बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

नीति कथा :  पण्डितहरूको त्यो मूर्खता

बुधबार, १३ मङ्सिर २०८०, ११ : ३८
बुधबार, १३ मङ्सिर २०८०

जीवनमा विद्याको कति बढी महत्त्व हुन्छ भन्ने सबैलाई थाहा छ । धन र विद्या कुन ठुलो भनेर सोध्ने हो भने प्रायः सबैले विद्या नै ठुलो भन्ने गरेका हुन्छन् । धन त जसले पनि कमाउन सक्छ र जति बेला पनि कमाउन सकिन्छ तर विद्या भन्ने कुरा त्यस्तै अवसर नजुरी पाइएको हुँदैन । तथापि यथार्थ के हो भने विद्या पढेर मात्र हुँदैन, प्रयोग गर्न पनि जान्नुपर्छ । अन्यथा त्यही विद्या दुःखको कारण बन्न पुग्छ । भाइबहिनीहरूको जानकारीका लागि यहाँ एउटा यस्तै कथा प्रस्तुत गरिएको छ । 

धेरै पहिलेको कुरा हो । कुनै गाउँमा एक जना सज्जनका चार भाइ छोरा थिए । उनीहरूमध्ये अघिल्ला तीन भाइ पढालेखा पण्डित थिए । तथापि बुद्धिमा भने कमी थियो  तर पछिल्लो अर्थात् कान्छाले भने पढेका थिएनन् । उनका लागि काला अक्षर भैँसी बराबर जस्तै थियो । तथापि बुद्धिका भने निकै धनी थिए । 

एक दिन चारै भाइ बसेर कसरी पैसा कमाउने भन्नेबारे छलफल गर्न लागे । यसै क्रममा उनीहरूमध्ये जेठोले भन्यो–

‘हामीले विद्या पढेका त छौँ तर अहिलेसम्म तिनको उपयोग भएका छैनन् । अर्को कुरा हामीलाई यो पनि थाहा छैन कि हामीले पढेका विद्या उपयोगमा आउन सक्छन् कि सक्दैनन् । त्यसैले राजाको दरबारमा गएर तिनलाई उपयोग गर्ने प्रयास गर्ने पो हो । सुनेको छु यस देशका राजा विद्वान्को राम्रै कदर गर्छन् रे । यदि उनको अगाडि विद्याको उपयोगिता सिद्ध गर्न सकियो भने पक्कै धेरै पैसा दिने छन्, जसले गर्दा सुखपूर्वक जीवन बिताउन सक्ने छौँ ।

उनको कुरामा अन्य भाइले पनि सहमति जनाएकाले भोलिपल्टै राजदरबारतर्फ लागे । जब आधाआधी बाटामा पुगेका थिए विद्या पढ्ने मध्येका एक भाइले भन्यो–

हामी तीन भाइले त पढेका छौँ । राजाको अगाडि आ–आफ्ना विद्याको करामत देखाउने छौँ तर यो कान्छोले त पढेको छैन । यस्ताले के करामत देखाउला । त्यसैले यसलाई यतैबाट फर्काउने पो हो कि । होइन भने त हाम्रो करामत देखेर खुसी भएका राजाले दिएका पैसाबाट यसलाई पनि दिनुपर्ने हुन्छ ।’

हो ठिक भन्यौ । त्यसै गर्नु उचित होला भन्दै दोस्रो भाइले पनि सहमति जनायो तर तेस्रोलाई उनीहरूको कुरा मन परेन र प्रतिवाद गर्दै भन्यो–

‘होइन के कुरा ग¥या त्यस्तो ? जे भए पनि ऊ हाम्रै भाइ हो । सँगै बस्यौँ, सँगैसँगै जसो हुर्क्यौँ । सानै छ, हामीमध्ये कान्छो पनि हो । त्यस्तालाई कसरी छुटाउने । अहँ म मान्दिन । बरु उसलाई आफैँले पाएको हिस्साबाट कटाएर दिनेछु । तैपनि छाड्न चाहन्न ।’

यसै विषयलाई लिएर उनीहरूबिच केही बेर भनाभन भयो । अन्त्यमा सबैलाई उनको भनाइमा सहमत हुन कर लाग्यो र अगाडिको यात्रा गरे । 

केही अघि बढेपछि एउटा डर लाग्दो जङ्गल आइपुग्यो । जब जङ्गलको बिचमा पुगेका थिए एउटा मरेको सिंहको हड्डी देखाप¥यो ।  

त्यसपछि जेठोले भन्यो

‘भाइ हो ! मलाई हाम्रो विद्याको परीक्षा गर्ने उपयुक्त समय आएजस्तो लाग्यो । यदि यस मरेको सिंहलाई जीवित गराउन सक्यौँ भने हाम्रो विद्या सही रहेछ । होइन सकेनौँ भने त राजाको दरबारमा गएर पनि के गर्न सकिएला र ?’  

अरू दुई भाइले पनि त्यसैमा समर्थन जनाएकाले जेठोले सिंहको हाडखोर जम्मा गरी शारीरिक ढाचा तयार ग¥यो । दोस्रोले मासु भर्ने काम ग¥यो । जब तेस्रो प्राण भर्ने प्रयास गर्न लाग्यो तब कान्छोले रोक्ने प्रयास गर्दै भन्यो– 

‘हैट के गर्न लागेको यो ? के यो सिंह साँच्चै जीवित भयो भने हामीलाई बाँकी राख्छ ? मेरो भनाइ लाग्छ भने यस्तो मूर्खता नगरियोस् ।     

उसको कुरा सुनेर तेस्रो भाइले रिसाउँदै भन्यो–

‘जाजा पाजी ! बढी फुर्ती न ला । तैँले मेरो विद्याले काम गर्ने अवसर नपाओस् भनेर यस्तो कुरा गरेको हो भन्ने मलाई थाहा छैन र ? तर म त्यस्तो हुन दिन्न बुझिस् । जसरी भए पनि यसलाई जीवित गएरै छाड्नेछु ।’  

उसले आफ्नो हठ नछाड्ने निश्चित भएपछि कान्छोले विनम्रतापूर्वक भन्यो–

‘माफ गर्नुहोला ! मेरो आशय त्यस्तो थिएन । सबैको जीवन सङ्कटमा पर्न सक्ने देखेर नै यस्तो कुरा गरेको हुँ । जीवित गराएरै छाड्ने हो भने बाधक बन्न चाहन्न । मात्र यति हो कि मलाई त्यस रुखमा चढेर टुप्पोसम्म पुग्ने अवसर दिनुहोला ।’ 

ऊ यति भनेर नजिकैको अग्लो रुखमा चढ्न लाग्यो अरू भाइ बसेर हेर्न लागे । जब ऊ रुखको टुप्पोमा पुग्यो तब तेस्रो भाइले आफ्नो विद्यालाई प्रयोगमा ल्याउन लाग्यो । नभन्दै केही बेरको प्रयासमा जीवित गराएरै छाड्यो । त्यसपछि त के चाहियो र । सिंह गुरुङ्ग आवाज निकाल्दै उठ्यो र तीनै भाइलाई मारेर खायो । बिचरा पण्डितहरूले आफ्नै मूर्खताका कारण ऐय्या भन्नसम्म पाएनन् । 

कान्छोले रुखको टुप्पोमा बसेर यी सब दृश्य हेरिरहेको थियो । तैपनि केही गर्न सकेन । किनकि उसको वशमा केही थिएन । त्यसैले सिंह त्यहाँबाट नजाउन्जेल त्यहीँ बस्यो र  अघाएर वनतिर लागेपछि घरतिर लाग्यो । 

पञ्चतन्त्रमा आएको यस कथामा के कति सत्यता छ त्यो त थाहा छैन तर विद्यालाई प्रयोग गर्न जानिएर भने जसको पनि अवस्था यस्तै हुन्छ भन्ने कुरा भने सत्य हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप