शुक्रबार, १८ फागुन २०८०
ताजा लोकप्रिय
सकसमा भूकम्प पीडित

जाजरकोट स्थलगत : कठिन छ त्रिपालको बसाइ !

‘लगत संकलन ढिला हुँदा अस्थायी आवास निर्माणको ठेगान छैन, चिसोले मर्ने डर बढ्यो’
शुक्रबार, १५ मङ्सिर २०८०, ११ : ०१
शुक्रबार, १५ मङ्सिर २०८०

जाजरकोट (थाप्ले) । बेलुकी पाँच बजिसकेको थियो, भेरी नगरपालिका–३, तल्लो थाप्लेका ५५ वर्षीय अविलाल कामी त्रिपालको अगाडि साँझको खाना बनाउने भन्ने तरखरमा थिए । रातोपाटी प्रतिनिधिसँग उनले भने, ‘हजुर ! यहाँ त निकै बिजोग छ ।’

कार्तिक १७ गते मध्यराति भूकम्प आउँदा घरमा उनीसहित श्रीमती र नातिनी (माइलो छोराकी छोरी) रहेछन् । कच्ची घर, टिनले छाएको छाना । भाग्यवस उनीहरु बच्च सफल भए, त्यो दिन ।

भूकम्पले घरको भित्रीभाग पूरै चिराचिरा परेको छ । घर देखाउँदै उनले भने, ‘घर बस्न मिल्ने छैन, भित्रको त आधा भाग नै भत्किएको छ । तर, ऐलानी जमिनमा भएकाले कोही केही भन्छन्, कोही केही ! हामीलाई त रुनु न हाँस्नु भएको छ ।’

abilal kami

१५ जनाको परिवार रहेका उनका छोराहरु छुट्टिएर बसेका छन् । उनीहरु पनि भूकम्प पीडित नै हुन् र केही पर त्रिपाल टाँगेर बस्दै आएका छन् ।

राहतका नाममा अहिलेसम्म अविलालले पाएको भनेको एउटा मात्र त्रिपाल हो । त्यही त्रिपालमा श्रीमती, नातिनीसहित बस्दै आएका छन् उनी । ‘घरभित्रै बस्दा त जाडोको समयमा चिसो कटाउन गाह्रो हुन्छ, यो पालमा त निकै कठिन भयो, माथि शीतको थोप्ला पर्‍यो कि तल आइहाल्छ,’ उनले भने, ‘यहाँ त चिसोले मर्ने हो कि भन्ने चिन्ता लाग्न लाग्यो ।’

पाल कसले दिएको हो भन्ने पनि उनलाई थाहा छैन । आर्थिक अवस्था न्यून रहेका उनलाई घर कसरी बनाउने भन्ने चिन्ता छ । चिसोकै कारण उनकी श्रीमती बिरामी छिन् ।

‘चिसोले भित्र सुत्न सकिँदैन, त्रिपालभन्दा अगाडि आगो बालेर बस्छौँ,’ उनले भने, ‘बैरागलाग्दा छन्, के गर्ने हजुर..!’

चिसोले श्रीमतीको पेट सुन्निने र दुख्ने भइरहेको उनले सुनाए । ठुलै बिरामी हुँदा कहाँ गएर उपचार गर्ने भन्ने चिन्ता अविलाललाई छ । अस्थायी आवास निर्माणका लागि ५० हजार रकम दिने भनिए पनि अहिलेसम्म नपाएको उनले बताए ।

अविलाल बसिरहेको ठाउँमा २५ भन्दा बढी घरधुरीका मानिस सडकका दुई किनारामा त्रिपालमुनि बस्दै आएका छन् । भेरी नगरपालिकाको कार्यालय अगाडि नेतादेखि कर्मचारीहरु त्रिपालकै छेउछाउमा रहेका चिया अड्डामा चियाको चुस्कीसँगै गफ गरिरहेका हुन्छन् । तर, त्यही ठाउँमा रहेका भूकम्प पीडितहरु भने कष्टकर दैनिकी बिताइरहेका छन् ।

नगरपालिकाको नजिकै भए पनि यो बस्तीका भत्किएका सबै घर पन्छाउने काम अझै भएको छैन भने अस्थायी आवास कहिले निर्माण हुने हो भन्ने ठेगान छैन ।

त्रिपालमा बस्दै आएका बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा विद्यार्थीहरुलाई निकै समस्या छ ।

कक्षा १२ मा अध्ययनरत दीपा विष्ट त्रिपाललाई अड्याउनका लागि काठका किलो ठोक्दै थिइन् । त्यससँगै खाना बनाउने उनको योजना थियो । अन्य दुई बहिनी, एक भाइ र आमाका साथ उनी यही त्रिपालमा बस्न थालेको महिना दिन पुग्न लाग्यो । उनी भन्छिन्, ‘भूकम्पले घर बस्न मिल्ने खालको छैन, त्रिपालको चिसोले ममी बिरामी हुनुहुन्छ, अस्पतालतिर जानु भएको छ, आउनुभएको छैन ।’

dipa

उनकी आमा लक्ष्मी विष्टलाई चिसोका कारण खोकी लाग्ने र अन्य स्वास्थ्य समस्या देखा परेको छ । ‘भूकम्पबाट त जसोतसो बाँचियो, चिसोले ज्यान लिने हो कि भन्ने चिन्ता बढेको छ,’ दीपा भन्छिन् ।

दीपाका बुबाको केही वर्षअघि निधन भएकाले लक्ष्मीले नै छोराछोरीलाई जेनतेन हुर्काउँदै, पढाउँदै आएकी छन् । दीपा भन्छिन्, ‘बुबा हुनुहुन्न, आमा एक्लैले निकै संघर्षका साथ हामीलाई हुकाईरहनुभएको थियो, घरमा क्षति भएपछि नयाँ घर बनाउने हाम्रो हैसियत छैन, कमाई गर्ने कोही छैन, भाइ सानो छ ।’

ghar panchaudai

त्रिपालको बसाइ निकै कठिन भइरहेको हुँदा चाँडो अस्थायी आवास निर्माण गर्ने वातावरण मिलाइदिनुपर्ने उनको माग छ ।

त्रिपालमा बत्ती छैन । पढ्नलेख्न समस्या भइरहेको छ । ‘पढ्न–लेख्ने बत्ती छैन । एउटा मोबाइल थियो, मोबाइल चार्ज गर्न पनि समस्या, कठ्याङ्ग्रिदो चिसो, त्यसमा बत्ती पनि छैन, पढाइ लेखाइमा निकै असर भइरहेको छ,’ उनी भन्छिन्, ‘शारीरिक र मानसिक रुपमा बालबालिकाहरुलाई असर भइरहको छ ।’

५७ वर्षीय टेकबहारदुर पुन बैसाखीको सहारामा मात्र हिँड्न सक्छन् । उनको बायाँ खुट्टाले काम गर्दैन । पालमा एक्लै भेटिएका उनका छोरा काठमाडौँतिर प्रहरीमा कार्यरत रहेछन् । श्रीमती पनि केही समय अघि छोरो भेट्न गइन् । त्यसयता उनी एक्लै छन् ।

tek ba pun

‘एकसरो पालले यहाँ चिसो नै छेक्दैन, खाना मेसमा गएर खान्छु,’ उनले भने । उनलाई अहिले पानी समेत दिने कोही छैन । उनी मिस्त्री पनि हुन् । ०७२ को भूकम्पपछि पुनर्निर्माणमा धादिङ गएर घर निर्माण गरेको स्मरण पनि उनले सुनाए । ‘त्यो बेला भूकम्प पीडितहरुको घर बनाएँ, अहिले भूकम्पले मलाई नै त्रिपालमा पुर्‍यायो,’ उनी भन्छन् ।

यो ठाउँका क्षतिग्रस्त घरहरु ऐलानी जग्गामा बनेका थिए । ऐलानी जग्गामा बनेका घरहरुको विषयमा केन्द्र सरकारले बनाएको कार्यविधिमा केही उल्लेख छैन । वडाले मुचुल्का बनाए पनि अनुदान पाउने नपाउने विषयमा कुनै पत्तो छैन । अरु केही चाहिएन, बस्ने बासको मात्र व्यवस्था भइदियोस् भन्ने यहाँका भूकम्प पीडितहरुको माग छ ।

अस्थायी टहरा निर्माणका लागि पाउनुपर्ने पहिलो किस्ता समेत उनीहरुले पाएका छैनन् । राजनीतिक दलका नेता, कार्यकर्ताहरु र सुरक्षाकर्मीले केही घर पन्छाउने काममा सघाए पनि सबैको पन्छाएनन् । घर पन्छाउने क्रम चलिरहेको छ । अन्यत्र दलहरुले अस्थायी आवास बनाइरहे पनि यहाँ भने बनाएको देखिएन । 

IMG_0908

गणेख खत्रीको घर पूर्ण रुपमा ध्वस्त भएको छ । उनी भन्छन्, ‘अहिलेसम्म अस्थायी आवास निर्माणको लागि न राज्यले केही भनेको छ, न रकम नै पाएका छन् । खातामा हाल्दिने भनेर खाता खोल्ने काम भइरहेको छ ।’

कि राज्यले घर निर्माणका लागि रकम दिएर पूर्ण अधिकार आफूहरुलाई दिनुपर्ने, नभए राज्यले नै चाँडो पुनर्निर्माणको लागि पहल गरिदिनुपर्ने माग उनीहरुको छ । निर्देशिका अनुसार लगत संकलनको काममा ढिला हुँदा अस्थायी आवासका लागि पाउनुपर्ने पहिलो किस्ता समेत नपाएको पीडितहरुको भनाइ छ ।IMG_0905

वडाध्यक्ष लिला बहादुर शाह पीडितको लगत संकलन भइरहेको बताउँछन् । ऐलानी जमिनको विषयमा निर्देशिकाले पनि केही नबोलेकाले रकम दिने नदिनेबारे अन्यौल रहेको उनको भनाइ छ । निर्देशिका अनुसार वडाले गर्नुपर्ने काम सबै भइरहेको उनले बताए ।

IMG_0914

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप