बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

कथा : घरमै पोलिथिन निषेध !

आइतबार, १० मङ्सिर २०८०, १० : ४०
आइतबार, १० मङ्सिर २०८०

चुर्सेकी आमा र मेरो झगडा परालको आगो जत्तिकै छ । हुन पनि हामी दुई बुढाबुढी गफगाफ गरेको हो कि ठाकठाक ठुकठुक परेको पत्तै हुँदैन । बोली अलि खस्रो भए पनि चुर्सेकी आमाको मनमा पाप चाहिँ छैन । 

अहिले उसलाई बजार जान हतार छ । अनि धुइँ धुइँती त्यो कुन्नि कुन स्टोरको बुट्टादार पोलिथिनको झोला खोज्दैछे । म चाहिँ यस्तो पोलिथिन भेट्यो कि लुकाइदिन्छु । मैले त्यो पोलिथिन लुकाएको कुरा थाहा पाएकी छिन् कि कसो ठुल्ठूलो स्वरमा भित्रबाट बोल्छे ‘चुर्सेको बाबा ! तपाईंले त्यो पोलिथिन देख्नु भयो ? अस्ति मैले यही ओछ्यानमुनि राखेकी थिएँ । तपाईंले कतै राखिदिनु भयो कि ।’

‘त्यो भित्र भान्सा कोठामा भएको सुतीको झोला लैजाउन । मैले तिम्रै लागि भनेर किनेर ल्याएको ।’ 

‘आ... त्यस्तो झोला बोक्दिनँ है म । लाजै मर्दो । त्यही पोलिथिनको झोला दिनुहोस् कहाँ लुकाइदिनु भा’छ ।’

उसको यो लाजै मर्दो कुराले मेरो कन्सरी तातेर आयो र माइक्रोफोनमा बोल्ने जतिकै स्वरमा चिच्याउँछु ‘केको लाज त्यो झोला बोक्नु ? तिमीलाई थाहा छ । यो हेर्दा राम्रो देखिने पोलिथिनले कति हानि पु¥याउँछ भन्ने कुरा ।’

म चिच्याएको मात्र के थिएँ, मेरोभन्दा सुरिलो स्वरमा कराउँछे ‘यो मान्छेलाई थाहा हुँदो रहेछ कसैलाई थाहा नभा’को फाइदा– नोक्सान । सबैले त्यही पोलिथिन बोकिराखेका छन् । कसैलाई हानि भएको छैन । अब तिमीलाई हुँदोरहेछ हानि र सानी... ।’

चुर्सेकी आमाको यही बानी चाहिँ मलाई मन पर्दैन । अलिकति रिस उठ्यो कि तपाईंदेखि तिमी अनि एकैछिनमा तँ पनि भन्छे । 

कहिलेकाहीँ त म उसलाई तिमी भन्दै गरेको हुन्छु अनि उसले मलाई तँ । अब रातिउँधो भए त ठिकै थियो, दिउँसोको झगडा श्रीमतीले ‘तँ’ भन्दै गरेको कोही साथीभाइले सुने आफैँलाई लाज । यसैले म आफैँ नरम हुँदै सम्झाउँछु । 

‘होइन चुर्सेकी आमा ! मैले त्यसो भनेको होइन नि । यो पोलिथिन भन्ने चिजबारे मैले तिमीले अनि हामी सबैले जान्नु जरुरी छ । यस चिजको प्रयोगपछि हामी यसलाई यत्रतत्र फ्याँक्छौँ । तर यो कहिले नकुहुने वस्तु भएकाले माटोमुनि गाडिन पुग्छ । जसको कारण बारीले मलिलोपन गुमाउँछ । धेरै पोलिथिन माटोमुनि गाडिएर बसे पहाडतिर पैह्रो जाने खतरा बढ्छ अझ यस्ता हाबी जाबी केके छन् छन् ।’

मेरो कुरो बिचैमा काट्दै नेताले भाषण दिए जतिकै बोल्छे चुर्सेकी आमा– ‘अँ थाहा छ मलाई पनि । यो कहिल नकुहुने भएकाले नालातिर गएर बस्छ अनि नाला जाम हुन्छ । पानी पनि दूषित हुन्छ, पानीको मुहान सुक्न पनि सक्छ अनि यसलाई जलाए यसबाट निस्केको धुवाँले वातावरणलाई पनि उत्तिकै प्रदूषित पार्छ ।’

‘अरे तिमीलाई त मलाई भन्दा धेर थाहा छ ? मेरो चुर्सेकी मम्मी पनि यति ज्ञानी भएको मलाई के थाहा । कसले बतायो यो सब तिमीलाई ?’

चुर्सेकी आमालाई फुरुक्कै पार्दै प्रश्न तेस्र्याउँछु । अघि निकै चर्किने श्रीमती अहिले शान्त हुँदै मीठो स्वरमा बताउँछिन्, ‘तपाईं भन्नु हुन्छ नि, हामी महिला टिभीमा मात्र सिरियल हेर्छौं भनेर । तर यही टिभीको कतिवटा कार्यक्रमले सिकाएको हो यो सब मलाई ।’

‘यतिका धेरै कुरा जान्दाजान्दै पनि किन तिमी फेरि यही पोलिथिन नै रोज्छौ त ?’

‘अनि हामी एक घरले पोलिथिन नचलाएर हुने त होइन नि । सबैले पोलिथिन प्रयोग गर्न  छाडे पो ।’

उसका कुरा स्वाभाविक हो । उसको यस्ता स्वाभाविक कुराको नरम स्वरमा उत्तर दिन्छु ।

‘सबैले प्रयोग गर्न छड्नका निम्ति त पहिले मैले तिमीले यस चिजको प्रयोग गर्न छाड्न प¥यो नि ! यसैले यस्तो सचेत कुराको क्रान्ति त सर्वप्रथम आफैँमा ल्याउनु पर्छ ।’

‘अनि कहिलेकाहीँ कतैबाट आएको पोलिथिनलाई चाहिँ के गर्नु ?’ श्रीमतीको प्रश्न ।

हामी नेपाली जाति सीपका साह्रै धनी । परालको गुन्द्री, खोसेलाको पिरा आदि बनाउने कला हामी कहाँ छ भने यस्तै कलाको प्रयोग यो पोलिथिनमा गरे विभिन्न थोक बन्न सक्छ । यसैले यस्तो पोलिथिन जहाँ पायो उहीँ फ्याक्नुभन्दा यस्ता चिजहरू बनाउनु राम्रो हुन्छ । फेरि यस्ता थोक बनाउने एउटा केन्द्र नै खोले दुई चार जनालाई रोजीरोटी पनि बन्न सक्छ ।’

चुर्सेकी आमाले कुरा बुझिछिन् क्यार । यसैले त भित्र भान्साकोठाबाट त्यही सुतीको झोला बोकेर  बजारतिर लाग्नुअघि बोल्छे ‘यो घरमा आजदेखि पोलिथिन ब्यान्ड...।’ 

सुर्योदय न पा-२ इलाम

शिक्षक, श्रीकृष्णाश्रम मावि कन्याम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपेन्द्र आचार्य
दीपेन्द्र आचार्य
लेखकबाट थप