सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति

शुक्रबार, ०२ जेठ २०८२, २२ : २४
शुक्रबार, ०२ जेठ २०८२

तनहुँ । जिल्लास्थित डिभिजन वन कार्यालयले चितुवाको आक्रमणमा परी मृत्यु भएका यहाँका १४ परिवारलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ४० लाख प्रदान गरेको छ ।

जिल्लाको विभिन्न स्थानमा भएका चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकामध्ये १४ जनाका परिवारलाई जनही रु १० लाखका दरले उक्त रकम हस्तान्तरण गरिएको हो । 

मृत्यु भएका दुई जनाका परिवारलाई रु २० लाख भुक्तानी दिन बाँकी रहेको डिभिजन वन कार्यालयका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिए । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा रु १० लाख दिने व्यवस्था भएको जनाउँदै उनले रकम निकासा नभएकाले भुक्तानी दिन बाँकी रहेको बताए ।

उनका अनुसार वन्यजन्तुको आक्रमणबाट घाइते भएका २१ जनालाई रु नौ लाख ४५ हजार ५२६ उपचार खर्च प्रदान गरिएको छ ।  वि.सं २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिका गरी १६ बालबालिकाको मृत्यु भइसकेको छ ।

चितुवा आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालयको सक्रियतामा चितुवा नियन्त्रणका लागि पासो थपिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणका लागि सहज भएको डिभिजन वन कार्यालयले जनाएको छ ।

चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायत पालिका बढी प्रभावित छन् । चितुवाको आक्रमणबाट सबैभन्दा बढी भानु नगरपालिका प्रभावित भएको छ भने हाल बन्दीपुर गाउँपालिकामा पनि आतङ्क बढेको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे । उनका अनुसार विभिन्न ठाउँमा गरी २० स्थान पासो राखिसकिएको छ ।

एकपटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको वन अधिकृत नवीन विश्वकर्माले बताए । चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लै छाड्न नहुने उनको भनाइ छ ।

साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन विश्वकर्माले स्थानीयलाई आग्रह गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप