बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

‘सिधा कुरा’ प्रकरणमा नाम जोडिएकोप्रति अख्तियारको आपत्ति

सोमबार, १७ वैशाख २०८१, १६ : ४८
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । सिधा कुरा डट कम समाचारको ३ भागमा प्रसारित/प्रकाशित ‘भ्रष्‍टाचारका चार सय मुद्दा ढिसमिस गर्न सर्वोच्च अदालतका न्यायाधीशसहित डिल’ शीर्षकको समाचारमा आफ्नो नाम जोडिएकोप्रति अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आपत्ति जनाएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेले सोमबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालमा प्रकाशित समाचारमा ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्टिङ अपरेसन टोलीको एक सदस्यको बयान फेर्न’ भन्ने एवं ‘सो सामग्रीका विभिन्न भागमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नाम उल्लेख भएको’ विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक पद धारण गरेको व्यक्तिले भ्रष्‍टाचार गरी अख्तियारको दुरुपयोग गरेको सम्बन्धमा नेपालको संविधान, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन लगायत प्रचलित अन्य कानुन बमोजिम अनुसन्धान गरी भ्रष्‍टाचार गरेको देखिएमा संलग्न व्यक्ति उपर कानुन बमोजिम अधिकार प्राप्‍त अदालतमा मुद्दा दायर गर्दै आएको पनि विज्ञप्तिमा उल्लेख छ । 

‘सम्मानित सर्वोच्च अदालतको संवैधानिक इजलासबाट निर्क्यौल भइसकेको फैसला अनुरुपको काम कारबाही अवलम्वन गर्ने एवं आफ्नो अधिकारक्षेत्र भित्रको उजुरी उपर अनुसन्धान एवं अभियोजन गर्नु बाहेकका अन्य कुनै क्रियाकलापमा आयोग संलग्न हुने विषयमा कल्पनासम्म गर्न नसकिने हुँदा यस्ता भ्रामक क्रियाकलापमा आयोगको कुनै संलग्नता नरहेको व्यहोरा जानकारी गराइन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले यस प्रकारका भ्रामक सामग्री प्रसारण÷प्रकाशन गर्नेमाथि छानबिन गरी कानुन बमोजिम कारबाही गर्नसमेत सम्बन्धित निकायलाई अनुरोध गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप