बजेट विवादः बागमतीमा कांग्रेसभित्र किचलो, काठमाडौँमा लामा समूहको छलफल
हेटौँडा । बागमती प्रदेश सरकारको बजेट विवादका कारण सत्तारुढ दल नेपाली कांग्रेसभित्र किचलो सुरु भएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याएको ६६ अर्ब ९३ करोड रुपैयाँको बजेटका विषयलाई लिएर कांग्रेसभित्र दुई धार देखिएको हो ।
बजेटप्रति असन्तुष्टि जनाउँदै कांग्रेस सांसद एवं पूर्वमुख्यमन्त्री बहादुरसिंह लामा समूह रुष्ट बनेको छ । लामा समूह प्रदेशसभाको बैठक छाडेर काठमाडौँमा आन्तरिक छलफलमा जुटेको छ । सो समूहका सांसदहरूले सरकारको कार्यशैली, सभामुख नियुक्ति र बजेटमा भएका त्रुटिहरू सच्याउनुपर्ने माग राखेका छन् । ती माग सम्बोधन नभएसम्म प्रदेशसभा बैठकमा उपस्थित नहुने अडान उनीहरूले राख्दै आएका छन् ।
लामा नेतृत्वको समूहले सरकारले बजेटको मापदण्ड कायम गर्न नसकेको भन्दै विरोध गरेको हो । उनीहरूले यी विषयमा पार्टी सभापति गगनकुमार थापासँग भेट गरेर मात्र प्रदेशसभा बैठकमा सहभागी हुने जनाएका छन् । लामा समूहका स्रोतका अनुसार प्रदेश सरकार र बजेटका सन्दर्भमा बुधबार सभापति थापासँग भेट गर्ने कार्यक्रम तय गरिएको छ ।
यस विषयमा पूर्वमुख्यमन्त्री लामाले आफूहरू सरकार परिवर्तनको खेलमा नरहेको स्पष्ट पारेका छन् । उनका अनुसार सांसदहरूसँग सामान्य छलफल भएको र मंगलबार बिहान पनि काठमाडौँमा आफू निकट सांसदहरूसँग भेटघाट भएको हो । पार्टी सभापतिलाई भेट्ने सन्दर्भमा आवश्यकताअनुसार निर्णय गरिने उनले बताए ।
उनले प्रदेश सरकारको कार्यशैली र संसद् सञ्चालन प्रक्रियाप्रति समेत असन्तुष्टि व्यक्त गरे । सरकारले संसदीय मर्यादाको उल्लङ्घन गरेको र सभामुख चयन प्रक्रियालाई उपेक्षा गरेको पूर्वमुख्यमन्त्री लामाको आरोप छ । प्रदेशसभामा लामो समयदेखि सभामुख चयन हुन नसकेको विषयलाई सरकारले गम्भीरताका साथ लिन नसकेको उनले बताए ।
‘सभामुख नभई विधेयक वा बजेट प्रमाणीकरण हुनै सक्दैन । उपसभामुखलाई कार्यवाहकको जिम्मेवारी दिएर मात्र सदन चलाउनु कानुनसम्मत छैन,’ उनले भने, ‘सभामुख जस्तो गरिमामय पद रिक्त राखेर सदन चलाउँदा कांग्रेसको साख गिरेको छ । सरकारले जनअपेक्षाअनुसार काम गर्न सकेको छैन । मैले प्रदेश सरकारमा देखिएका असन्तुष्टि र कमजोरीबारे मुख्यमन्त्रीको पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सम्बोधन हुन सकेन ।’
सरकारले बजेट निर्माण र कार्यान्वयनका विषयमा मिडियामा मात्र ‘हाउगुजी’ फैलाएको तर वास्तविकतामा खर्च कटौती र प्रशासनिक सुधारका कामहरू हुन नसकेको पूर्वमुख्यमन्त्री लामाको आरोप छ । मिडियामा गएर ठुला कुरा गर्ने तर व्यवहारमा केही नगर्ने परिपाटी देखिएको उनले बताए । पहिले काम सम्पन्न गरेर मात्र मिडियामा जान उनले सरकारलाई आग्रह गरे । प्रदेशका समस्याहरू प्रदेशकै संयन्त्रबाट समाधान हुनुपर्नेमा जोड दिँदै उनले सानातिना कुरामा पनि केन्द्रको मुख ताक्ने प्रवृत्तिले सङ्घीयताको उपहास गरेको उल्लेख गरे ।
सरकार परिवर्तनको ठोस तयारी नभए पनि वर्तमान अवस्थामा सुधार नआए आफू र आफ्नो समूह सदनमा उपस्थित हुनुको कुनै अर्थ नहुने उनले बताए । उनले थपे, ‘हामीले यहाँ निर्णय नगर्ने अनि अधिकार दिएन भनेर केन्द्रतिर मात्र गुनासो गर्ने रु यस विषयमा तत्कालै सभापति र सम्बन्धित पक्षसँग छलफल गरेर मात्र अगाडि बढ्नेछौँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण