आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
दसैँ

नवरात्रमा कन्या पूजा किन ?

सोमबार, ०६ कात्तिक २०८०, ०८ : ०७
सोमबार, ०६ कात्तिक २०८०

आश्विन शुक्ल पक्षको प्रतिपदादेखि नवमीसम्मलाई नवरात्र वा नौरथा भनिन्छ । यसपछि अर्थात् नवमीपछि आउँछ, विजया दशमी अर्थात् दसैँ । नवरात्रमा देवी दुर्गाको पूजाअनुष्ठान गरिन्छ । नवरात्रका नौ दिनमा देवी आफ्ना नौवटा स्वरूपमा प्रकट हुन्छिन् भन्ने मान्यता छ । 

‘दुर्गासप्तशती’मा भनिएको छ :

इत्थं यदा यदा बाधा दानवोत्था भविष्यति ।

तदा तदावतीर्याऽहं करिष्यामि अरिक्षयम् ।।

अर्थात् जुन जुन बेला दानवहरूले बाधा पु¥याउँछन्, त्यस–त्यस बेला म शक्तिका रूपमा आएर ती दुष्टलाई नाश गरी सज्जनहरूको रक्षा गर्नेछु ।

नवरात्रको पहिलो दिनदेखि नवमीसम्म दुर्गाका नौवटा रूप प्रकट हुने विश्वास गरिन्छ । ती देवी क्रमशः निम्न छन् — शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्री । नवरात्रमा यिनै देवीको पूजाअनुष्ठान गरिन्छ । योसँगै नवरात्रमा नौवटी कन्याको पूजा गर्ने पनि शास्त्रीय विधान छ । 

२०६२ मा प्रकाशित बलराम अर्यालको पुस्तक ‘नवरात्र तथा यमपञ्चक पूजाविधि’मा कन्यापूजा सम्बन्धमा उल्लेख छ । यस पुस्तक अनुसार, यजमानले एक वर्ष पूरा गरी दुई वर्ष छोएकी कन्याबाट पूजा सुरु गरी नवमीका दिन १० वर्षकी कन्यालाई पूजा गर्दा उत्तम हुन्छ । यस्तै, निम्न मन्त्रद्वारा कन्याको अंगपूजा गर्नुपर्ने पुस्तकमा उल्लेख छ ः

ओम् सपरिवार बालभैरवाय नमः – पादौ पूजयामि ।

ओम् ऐँ सिद्धजयाय पूर्ववक्राय नमः – जङ्घे पूजयामि ।

ओम् ऐँ सिद्धजयाय उत्तरवक्राय नमः – गुल्फौ पूजयामि । 

ओम ह्रीं श्रीं कुब्जिके पश्चिमवक्राय नमः – जानूनि पूजयामि ।

ओम् ऐँ कालिके दक्षिणवक्राय नमः – मेढुं पूजयामि । 

ओम् भास्कराय प्रत्येकदिक्पालेभ्यो नमः – नाभि पूजयामि । 

ओम् वीरभद्रायै नमः – हृदयं पूजयामि । 

ओम् महाकन्यायै नमः – कण्ठं पूजयामि ।

ओम् कौलिन्यै नमः – बाहुं पूजयामि । 

ओम् कुलगाभिन्यै नमः – मुखंं पूजयामि ।

ओम अष्टादशभुजायै नमः – ललाटं पूजयामि । 

ओम काल्यै नमः – शिरं पूजयामि । 

ओम् चण्डदुर्गायै नमः – सर्वाङ्ग नमः । 

चेतोनाथशर्मा आचार्यको पुस्तक ‘हाम्रा धार्मिक चाडपर्व’मा पनि कन्यापूजासम्बन्धी शास्त्रीय मान्यता उल्लेख छ । यस पुस्तकमा आचार्य लेख्छन्, ‘कुनै अंगभंग नभएका, अधिक अंग पनि नभएका, निरोगी, हेर्दा कुरूप नदेखिने, कैला अंग नभएका, शरीरमा धेरै र लामा रौँ नभएका कन्या पूजालायक मानिन्छन् ।’

दुई वर्षदेखि १० वर्ष उमेर समूहका नौ कन्याको नाम क्रमशः यस प्रकार छ — कुमारी, त्रिमूर्ति, कल्याणी, रोहिणी, कालिका, चण्डिका, शाम्भवी, दुर्गा र सुभद्रा । 

कुन कामनाका लागि कुन वर्णकी कन्यालाई पूजा गर्ने भन्ने सम्बन्धमा संस्कृत श्लोक भन्छ :

विप्रां सर्वेष्टसंसिद्धयै यशसे क्षत्रियोद्धवाम ।

वैश्यजां धनलाभाय पुत्राप्त्यै शूद्रजां भजेत् ।। 

अर्थात् समस्त कार्य सिद्धिका लागि ब्राह्मण कन्या, यशको कामना भए क्षत्रिय कन्या, धनको अभिलाषा हुनेले वैश्य कन्या र छोराको इच्छा राख्नेले शूद्रकी कन्या पूजा गरून् । 

यहाँनेर के बुझिन्छ भने पूजा मानसिक अवस्थासँग सम्बन्धित छ । कसरी भने — वर्ण बनाएर सामाजिक, आर्थिक, राजनीतिक र धार्मिक हैसियत दिएपछि मानिसमा सोही अनुसारको मानसिकता निर्माण हुन्छ । ब्राह्मण वर्णमा पर्नेले धार्मिक र आध्यात्मिक कृत्यमा आरक्षण पाएको थियो र उसकी पुत्री वा कन्यामा समस्त कार्य सिद्धिको कुरा ल्याइयो । अर्थात् सिद्धिको कुरा मानसिक बल, जप–यज्ञ वा अध्यात्मसँग सम्बन्धित मानिन्छ, जसको अधिकार ब्राह्मणलाई थियो । 

यस्तै, क्षत्रियले शासनको आरक्षण पाएको थियो । समाजमा शासकहरूको यश हुने नै भयो र उसकी कन्या वा पुत्रीसँग जोडेर यशको कामनालाई ल्याइयो । 

पशु वा कृषि उपजजस्ता धन हुनेलाई वैश्य मानिएको थियो र धनप्राप्तिका लागि वैश्यकी कन्या पूजनको कल्पना गरियो । 

छोराका लागि शूद्र अर्थात्् दास वा सर्वहारा वर्गकी कन्याको पूजा गर्नु भन्नुले रहस्यमयतातिर धकेल्छ । छोरा कसरी जन्मन्छ भन्ने ‘एक्स’ र ‘वाई’ क्रोमोजोमको विज्ञानको ज्ञान आदिम मानिसलाई थिएन । बढी पीडा, तप वा तपस्यापछि सुख मिल्छ भन्ने रहस्यवादी दर्शनलाई आदिम मानिसले विश्वास गर्थे । समाजमा अपमानित वर्ण शूद्रकी कन्याको पूजा गर्नु कथित उच्च वर्णका लागि पीडादायी विषय थियो । त्यसैले शूद्रकी कन्यालाई पूजा गर्दा छोरा जन्मिहाल्छ कि भन्ने अन्धविश्वास उनीहरूले लिएका थिए । 

कन्यापूजा स्त्रीको कुमारित्वसँग सम्बन्धित पनि देखिन्छ । आदिम समाज जब मातृसत्ता हुँदै पितृसत्तातर्फ ढल्कियो, त्यतिबेला हाडनाताबीचको यौन सम्बन्धलाई वर्जित गर्दै सभ्यतातर्फ मानव समाज उन्मुख भयो । खास खास समाजमा स्त्रीहरू एउटै पुरुषप्रति पतिव्रता रहनुपर्ने र पुरुषहरूले दुई–चारवटी विवाह गर्न पाउने वा पत्नीको मृत्युपछि अर्को विवाह गर्न सक्ने जस्ता नियम बन्दै आए, अर्थात् स्त्रीलाई पुरुषले निजी सम्पत्तिजस्तै बनायो । यद्यपि, कतिपय मातृसत्ता प्रधान समाजका विवाह भिन्न प्रकृतिका पनि छन् । 

अर्कोतिर, समाजमा शिक्षा वा चेतनाको अभाव हुँदा सानै उमेरका छोरीहरू बहकिएर जो–कोहीसँग यौनसम्बन्ध राख्ने, बलात्कृत हुनेजस्ता घटना प्राचीन समाजमा हुने गर्थे । त्यसैले कन्यालाई सुरक्षित र पवित्र राख्न बालविवाह वा कन्यापूजाजस्ता परम्परा सुरु भएको आकलन गर्न सकिन्छ । 

अर्कोतिर दसैँ शाक्त परम्परा वा तन्त्रसँग सम्बन्धित छ । अर्थात् देवीको उपासनाले शक्ति आर्जन हुन्छ भन्ने विश्वास यस पर्व र अनुष्ठानमा पाइन्छ । तन्त्र आफैँमा रहस्यवादी र गुरु–शिष्य परम्परामा आधारित विद्या हो । गुरुबिना तन्त्र साधना सम्भव छैन भनिन्छ । गुरुले दिएको मन्त्र जपेर र मन्त्रसँग सम्बन्धित देवीको पूजाआराधना गरेर मानसिक ऊर्जा बढाउने कार्य तन्त्रमा गरिन्छ । तन्त्र एउटा संकल्पसहितको अनुष्ठान हो र भक्ति साधना पनि हो । विश्वासबिना कुनै पनि देवीदेवताप्रति भक्ति आउँदैन । विश्वासपूर्वक गरिएको संकल्प अनुसार हाम्रो मस्तिष्कले काम गर्न थाल्छ भन्नेतिर आजको विज्ञान पनि ढल्केको छ । 

खोज्दै र खुट्टयाउँदै जाँदा देवीदेवताहरू 

विजया दशमी देवताहरूले असुर, दानव वा राक्षसमाथि विजय प्राप्त गरेको कथाका आधारमा मनाएको पाइन्छ । 

बालकृष्ण पोखरेलको पुस्तक ‘खस जातिको इतिहास’ अनुसार, मेसोपोटामियाको निवेवे (शोणितपुर) क्षेत्रतिर असुरको अर्थ ईश्वर र देवको अर्थ दैत्य लाग्थ्यो । उनी लेख्छन्, ‘हाम्रो दक्षिण एसियामा आएर यी दुवै शब्द (असुर, देव)का अर्थ बिब्ल्याँटिन्छन् — असुर दैत्य हुन पुग्छ र देव ईश्वर ।’ 

उनका अनुसार, प्राचीन ग्रिसेली वाङम्यमा आखाईओई (हैहय) र दानाओई (दानव) केवल ग्रिसेली जातिहरूलाई बुझाउने साझे संज्ञा हुन् । पोखरेलले दानव समूह डेनुब नामक नदीसँग जोडिएको इंगित गरेका छन् । उनी लेख्छन्, ‘दानवझैँ महत्त्वपूर्ण जातिलाई नाम प्रदान गर्ने डेनुब नदी अति महत्त्वपूर्ण जलधारा हो ।’ जर्मनीमा उत्पन्न यस नदीले युरोपको संस्कृतिको निर्माणमा विशेष भूमिका खेलेको निष्कर्ष पोखरेलको छ ।

निश्चय नै देवीदेवता भनेका मानिसका पुर्खा अर्थात् आदिम मानव नै हुन् । यिनमा केही कथा वा मिथ जोडिन पुगेका छन् । आफ्ना पुर्खालाई शक्तिशाली र बुद्धिजीवी देखाउने लालसाले नै देवी–देवतासम्बन्धी अनेक कथा लेखिए । 

जेहोस्, कन्याहरूलाई पूजा गर्दा मनमा एक खालको शान्ति, सन्तुष्टि र शक्तिको आभास हुन्छ । नवरात्रमा कन्याहरूको पूजा–अनुष्ठान गरिनु सुन्दर परम्परा हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप