शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
विराटनगर विमानस्थलमा लुट

न्यूनतम ठेक्का रकमभन्दा चार गुणा बढीमा कबोल, ग्राहकबाट तीन गुणा बढी असुल

यात्रुहरूको लागि महँगो, आफ्नो क्यान्टिन भने सस्तो गराउन विमानस्थल कर्मचारीकै सेटिङ
शुक्रबार, ०३ कात्तिक २०८०, १७ : ३५
शुक्रबार, ०३ कात्तिक २०८०

विराटनगर । विराटनगर विमानस्थलमा कर्मचारी प्रशासनसँगको मिलेमतोमै लुट धन्दा चल्ने गरेको खुलेको छ । विमानस्थलमा यात्रुहरूको लागि सञ्चालनमा रहेका क्यान्टिन अत्यधिक महँगो हुँदा स्टाफ क्यान्टिन भने सस्तोमा चलेको छ । 

टेण्डर लगाउँदा नै स्टाफ क्यान्टिनको न्यूनतम रकम कम राखिएको छ भने कबोल रकम बढाबढ हुँदा पनि मात्रै २ हजार बढेको छ । तर, यात्रुका लागि न्यूनतम रकममा चार गुणा बढीसम्म कबोल रकम देखिन्छ । यसले स्टाफलाई सहुलियत दिने तर यात्रुलाई लुटाउने धन्दामा कर्मचारी प्रशासन कै मिलेमतो देखिएको हो । 

विराटनगर विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार विमानस्थलभित्र टर्मिनल क्यान्टिन, डिपार्चर कन्फेक्सनरी, अराइभल क्यान्टिन र स्टाफ क्यान्टिन रहेका छन् । विमानस्थलले यी सबै क्यान्टिन र पसलहरू ठेक्कामा लगाएको छ । यस्तै विमानस्थलले सवारी साधन पार्किङ पनि ठेक्कामा लगाउने गरेको छ । 

दुई दिन अगाडि संघीय सरकारका पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले विमानस्थलका ती क्यान्टिनमा छड्के चेकजाँच गरे । जसमा ग्राहकहरूलाई तीन गुणा बढी मूल्य लिएर सामानहरू विक्री गर्ने गरेको पाइयो । अनुगमनका क्रममा वस्तुको मूल्य अचाक्ली बढाएर उपभोक्ताहरूलाई ठगी गरेको पाइएपछि मन्त्री किराँतीले विमानस्थलका प्रमुख रिन्जी शेर्पालाई तत्काल कारबाही गर्न वा सटर बन्द गर्न निर्देशन दिए । 

Canteen (1)

शेर्पाले पनि तत्कालै यो विषय कार्यान्वयनमा आउने बताए । मन्त्री किराँतीले केही दिन अगाडि त्रिभुवन विमानस्थलका क्यान्टिन तथा पसलहरूको पनि अनुगमन गरेका थिए । सो क्रममा पनि यात्रु उपभोक्ताहरूलाई ठगी गर्ने गरेको पाइएको थियो । कुनै पनि वस्तुको विक्री वितरण गर्दा अधिकतम खुद्रा मूल्य भन्दा बढी लिन नपाइने कानुनी व्यवस्था छ । तर, क्यान्टिन तथा पसलहरूमा किन बढी लिन्छन् र त्यसरी लिनुपर्ने कारण के हो ? भन्ने विषयमा ती पसल र क्यान्टिन सञ्चालकको कुरा फरक छ ।

उनीहरूको तर्क छ, ‘ठेक्का रकम नै धेरै तिर्नुपर्छ ।’ ठेक्का आव्हानको न्यूनतम रकम नै बढी राखिने गरेको कारण आफूहरू महँगोमा सामानहरू विक्री गर्नुपरेको उनीहरूको तर्क छ । विराटनगर विमानस्थलको टर्मिनल क्यान्टिन सञ्चालन गरिरहेको होटल न्यू ग्यालेक्सी एण्ड लज विराटनगरका सञ्चालकले मन्त्री किराँतीकै सामुन्ने भने, ‘हामीले महँगो भाडा तिर्नुपर्छ अनि कसरी धान्नु त ? ।’

तर, उनले टेण्डर हाल्दा नै दोब्बर, तेब्बर, चौबर बढी रकम कबोल किन गरे भन्ने प्रश्न गर्दा उनीसँग उत्तर दिन सकेनन् । विराटनगर विमानस्थलले उपलब्ध गराएको सूचना अनुसार क्यान्टिन तथा होटलको टेण्डर आव्हानमै यात्रु लुटाउने सेटिङ भएको हुनसक्ने देखिन्छ । किनकी विमानस्थलमा रहेको स्टाफ होटल महँगो छैन । तर, यात्रुका लागि चलाइएका क्यान्टिनका खाद्यवस्तु तथा पानीसमेत अत्यधिक महँगो छ ।

Canteen (4)

विमानस्थलको टर्मिनल क्यान्टिनको लागि १ करोड ७० लाख रुपैयाँ न्यूनतम रकम उल्लेख गर्दै ठेक्का आव्हान भएको थियो । उक्त न्यू ग्यालेक्सी एण्ड लजले २ करोड ३१ लाख कबोल गर्‍यो । उक्त ठेक्कामा झापाली होटल, विराटनगरले पनि दरखास्त दिएको थियो । तर, कबोल रकम बढी भएको कारण ग्यालेक्सीलाई नै ठेक्का दिइयो । उसले २०७९ फागुन देखि ५ वर्षसम्म क्यान्टिन सञ्चालनको सम्झौता गरेको छ । 

अर्को डिपार्चर हल कन्फेक्सनरीको लागि ठेक्का आव्हान हुँदा विभिन्न ६ वटा संस्था तथा कम्पनीले दरखास्त दिए । ३३ लाख रुपैयाँ ठेक्का आव्हानको न्यूनतम रकम तोकेर गरिएको ठेक्कामा झण्डै चार गुणा बढी रकम १ करोड १५ लाख कबोल गर्ने ममता होटल विराटनगरले टेण्डर पार्‍यो । उसले पनि ५ वर्षसम्ममा यो रकम विमानस्थललाई भुक्तानी गर्नुपर्नेछ । यस्तै अराइभल क्यान्टिनको लागि १२ लाख रुपैयाँ न्यूनतम रकम तोकेर आव्हान भएको टेण्डरमा ओडारी किराना पसल विराटनगरले सबैभन्दा बढी ५१ लाख ४५ हजार रुपैयाँ रकम कबोल गरेपछि उसैले ठेक्का पायो । यो न्यूनतम रकमको ४ गुणा बढी कबोल रकम हो ।

Canteen (2) 

तर, स्टाफ होटलमा भने ११ लाख ६६ हजार ४ सय रुपैयाँ न्यूनतम ठेक्का आव्हान गरिएकोमा ३ वटा संस्थाले आवेदन दिए । तर, यो होटलमा भने न्यूनतम रकममा २ हजार बढी ११ लाख ६८ हजार २०० रुपैयाँ मात्रै अधिकतम मूल्यको ठेक्का पार्‍यो । यो ठेक्का भने सिद्धकाली होटल विराटनगरले पाएको छ । उ सँगको सम्झौता २०७८ साल साउन १ गतेदेखि तीन वर्षसम्मको रहेको छ । 

विमानस्थलको अनुगमनको क्रममा होटल तथा क्यान्टिनमा पानी, कफी, जङफुडलगायतका खाद्यवस्तुहरू एमआरपीभन्दा झण्डै तेब्बर मूल्यसम्ममा बिक्री गरेको पाइएको थियो ।  यहाँका रेष्टुरेन्ट तथा क्याफेले बढी मुनाफा राखेर चिसो पेय पदार्थ, चाउचाउ, बिस्कुट र खानेपानी लगायतका सामान बिक्री गरेको भेटिएको थियो । त्यहाँ पुगेका ग्राहकहरू भन्छन्, ‘यहाँ आएर पानीसमेत किनेर खान सकिँदैन । २५ रुपैयाँ पर्ने पानीको मूल्य ५० रुपैयाँसम्म राखिएको छ । एक प्याकेट चाउचाउलाई ७० रुपैयाँभन्दा बढी तिर्नुपर्छ ।’ 

पसल व्यवसाय सञ्चालकहरूले तिर्दै आएको भाडादरको विषयसमेत तत्काल नियमन गर्न मन्त्री किरातीले निर्देशन दिए । मन्त्रीको निर्देशन पश्चात विराटनगर विमानस्थल प्रमुख शेर्पाले पसल व्यवसायीहरुसँग नयाँ सम्झौता गरिने बताए । एमआरपीमा उल्लेख भएभन्दा बढी मूल्य लिन नपाउने गरी तत्काल निर्णय गरेर जानकारी गराउने शेर्पाले बताए । 

Canteen (3)

विमानस्थलमा पार्किङ शुल्क पनि बढाइएको जनाइएको छ । विमानस्थल प्रशासनका अनुसार सवारी साधन पार्किङमा ९६ लाख ८६ हजार २३२ रुपैयाँ न्यूनतम ठेक्का आव्हान हुँदा श्री ममता होटल विराटनगरले नै १ करोड ६५ हजार रुपैयाँमा ५ वर्षसम्मका लागि २०८० भदौ १ गतेदेखि ठेक्कामा लिएर काम गरिरहेको छ । जसमा ९ वटा संस्था तथा कम्पनीहरूले दरखास्त दिएका थिए । 

ठेक्का सम्झौता लिएकाहरूले ऐन कानुन विपरीतका कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाएका छन् । तर, उनीहरूले ग्राहकबाट अवैध तरिकाले गरिरहेको असुली धन्दा पनि अहिले पनि नरोकिएको यात्रुहरू बताउँछन् । 

123 s copy

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप