सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

रमाइलो गर्न इजरायल गएका होइनौँ सरकार !

बिहीबार, २५ असोज २०८०, १० : २३
बिहीबार, २५ असोज २०८०

शिक्षाको मुख्य उद्देश्य जीवन निर्वाहका लागि सहज बनाउनु हो । जीवन निर्वाहका लागि कला, सीप र आर्थिक उपार्जन आवश्यक पर्छ । केही समयअघि यस्तै केही सीप सिक्ने र केही कमाउने सपना बोकेर विभिन्न विश्वविद्यालयका विद्यार्थीहरू इजरायल गएका थिए । तर ती निर्दोष नेपाली विद्यार्थी युवाको प्यालेस्टिनी हमास समूहको आक्रमणमा परी ज्यान गयो । यस दुर्घटनाले मलाई धेरै नरमाइलो लाग्यो । किनभने म कृषि तथा वन विज्ञान विश्वविद्यालयको २०७४–७५ ब्याचको विद्यार्थी हुँ । यही कार्यक्रम अन्तर्गत इजरायल गएर एक वर्षअगाडि मात्र नेपाल फर्किएको थिएँ । यो दुःखद घडीमा शोकाकुल परिवारप्रति गहिरो समवेदना प्रकट गर्छु र घाइतेहरूको चाँडै स्वास्थ्य लाभ होस् भन्ने कामना गर्दछु । तर यही घटनालाई लिएर नेपालका एक सांसदले दिएको अभिव्यक्तिले दुखिरहेको घाउमाथि नुनचुक दल्ने कार्य गर्‍यो । उनको अभिव्यक्ति सुनेर मलाई नमिठो लाग्यो र केही लेख्न बाध्य बनायो । 

युवाले देश किन छाड्छन् ?

अहिलेको युवा विश्वमा विकास भइरहेका नवप्रविधि र अवसरहरूबारे जानकार छन् । ती अवसर नेपालमा भविष्यमा पनि हुन सक्ने सम्भावना उनीहरूले देख्दैनन् । उज्ज्वल भविष्यको खोजीका लागि उनीहरू देश छोड्न बाध्य छन् । म आफैँ पनि स्नातक तह उत्तीर्ण युवा हुँ । मलाई पनि नेपालमै बसेर मेरो भविष्य अन्धकार बनाउन मन छैन । म मात्र होइन अन्तर्राष्ट्रिय विमानस्थलमा गएर हेर्ने हो भने म जस्ता कैयौँ युवा आफ्नो आमाबुवा, श्रीमती, कलकलाउँदा छोराछोरी छोडेर रुँदै बिदेसिँदै गरेका देखिन्छन् । नेपालमै बसेर काम गर्दाका प्रशासनिक झन्झट, प्रशासनले दिन दुःख, आधारभूत आवश्यकताको परिपूर्तिमा हुने कठिनाइले गर्दा नै आम युवाको विदेशमा गएर मजदुरी गर्ने मनस्थिति बनेको हो । युवा विदेश भासिनुका तीन वटा पक्ष मुख्य छन् । 

राजनीतिक पक्ष

प्रशासनिक शक्ति आर्जन गरी समाजमा अनुकूल वातावरणको निर्माण गर्ने काम राजनीतिले गर्छ । शक्ति वितरण प्रणालीका क्रममा लोकतान्त्रिक अभ्यास र विभिन्न सरकारी अङ्ग तथा संस्थाको विकास भएको हो । तर नेपालको अवस्था कहाली लाग्दो छ । देश बन्नेतर्फ हैन, झन् बिग्रँदो अवस्थामा छ । सरकारले कानुनको पालना र उचित व्यवस्थापन गरी जनतामा लोकतन्त्र र सरकारी अङ्गहरूबिच विश्वास कायम गर्न सकेको छैन । त्यसको परिणाम आज जनताहरूमा आपसी सम्बन्ध, समाज र राजनीतिप्रतिको विश्वास गुमिरहेको छ । सर्वसाधारणले कुनै सरकारी, गैरसरकारी काम गर्नु परे घुस, कमिसन, एजेन्ट वा पावर नलगाई काम हुने अवस्था छैन । जागिर खान होस् वा काम गर्न, पढ्न होस् वा पढाउन सबै ठाउँमा पावर र पैसा चाहिने अवस्था छ । गरिब, असहाय, निमुखा, उत्पीडित र आर्थिक रूपमा कमजोर वर्गलाई देशमा सास फेर्न गाह्रो भएको अवस्था छ । देशको सबै व्यवस्था आज कर्पोरेट पुँजीवादको हातमा परेको छ । यसले केवल आफ्नो स्वार्थ हेरी लुट्ने काम मात्र गरेको छ । अझै पनि नेताहरू समाजवाद भन्न छाड्दैनन् । यथार्थमा नेपाली समाज पाइला पाइलामा पैसा र कर्पोरेट पुँजीवादको चपेटामा परेको छ । यो अवस्थामा देशप्रति आम नागरिकको विश्वास जब टुट्छ तब देश सकिन्छ । 

आर्थिक पक्ष 

समाजवादको बाटोबाट जनता आवश्यक पर्ने सेवा सुविधा छिटो पुर्‍याउनु आजको आवश्यकता हो । जनतालाई ज्ञान, सीप र आर्थिक अवसरहरू उपलब्ध गराई उत्पादन बढाउने मुख्य भूमिका सरकारको हो । जनताका हरेक आवश्यकता स्वदेशमा नै पूरा हुने वातावरण सिर्जना गर्ने जिम्मेवारी राज्यको हो । तर स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, सरकारी सेवा सुविधा र रोजगारी सबै ठाउँमा सबै जनताको समान पहुँच नहुनु देशकै विडम्बना हो । किनभने ठुला कर्पाेरेट हाउस राज्यको नियन्त्रणभन्दा बाहिर रहेको अवस्था छ । त्यस्तै राज्यका निकाय कमिसन र एजेन्टमार्फत् चलेका छन् । यसले गर्दा सामान्य जनतालाई बाँच्न गाह्रो भएको अवस्था छ । त्यस्तै महँगीले आकाश छोएको छ । रोजगारको अवसर पाएका सामान्य मानिसलाई पनि भ्रष्टाचार नगरी परिवार पाल्न सक्ने अवस्था छैन । त्यसैले आजको समयमा आर्थिक पक्ष नै देशको सबैभन्दा ठुलो मेरुदण्ड हो । यसलाई नीति, नियमले बाँधेर व्यवस्थित समाजको विकास गर्नु राज्यको दायित्व हो । सरकार कमजोर हुँदा जनताले आफ्नो बाटो सोझ्याउने काम गर्नु अनौठो हैन । देशको यो जर्जर आर्थिक अवस्थाले गर्दा नै जनता केही आर्जन गर्न सकिन्छ कि भनेर मातृभूमि छोडिरहेका छन् । 

सामाजिक पक्ष 

समयसँगै नेपालीहरूको सामाजिक मनोविज्ञान र संस्कृति पनि बदलिइरहेको छ । समाजमा पैसा नै ठुलो हो भन्ने मनस्थितिमा सबैमा छ । पैसा नकमाउने व्यक्ति त यो समाजमा उभिन नै गाह्रो छ । घर, जग्गा, गाडी र जागिर आजको समाजको न्यूनतम आवश्यकता भइसकेको छ । यही दबाबले मानिसहरू पैसा कमाउने होडमा लागेका छन् । यो खोलाले जता बगाउँछ त्यतै गइरहेको छन् । देशभित्र नै केही गर्ने वातावरण नहुनु र यसको विकास गर्न नसक्नु हामी सबैको कमजोरी हो । आज देशभित्र पैसा कमाइ सामान्य जिन्दगी जिउनु पनि ढुङ्गा चपाउनु जस्तै भएको छ ।

यी तीन पक्षबाट मेरो मानसिकता पनि अछुत रहेन । अनि घरको आर्थिक अवस्थालाई केही सहयोग गर्न र कृषि आधुनिकीकरणको शिखरमा पुगेको इजरायलबाट केही सिक्न भनेर गएको थिएँ । 

हामी इजरायलको बेन गुरियन एयरपोर्टमा अवतरण ग¥यौँ । एयरपोर्टमै हामीमाथि विभेद भयो । त्यहाँ छुट्टै लाइनमा राखेर भिसा जाँच गरियो । त्यसपछि हामीलाई विभिन्न फार्ममा लगेर छोडियो । अनि इजरायलको विभिन्न कृषि कर्पाेरेटको कामदारका रूपमा काम गर्न थाल्यौँ । हप्तामा ५ दिन काम गथ्र्यौं । १ दिन स्कुल जान्थ्यौँ, १ दिन बिदा हुन्थ्यो । त्यही १ दिन स्कुल गएको पनि हामीले मोटो रकम तिर्नुपर्थ्यो । इजरायलको यो कार्यक्रम त गरिब देशबाट सीपमूलक, सक्षम, कुशल र शारीरिक रूपमा बलियो कामदार आफ्नो देशमा लैजाने र त्यसबापत पैसा खाने रहेछ । सिकाइ केही पनि नहुने र पैसा पनि नहुने भर नहुने यस्ता कार्यक्रम हामी जस्तो गरिब देशमा ल्याइनु हाम्रा लागि राम्रो होइन । बिरामी भएको बेला उपचार समयमा नपाउनु, सम्झौतामा भएबमोजिम कार्यान्वयन नहुनु र त्यहाँ गएपछि कामदारको रूपमा खटिनु पर्ने हुन्छ । इजरायलमा युद्ध हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि हामी जान विवश थियौँ । किनभने घरको र देशको अवस्था यस्तो दयनीय छ । थोरै भए कमाइ हुन्छ भन्ने लागेर गयौँ । हाम्रै जस्तो सपना बोकेर गएका भाइबहिनीहरू आज इजरायलमा कठिन अवस्थामा छन् । केहीले ज्यानसमेत गुमाइसके भने केही खतरामा छन् । सरकार इजरायलमा भएको नेपालीलाई चाँडो भन्दा चाँडो उद्धार गरियोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव तुम्बापो
सञ्जीव तुम्बापो
लेखकबाट थप