शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा निर्वाचन

आगामी फागुन २० मा राष्ट्रियसभाका यी २० सांसदको पदावधि सकिने

बुधबार, १५ कात्तिक २०८०, २२ : ५८
बुधबार, १५ कात्तिक २०८०

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनको मिति प्रस्ताव गरेको छ । बुधवार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी माघ दोस्रो साताका लागि निर्वाचनको मिति प्रस्ताव गरेका हुन् ।

निर्वाचन आयोगले निर्वाचनको मिति प्रस्ताव गरेपछि मन्त्रिपरिषद् बैठकले अन्तिम निर्णय गर्नेछ । आगामी फागुन २० गते राष्ट्रिय सभामा १९ सांसदको पद रिक्त हुँदै छ । राष्ट्रियसभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।

आगामी फागुन २० मा एमालेका ९, कांग्रेसका ४ माओवादीका ३, एकीकृत समाजवादीका २, जसपाका १ र स्वतन्त्र सांसद १ जना गरी २० सांसदको पदावधि सकिन लागेको छ । पदावधि सकिनेमा राष्ट्रियसभाका अध्यक्ष, राज्यमन्त्री, विभिन्न पार्टीका संसदीय दलका पदाधिकारीको समेत रहेका छन् ।

एमालेबाट राष्ट्रियसभा अध्यक्ष समेत रहेका गणेश तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार, रामचन्द्र राई र विमला राई पौड्याल रहेका छन् । 

दिलकुमारी राष्ट्रिय सरोकार तथा समन्वय समिति सभापति हुन् भने विमला राष्ट्रपतिबाट मनोनीत सदस्य हुन् । यस्तै कांग्रेस राष्ट्रिय सभा दलको नेता रमेशजंग रायमाझी, प्रमुख सचेतक अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि पनि फागुन २० मा सकिने छ । पन्थ दिगो विकास तथा सुशासन समिति सभापति हुन् ।

माओवादीका विना पोखरेल, महेशकुमार महरा र हरिराम चौधरी तथा एकीकृत समाजवादीका नन्दा चपाईं र सिंगबहादुर विश्वकर्मा पनि फागुन २० मा विदा हुने छन् । जसपाका प्रमिलाकुमारी यादव र स्वतन्त्रका खिमलाल देवकोटा पनि फागुन २० मा सकिने छ । जसपाकी प्रमिला अहिले राज्यमन्त्री छिन् ।

सत्ता गठबन्धन र एमालेबिच मुख्य प्रतिस्पर्धा

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता रहन्छन् । ५५० प्रदेशसभा सदस्य र ७५३ गाउँपालिका प्रमुख–उपप्रमुख गरी २०५६ जना मतदाता हुन्छन् । जसमा प्रदेश सभा सदस्य एक, पालिका प्रमुख एक र उपप्रमुखको दुई ठाउँमा पद रिक्त छ । निर्वाचन आयोगले उपनिर्वाचन अघिनै राष्ट्रियसभा सदस्यको निर्वाचन गर्ने भएकाले चार जना मतदाता कम हुने देखिन्छ । 

राष्ट्रिय सभामा निर्वाचनमा सत्ता गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । स्थानीय तह, चार प्रदेशमा सत्ताको प्रमुख घटक कांग्रेस पहिलो छ । बाँकी प्रदेशमा पनि कांग्रेस नेतृत्वको सत्ता गठबन्धन सहजत बहुमतमा देखिन्छ ।

सत्ता गठबन्धनमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत लोसपा, नाउपा लगायतका दल आबद्ध छन् । आगामी माघ दोस्रो सातासम्म सत्ता समीकरणमा फेरबदल नआए राष्ट्रियसभामा एमालेले ९ सांसद गुमाउन सक्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप