बिहीबार, १० फागुन २०८०
ताजा लोकप्रिय
जाजरकोट भूकम्प

घर बनाएको ऋण तिरिनसक्दै भुइँचालोले चिराचिरा पारेपछि...

‘आँखामा निद्रा पनि आउँदैन, त्रिपालअगाडि आगो बाल्छौँ, बुढाबुढीले सोच्दासोच्दै रात कट्छ’
सोमबार, १८ मङ्सिर २०८०, १२ : ३८
सोमबार, १८ मङ्सिर २०८०

रुकुमपश्चिम (अरबारे) । बिहान १० बज्नै लागेको थियो, जैकल्ली खत्री (४०) घरमाथिको गरामा पुगिन् । दायाँतर्फ थाई बनाएर बाँधिएको गाईलाई कुँडो खुवाइन् । तर उनलाई घरभित्र जानै मन लागेन । कात्तिक १७ गते मध्यराति आएको भूकम्पले उनको घर चिराचिरा पारिदियो । घरमाथिको गराको डिलमा बसेकी उनी निराश देखिन्थिन् । चिउँडोमा हात लगाउँदै घरतर्फ हेरिरहेकी थिइन् । हिजोआज यो उनको दैनिकी भएको छ । किनभने उनलाई भूकम्पले घर चिरा पारेको भन्दा पनि घर बनाउन लागेको ऋण कसरी तिर्ने भन्ने ठुलो चिन्ता रहेछ । 

आठबिसकोट नगरपालिका–१२ अरबारे, सानीबार्खु टोलकी जैकल्लीको दुई वर्षअघि घर बनाउँदा पाँच लाख रुपैयाँभन्दा बढी खर्च भएको रहेछ । ढुङ्गा, काठ र पत्थर किन्नेदेखि घर बनाउने श्रमिकलाई दिँदा उक्त रकम खर्च भएको रहेछ । 

अहिलेसम्म उनले करिब तीन लाख रकम तिरिसके पनि बाँकी तिर्न नसकेको सुनाइन् । उनले भनिन्, ‘ऋण नै तिर्न नपाई भुइँचालाले घर चिरा चिरा पा¥यो, अर्को घर बनाउन सकिने अवस्था छैन । निकै चिन्ता लाग्दो क्या गर्नु हजुर,’ निराश हुँदै उनले भनिन्, ‘दुई वर्षअघि बनाएको हो यो घर ।’ 

उनले लगत्तै घर देखाउन लगिन् । उनको दुईतले घरको अगाडि भाग हिँड्दा पनि पूरै हल्लिएर ढल्न खोज्छ । थोरै पराकम्प आयो भने घर ध्वस्त हुने अवस्थामा छ । दुवैतर्फ चिराचिरा परेको र हल्लिने हुँदा उनी घरनजिकै त्रिपालमा बस्दै आएकी छिन् ।

उनको परिवारमा चार छोरा, बुढाबुढी र एक सासू छन्  । जेठो र माइलो छोराले बिहे गरेर अलग भइसकेका रहेछन् । साइँलो र कान्छो छोरालाई पढाउनेदेखि सासूलाई हेरचाह गर्ने जिम्मेवारी उनको काँधमा रहेछ । साइँलो छोरा दाङमा बसेर स्नातक पढ्दै छन् भने कान्छो काठमाडौँमा बसेर कक्षा ८ मा पढ्दै छन् ।

 

उनका श्रीमान् हर्षसिंह अहिले कालापहाड जान पनि छाडिसके । उमेर ढल्केसँगै उनी घरमै बसेर खेतबारी हेरचाह गर्छन् । अरू सीप नभएकाले घर बनाउँदा लागेको ऋण अझै तिर्न नसकिएको उनले बताइन् । छुट्टै बसेका जेठो र माइलो छोरालाई आफ्नै बालबच्चा हुर्काउन धौ धौ परेको छ ।

‘छोरालाई पढाउन पनि हम्मे हम्मे छ, ऋण कसरी तिर्नु ?,’ उनले भनिन्, ‘गरिबमाथि समस्या नै समस्या थपिँदो रहेछ । ऋण नै तिर्न नपाएर घर भुइँचालाले चिरा चिरा पा¥यो । ठुलाले आफ्ना छोराछोरीलाई पढाउन हुर्काउन ठिक्कै छ ।’

घर बनाउन सबै व्यक्तिहरू बाहिरको नै लगाइएको उनले बताइन् । आर्थिक उपार्जनको कुनै माध्यम छैन । तर दुई बुढाबुढी र सासूका लागि खाने अन्नबाली भने उब्जाउ हुने गरेको उनको भनाइ छ । 

केही महिनाका लागि चामल किन्नुपरे पनि प्रायः खानका लागि उब्जाउ हुने गरेको उनले बताइन् । ‘छोरा बाहिर नै बस्ने, बुढाबुढी र सासूलाई जसोतसो पुग्छ,’ उनले भनिन्, ‘अरू कुनै आर्थिक उपार्जनका माध्यम हामीसँग नाइँ, नुन, तेल त किन्ने पर्छ ।’

एकातिर ऋण नै तिर्न नसकेको अर्कोतिर त्यही घर भूकम्पले बस्न नमिल्ने बनाएको र अर्को घर कसरी बनाउने भन्ने चिन्ताले उनलाई आजभोलि राति निद्रा पनि लाग्दैन । त्योभन्दा ठुलो चिन्ता छोरालाई पढाउने खर्चको पनि छ । 

‘निन्द्रा पनि आउँदैन, त्रिपाल अगाडि आगो बाल्छौँ, बुढाबुढी सोच्दा सोच्दै रात कट्छ,’ उनी भन्छिन्, ‘हामीलाई त समस्याले जिन्दगीभर नछाड्ने भयो ।’ 

जैकल्लीले अहिलेसम्म सरकारले दिएको अनुदान पाएकी छैनन् । यद्यपि उनको घरको लगत सङ्कलन भने भएको छ । घरलाई भत्काएर पन्छाउने काम पनि अहिलेसम्म भएको छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप