सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

जननिराशा हटाउन इमानदार नेतृत्वको खोजी

बुधबार, २० मङ्सिर २०८०, ११ : ०४
बुधबार, २० मङ्सिर २०८०

देशमा अहिले चरम निराशा छाएको छ । आम युवा रोजगारीका अवसरका लागि बिदेसिनुपर्ने बाध्यात्मक स्थिति देखिइरहेको छ । मुलुकमा रहेका उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूमा विद्यार्थी अभाव खट्किन थालेको छ । मुलुकको शिक्षाले युवाको भविष्य सुनिश्चित नगर्ने भएर नै विदेश पलायनको यो अवस्था आएको देखिन्छ । यी सबै समस्याको निराकरण मुलुक चलाउने नेतृत्वले गर्नुपर्ने सबैको धारणा छ । तर नेतृत्व इमानदार नभएको धेरैको गुनासो छ । कतिपयले यो व्यवस्थाप्रति नै प्रश्न उठाएका छन् । 

अहिले आएर यही व्यवस्थाभित्र रहेर जनताको अवस्था बदल्ने कि व्यवस्था नै बदल्ने भन्ने यो प्रश्नले नेपाली राजनीतिमा निकै ठुलो तरङ ल्याएको छ । देश र जनताका लागि राजनीति गर्ने दलहरूमा के साँच्चै नै देश र जनताको चिन्ता छ त ? देशलाई विकास र समृद्धिको बाटोमा लाने स्पष्ट योजना छ त ? राजनीतिक दलका क्रियाकलापलाई लेखाजोखा गर्दा यस्ता जनस्तरका समस्या दलका लागि गौण बनिरहेको हामी कसैबाट पनि छिपेको छैन । तसर्थ आफू बदलिने कि व्यवस्था बदल्ने भन्ने दोधारमा तैरिरहेको राजनीतिले जनस्तरको अवस्था बदल्ने अपेक्षा गर्नु सर्वथा गलत हुन जान्छ । 

अहिलेको संविधान हेर्दा उत्कृष्ट एवं जनतामुखी नै देखिन्छ । भलै यसमा केही समय सापेक्ष सुधार अवश्य होलान् । सबै तहका सरकारमा जनताका लागि भनेर नथाक्ने दलहरू सत्तामा र प्रतिपक्षमा छन् । देशमै केही गर्छु भन्नेहरू पनि प्रशस्त भेटिन्छन् । 

जनताले इमानदारसाथ कर तिरिरहेका छन् । प्राकृतिक, सांस्कृतिक एवं सम्पूर्ण रूपमा प्रचुर सम्भावना भएको देशको अवस्था किन दिनदिनै लथालिङ्ग छ त ? किन हजारौँको सङ्ख्यामा दैनिक श्रम एवं बौद्धिक पलायन भएको छ त ? किन अर्थत्रन्त्रका सूचकहरू नकारात्मक छन् ? 

स्वतन्त्र नागरिक भएर हेर्दा यसमा खोट राजनीतिक दलहरूका घोषणापत्र एवं राजनीतिक दस्ताबेजमा देखिँदैन । अहिलेको शासन प्रणालीमा समेत  देखिँदैन । यी सम्पूर्ण समस्याको मूल कारण केवल तिनै नेतृत्व लिने व्यक्तिहरूको सोच, कार्यशैली, नियतमा देखिन्छ । तर पनि भन्ने गरिन्छ हामी नै उत्तम छौँ, हामीलाई गर्न नदिएको हो । अनि आम जनतामा योभन्दा त्यो शासक ठिक हो कि भन्ने भ्रम पर्छ । अनि फेरि सङ्घर्ष गरेर त्यो शासकलाई पो ल्याउने हो कि ? भन्ने परेको छ । 

यही भावनामाथि खेलबाड गरेर धर्म, अधिकार आदिको लेपन लगाएर जनतालाई आफ्नो पक्षमा पार्ने होडबाजी कोही विद्यमान राजनीतिक दलहरूमा देखिन्छ । अझ अचम्म लाग्ने तथ्य भनेको सबैले ‘हामी जनताका लागि नै लागिपरिरहेका छौँ’ भनेर जनताको दिमाग भुटिरहेका छन् । जनतालाई उफारिरहेका छन्, दुःख एवं हैरानी दिइरहेका छन् । 

जनताका लागि नै राजनीति भइरहेको हो भने विद्यमान संविधानमा रहेर शान्तिपूर्ण तरिकाले जनताको यो दयनीय अवस्था फेर्न हिम्मत छ त ? त्यसो भए देशको वर्तमान अवस्था परिवर्तन गर्नको लागि निर्मम भएर सोचौँ र संविधान संशोधनमार्फत जनताको साथ लिएर इमानदारसाथ निम्न कदम चाल्न आवश्यक छ ।  

–विज्ञको अध्ययन र सुझाव अनुसार विद्यमान सङ्घीय सरकारको मन्त्रालयको सङ्ख्यालाई कायम गरौँ । मन्त्रालय नेतृत्व गर्न राजनीतिक दलबाट मापदण्ड बनाई सम्भव भएसम्म विषयगत विज्ञ पठाउने व्यवस्था गरौँ । 

–समानुपातिक व्यवस्था खारेज गरी सम्पूर्ण पक्षको उचित प्रतिनिधित्व हुने गरी प्रत्यक्ष निर्वाचन प्रणालीमा हुने व्यवस्था गरौँ ।

–प्रदेश खारेज गरी यसको मूल मर्मअनुसार स्थानीय सरकारलाई थप अधिकार र स्रोत साधन सम्पन्न बनाउने । स्थानीय सरकारलाई प्रभावकारी बनाउन काम, कर्तव्य, अधिकार एवं जनप्रतिनिधिको न्यूनतम योग्यतालाई परिभाषित गर्ने ।

–विद्यमान रूपमा रहेका विभिन्न निकाय एवं विभागको उपयोगितालाई लेखाजोखा गरी अनावश्यक संरचना खारेज गर्ने ।

–राज्यको स्रोतलाई उत्पादनशील कार्यमा लगाउने । स्वरोजगार एवं उद्यमशीलतालाई जोड दिने ।

–एक स्थानीय तह एक उत्पादनमा जोड दिँदै सम्भाव्यताअनुसार उद्योग एवं बजार व्यवस्थानलाई ध्यान दिने । जस्तै स्याउको पकेट क्षेत्रमा स्याउको जुस बनाउने उद्योग खोल्ने । 

–सबै खाले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने ।

–समग्र विकासमा अघि रहेको स्थानीय तह, विभाग, मन्त्रालय आदिलाई पुरस्कृत गर्दै यसका असल अभ्यासलाई व्यापक बनाउने ।

–देशमा नै आत्मनिर्भर हुने वस्तुहरूमा आयात प्रतिबन्ध लगाई निर्यातमा विशेष सहुलियत दिने ।

–हरेक क्षेत्रमा मौलाएको बिचौलियाको अन्त्य गर्ने ।

–विद्यालय तहमा देशप्रेम, उद्यमशीलता स्वरोजगार एवं नैतिक शिक्षा दिने ।

–शिक्षामा आमूल परिवर्तन ल्याई माध्यमिक तहसम्म निःशुल्क एवं सबै बालबालिका सामुदायिक विद्यालयमा अध्ययन गर्ने वातावारण बनाउने ।

–सबै नागरिकको स्वास्थ्य बिमा गरी स्वास्थ्य सेवा सहज एवं सुलभ रूपमा प्रदान गर्ने । 

हामीले चाहेको परिवर्तन यही हो । यसलाई आत्मसात् गर्ने राजनीतिक दल नै साँचो रूपमा जनताको दल हुन सक्छ न कि भाषण बाजी गर्ने, झुटा सपना देखाउने । हामी जनतालाई कुन दलले सरकार चलायोभन्दा पनि कुन दलले जनतालाई केन्द्रबिन्दुमा राखी जनताको अवस्थामा परिवर्तन ल्यायो भन्ने विषय महत्त्वपूर्ण हुन्छ । 

उल्लिखित विषयवस्तुमा अन्य सवाल पनि थप हुन सक्छन् । मात्र सवाल के हो भने नेपाली माटो सुहाउँदो शासन व्यवस्था एवं प्रणालीलाई अवलम्बन गरेमा जनताको असिम त्याग र बलिदान गरेर ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र झन् बलियो एवं जनमुखी हुन सक्छ । अब देश र जनताले कुनै पनि रूपमा थप आन्दोलन र रक्तपात चाहेका छैनन् । बस एक मात्र चाहना हो– नेतृत्वहरू सुध्रने । अझै जनताको आशा पूर्वराजा महाराजाभन्दा पनि विद्यमान लोकतान्त्रिक दल र तिनका इमानदार नेता र कार्यकर्तामा छ । देशको लागि केही गर्छु भन्ने भावनाका साथ अघि बढेका युवा, विज्ञ एवं समाज सेवीलाई अवसर देऊ, जनताको जायज मागलाई समयमा नै सम्बोधन गरी देशलाई उन्नति र समृद्धिको बाटोमा लैजाऔँ । अनि मात्र जनताको नेता हुनेछौँ अनि जनताको अपार माया, साथ सदैव पाउने छौँ । यदि अझै पनि जनतालाई दास, भेडा सम्झेर पुरानै कर्तुत जारी राखेमा सदाका लागि जनताको नजरमा कहिल्यै उठ्न नसक्ने गरी गिर्ने छौँ । देश र जनताले सदैव दुःख पाउने कुरा पक्का नै छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद देवकोटा
विनोद देवकोटा
लेखकबाट थप