बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
कलाकार

दोहोरी गाएर भाइरल इब्सल

परिवारको इच्छा सरकारी जागिर, उनको इच्छा चर्चित गायिका
सोमबार, २० कात्तिक २०८०, ११ : ५१
सोमबार, २० कात्तिक २०८०

काठमाडौँ । ‘फक्रेकी छु पियार ढकमक्कै फुली
दिन्छु माया थाप त अञ्जुली...’
होस् वा
‘मेसो मिलाई झम्के साँझ पारी
भेट्न आऊ है त्यहाँ घरको पछाडि...’

यी र यस्ता थुप्रै लोकदोहोरी गीत यतिबेला टिकटकलगायतका सामाजिक सञ्जालमा भाइरल छन् । ती गीतमा सीताराम परियार, सुमन परियार, सागर बीसी, बालचन्द्र बराललगायत फरक फरक गायक छन् तर सबै गीतमा  गायिका भने एउटै छिन् । ती हुन्– इब्सल संज्याल ।

इब्सल लोकदोहोरी गाएर पछिल्लो समय सबैतिर छाएकी छन्, सीधै भन्नुपर्दा भाइरल छिन् । उनका गीतका शब्दसमेत मिठासपूर्ण र सभ्य छन् ।

तर उनी भने आफू भाइरल नभएर चर्चित भएको बताउँछिन् ।

 

ibsal 2

‘मेरो गीत सबैले रुचाउनुभयो । मैले सबैको माया पाएँ । त्यसमा खुसी छु’, इब्सलले भनिन्, ‘चर्चा राम्रो छ, चारैतिर छाएकी छु । यसलाई भाइरल मान्दिनँ ।’ अहिले भएको चर्चा सबैबाट अगाडि बढ्न दिएको हौसलाका रूपमा आफूले ठानेको उनी सुनाउँछिन् ।

इब्सल केही समय अगाडिसम्म गुमनाम थिइन् । अहिले उनको चर्चा चारैतिर छ । यो चर्चालाई कतिपयले ‘प्लानिङ’ समेत भनेका छन् । उनी भने यसलाई सफलताको पहिलो पाइला ठान्छिन् ।

‘म कलाकारितामा मोडलिङमार्फत विगत चार वर्षदेखि छु । अहिलेसम्म धेरै गीतमा मोडलिङ गरिसकेँ’, उनले थपिन्, ‘गायनका बारेमा केही थाहा थिएन । रहरले गायन सुरु गरेँ, सबैले रुचाउनुभयो ।’ अब गायनलाई निरन्तरता दिने सोच उनको छ । भनिन्, ‘अहिलेको चर्चा सफलता होइन, यात्राको प्रारम्भ हो । सुरुवात राम्रो भयो । त्यो खुसीको कुरो हो ।’

मोडलिङपछि दोहोरी

उनले देउडा गीतहरूको अलवा सुदूरपश्चिमका धेरै गीतमा मोडलिङ गरेकी छन् । लोकदोहोरी भने ७ महिनाअगाडि रहरै रहरले इन्द्रेणी कार्यक्रममा ‘झल्को लाली ओठको’ भाकामा पहिलो पटक चिज गुरुङसँग गाएकी थिइन् । त्यो चर्चित बन्यो ।

त्यसपछि मिलन लामा, सुमन परियार, सागर बीसी, बालचन्द्र बराल, सुप्रिम मल्ल ठकुरीलगायत थुप्रैसँग विभिन्न भाकामा गाइन्, जसले बजार हल्लायो । भटाभट एकपछि अर्काेसँग गाउँदै गएका कारण चलेका गायकसँग अहिले उनले दोहोरी गाउन बाँकी कमै होलान् ।

ibsal 3

अग्रजहरूसँग गाउँदा धेरै सिक्न र बुझ्नसमेत उनले पाएकी छन् । कतिले त उनलाई यसमा लाग्न हौसला र प्रेरणासमेत दिने गरेका छन् । 

सार्वजनिक रूपमा पहिलो दोहोरी चिज गुरुङसँग गाए पनि सिकाइका रूपमा उनी खगेन्द्रप्रसाद न्यौपानेसँग गाइरहन्थिन् । न्यौपाने उनका सङ्गीतका गुरु पनि हुन् ।

‘गाउँघरमा देखेसुनेका टुक्का गुरुसँग गाउँदा राम्रो लाग्यो’, उनी थप्छिन्, ‘त्यसले गायनमा हौसला मिल्यो ।’

सानैदेखि गाउँघरमा घाँस, दाउरा गर्दा होस् वा  साथीहरूसँग स्कुल, मेलापात गर्दा गीत गुनगुनाउने बानी भने उनको थियो । गाउने आँट भने थिएन । मोडलिङमा भिज्दै गर्दा र गुरु न्यौपानेको प्रेरणाले गायनमा आँट पलाएको उनले सुनाइन् ।

342350043_201569575958939_2074367970469059244_n

छोटो समयमा यति धेरै चर्चाले उनी गायनमा टिक्ने कुरामा धेरैको शङ्का छ । अहिलेको अवस्थामा टिक्क उनले पनि  चुनौती देखेकी छन् । टिक्ने र नटिक्कने कुरो आफ्नो निरन्तरता, लगावमा र इमानदारितामा भर पर्ने उनी बताउँछिन् ।

‘मेहनती र इमानदारिता हुनुप¥यो । अहिलेको स्थान कायम राख्न सकिन्छ’, उनले आफ्नो बुझाइ राख्दै भनिन्, ‘तलबाट पुस गर्ने र माथिबाट तान्ने हात चाहिन्छ ।’ 

‘मानिस जेका लागि बनेका हुन्छन्, त्यो गर्नुपर्छ । हाम्रो भेगतिर देउडा धेरै सुनिने भएकाले म पनि सानैदेखि देउडा गुनगुनाउँथे । ममा पनि गायन कला रहेछ’, उनले खुसी सेयर गरिन्, ‘अहिले दोहोरी गायिकाका रूपमा सबैले रुचाउनुभयो ।’

उनले लोकदोहोरी रोज्नुको कारण कलासंस्कृति संरक्षण पनि हो । त्यसैले उनी अहिले कालिकोट लोकदोहोरी गीत प्रतिष्ठानको कोषाध्यक्षसमेत बनेकी छन् ।

परिवारको इच्छा सरकारी जागिर

इब्सललाई गायनमा बुबाआमालगायत सबै परिवारको सपोर्ट छ । उनका बुबा त अलिअलि लोकदोहारीसमेत गाउँछन् । दोहोरी गायनमा सबैको सपोर्ट भए पनि परिवारको चाहना भने उनले सरकारी जागिर गरोस् भन्ने छ । किनभने परिवारमा धेरै सरकारी जागिरे छन् । अर्काे कुरो नेपालमा सरकारी जागिर जस्तो राम्रो अर्काे कुनै रोजगारी छैन ।

‘बुवाआमाको चिन्ता छोरीको भविष्यबारेमा  हुँदोरहेछ’, उनले बुवाआमाको इच्छा खुलाइन्, ‘म गायनमा जति नै चर्चित भए पनि पढेर सरकारी जागिर गरोस्, राम्रो ठाउँमा पुगोस् भन्ने बुवाआमाको इच्छा छ ।’

387749066_633338892328443_8010484659681941656_n (1)

अहिले स्नातक प्रथम वर्षमा अध्ययनरत इब्सलले भने गायनमा भविष्य देखेकी छन् । उनको सपना पनि चर्चित गायिका बन्ने छ ।

त्यसो त कैयाँै पुराना गायकगायिका भविष्य नदेखेर पलयन भएका छन् । त्यो उनलाई पनि थाहा छ । पुरानाले देखेनन् भने नयाँले नगरे यो क्षेत्र पछि पर्ने तर्क उनको छ । ‘हिम्मत म गर्छु, साथ सबैको चाहिन्छ,’ उनी भन्छिन् ।

पुराना कलाकार हराउनुमा साङ्गीतिकभन्दा राजनीतिक कारण धेरै उनले देखेकी छन् । फोहोरी राजनीतिले देशको अवस्था राम्रो छैन । सांस्कृतिक क्षेत्रमा राज्यले गर्ने व्यवहार राम्रो छैन । यो अवस्थामा धेरै कलाकार बाध्य भएर विदेशिनु परेको छ । राज्यको कलासंस्कृतिप्रति हेर्ने नजर राम्रो नभएकाले पनि कलाकार विदेश जने, हराउने गरेको उनको ठहर छ ।

भर्खर २० वर्ष 

पछिल्लो समय लोकदोहोरी फोहोरी, छाडा भयो भन्ने आवज उठिरहेका छन् । इब्सल भने यही क्षेत्रमा भविष्य खोजिरहेकी छन् । किन बिग्रियो दोहोरी ? उनले राम्रोसँग बुझेको छैन किनभने उनी भर्खर भित्रिएकी पनि हुन् ।

उनी आफैँले भने नराम्रो दोहोरी गाएको छैन । सबैले राम्रो दोहोरी गाउने हो भने अहिलेको जस्तो गुनासो गर्ने अवस्था नआउने उनको विचार छ । दोहोरी कस्तो बनाउने भन्ने यसमा रहेका कलाकारको हातमा भर पर्ने उनी धारणा राख्छिन् ।

ibsal 4

दोहोरी फोहोरी भएको टीकाटिप्पणी उनले सामाजिक सञ्जाल र मिडियामा पनि देखेकी छन् ।

‘टुप्पाबाट रुख कहिले पलाउँदैन । भोलिका दिनमा सन्ततिले सिक्ने भनेको हाम्रो क्रियाकलापबाटै हो । त्यसैले हामीले राम्रो क्रियाकलाप गर्नुपर्छ । बिस्तारै सबै राम्रो हुँदै जान्छ,’ उनी सचेत देखिइन् ।

इब्सल भर्खर २० वर्ष पुगेकी छन् । त्यसैले विवाहका लागि अहिले उनले सोच बनाएकी छैनन् । अविवाहितलाई यो क्षेत्रमा नराम्रो गर्न खोज्ने पलपलमा ठोकिन्छन् । आफूसँग परिवारको साथ र सपोर्ट भएकाले यस्ता व्यक्तिसँग ठोकिनु नपर्ने उनको बुझाइ छ । 

गायनमा इब्सलको मुख्य तागत उनका बुबा हुन् । ‘युद्धमा होमिनुपर्छ, हारे पनि हारियोस् । त्यसबाट धेरै सिक्न सकिन्छ,’ उनका बुवाले उनलाई नयाँ कामको थालनी गर्दा प्रेरणा दिने शब्द हुन् यी । त्यसैले अहिलेसम्म जेजे गरेकी छन् सफलता नै मिलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप