सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

‘पार्टीभित्र बबन्डर मच्चाउने काममा मेरो कहिल्यै पनि भूमिका रहँदैन’

ज्ञानेन्द्र शाहको प्रशंसै गरेको हो, आफ्नो हातमा शक्ति लिने चाहना व्याप्त भएपछि समस्या खडा भयो : माधव नेपाल
शनिबार, ०४ कात्तिक २०८०, १७ : ४८
शनिबार, ०४ कात्तिक २०८०

नेकपा एकीकृत समाजवादी (नेकपा एस)ले यही असोज १४ गतेदेखि २९ गतेसम्म ‘समाजवादी जागरण अभियान २०८०’ सञ्चालन गर्‍यो । प्रस्तुत छ, जागरण अभियान र वर्तमान राष्ट्रिय राजनीतिलाई लिएर रातोपाटीकर्मी रोहित दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालसँग गरेको वार्ताको सम्पादित अंश : 

पार्टीको मेची–काली समाजवादी जागरण अभियान कस्तो रह्यो ?

पार्टीको सबै शक्ति पहिलोपटक परिचालित भयो । जनतामा सन्देश पुग्यो । देशको राजनीति तरंगित भयो । हामीले अगाडि सारेका समाजवादी एजेन्डा छलफलको विषय बन्यो । तसर्थ अभियान समग्रमा उत्साहप्रद रह्यो । 

जनताको सहभागिता कमजोर रह्यो भनिन्छ नि ?

उपस्थितिका हिसाबले मधेस प्रदेशमा निकै राम्रो रह्यो । सभाहरूको आयोजना राम्रो रह्यो । समग्रमा हाम्रो स्थितिलाई हेर्दा सन्तोषजनक नै मान्नुपर्छ । 

कतिपय ठाउँमा मानिस नआएर तपाईंहरूले भाषण नै नगरी हिँड्नुपर्ने अवस्था कसरी  आयो ? 

जहाँ कार्यक्रम नै थिएन, त्यहाँ कहाँबाट आउँछन् त मान्छे ? हाम्रो योजनामा भएका कार्यक्रममा त्यस्तो भएको होइन । प्रचार गलत गरियो ।

जागरण अभियानका क्रममा कार्यकर्ताले पार्टी संस्थागत ढंगले चल्न नसकेको, नेताहरूबीच टकराबको अवस्था रहेको आदि कारणले पार्टी कमजोर बनेको भन्दै तपाईंहरूको आलोचना पनि गरे नि !

एकएक निर्णय संस्थागत भएका छन् । आजसम्म कुनै पनि त्यस्तो निर्णय भएको छैन, जुन संस्थागत नहोस् । यहाँसम्म कि श्वास कसरी फेर्ने भन्ने  निर्णय पनि संस्थागत भएका छन् । 

पार्टी सरकारमा बस्ने कि नबस्ने ? एमसीसीजस्ता विषयमा तपाईं र झलनाथ खनालबीचको विवाद सार्वजनिक कार्यक्रममै छताछुल्ल छ नि !

पार्टीको निर्णय मान्नुपर्‍यो कि परेन ?कम्युनिस्ट पार्टीमा बस्ने हो भने लेनिनवादी संगठनात्मक सिद्धान्त मान्नुपर्छ । हाम्रो पार्टीमा कोही पनि व्यक्ति कमिटीभन्दा माथि हुन सक्तैन । फरक मत हुनसक्छ तर छताछुल्ल पार्न पाइँदैन । कमिटीको निर्णय मानेर चल्नुपर्छ । चल्न सक्दैन भने त्यसले पार्टीको अनुशासन उल्लघंन गरेको ठहर्छ । 

यसको मतलब झलनाथ खनालले पार्टीको अनुशासन उल्लघंन गर्नुभयो भन्ने हो ? 

झलनाथ खनालले गर्नुभयो वा रामप्रसाद, कृष्णप्रसाद, ध्रुवप्रसादले गर्नुभयो भन्ने प्रमुख कुरा होइन, प्रमुख कुरा सिस्टमको हो । सिस्टम सबैलाई लागू हुन्छ । 

पार्टी सरकारबाट फिर्ता हुनुपर्छ भन्ने झलनाथ खनालको भनाइ छ । यसमा तपाईंको भनाइ के हो ?

झलनाथले भन्नुभएको छ भने उहाँको त्यो व्यक्तिगत धारणा हो । यो गठबन्धनलाई कायम राख्दै पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने पार्टीको संस्थागत निर्णय हो ।

अन्तर्पार्टी निर्देशन–११ मा यति धेरै विवाद आयो कि यो कहिले सच्चिन्छ ?

पार्टीको केन्द्रीय सदस्यहरू जति मनोनित भएका छन्, त्यो पार्टीको संस्थागत निर्णय हो । त्यो लागु हुन्छ । 

सच्चिएर लागु हुन्छ कि जस्ताको तस्तै लागु हुन्छ ?

अन्तर्पाटी निर्देशन– ११ (अपानि ११) सच्चिँदैन, जस्ताको तस्तै लागु हुन्छ । अर्को कुरा बजारमा गीत गाएर अपानि सच्चिने कुरा पनि हुँदैन । त्यो गीत गाउने कुरा अनुशासनहीन काम हो र अनुशासनहीन काम गर्ने व्यक्तिले आत्मालोचना पनि गरिसकेका छन् । 

पार्टीका सम्मानित नेताले नै अपानिबारे जानकारी भएन भन्दै आउनुभएको छ, यो कसरी लागु होला त ?

कोही नेता भएर बसेको हो भने उसले थाहा पाउनुपर्छ कि अपानि कार्यालयले जारी गर्छ, नेतालाई थाहा नहुन पनि सक्छ । अपानि जारी गर्दा बसेर छलफल हुँदैन । नेता हुँ भन्नेलाई यति ज्ञानचाहिँ हुनुपर्‍यो । बिर्सने बानी छ भने सम्झिनुपर्‍यो । 

अपानि–११ मा जिम्मेवारी दिँदा व्यापक पूर्वाग्रह राखेको देखिन्छ । तपाईं निकट नेतालाई जिम्मेवारीमाथि जिम्मेवारी, अलि टाढाकालाई खाली हात, केही पनि छैन नि ! 

यो त पहिलेदेखिकै समस्या हो । एउटै व्यक्तिले धेरै जिम्मेवारी लिने । केही कुरा परिवर्तन नगरेको भए पनि हुने थियो तर गरिएको छ । त्यसलाई सच्याउनुपर्छ । यो एकातिर होइन, दुवैतिर छ । 

यी जे भइरहेका छन्, यसलाई हेर्दा तपाईंलाई महाधिवेशन लाग्यो भनेर बुझुनपर्‍यो ?

सिंगै पार्टीलाई लाग्छ नि महाधिवेशन त ।

तपाईंले महाधिवेशनको तयारी नै थालिसक्नुभयो नि !

पार्टीभित्र बबन्डर मच्चाउने काममा मेरो कहिल्यै पनि भूमिका रहँदैन । मिलाउने काममा भने मेरो भूमिका रहन्छ । बबन्डर मच्चाउने बानी परेकाले मच्चाउँछन् । 

अबको महाधिवेशनपछि तपाईं नै अध्यक्ष हो ?

के हुन्छ भन्ने कुरा पार्टीले नै तय गर्छ ।

सरकार काम गर्न नसकेर असफल भइसक्यो, तैपनि  तपाईं सरकार छाड्नु हुँदैन भन्छन् नि ?

छाडेर के गर्ने जंगल पस्ने ?

विपक्षमा बस्ने नि !

अनि कसको सरकार बन्छ त । 

बनाउलान् नि अरु दलले, एमाले पनि छ !

के त्यहाँ पुगोस् भन्ने तपाईंको चाहना हो ?

एमालेले सरकारमा जानै हुँदैन त ?

एमालेले गतिलो काम गर्नुपर्‍यो नि, मौका त दिइएकै थियो, थिएन र ? 

माधव नेपाल कांग्रेससँग सती जान खोज्दै हुनुहुन्छ भन्ने आरोप छ नि ?

अहिलेको राजनीतिको यथार्थ के हो ? कांग्रेसलाई कुनै हालतमा मिलाउँदिनँ भन्दा पञ्चायत ढल्यो, राजतन्त्र ढल्थ्यो ? अनि मिलाउँदा कसरी सती गएको हुन्छ ? माधव नेपालको बानी पछुवा हुने होइन ।

तपाईंको पार्टीबाट मन्त्री बनेकाहरू कहाँ छन्, खोजी गर्दै हुनुहुन्छ कि !

अब समीक्षा गर्छौं । बैठकमा छलफलको विषय बनाउँछौँ । 

प्रधानमन्त्रीको चीन भ्रमण असफल भयो भन्ने छ, तपाईंको भनाइचाहिँ के हो यसमा ?

यस्तो विषयमा म हल्का टिप्पणी गर्दिनँ । यस विषयमा प्रधानमन्त्रीसँग छलफल हुन्छ, अनि धारणा बन्छ ।

एमालेलाई कुनै हालतमा सरकारमा प्रवेश गर्न नदिने भन्नुहुन्छ तर कोशी प्रदेशबाट प्रवेश गरिसक्यो, अन्य प्रदेश हुँदै सिंहदरबार नै प्रवेश गर्छजस्तो छ त !

राम्रै हुन्छ नि । आफ्नो कामबाट, योग्यताबाट, क्षमताबाट आउँछ भने ईश्र्या गर्नुपर्ने के छ र ! सबैतिरको सरकारमा आओस् मती सुध्रियोस्, राम्रै हुन्छ ।

हिजो तपाईंकै सिको गरेर शेखर कोइरालाले कोशीमा विद्रोह गरे भनिँदै छ, के भन्नुहुन्छ ?

कोशीमा संख्याको जटिलता छ भन्ने सबैलाई थाहा छ । मसँग कुरा गर्न आउँदा केपी ओलीलाई कोशीमा  सहमतिको सरकार बनाऔँभन्दा मुख्यमन्त्रीलाई जिम्मा दिएको छु भनेर पन्छिए । त्यही कारण अहिले संकट आयो । 

शेखर कोइरालाको विद्रोहलाई कसरी लिनुभएको छ ?

त्यो उहाँहरूको आन्तरिक मामिला हो । यसमा मेरो भन्नु केही छैन । यसबारे शेरबहादुरजी र कांग्रेस पार्टीले सोच्ने कुरा हो । अरुको पार्टीको बारे धेरै टिप्पणी गर्नु राम्रो हुँदैन । 

पूर्वराजाबारे अचानक कडा टिप्पणी गर्नुभयो, किन ?

राजतन्त्र फर्काउने सपना देख्न बन्द गर्नुपर्‍यो । कुनै पनि वंशको शासन नेपालमा अब चल्न सक्दैन र यसलाई कसैले स्वीकार गर्न पनि सक्दैन ।

ज्ञानेन्द्र शाहको पछि त्यति धेरै संख्यामा मानिसको भीडलाई नजरअन्दाज गर्न मिल्छ र ?

त्यसो त जोगी जाँदा पनि जनता जान्छन् नि । रामदेव आउँदा कति हुन्छन् मान्छे ?

ज्ञानेन्द्र शाहप्रति किन यति धेरै आक्रोश ?

व्यक्ति विशेषप्रति मेरो कहिल्यै पनि नकारात्मक धारणा छैन । व्यक्तिगत रूपमा त पूर्वराजा ज्ञानेन्द्र शाहको केही सन्दर्भमा प्रशंसै गरेको हो नि । जब उहाँमा आफ्नो हातमा शक्ति लिने चाहना व्याप्त भयो, त्यसपछि न समस्या खडा भयो । 

चुप लागेर बसेका व्यक्तिलाई किन चलाइरहनुभएको, केही सूचना पाएर हो कि ?

बोलेर हिँडिरहेका छैनन् ? राप्रपा बोलिरहेको छैन ?

राप्रपा नेपालका अध्यक्ष कमल थापाले तपाईंलाई जवाफ फर्काइसके त !

कमल थापाजीले के के गर्नुभएको छ हामीलाई थाहा छैन र ? त्यसकारण एउटाको दास नबन्नुस्, स्वाभिमानी नगारिक बन्नुस् । आफूलाई काबिल लाग्छ भने आए हुन्छ नि चुनावी मैदानमा । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोहित दाहाल
रोहित दाहाल
लेखकबाट थप