आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
दसैँ

दसैँमा रातो भाले र हाँस

खसीको व्यापार खस्कियो
आइतबार, ०५ कात्तिक २०८०, १९ : ३४
आइतबार, ०५ कात्तिक २०८०

काठमाडौँ । मांसाहारीहरु दसैँमा मासुलाई निकै महत्त्व दिन्छन् । खसी–बोका, भेडा–च्याङ्ग्राका मासु दसैँमा अत्यधिक खपत हुन्छ । तर, कतिपयलाई लोकल हाँस र कुखुराको मासु मन पर्छ । तिनै उपभोक्तालाई लक्षित गरी हाँस र कुखुराको व्यापारसमेत दसैँमा उल्लेख्य हुने गर्दछ ।

उपत्यकाका विभिन्न स्थानमा जिउँदा कुखुरा बिक्री हुने गर्दछन् । व्यवसायीहरुका अनुसार जिउँदा कुखुरा प्रतिगोटा एक हजार तीन सयदेखि एक हजार आठ सय रुपैयाँसम्म पर्छ । प्रतिजोडी हाँसको दुई हजारदेखि पाँच हजार रुपैयाँसम्म पर्ने उनीहरुको भनाइ छ ।

काठमाडौँ उपत्यकाको कलंकीस्थित खसीबजारको नजिक तीन दिनदेखि रौतहटका उपेन्द्र मुखिया हाँस र कुखुरा बेच्दै छन् । उनले रौतहटबाट ४० वटा कुखुरा, एक सय वटा हाँस बेच्न ल्याएका छन् । कुखुराका भाले एक किलोभन्दा बढी तौलका छन् भने हाँस एकदेखि साढे तीन किलोसम्मका छन् ।

कुखुरा र हाँसको मूल्य फरक–फरक पर्ने उनी बताउँछन् । ‘एक किलोभन्दा बढी तौल भएको कुखुराको मूल्य १५ सय रुपैयाँ पर्छ,’ उनले भने, ‘एकदेखि साढे एक किलो हाँसको दुई हजार रुपैयाँ जोडी पर्छ, साढे तीन किलोभन्दा बढी भएको हाँस जोडीको पाँच हजार पर्छ ।’

मुखियाजस्तै धादिङका व्यापारी दानबीर लामाले पनि ६० देखि ७० वटा लोकल भाले बेच्न ल्याएका छन् । दुईदेखि साढे दुई किलो तौलको लोकल भाले आफूसँग रहेको उनी बताउँछन् । ‘३० वटाभन्दा बढी भाले बेचिसकेँ,’ उनले भने, ‘मसँग भएका कुखुरा प्रतिगोटा १३ सयदेखि १८ सय रुपैयाँ पर्छ ।’

राजाहाँस पनि व्यापारीले बिक्रीका लागि ल्याएका छन्, जसको तौल करिब ५ किलो छ । यो हाँसको मूल्य प्रतिजोडी १० देखि ११ हजार पर्ने उनीहरु बताउँछन् ।

bhale 1

खसीको व्यापार खस्कियो

दसैँमा खसी–बोकाको व्यापार खस्किएको व्यापारी बताउँछन् । आर्थिक मन्दीका कारण गत वर्षको तुलनामा खसी–बोका र च्याङ्ग्राको बिक्री कम भएको नेपाल चौपाया बजार बधशाला व्यवस्थापन प्रालिका संस्थापक तथा व्यवस्थापक जीवनराज खतिवडाले बताए । ‘गत वर्ष अष्टमीका दिनसम्म २५ हजार खसी–बोका र च्याङ्ग्रा बिक्री भएका थिए,’ उनले भने, ‘यो वर्ष १५ हजार खसी–बोका र च्याङ्ग्रा बिक्री भएका छन् ।’

खसी–बोका र च्याङ्ग्रामा लागतमूल्य अनुसार बिक्री मूल्य बढ्न नसकेको उनी बताउँछन् । ‘गत वर्ष ढुवानी खर्च कम थियो,’ खतिवडाले भने, ‘१० हजार रुपैयाँभन्दा बढी ढुवानी खर्च हुँदैन थियो, यो वर्ष १३ हजारभन्दा बढी खर्च लागेको छ ।’

khasi

उनका अनुसार, उपत्यकामा दाङ, सल्यान, सुर्खेत, कैलाली, दार्चुला लगायत देशका ३५ भन्दा बढी जिल्लाबाट खसी–बोका र च्याङ्ग्रा बिक्रीका लागि ल्याइन्छ । ‘उपत्यकामा महिनामा सरदर २० देखि २१ हजार खसी–बोका बिक्री हुन्छ,’ उनी भन्छन्, ‘दसैँको पाँच दिनमा अरु बेलाको महिना दिनमा बिक्री हुने खसी–बोका र च्याङ्ग्राको व्यापार हुन्छ ।’

खसी–बोका र च्याङ्ग्राको कति पर्छ मूल्य ?

दसैँका लागि विभिन्न जिल्लाबाट भित्र्याइएका जिउँदा खसीको मूल्य प्रतिकिलो ६ सय २५ रुपैयाँदेखि ७ सय पर्ने नेपाल चौपाया बजार बधशाला व्यवस्थापन प्रालि कलंकीले जनाएको छ । बोकाको प्रतिकिलो ६ सय ४० रुपैयाँदेखि ७ सय रुपैयाँ पर्छ । भेडाको मूल्य ७ सयदेखि  ८ सय ५० रुपैयाँ पर्छ ।

लेकाली खसीको मूल्य भने केही बढी छ । यो खसी ७ सय देखि ९ सय रुपैयाँ प्रतिकिलोको दरले बिक्री भइरहेको प्रालिले जनाएको छ । 

mulya suchi

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप