मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय
उपेक्षा

उखुको न्यूनतम समर्थन मूल्य निर्धारण हुन सकेन

आन्दोलन गर्ने किसानको चेतावनी
बुधबार, २२ कात्तिक २०८०, ०९ : ०१
बुधबार, २२ कात्तिक २०८०

काठमाडौँ । उखुको उत्पादन लिने समय भइसक्दा पनि न्यूनतम समर्थन मूल्य निर्धारण हुन नसक्दा किसानले चिनी उद्योगलाई उखु बेच्न पाएका छैनन् । समयमा उखुको मूल्य निर्धारण नहुँदा चिनीभन्दा गुड (सखर)का लागि उखु प्रयोग हुने राष्ट्रिय उखुबाली अनुसन्धान कार्यक्रमका पूर्व प्राविधिक अधिकृत अभिषेक श्रेष्ठले बताए ।

‘समयमा मूल्य निर्धारण नहुँदा चिनीभन्दा बढी गुडमा उखुको खपत हुन्छ,’ उनले भने, ‘गुड उत्पादकहरु खेतमै उखु लिन पुग्छन् ।’

उनका अनुसार समयमै उखुको समर्थन मूल्य निर्धारण नहुँदा चिनी उत्पादनमा पनि कमी आउने देखिन्छ । ‘उखु काट्ने बित्तिकै प्रशोधनमा लगे रसिलो हुन्छ, चिनी उत्पादन बढ्छ,’ उनले भने, ‘रस सुकेको उखुबाट उत्पादन पनि कम हुन्छ ।’

मूल्य निर्धारण नहुँदा उखु खेतमै सुक्ने र चिनी मिल सञ्चालन नहुने कलैयाका किसान इन्द्र देव कुसवाहले बताए ।

समयमै उखुको मूल्य निर्धारण भए तयार भएको उखु बेचेर गहुँ खेती गर्न सहज हुने उनको भनाइ छ । ‘उखुको मूल्य निर्धारण नहुँदा तयार भएको उखु बेच्न सकेका छैनौँ ।’

उखुको मूल्य कार्तिक मसान्तसम्म निर्धारण गर्न माग गरेको उनले बताए । ‘मूल्य निर्धारणका लागि सरोकारवाला निकायमा आग्रह गरेका छौँ,’ कुसवाहाले भने, ‘कार्तिक मसान्तसम्म उखुको मूल्य निर्धारण नभएमा हामी आन्दोलन गर्छौं ।’

खेती सुरु गर्ने बित्तिकै बालीको समर्थन मूल्य निर्धारण गर्नुपर्छ । तर उखु उत्पादन लिने समयसम्म समर्थन मूल्य निर्धारण हुन नसकेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्वीकार गरेको छ ।

प्रदेश र स्थानीय तहबाट उत्पादन लागतको तथ्याङ्क समयमा उपलब्ध नहुँदा समर्थन मूल्य निर्धारण हुन नसकेको मन्त्रालयकी प्रवक्ता तथा सहसचिव सवनम शिवाकोटी आर्यालले बताइन् ।

‘उखुको सर्मथन मूल्य तोक्न केही ढिला भएकै हो,’ उनले भनिन्, ‘स्थानीय तहले नियमितरुपमा लागत मूल्य उपलब्ध नगराउँदा समर्थन मूल्य निर्धारण हुन नसकेको हो ।’

उनका अनुसार तिहार सकिएलगत्तै उखु र गहुँको समर्थन मूल्य निर्धारण हुनेछ ।

गत वर्ष उखुको खरिद मूल्य पाँच सय ४० र सरकारले दिने अनुदान ७० रुपैयाँ गरी ६ सय १० रुपैयाँ प्रति क्विन्टल निर्धारण भएको थियो ।  

उखु खेतीको क्षेत्रफल घट्दो

नेपालमा पछिल्लो समय उखु खेतीको क्षेत्रफल घट्दै गएको मन्त्रालयको तथ्याङ्क छ । आर्थिक वर्ष २०७६/०७७ मा साढे ६८ हजार हेक्टर क्षेत्रफल हाराहारीमा उखु खेती गरिएको थियो । यसबाट ३४ लाख मेट्रिक टन उखु उत्पादन भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७७/०७८ मा ६४ हजार हेक्टर क्षेत्रफलमा गरिएको उखु खेतीबाट ३१ लाख ८३ हजार मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक वर्ष २०७८/०७९ मा साढे ६२ हजार हेक्टर क्षेत्रफलमा उखु खेती गरिएको थियो । सोबाट ३१ लाख ५९ हजार मेट्रिक टन उखु उत्पादन भएको थियो ।

उखु खेतीको क्षेत्रफल बर्सेनि खुम्चिँदै जानुको मुख्य कारण किसानले उखुको भुक्तानी समयमै नपाउनु नै रहेको बताइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप