बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
बालोपयोगी पौराणिक नाटक

नाटक : मधुकैटभ वध

बिहीबार, २५ असोज २०८०, ११ : ०६
बिहीबार, २५ असोज २०८०

स्थान– वनको नजिक रहेको कुनै आश्रम  

समय– अपराह्न तीन बजे 

पात्रहरू– सुुमेधा (त्रिकालदर्शी तपस्वी) सुरथ (शत्रुहरूबाट लखेटिएर हिँडेका चैत्रवंशी राजा) समाधि (घरिवारबाट निकालिएका कुनै धनाढ्य वैश्य) भगवान विष्णु (शेषशायी आदि नारायण) मधुकैटभ (विष्णुको शरीबाट प्रकट भएका बलशाली दुई दानव)

नेपथ्यमा विशाल समुद्रको दृष्य देखिन्छ, जहाँ गोही, कछुवा, सार्क, डलफिन आदि आफ्नै तालमा नाचिरहेका हुन्छ । समुद्री टापुमा रहेको वन्यप्रन्तमा मृग, जरायो, खरायो, चराचुङ्गी आदि स्थलचर जीवजन्तु चरिरहेका देखा पर्छन् । त्यसकै छेउमा खरले छाएको सानो कलात्मक झुपडी देखापर्छ ।    

सुमेधा– (रङ्गमञ्चमा एकाएक देखापर्छन् यताउति हेदैँ भन्छन्– 

‘कोही हुनुहुन्छ ? मानिसको छायाँजस्तै देख्दैछु । यदि कोही हुनुहुन्छ भने आउन सक्नुहुन्छ ।

सुरथ– (पर्दाबाट बाहिर निस्कँदै) म हुँ ऋषि वर ! कोलाविध्वंशीहरूले राज्यसत्ता छिनिदिएकाले दुःखित भएर तपाईँको शरणमा आएको । 

सुमेधा– तपाईँको पछाडि उभिने सज्जन को हुन् नि ?

समाधि– (हात जोरेर अघि सर्दै) मेरो नाम समाधि हो । परिवारले घरबाट निकालिदिएकाले मुक्ति मार्गको खोजी गर्दै हिँडेको वैश्य जाति ।  

सुमेधा– अनि मबाट कस्तो सहयोगको अपेक्षा गर्नुभएको छ नि ? 

सुरथ– राज्यासत्ता फिर्ता गर्न सकिने कुनै उपाय छ कि भनेर सोध्न चाहन्छु । 

सुमेधा– समाधि (वैश्यतर्फ फर्कँदै) अनि तपाईँ ?

समाधि– सांसारिक दुःखबाट मुक्ति पाइने कुनै उपाय भए बताइदिनुहुन आग्रह गर्छु । 

सुमेधा– यसका लागि महामाया भगवतीको शरणमा जानुपर्छ । भुक्ति र मुक्ति दुवै प्राप्त हुन्छ । 

सुरथ र समाधि– (संयुक्त स्वरमा) महामाया भगवती भनेको को हुन् ऋषिवर ?

सुमेधा– उनी भनेको महामाया जगज्जनी माता भगवती हुन् । सारा संसारको आधार उनै हुन् । देवताहरूसमेत उनकै खटनमा चल्छन् र गाह्रो पर्दा उनकै शरणमा पर्छन् । 

सुरथ र समाधि– (संयुक्त स्वरमा) यसबारे कुनै उदाहरण भए बताइदिनुहुन आग्रह गछौँ ? 

सुमेधा– छन् नि किन नहुने । कति छन् कति । 

सुरथ र समाधि– जस्तै ? 

सुमेधा– जस्तै यही कि अघि कुनै समयमा संसार प्रलय भएपछि भगवान् विष्णु कारण जलमा सुतेका थिए । उनको शरीरबाट मधु र कैटभ नामक दुई दानव उत्पन्न भएर विष्णुृसितै युद्ध गर्न लागे । हजारौँ वर्षसम्म युद्ध गर्दा पनि जित्न नसकेपछि विष्णुले उनै महामया भगवतीको सम्झना गरे । 

सुरथ र समाधि– अनि त्यसपछि ?

सुमेधा– त्यसपछि भगवतीको ईशारा अनुसार विष्णुले दानवहरूलाई वरदान माग्न भने । माता भगवतीको मायाले मति भ्रष्ट भएका दानवहरूले अहङ्कारवश विष्णुलाई नै आफूहरूसित वरदान माग्न आग्रह गरे । त्यसपछि विष्णुले तिमीहरूलाई मार्न सकौँ भन्ने वरदान मागे । वचनमा हारेका दानवले तथास्तु भनेकाले उनीहरूले विष्णुको हातबाट मृत्यु वरण गरेका थिए । 

यति भनेर सुमेधा ऋषि आफ्नो कामतिर लागे । सुरथ र समाधिले महामाया भगवतीको तपस्या गरी वरदान प्राप्त गरे । फलतः समाधि वैश्य मुक्तिलाभको अवसर पाएका थिए भने सुरथ राजाले शत्रुहरूलाई जितेर लामो समयसम्म राज्यसत्ता भोग गरी अर्को जन्ममा सावर्णि नामको मनु हुन पुगे । 

यत्तिकैमा समय सकिएको घन्टी लाग्छ र पर्दा खस्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप