बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
गणतन्त्र स्मारक

नारायणहिटी परिसरमा गणतन्त्र स्मारकको हरिबिजोग

उद्घाटन भएको चार वर्षमा पनि किन सञ्चालनमा आएन ?
शनिबार, ०२ मङ्सिर २०८०, १५ : ३९
शनिबार, ०२ मङ्सिर २०८०

काठमाडौँ । तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेको गणतन्त्र नेपालको स्मारक सञ्चालनमै नआई जीर्ण बनेको छ । २०७६ जेठ १५ गते केपी ओली सरकारको पालामा निर्माण कार्य नसकिँदै हतारमा राष्ट्रपतिबाट स्मारकको उद्घाटन गरिएको थियो । तर उद्घाटन भएको चार वर्ष बित्दा पनि स्मारक अझै सञ्चालनमा आएको छैन । नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वतर्फ ३५ रोपनी क्षेत्रफलमा रु.४५ करोड लागतमा निर्माण सम्पन्न भएको स्मारक निर्माण सम्पन्न गर्न थप एक करोड लाग्ने निर्माण पक्षले जनाएको छ । 

ganatantra smarak (4)

स्मारक बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला २०६८ साल चैत ३ गते शिलान्यास भएको थियो । वि.सं २०६९ मङ्सिरमा बिकोई/ स्काई/बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने गरी सरकारले जिम्मा दिएको थियो । तर २०७२ सालमा भारतले लगाएको अघोषित नाकाबन्दी र कोरोनाका कारण निर्माण कार्यमा केही ढिलाइ भएको कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठ बताउँछन् । यसलाई मर्मत गरी तीन/चार दिनभित्र प्रधानमन्त्रीबाट उद्घाटन गर्न सकिन्छ कि भन्ने हिसाबले काम गर्न खोजिए पनि बजेट र समय अभावले सम्भव नभएको श्रेष्ठले भने ।   

‘स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, २०७२ को भूकम्प र भारतले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो’, उनले भने, ‘अझै लाइटिङ सिस्टम मिलाउनुपर्ने छ । तीन दिनभित्र मर्मत गरिसक्नुपर्ने छ । पर्याप्त बजेट र समय अभावको कारण त्यो सम्भावना छैन । सरकारले आवश्यक बजेट निकासा गरे फागुनसम्ममा काम सम्पन्न गर्न सकिन्छ कि ?’, उनले भने । 

ganatantra smarak (26)

शुक्रबार दरबार परिसर पुग्दा माथिल्लो बेसमेन्टमा रहेका चार स्तम्भलाई जोड्ने फलामे रिङलाई छोपिएको पाता उक्किएर यत्रतत्र लत्रिएको भेटिन्थ्यो । पानी चुहिएर लाइटिङ सिस्टम बिग्रिएको अवस्थामा देखिन्थ्यो । चार वटा स्तम्भमा प्रयोग भएका पाता खुइलिएर कालो भएको थियो । स्मारकबारे जानकारी दिन राखिएको अक्षरहरू पढ्न नमिल्ने गरी रङ उडेको थियो । भुइँमा बिछ्याइएका टाइलहरूबिच कापबाट पलाएका झार सफा गर्नै हैरानी भएको त्यहाँ खटिएका कर्मचारी गुनासो गर्छन् । स्मारकको वरिपरि रहेका बगैँचा पर्याप्त मात्रमा मलजल नपाउँदा खिङ्ग्रिङ अवस्थामा देखिन्थ्यो । मूल प्रवेशद्वारसँगै दायाँबायाँ पानीको फोहोरा सञ्चालनमा देखिए पनि अन्य संरचना जीर्ण अवस्थामा भेटियो । 

ganatantra smarak (27)

गणतान्त्रिक व्यवस्था कसरी चलेको छ भनेर हेर्न यही स्मारकमा आएर अवलोकन गर्दा पर्याप्त हुन्छ । उक्त स्मारकको व्यवस्थापन तथा रेखदेखका लागि सरकारले एकजना नायव सुब्बाको नेतृत्वमा सीमित कर्मचारी खटाएका छन् । स्मारकको अवस्थाले गणतान्त्रिक व्यवस्थालाई नै लज्जित पारिरहेको दृश्यमा देखिन्थ्यो । यस विषयमा इन्चार्ज रवीन्द्र खत्रीसँग जिज्ञासा राख्दा स्मारकको मर्मत तथा सम्भारका लागि सरकारले पर्याप्त बजेटको व्यवस्था नगरेको गुनासो पोखे । 

पानी रसाएको कारण तल्लो बेसमेन्टमा रहेको म्युजियमसम्म देखाउन लाज लागेको उनी बताउँछन् । सानो तिनो रकमले नपुग्ने र सङ्ग्रहालयसँग पर्याप्त बजेट नभएकाले समस्या आएको उनी स्विकार्छन् । पूर्णरुपमा काम सम्पन्न गर्न अझै एक करोड लाग्ने खत्रीले बताए । 

ganatantra smarak (1)

‘स्मारक नारायणहिटी सङ्ग्रहालयको शाखा हो । सङ्ग्रहालयकै मातहतमा यो चल्छ । बाहिरी संरचना जसोतसो मर्मत गरेर देखाउँदै आएका छौँ । यसमा पानीहरू बढी चुहिने समस्या छन्’, समस्याबारे जानकारी दिँदै उनले भने, ‘भित्र देखाउन सकिने अवस्था छैन । म्युजियममा पानी रसाएर करेन्टहरू सर्ट भएका हुन सक्छन् । यहाँको करेन्ट हाइ भोल्टेजको छ । पानीको रोकथाम भएको भए तल्लो बेसमेन्टमा रहेको फोटो ग्यालरी देखाउन सक्थ्यौँ । पानी चुहिएको कारण फोटो समेत नष्ट हुने अवस्थामा छ ।’

ganatantra smarak (9)

सहरी विकास मन्त्रालयको भवन विभागले तयार गरेको डिजाइनमा स्मारक बनेको हो । कोभिडको एक/दुई महिनाअघि मात्र सङ्ग्रहालयलाई हस्तान्तरण भएको थियो । त्यतिबेला निकै भद्रगोल अवस्थामा रहेको र मर्मत गरेर यत्तिको बनाएको खत्री बताउँछन् । बारम्बार समस्या आउनुमा स्मारकको डिजाइनमै समस्या हो कि भन्ने उनको अनुमान छ ।  ‘इन्जिनियरिङ त्रुटि हो वा कसको त्रुटि हो हामीलाई ज्ञान छैन । मेरो विचारमा नक्सा बन्दा इट्टाको पर्खाल नभई आरसिसी ढलान भएको भए यो समस्या आउने थिएन कि जस्तो लाग्छ । इट्टाले पानी सोसेर प्रिजर्भ गरिराख्दो रहेछ । माथिल्लो बेसमा रहेका स्तम्भमा प्लाइउड राखेर पाता राखिएको रहेछ । त्यसभित्र पानी छिरेपछि प्लाइउड कुहियो पाता निस्कियो । यो त लाजमर्दो भएको छ । यसलाई बनाउन पर्‍यो भनेर मातहतका प्रमुखलाई भनेको छु । सानोतिनो बजेटले बन्ने अवस्था छैन । पूर्णता पाउन अझै एक करोड जति बजेट लाग्छ’, उनले भने । 

ganatantra smarak (10)

२०६२/६३ सालको जनआन्दोलनले २४० वर्ष लामो इतिहास बोकेको राजतन्त्र ढल्यो । राजसंस्थाको प्रतिकका रूपमा रहेको नारायणहिटी दरबार सङ्ग्रहालयमा परिणत भयो । २०६४ सालको पहिलो संविधानसभा  निर्वाचनपश्चात् तत्कालीन विद्रोही माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री भए । २०६५ साल जेठ १५ गते नेपालबाट विधिवत् रूपमा राजतन्त्र हट्यो । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको पनि १५ वर्ष पुरा भइसेको छ । त्यसयता मात्रै १२ वटा सरकार बनिसकेको छ । तर कुनै पनि सरकारले स्मारकलाई सबैको ध्यान खिच्ने गरी आकर्षक स्मारक बनाउन ध्यान दिएको दिएको छैन । गणतान्त्रिक सबै सरकारको उपेक्षामा यस स्मारक पर्दै आएको देखिन्छ । 

ganatantra smarak (11)

वर्तमान प्रधानमन्त्रीसमेत रहेका प्रचण्ड तीन पटक प्रधानमन्त्री भइसके । व्यवस्था परिवर्तनका लागि सशस्त्र विद्रोह गरेको माओवादीबाट नै प्रचण्डसहित चार पटक प्रधानमन्त्री भएका छन् । १५ वर्षमा प्राय सबै सरकारमा सहभागी हुँदै आएको छ ।  पहिलोपटक प्रधानमन्त्री भएको बेला प्रचण्डले नारायणहिटीको दक्षिणतर्फ दरबारको काखमै गणतन्त्रको प्रतीकको रूपमा स्मारक बनाउने घोषणा गरेका थिए । तर ९ महिना नपुग्दै प्रचण्ड सरकार ढल्यो । उनीपछि प्रधानमन्त्री भएका माधवकुमार नेपालले रत्नपार्कमा स्मारक बनाउने घोषणा गरे । त्यतिबेला राजदरबार परिसरभित्र स्मारक बनाउने/नबनाउने विषय निकै पेचिलो बनेको थियो । २०६८ चैत ३ गते बाबुराम नेतृत्वको सरकारले माधव सरकारले गरेको निर्णय उल्टाउँदै दरबारको पूर्वतर्फ स्मारक बनाउने निर्णय गरेको थियो ।

ganatantra smarak (13)

नेपालमा गणतन्त्र स्थापनाको चिरकाल पर्यन्त स्मरणका लागि गणतन्त्र स्मारक बनाउने सरकारको घोषणा बमोजिम तत्कालीन प्रधानमन्त्री  भट्टराई र भौतिक पूर्वाधार मन्त्री हिसिला यमीको चाहनामा स्मारकको डिजाइन भएको थियो । तर पहिलो संविधानसभा विघटनसँगै बाबुराम सरकार पनि ढल्यो । बजेट अभावका कारण रोकिँदै आएको स्मारक २०७४ मा ओली सरकारले निर्माण कार्यलाई तीव्रता दियो । ओली सरकारले निर्माणाधीन अवस्थामै स्मारकको उद्घाटन गरेसँगै बजेट अभावका कारण मर्मत तथा सम्भारको काम रोकिएको छ । 

ganatantra smarak (15)

के छ विशेषता ? 

सरकारको निर्णय अनुसार सहरी विकास तथा भवन निर्माण विभागबाट  यस स्मारकको निर्माण कार्य सुरु भयो । यसको अवधारणा डिजाइन जोन स्यान्डी एसोसिएट्सले तयार पारेको थियो । नारायणहिटी दरबार सङ्ग्रहालयको पूर्वी भागमा यस स्मारक निर्माण गर्ने निर्णय भएपश्चात् त्यस क्षेत्रको ल्याण्डस्केप डिजाइन कार्य वास्तुशिल्प एसोसिएटसमार्फत तयार गरिएको थियो । यसमा रहेको दुईवटा भूमिगत तल्लाहरूको ग्यालरी म्युजियमको इन्टेरियर डिजाइन कार्य डिजाइन  स्टेसनले तयार पारेको थियो । उक्त डिजाइन अनुसार ग्यालरी म्युजियम नेपाल कला परिषद्को संलग्नतामा तयार पारियो । 

ganatantra smarak (16)

स्मारकको मुख्य दीर्घ वृत्ताकार फलामे ट्रसद्वारा जडिएका चारवटा स्तम्भ रहेका छन् । यी चारवटा स्तम्भलाई प्रतिकात्मक रूपमा पेस गरिएको छ । पहिलो स्तम्भले  आन्दोलनका क्रममा ज्यान गुमाएकाहरू, दोस्रोले घाइते तथा अपांगता भएकाहरू, तेस्रोले बेपत्ता पारिएकाहरू र चौथो स्तम्भले गणतन्त्रका योद्धाहरूको स्मृति प्रतिनिधित्व गर्दछ । स्तम्भहरूलाई जोड्ने फलामे आकृतिहरूले गणतन्त्र स्थापनाको आन्दोलनमा लागेका सबैको समन्वयात्मक भूमिका प्रतिनिधित्व गर्दछ । स्मारकमा रहेको नेपालको प्रतिकात्मक नक्सामाथि परेको फलाम ट्रसबाट निस्कने रातो प्रकाशका किरणहरूले सहिदहरूको बलिदान र यसले दिने प्रेरणालाई जनाउँछ । 

ganatantra smarak (18)

यस स्मारकको मुख्य संरचनामुनि दुई तल्लाहरू रहेका छन् । माथिल्लो र तल्लो बेसमेन्टमा रहेको ती तल्लाहरू गणतन्त्र स्थापना र नेपालसँग सम्बन्धित सामाग्रीहरूको सङ्ग्रहालयको रूपमा निर्माण गरिएको छ । निर्माण व्यवसायी बिकोइ/स्काई/बंगलामुखी जे.भी.बाट यस स्मारकको मुख्य संरचनाको निर्माण गरिएको हो । मेमोरियल प्लाजाको अग्रभागमा गणतान्त्रिक आन्दोलनको उपलब्धि स्वरूप ‘नेपालको संविधान’ को प्रतीकको रूपमा पत्थरको शिलालेख राखिएको छ । पार्क स्मारकको मध्यभागमा अडिटोरियम हल बनेको छ । हल २६ सय वर्गमिटर क्षमताको रहेको छ । हलमा एकैपटक तीन सयजना अटाउन सक्नेछ । 

ganatantra smarak (6)

इन्चार्ज खत्रीका अनुसार स्मारकको विशेषता हेर्न बेलुकाका उपयुक्त हुने बताउँछन् । यहाँ लाइटहरूको राम्रो कम्बिनेसन मिलाएको छ । नेपालको नक्सामा पानीको छहरा, नदी बग्ने बनाइएको छ । ७७ वटै जिल्लासहित नेपालको कालापानी क्षेत्रलाई समेत समेटेर बनाइएको कङ्क्रिटको नक्सामा हिमाल, पहाड र तराईको प्रतिनिधित्व स्पष्ट देख्न सकिन्छ । साथै ८ हजार माथिका हिमशिखर, प्रसिद्ध तीर्थ स्थलहरू, नदीहरूको नामकरण गरिएको छ । नदीबाट रातो लगत जस्तो कलर बग्ने गरी डिजाइन गरिएको छ । 

ganatantra smarak (20)

 अत्याधुनिक प्रविधि प्रयोग गरी डिजाइन राम्रो बनाइएको भए पनि यसलाई प्रयोगमै ल्याउन नसक्दा समस्या आएको खत्रीले गुनासो पोखे । उनका अनुसार अहिलेसम्म स्मारक पार्कमात्र हेर्न मानिसहरू नआएको उनले बताए । 

‘अहिलेसम्म टिकटक बनाउने, फोटो खिच्ने र चलचित्र सुटिङ गर्न मात्र आएका छन् । सङ्ग्रहालय हेर्न आउने देशीविदेशी पश्चिम ढोकाबाट नै फर्किने गरेका छन्’, उनले भने ।  सङ्ग्रहालयबाट सिधै यहाँ आउन टुकुचा खोल किनारा वारपार आर्मी ब्यारेकको पर्खाल रहेकाले पनि समस्या देखिएको उनको बुझाइ छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप