बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

लगानीकर्ताको मनोबल बढाउन सरकार र राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्छ : अध्यक्ष ढकाल

बिहीबार, ०७ मङ्सिर २०८०, १६ : ०७
बिहीबार, ०७ मङ्सिर २०८०

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आम जनता र लगानीकर्ताको मनोबल बढाउन नेपाल सरकार र नेपाल राष्ट्र बैंकले विशेष कदम चाल्नुपर्ने बताएका छन् । राष्ट्रिय कर दिवस २०८० कर सप्ताह समापन समारोहका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले अर्थतन्त्रका बाह्य सूचकहरू सकारात्मक भए पनि आम जनता र लगानीकर्ताको मनोबल बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको बताए । ‘केही दिन पहिले प्रधानमन्त्रीज्यूले बोलाएको सर्वपक्षीय र सर्वदलीय बैठकमा अर्थमन्त्रीज्यू र गभर्नरज्यूले दिएको तथ्याङ्कले अब अर्थतन्त्र सुधारको बाटोमा रहेको देखाएको छ,’ ढकालले थपे, ‘तर, साना व्यवसाय र साना व्यवसायीबाट सुरु भएको समस्या अब ठुला व्यवसायी र व्यवसायमा देखिन थालेको छ ।’

बैङ्कमा बढेको एनपीएलले पनि त्यो संकेत गर्दछ । बैंकको नाफा घट्दा पुन: बैंकले दाखिला गर्ने सरकारी करमा नै असर पर्ने हो । खर्च र आम्दानीको फरक बढ्दो देखिएको छ । साधारण खर्च बढेको देखिन्छ तर त्यसको तुलनामा आम्दानी खुम्चिँदो छ । यसले अर्थतन्त्र सुधार गर्न अझै मिहिनेत गर्नुपर्ने देखाउने ढकालको भनाई छ । अहिलेको प्रणालीलाई कमजोर नबनाई नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले केही लचकता अपनाउने हो भने मात्र पनि अर्थतन्त्रलाई पुनः लयमा ल्याउन सकिने उनले बताए ।

उनले आम जनतामा एउटा म्यासेज दिने काम सरकारले गर्नुपर्ने बताए । ‘सरकारको पुँजीगत खर्च भएन भनिएको छ । त्यसलाई बढाउन आवश्यक छ,’ उनले थपे, ‘त्यसलाई तत्काल रिलिज गर्दिने हो भने यसले बजारमा पैसाको फ्लो बढाउने र आर्थिक गतिविधि बढाउनेछ ।’ त्यसैगरी, मूल्य अभिवृद्धि करको पैसा ६ महिनापछि फिर्ता गर्नुपर्ने कानुनी प्रावधान रहेको छ । खासगरी दीर्घकालीन र उत्पादनमूलक क्षेत्रमा गरिने लगानीमा लगाएको मूल्य अभिवृद्धि करलाई फिर्ता गर्न सकियो भने यसले सकारात्मक सन्देश जानेछ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले अहिलेको प्रणालीलाई नबिगारी साना तथा मझौला व्यवसायलाई संकटबाट बाहिर ल्याउन विशेष उपकरण ल्याउन आग्रह गरे । कर दिवसमा सबैभन्दा धेरै आयकर कर दाखिला गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने प्रचलनले निजी क्षेत्र र करदातालाई प्रोत्साहन गरेको बताउँदै अध्यक्ष ढकालले कर तिर्दा सरकारले सम्मान गर्छ भन्ने कुरा प्रत्येक वर्ष बढ्दै गइरहेको समेत बताए । उनले अर्थतन्त्र सुधारका लागि सरकारले लिएको इनिसिएसनले मात्र शेयर बजारमा सुधार देखिएको बताउँदै केही सकारात्मक परिवर्तन हुने गरी सुधारको सन्देश दिन सरकारलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप