सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
आर्थिक कुशासनको सवाइ

सुनसँगै भरिया समातिने, मालिक पत्तै नलाग्ने !

सोमबार, ०२ पुस २०८०, १५ : ०४
सोमबार, ०२ पुस २०८०

नेपाल विश्व मानचित्रमा सानो देश भए पनि यहाँ निकै ठुला आर्थिक चलखेलका समाचार आइरहन्छन् । दिनदिनै नयाँ नयाँ घटना सुन्न पाइन्छ, पढ्न पाइन्छ । 

हिजोआज जनतालाई पनि यस्तै यस्तै खबर चाहिएको छ कि जस्तो लाग्न थालेको छ । लाग्छ पत्रुको भाउमा निजीकरण गरिएका उद्योग, कलकारखाना विराटनगर जुट मिल, हेटौँडा कपडा, बाँसबारी छाला जुत्ता, जनकपुर चुरोट कारखाना, भृकुटी कागज, गोरखकाली टायर आदि सबै आफैँ पत्रु थिए । लाउडा काण्ड, धमिजा काण्ड, सुडान घोटाला, वाइडबडी जस्ता घटना त पुराना भए, त्यतातिर कसैको चासो नै छैन । 

ओम्नी र पुनर्निर्माणमा भएका घोटाला त झन् घोटाला नै होइनन् भन्छन् । महामारी र प्राकृतिक प्रकोपमा प्रभावित जनताहरूलाई प्रभावकारी रूपमा प्रदान गरिएको राहत र सहयोग पो रहेछ । हामीले यसैलाई पत्याइदिनुपरेको छ ।  

अयोग्य लडाकु व्यवस्थापनमा पुष्पकमल दहाल ‘प्रचण्ड’ ले गरेको अर्बौंको भ्रष्टाचार हेर्न नसकेर माओवादी पार्टी छोडेँ भनेर केही वर्ष पहिले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सार्वजनिक रूपमै अभिव्यक्ति दिएका थिए । तिनै प्रचण्ड अहिले देशको प्रधानमन्त्री छन् । उनी भन्छन्, सुशासन दिने सरकार यही नै हो । तर आर्थिक कुशासनको अवस्था भने दिनदिनै डरलाग्दो बन्दै गएको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक रुटिनकै रूपमा हुने सुन तस्करीका घटनाहरूले ललिता निवास जग्गा प्रकरण र झुटो भुटानी शरणर्थी प्रकरण जस्ता हेभी वेट प्रकरणलाई समेत ओझेलमा पारिदिएको छ । पत्रिकामा प्रकाशित खबरहरूलाई आधार मान्ने हो भने पछिल्लो ६ महिनामा २ क्विन्टल तस्करीको सुन बरामद भएको छ । तस्करीको यो ग्राफ दिन प्रतिदिन बढेर विगत एक हप्ताको अन्तरालमै साढे २९ किलो तस्करीको सुन बरामद भएको छ । तर यस मामलाका जानकारहरू भन्ने गर्छन्‐ यो त समातिएको सुन मात्रै हो, तस्करी भएको सुनको परिमाणको त हिसाब नै छैन । अझ सुन बरामदको समाचार अप्ठ्यारो परिस्थितिको विषयान्तर गर्ने सरल माध्यम भएको छ । सुनसँग भरिया समातिने, मालिक कहिल्यै पत्ता नलाग्ने अवस्था छ । कहिले भरिया समातिने सुन हराउने गर्छ । कहिले १०० किलो समातिएको सुन पछि ६० किलो मात्रै हुन्छ भने समातिएको सुन पछि गएर पित्तल भइदिने गरेको छ । देशमा यस्तो बाह्रमासे गाईजात्रे अवस्था त छँदैछ त्यसमाथि देशका प्रधानमन्त्री अझ थप्छन्‐ अबको एक वर्ष मेरै नेतृत्वको सरकार रहन्छ । हेर्दै जानुहोला म अझ केके गर्छु । त्यहीबेला हट न्युजका रूपमा एनसेलको आर्थिक कुशासनको घटना रूप परिवर्तन गरेर बाहिर आएको छ । 

अहिले एनसेल भनेर चिनिने दूरसञ्चार कम्पनी आजभन्दा १९ वर्ष पहिले सन् २००४ मा बहुराष्ट्रिय कम्पनीका रूपमा स्पाइस नेपाल प्रालिको नामले नेपाल भित्रियो । यसले १७ सेप्टेम्बर २००५ बाट मेरो मोबाइल नामबाट मोबाइल फोन सेवा सञ्चालनमा ल्यायो । सेवा विस्तार गर्ने क्रममा अक्टोबर २००८ मा टेलियासोनेरा कम्पनीलाई केही सेयर बिक्री ग¥यो र मार्च १२, २०१० मा मेरो मोबाइल कम्पनीलाई एनसेलमा नाम परिवर्तन ग¥योे । त्यसै वर्ष आफ्नो सेवालाई विस्तार गरी देशको हरेक भागमा पहु‘च बढायो र थ्रिजी सेवा पनि सञ्चालन ग¥योे । यसै क्रममा टेलियासोनेरा कम्पनीले आफ्नो सेयर मलेसियन टेलिकम समूहको एजियटा कम्पनीलाई बिक्री गरी एनसेलबाट बाहिरियो । त्यसपछि सन् २०२० अगस्ट ३ मा एनसेल पब्लिक लिमिटेड कम्पनीमा परिणत भई आफ्नो नाम एनसेल अजियटा लिमिटेड राख्यो । अहिले त्यही एनसेल अजियटा कम्पनीले आफ्नो सेयर गैरआवाशीय नेपाली शतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई ६ अर्ब मूल्यमा बिक्री गरेको समाचार आएको छ । कम्पनीको २० प्रतिशत सेयर शतीश लालकी श्रीमती भावनासिंह श्रेष्ठको नाममा पहिलेदेखि नै छँदैछ । एनसेलको सम्पत्ति २ खर्ब बराबर रहेको खबर बाहिरिएको छ । ग्राहक र साझेदार गरी एनसेलको परिवार सङ्ख्या १ करोड ६० लाख छ भनेर एनसेल आफैँ भन्छ । नेपाल सरकारसँगको सम्झौता अनुसार अबको ६ वर्षपछि सो कम्पनी नेपाल सरकारको स्वामित्वमा आउने छ । आखिर एनसेल अजियटाले यस्तो अवस्थामा किन बिक्री ग¥यो त कम्पनी ? एनसेल अजियटा भन्छ, नेपालमा लगानीको वातावरण नै छैन । तर जानिफकारहरू यो एनसेलको नाटक हो । कम्पनीलाई सरकारी स्वामित्वमा जानबाट रोक्ने एउटा उदाङ्गो नाटक हो । कम्पनी घाटामा नै गएको हो भने शतीशलालले अबको ६ वर्षमा लगानी कसरी उठाउलान् त ? त्यो पनि अजियटालाई पनि सर्त अनुसार मुनाफा वितरण गरेर । 

एनसेल सुरुदेखि नै विवादित कम्पनी हो । नेपालमा यसको १९ वर्षे इतिहासमा धेरै पटक स्वामित्व किनबेच भइसकेको छ । यसरी पटक पटक स्वामित्व किनबेच भइरहनु कर छल्ने प्रपञ्च हो भनी जानकारहरूले पहिलेदेखि नै भन्दै आएका छन् । अझै पनि एनसेलमाथि ५७ अर्ब ९० करोड लाभांश कर छली गरेको मुद्दा अदालतमा विचाराधीन नै छ । एनसेलले नेपालमा पैसाले सबैलाई प्रभावमा पार्न सकिन्छ भन्ने राम्ररी बुझेको थियो । त्यसै ग¥योे, गर्दै आइरहेको छ र अहिले गर्न खोजेको पनि त्यही हो । अझ रोचक कुरा त एनसेलले भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनल नेपाल (टीआई नेपाल) लाई पनि प्रभावमा पार्न सफल भयो । 

ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आफूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा भ्रष्टाचारविरुद्ध सक्रिय संस्था ट्रान्सपरेन्स इन्टरनेसनलको नेपाल च्याप्टर भन्ने गर्दछ । कोअलिसन अगेन्स्ट करप्सन् उसको मूल मन्त्र नै हो । तर बिडम्बना, तिनै विपरीत स्वार्थ र उद्देश्य बोकेका दुई संस्थाबिच सन् २०१४ मा एनसेलको आर्थिक सहयोगमा टीआई नेपालले देशका विभिन्न भागमा कार्यक्रमहरू गर्ने सहकार्यको सहमति भएको हो । कार्यक्रमको नाममा टीआई नेपाललाई पैसा दिने अनि टीआई नेपालले एनसेलको प्रचार प्रसार गर्ने उद्देश्य थियो । 

टीआई नेपाललाई बजेट र एनसेललाई शुद्धीकरणमा सहयोग चाहिएको थियो । कुरा मिल्यो अनि दुवै पक्षबिच पहिलो चरणमा डेढवर्षे सहकार्यको सहमति बन्यो । सम्झौता पत्र हस्तान्तरणको दिन होटल एभरेस्ट, बानेश्वरमा एक भव्य समारोह राखियो । सभाहल यसरी सिँगारिएको थियो मानौँ कुनै राजा महाराजाको सवारी हुँदैछ । पूरै सभाहललाई एनसेलमय बनाइएको थियो । मञ्चदेखि दर्शक, श्रोता दीर्घा बस्ने कुर्सी टेबलसमेत एनसेलको लोगो र रङको कपडाले बेरिएको थियो । अतिथिहरूका लागि तरह तरहका पकवान सजाएर राखिएका थिए । कार्यालयको कोठामा सम्झौता पत्रमा हस्ताक्षर गर्नुको साटो बाहिर तडकभडकको साथ गर्नु एनसेलको रणनीति थियो । तर टीआई नेपालले भने यसबाट आफूलाई गौरवान्वित महसुस ग¥यो । त्यसपछि टीआई नेपाल एनसेलको ब्यानर बोकेर देश दौडाहामा लाग्यो । सम्झौता अवधि सकिन लागेपछि टीआई नेपाल फेरि एनसेलको ढोका ढकढक्याउन पुग्यो । तर एनसेलले देउसिरे भनेन, दक्षिणा पनि दिएन । 

एउटा भ्रष्टाचारविरोधी संस्थाले १८ महिना आफ्नो गुणगान गाइदिएपछि उसले त्यतिलाई नै यथेष्ट मान्यो । टीआई नेपालले बल्ल एनसेलको रणनीति बुझ्यो । ऊ पनि के कम, ठुला ठुला होटलका कार्यक्रम, मिठा मिठा भोजन, चिल गाडीमा उडेर गरेको सबै बिर्सेर अलिकति अप्ठ्यारो पनि नमानी एउटा कार्यक्रममा एक जना कार्यकारी समिति पदाधिकारीमार्फत भनिदियो‐ एनसेलसँग साझेदारी गरेर गल्ती भएछ । 

तर प्रेस विज्ञप्ति निकाल्नु नै आफ्नो उपलब्धि ठान्ने टीआई नेपाल यत्रो यत्रो आर्थिक चलखेलमा मुछिएको एनसेलविरुद्ध चुइँक्क बोल्न सकेको छैन, बोल्न आवश्यक ठानेको छैन । किनभने उसले एनसेलको नुन खाएको छ । नेपालीहरू नुनको सोझो गर्छन् भन्ने एनसेललाई थाहा छ । त्यसैले ऊ आवश्यकताअनुसार सरोकारवालाहरूलाई नुन खुवाइदिन्छ । अनि आफू ढुक्कसँग खेलो फड्को गर्छ । घटना सुन्दा यस्तो लाग्छ, एनसेल त उसको छोटकरी रूप हो । पूरा नाम चाहिँ‘ नेपाल सेल । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मोहन बुढाथोकी
मोहन बुढाथोकी
लेखकबाट थप