सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

सेतीमा एक अर्बको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गरिँदै

शनिबार, २५ कात्तिक २०८०, १८ : ५०
शनिबार, २५ कात्तिक २०८०

कास्की । पर्यटकीय सहर पोखराको बजार क्षेत्र प्रवेशको मुख्यद्वार पृथ्वीचोकस्थित सेती नदीमाथि रु एक अर्ब सात करोड २४ लाखको लागतमा ‘सिग्नेचर आर्च ब्रिज’ निर्माण गर्न लागिएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा सडक विभागमार्फत उक्त पुल निर्माण गर्न लागिएको हो । 

पोखरा–मुग्लिन राजमार्ग सुधार आयोजनाअन्तर्गत पृथ्वीराजमार्गमा निर्माण हुने उक्त पुलको भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वालाले आज एक कार्यक्रमबीच शिलान्यान्स गरेका छन् । आगामी २०८२ भदौसम्म निर्माण सम्पन्न गर्ने उद्देश्यका साथ सो पुल निर्माणको ठेक्का रसुवा कन्स्ट्रक्सन कम्पनीलाई दिइएको छ ।

सेती नदीमा हाल रहेको पुलको दुवैतर्फ थप दुई लेनका एक/एक पुल निर्माण गरिने मुग्लिन–पोखरा राजमार्ग सुधार आयोजना पश्चिम खण्डका आयोजना प्रमुख राजेश पौडेलले बताए । पुल निर्माणपछि यसले पोखरा पर्यटनको थप गन्तव्य बन्ने विश्वास लिइएको छ ।

प्रमुख पौडेलका अनुसार निर्माण हुने ‘सिग्नेचर आर्च’ पुल विशिष्ट खालको र आकर्षक हुनेछ । उनले भने, “पुल निर्मापछि यातायात व्यवस्थापनसहित पोखराको पर्यटन विकासमा समेत मद्दत पुग्नेछ । यो पुल पोखराको सेल्फी ब्रिजका रुपमा चिनिने छ ।”

पृथ्वीचोकमा चार दशकअघि निर्माण गरिएको हालको पुल साँघुरो हुँदा यातायात व्यवस्थापनमा समस्या हुँदै आएको थियो । सडकअनुसार पुल साँघुरेको हुँदा पृथ्वीचोकमा लामो समयसम्म जाम हुने समस्या पुल निर्माणपछि हट्ने विश्वास  छ । सोही पुल हुँदै देशका विभिन्न गन्तव्यमा लामो तथा छोटो दूरीका यात्रुवाहक सवारी साधन तथा मालवाहक सवारी दैनिक ओहोरदोहोर गर्दै आएका छन् । 

एक सय ९० मिटरको उक्त पुल निर्माणमा कङ्क्रिट र फलामको प्रयोग हुने बताइन्छ । पुल निर्माणको प्रारम्भिक काम भने यसअघि नै सुरु भइसकेको छ । निर्माण कम्पनीका इन्जिनियर सुदर्शन देवकोटाले स्थानीयस्तरमा समस्या नआएको खण्डमा पुल तोकिएको मितिमै सम्पन्न हुने बताए  । उनले भने, “काममा कुनै बाधा आएन भने निर्धारित समयमै पुल बन्छ । निर्माण कम्पनीका तर्फबाट हामी प्रतिबद्धता गर्न चाहन्छौँ ।”

कार्यक्रममा मन्त्री ज्वालाले सेती नदी ऐतिहासिक र प्रकृतिको अनुपम उदाहरण रहेको उल्लेख गर्दै आकर्षक पुल निर्माणले पोखरामा थप सौन्दर्य थपिने बताए । उनले पुल निर्माणमा स्थानीय र प्रदेश सरकारबाट निर्माण व्यवसायीलाई सहयोग हुने भएकाले समयमै सम्पन्न गर्न आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप