शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मेरो पनि सारथी बनिदेउ न कृष्ण

आइतबार, १९ कात्तिक २०८०, १२ : ०५
आइतबार, १९ कात्तिक २०८०

युद्धको संघारमा अर्जुनको जस्तै
संकटग्रस्त छ मेरो पनि चित्त
अन्तद्वन्द्वको भीषण आँधीहुरीमा
म पनि जुध्दछु यहाँ हर नित्य
यहाँ शत्रु को हो, अनि को हो मित्र
यो मायाजाल बडो विचित्र
सहि के हो, के हो गलत  
छैन कुनै चिरस्थायी मत
के हो पाप, के हो धर्म
दुविधामै रह्यो सधैँ मर्म
प्रश्नहरूको शृंखला उठिरहन्छ
हृदय नै ब्याकुल हुने गरी
भक्ति होस् या ज्ञान मार्ग
शान्ति मिलेन कसै गरी
तिमीबिना वासुदेव, हृदय रह्यो शुष्क
मेरो पनि सारथी बनिदेउ न कृष्ण ।

तिमी एक, तिमी अनेक, तिमी पूर्णावतार
मनमोहक मुस्कानले बगायौ सधैँ प्रेमको धार
तिम्रो बाँसुरीको धुनमा अरुले संगीत सुन्छन्  
म पुरै ब्रह्माण्डको झंकार सुन्छु
तिम्रो सजिएको मुकुटमा अरु प्वाँख देख्छन्  
म त्यसमा राधाप्रेमको साख देख्छु  
तिम्रो पिताम्वर वस्त्रमा अरु चमक देख्छन्
म त्यसमा क्षणभंगुर प्रकृतिको झलक देख्छु  
मूर्तिमा हैन, म तिमीलाई मनमा पुज्छु हे गोपीनाथ
अर्जुनले जस्तै म सधैँ खोजी हिँड्छु तिम्रो नै साथ
तिम्रो सानिध्यमा बन्नु छ मलाई, तिमी जस्तै तीक्ष्ण
मेरो पनि सारथी बनिदेउ न कृष्ण ।

मन सारै उत्कण्ठ रहन्छ हे मधुसुदन 
यस्तो मनोदशामा अब कसरी बिताऊँ जीवन ?
जिज्ञासाको सागरमा म एक प्यासी साधक
निस्काम भावको मार्गमा यो सन्देह बाधक
सारथी बनि मेरा इन्द्रियहरूमा लगाम लगाऊ  
मनको कुरूक्षेत्रबाट मलाई अलि पर लैजाऊ
मलाई अन्धविश्वास हैन, बोध देउ माधव
मलाई मुढ भक्ति हैन, शक्ति देउ राघव
तिमी विना हर मार्ग अब मरुभूमिझैं उष्ण  
मेरो पनि सारथी बनिदेउ न कृष्ण ।
मेरो पनि सारथी बनिदेउ न कृष्ण ।।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिपेश पराजुली
दिपेश पराजुली
लेखकबाट थप