सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

व्यवस्थाको विकल्प खोज्नतिर लागे अर्को जुनी खेर जान्छ : गगन थापा

शुक्रबार, ०८ मङ्सिर २०८०, १६ : ४२
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान व्यवस्थाको विकल्प खोज्न लागे फेरि अर्को जुनी खेर जाने बताएका छन् । शुक्रवार कांग्रेस अर्घाखाँची पहिलो जिल्ला सम्मेलनमा महामन्त्री थापाले कसैको गल्तीको भारी व्यवस्थालाई बोकाउन नहुने बताएका हुन् ।

‘गल्ती र कमजोरीहरू भएका छन् । सच्याउने हो । तर, यो गल्तीको भारी व्यवस्थालाई बोकाएर हुँदैन । हाम्रो आस्थालाई बोकाएर हुँदैन । समस्या जहाँ छ, त्यहीँ सुधार गर्नुपर्छ,’ उनी भन्छन् । 

प्रधानमन्त्री र भूपू प्रधानमन्त्रीहरू बैठक बसेर देश डुब्यो–डुब्यो भन्ने खालका छलफल गर्ने गरेको थापाले बताए । ‘मैले अस्ति उहाँहरूलाई भने – आजबाट नेपालका प्रधानमन्त्री र भूपू प्रधानमन्त्रीले अब प्रधानमन्त्री हुन्न भनेर निर्णय गर्‍यौँ भन्नुभयो भने समस्या सकिन्छ,’ उनले भने । 

नेपाली कांग्रेसले मुलुकको बिग्रिएको अवस्थालाई सम्हाल्ने भन्दै नबरालिन कार्यकर्तालाई उनको आग्रह छ । ‘बिग्रेको छ, भत्केको छ तर यो पार्टीले सम्हाल्छ, नबरालिँऔं,’ थापाले भने, ‘तपाईंहरूको चित्त दुखेको छ, म मान्दछु । चित्त दुखाउनुपर्ने कारण पनि छन्, जान्दछु । यसलाई सम्बोधन गरेर जाने हो ।’

यस्तै महामन्त्री थापाले ०५९ सालमा राजा ज्ञानेन्द्र शाहले नेताहरूलाई थुनेर देश चलाउँछु भन्दा काठमाडौँमा दीपावली भएको स्मरण गराए । ‘नेताहरू भ्रष्ट भए थुन्नुपर्छ, महाराज आए भन्दै दीपावली भएको थियो,’ उनले भने, ‘तर ०५९ मा दीपावली गर्ने जनता ०६२ को चैत पुग्दा नपुग्दै सडकमा आए । ३ वर्ष पनि थेगिएन तर नेपालको कति समय खेर गयो हेर्नुस् त ।’

राजा महेन्द्रले ०१७ सालमा बिपी कोइरालालाई थुनेर नेपालको ३० वर्ष खेर गएको महामन्त्री थापाले बताए । ‘अब व्यवस्था बदल्ने होइन । नेताहरूले आचरण बदले हुन्छ भने आचरण बदलौँ । नेता बदले हुन्छ भने ता बदलौँ ,’ उनले भने ।

यस्तै उनले २०८४ अघि अर्घाखाँचीमा निर्वाचन हुने परिस्थिति देखिएको भन्दै निर्वाचनको तयारीमा लाग्न निर्देशन दिए । अर्घाखाँचीबाट निर्वाचित सांसद टोपबहादुर रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि जेलमा छन् ।

नेपाली नागरिकलाई बच्ने रायमाझीको परिवार नै लागेको भन्दै दोषीहरू कोही उम्कन नहुने थापाले बताए । ‘यहाँ २०८४ अघि नै निर्वाचन हुने परिस्थिति बन्दै छ । निर्वाचनको तयारमा लाग्न उहाँहरूलाई मेरो आग्रह छ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउनेहरू कसैले उन्मुक्ति पाउँदैनन्,’ उनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप