियमावलीमा छ । महिला कबड्डी टोलीको प्रशिक्षकले दुई लाख ६० हजार रुपैयाँ पुरस्कार पाउने छन् । 

यसैगरी महिला कबड्डी टोलीका सहायक प्रशिक्षक, ब्यवस्थापक र फिजियो वा चिकित्सकलाई जनही एक लाख ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । नेपाल कबड्डी संघले पनि तीन लाख ९० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ । 

पहिलो संस्करणदेखि नै एसियाली खेलकुदमा सहभागिता जनाउँदै आएको नेपालले जितेको यो तेस्रो रजत पदक हो । यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३ औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले रजत पदक जितेकी थिइन् ।

सविताले जितेको त्यो पदक एसियाली खेलकुद प्रतियोगिताको इतिहासमा नेपालले जितेको पहिलो रजत पदक थियो । यसका अतिरिक्त सन् २०१८ मा इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा सम्पन्न १८औँ एसियाली खेलकुदमा नेपालका लागि प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो ।

त्यसपछि कराँते एसियाली खेलकुदमा देशका लागि रजत पदक जित्ने तेस्रो खेल बनेको हो । एसियाली खेलकुदमा नेपाली कराँते खेलाडीले यसअघि कांस्य पदकमात्र जित्न सकेका थिए । त्यसैले यो पदक नेपालका लागि ऐतिहासिक बन्न पुगेको छ । महिला कबड्डी टोलीले पनि एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप