बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
राजनीति

एकता गर्न ठिक्क परेको मोहन वैद्यको पार्टी फुट्यो

सोमबार, १७ वैशाख २०८१, १६ : ४८
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (मशाल) सँग एकता गर्न तयार परेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आफै विभाजित बन्न पुगेको छ । पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष वैशाख १८ गते भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बिचको एकता भङ्गको घोषणा भएको छ । 

सचिवालय सदस्य समरजङले उक्त एकता घोषणा भएको जानकारी गराए । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरेर समरजङले अब सच्चा क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुन आवश्यक रहेको औँल्याउँदै वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन सबैमा अपिल समेत गरे । पार्टीमा असहमति पत्र बुझाउनेहरूमा भने समरजंग, विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्ट, युगान्तलगायत रहेका छन् ।

 पार्टीभित्र देखापरेका सबैखाले समस्या हल गर्नको लागि पटक पटक अध्यक्ष मोहन वैद्यसँग छलफल भएको भए पनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकोले आफूहरू अलग हुने निष्कर्षमा पुगेको उनीहरूको भनाई छ । उनीहरूले अध्यक्ष वैद्यमाथि जनवादी केन्द्रीयताको उल्लङ्घन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पङ्गु बनाइएको र गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाइएको गम्भीर आरोप लगाएका छन् । 

उनीहरूले अध्यक्ष वैद्यमा रुढीवाद हाबी रहेको निष्कर्षसहित अब त्यो विचारले नयाँ क्रान्तिको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन् । समरजङले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘विश्व साम्राज्यवादले सच्चा कम्युनिस्टहरूमाथि चौतर्फी हलमा गरिरहेको सन्दर्भमा सर्वशक्तिमान् विचारको उच्चतम चरण माओवादलाई लत्त्याउँदै महान् जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरूसँग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्वीकार्य छ ।

परन्तु हामी विगतका सम्पूर्ण न्यायपूर्ण आन्दोलनका उपलब्धिहरूको रक्षा, समीक्षा र सच्चा क्रान्तिकारीहरूसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा भने छैनौँ ।’  उनीहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निरङ्कुश एवम् घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको पनि आरोप लगाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप