सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

अब मध्य पहाडी क्षेत्रमा अरू कम्युनिस्ट हुँदैनन्, एमाले मात्र हुन्छ : योगेश भट्टराई

‘एमालेको समर्थनमा प्रचण्ड फेरि प्रधानमन्त्री हुन धेरै गाह्रो छ’
मङ्गलबार, ०३ पुस २०८०

नेकपा एमालेले हालै मध्यपहाडी पुष्पलाल लोकमार्ग अन्तर्गत समृद्धिका लागि संकल्प यात्रा सम्पन्न गरेको छ । अभियानका रुपमा सञ्चालित तीन साता लामो संकल्प यात्रा एमालेका लागि कति उपलब्धिमुलक बन्यो ? यस क्रममा जनताबाट कस्ता प्रतिक्रिया आए र एमालेले त्यसलाई कसरी ग्रहण गरेको छ भन्ने विषयमा केन्द्रित रहेर रातोपाटीले नेकपा एमालेका सचिव योगेश भट्टराईसँग कुराकानी गरेको छ ।

प्रस्तुत छ, पूर्वमन्त्री तथा एमाले सचिव योगेश भट्टराईसँग गरिएको कुराकानीको सम्पादित अंश

  • एमालेको यो यात्राको उद्देश्य के थियो ?

यसमा हामीले मुख्य ६ वटा उद्देश्य भनेका थियौँ । मध्य पहाडी क्षेत्रमा विकास निर्माणको अवस्था के छ भन्ने बुझ्ने । दोस्रो, यो क्षेत्रबाट लागातार बसाइँसराइ तीव्र गतिमा बढिरहेको छ भन्ने अध्ययन गर्ने । तेस्रो, यो व्यवस्था र संविधानप्रति जेजस्ता आलोचना, विरोधहरू भइरहेका छन्, त्यस विषयमा आम जनतालाई स्पष्ट गर्ने, सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई बलियो बनाउने । चौथो, पहाडमा व्यावसायिकता र उत्पादनको अवस्थालाई कसरी माथि उठाउन सकिन्छ भन्ने अध्ययन गर्ने, समग्रमा स्थानीय तह र आधारभूत तहसँग सम्बन्ध स्थापना गर्ने र त्यसको सन्देश राष्ट्रिय स्तरसम्म फैलाउने । यिनै उद्देश्यका साथ यो कार्यक्रम अगाडि बढाएका थियौँ ।

  • तपाईंले पाँच छवटा उद्देश्य भन्नुभयो, खासगरी एमाले त्यहाँ परिचित थिएन र ? अथवा एमालेलाई ती ठाउँका बारेमा थाहा थिएन र ?

थाहा थियो, धेरै ठाउँका क्षेत्रमा हामी जनप्रतिनिधि नै थियौँ । ती क्षेत्रबाट जनताले लगातार अनुमोदित पनि गरिरहेका छन् । तर पार्टीको सिङ्गो नेतृत्व टिम एक पटक त्यो ठाउँमा पुग्नु र आम जनसमुदायसँग साक्षात्कार गर्नु, विभिन्न राजनीतिक दलसँग सम्बद्ध र अन्यसँग अन्तक्र्रिया गर्नु बुद्धिजीवी, व्यवसायी र विभिन्न पेसा व्यवसायमा लागेका व्यक्तिको अवस्था बुझ्नु, विकास निर्माणको अवस्था स्थलगत रूपमा बुझ्नु, समस्याहरूको पहिचान गर्नु थियो । यी कुराहरू हिजो हामीले पढेको पढाइएको बुझाइ भन्दा यथार्थ धरातलमा बुझ्दा त्यो ज्यादा प्रभावकारी हुन्छ भन्ने लागेर नै त्यो कार्यक्रम गरेका हाँै ।

पार्टीको अध्यक्षसहित  सिङ्गो पार्टी नेतृत्व त्यहाँ पुग्दा जनतामा नयाँ आशा जग्छ । नयाँ सङ्कल्पहरू हुन्छन् । मानिसहरूमा एक किसिमको हुटहुटी पनि जाग्छ । पार्टी पङ्क्ति पनि सक्रिय हुन्छ ।

यो एमालेको मात्र अभियान थिएन । एमालेसहितको सिङ्गो मुलुकको अभियान थियो । किनभने हाम्रा प्रतिद्वन्द्वी पार्टीका साथीहरू पनि आएर अध्यक्षसँग कुराकानी गर्नु भएको छ । स्थानीय पालिकाका प्रतिनिधिहरू जो हाम्रा पार्टीका हुनुहुन्न, उहाँहरूले आएर ज्ञापन पत्र बुझाउनु भएको छ । विकास निर्माणको अवधारणाका बारेमा बताउनु भएको छ । यसबाट हिजोको बुझाइभन्दा धेरै नै दूरगामी बुझाइ यस अभियानबाट प्राप्त गरेका छौँ ।

  • जुन लोकमार्ग हिँड्नु भयो, त्यो पनि कति बनेछ भनेर हेर्नुभयो होला नि ?

२०६५६६ सालमा हामीले यसको निर्माण कार्य अगाडि बढाएका हौँ । नेकपा (एमाले) ले यसलाई पुष्पलाल लोकमार्गका रूपमा अगाडि बढाएको छ । पुष्पलाल पहाडी भेगकै, रामेछापको हुनुहुन्थ्यो । उहाँ सिङ्गो मुलुकको कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने हाम्रो संस्थापक पनि हुनुहुन्थ्यो । यो वर्ष कम्युनिस्ट स्थापनाको ७५औँ वर्ष पनि हो । त्यसैले यस क्षेत्रमा नेकपा (एमाले) अलिबढी लगाव, प्रेम यो बाटोप्रति छ ।

त्यसैले जतिबेला एमाले सरकारमा आउँछ त्यतिबेला यसको निर्माणले अलि तीव्रता पाउँछ तर अरू पार्टी सरकारमा आउँदा सायद पुष्पलालको नाम जोडिएर होला, काम ढिलो हुन्छ । जस्तो मनमोहन अस्पताल नाम राखेकाले मेडिकल अस्पतालले स्वीकृति पाउँदैन यहाँ । मदन भण्डारी इन्स्टिच्युट भनेर राखियो भने सरकारले बजेट दिँदैन । यस्ता पूर्वाग्रही सोच हाम्रो देशमा कायम छन् ।

यो १८०० किलोमिटर बाटो कालोपत्रे भइसक्नु पर्थ्यो । अझै पनि जाजरकोट खण्डमा करिब १० किलोमिटर ट्रयाक ओपन हुन बाँकी नै छ । त्यहाँ जग्गाको विवाद, ठूलो चट्टानको समस्या छ । यदि हामी सरकारमा थियौँ भने त्यो ठुलो कुरा थिएन, जोडिइसक्थ्यो होला । यस्तै पाँचथरको थर्पुदेखि चिवाभञ्ज्याङसम्म पनि पिच भएको छैन । त्यस्तै अन्यत्र पनि कतिपय ठाउँमा कालोपत्रे भएको छैन । समग्रमा हेर्दा झन्डै ७० प्रतिशत कालोपत्रे भएको छ । तर अझै कतिपय ठाउँमा जग्गा विवाद छ, सडकको नाममा आएको छैन । काम अति सुस्त छ ।

यो अभियानमा एमालेको यत्रो टोली आउँदैछ भनेर सरकार र कर्मचारीलाई परेर होला, केही ठाउँमा बाटो पन्छाउने, डोजर लगाउने काम भइरहेका थिए । तर जहाँ काम हुनुपर्ने हो, त्यहाँ तीव्र गतिमा काम भएको छैन ।

  • काहीँकाहीँ चाहिँ जुन एक जना चर्चित ठेकेदार, पार्टीमा पनि तपाईंले भित्र्याउनुभयो, उहाँले पनि काम नगरेको भेट्टाउनु भयो ?

हुनसक्छ । त्यो पप्पुजीसँग यो बाटोको सम्बन्ध छैन । उहाँ ठेकेदार हो, ठेकेदारको ढङ्गले व्यवहार गर्नुपर्छ । राजनीतिसँग जोड्न आवश्यक छैन । शारदा अधिकारी, पप्पु यादव लगायतलाई राजनीतिसँग जोड्नु हुँदैन ।  उनीहरू निर्माण व्यवसायीहरूको नर्मसभित्र बसेर काम गर्छन् । उनीहरूलाई राज्यले सहयोग गर्नुपर्छ । निर्माण व्यवसायी र सरकारबिच जे सम्झौता भएको हुन्छ, त्यसभित्र बसेका छैनन् भने सम्झौता भङ्ग हुन्छ । जस्तो पप्पुको सम्झौता हाम्रै पालमा भङ्ग गरेका हौँ । ब्ल्याक लिस्टेड हामीले नै गरेका हौँ । आज हाम्रो पार्टीमा हुनुहुन्छ ।

  • पहाडबाट मूलतः बसाइँ सराइ हुने समस्या छ भनेर तपाईंहरूले भन्नुभएको पनि छ । त्यहाँका अघि तपाईंले भन्नुभएका लगायत बाटो, खानेपानी, अस्पताल अभाव जस्ता समस्या अब समाधान हुन्छन् ?

हामी हिँड्दैमा, हाम्रा गाडी कुद्दैमा यी समस्या समाधान हुँदैनन् । तर यसले एउटा सन्देशचाहिँ पक्कै दिन्छ । मध्यपहाडी क्षेत्र नेपालमा पाइने सबै अन्न उत्पादन हुने ठाउँ हो । नेपालको जति पनि हावापानीको विविधता छ, त्यो मध्य पहाडी क्षेत्रमा छ । फिदिम जाँदा गर्मी छ, चिवाभञ्ज्याङ, बसन्तपुर जाँदा हिउँ परिरहेको छ । हावापानी, अन्नबालीका हिसाबले यो विविधता छ । फलफूल, तरकारी खेती, पशुपालन पर्याप्त मात्रामा हुने ठाउँ हो । हाइड्रो र पर्यटन विकासका हिसाबले पनि त्यतिकै प्रबल सम्भावना छ ।

तर विकास निर्माणका हिसाबले पनि २०४६ सालभन्दा अगाडि जस्तो छैन । स्थानीय तह बनिसकेपछि बाटोघाटो बनेका छन्, यद्यपि बाटोको क्वालिटी छैन । तर मानिसलाई केही सहजता भएको छ । अप्ठ्यारो बाटो भए पनि गाडीहरू पुगेका छन् । मानिसले बारीमा फलेको फलफूल तरकारी नजिकको बजारमा पुर्‍याउन सकेका छन् । बिरामी हुँदा एम्बुलेन्स पुगेको छ । स्कुल हिजोभन्दा केही राम्रा छन् । तर २०७८ को गणना हेर्दा बसाइँ सराइ विगतको भन्दा बढिरहेको छ । त्यसको कारण खोजी गर्नु हाम्रो अभियानको उद्देश्य पनि थियो ।

बस्न असहज भयो भने मानिस बसाइँ सर्छ, अशान्तिले पनि मानिस बसाइँ सर्छ । माओवादी युद्धकालमा राज्य र माओवादीका तर्फबाट मानिस लखेटाइमा परेका थिए । बाढी पहिरोको चपेटाले पनि सर्छन् । यी तमाम समस्याको व्यवस्थापन गर्दै मध्य पहाडी क्षेत्रमा बसोबासलाई स्थिर गर्ने राष्ट्रिय नीति नै बनाउनु पर्छ भन्ने हाम्रो यो अभियानको एउटा ठुलो शिक्षा हो । त्यसका लागि तीनै तहका सरकारले दुई तीन वटा कार्य गर्नुपर्छ ।

थातथलो छोडेर गएका मानिस फर्किन्छन् भने केही इन्सेन्टिभ दिनुपर्छ । जस्तो तेह्रथुमको एउटा गाउँपालिकाले त्यसरी फर्केर आउनेलाई पाँच लाख प्रदान गर्ने प्रस्ताव गरेको थियो । त्यसबाट ५०, ६० घर फर्किए भन्ने सुनेको छु । त्यो एउटा महत्त्वपूर्ण उदाहरण हो । त्यस्तै एकीकृत बस्तीको अवधारणा ल्याएर मानिसलाई सुरक्षित ठाउँमा राख्नुपर्छ । त्यहाँ शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चारलगायतका सुविधा हुन्छ । पहाडी क्षेत्रमा रहेका रोजगारका अवसरहरू सम्बन्धित जिल्लाकालाई दिने व्यवस्था गरिनुपर्छ ।  

  • यो अभियानमा त्यस्ता समस्या पहिचान गर्न तपाईंहरू जस्ता नेताकार्यकर्ता मात्र थिए कि त्यस्तो क्षेत्रको अध्ययन अनुसन्धान गर्ने विज्ञहरू पनि थिए ?

हाम्रो टिममा इन्जिनियर, पूर्वाधार क्षेत्र, कृषि क्षेत्र, शिक्षा, स्वास्थ्य क्षेत्रमा काम गर्ने साथीहरू हुनुहुन्थ्यो । अध्यक्षले भाषण गरिरहँदा सम्बन्धित क्षेत्रका साथीले सरोकारवालहरूसँग भेटेर कैयौँ तथ्याङ्क सङ्कलन गर्नुभएको छ । काठमाडौँमा आएपछि त्यसलाई एकठाउँमा ल्याउँछौँ । त्यसको निचोड निकाल्छौँ । यो एमालेले राष्ट्रका निम्ति बनाएको एउटा ठुलो प्रोजेक्ट हो ।

पार्टीका लागि यो ठुलो डकुमेन्ट हो, यो राष्ट्रिय योजना आयोगलाई दिन्छौँ, नेपालका नीति निर्माण गर्ने तहलाई दिन्छौँ । हामी नै यसको विश्लेषण गर्छौं । अनि विकास निर्माण र सामाजिक रूपान्तरणमा हामीले कहाँ कहाँ फोकस गर्नुपर्ने रहेछ, त्यतातिर केन्द्रित हुन्छौँ ।

  • एमालेले चुच्चे नक्सा जारी गरेको थियो, यो अभियानको सुरु विन्दु किन झुलाघाट रोज्यो भनेर एक किसिमका मानिसहरूले भन्दै आएका छन् नि ?

त्यसको सीधा कुरा छ । यो मध्य पहाडी लोकमार्ग अभियान हो । यो मार्ग झुलाघाटबाटै सुरु हुन्छ । कालापानी टु कञ्चनजङ्घा यात्रा पनि कुनै बेला सुरु होला ।

  • आफ्नो मात्र सुनाउनु भयो कि, जनताबाट चाहिँ के सुझाव पाउनु भयो त ?

सिकाइमा सुन्ने, सुनाउने दुवै कुरा हुन्छ । जनताका कुरा धेरै सुन्यौँ, सुनायौँ । धेरै अन्तक्र्रियामा अध्यक्ष आफैँ बस्नु भयो । हामीले भनेका पनि छौँ । हिजो कतिपयले मधेस र पहाडलाई भड्काउने काम गरे, एमाले त्यसमा ठिङ्ग उभियो । त्यति बेला एमालेलाई गलत बनाउने कोसिस भयो । तर यो अभियानले एमाले सही साबित भयो ।

अहिले पूर्वी पहाडमा मान्छे भड्काउन खोजिरहेका छन् । हामीले त्यसलाई पर्याप्त सम्बोधन गर्ने कोसिस गरेका छौँ ।

  • जनताले चाहिँ के सुझाव दिए ?

राम्रो काम गर्नुस्, एमाले बलियो विकल्प हो भनेका छन् ।

  • कति खुसी छन् ?

खुसी पनि छन्, बेखुसी पनि छन् । मध्यपहाडी क्षेत्रका मानिसहरू मध्यम वर्गीय नै छन् । तर केही ठाउँमा गरिबी ज्यादा छ । कतिपय दलित बस्ती छन् । सामाजिक विकासका हिसाबले पछाडि परेका छन् । ती मानिस दुःखी पनि छन् ।

मध्यम वर्गका मानिसले बाँच्नका लागि सङ्घर्ष गरिरहेका हुन्छन् । त्यसमा राज्यले अलिकति टेवा गरिदिए हुन्थ्यो भन्ने उनीहरूको चाहना हुन्छ । त्यो उनीहरूले व्यक्त गरेका छन् । स्कुल राम्रो बनाइदिनुस्, अस्पताल बनाइदिनुस्, बाटो राम्रो बनाइदिनुस्, वनजङ्गलका जडीबुटी प्रयोग गर्न दिनुस् भनेका छन् । हाइड्रोको रोयल्टी यहाँको पालिकालाई दिनुस् भनेका छन् ।

  • कतिपयले यो एमालेको यात्रा हो कि केपी ओलीको यात्रा हो भनेर टिप्पणी पनि गरेका छन् ?

यो एमालेले आयोजना गरेको राष्ट्रिय यात्रा हो । केपी ओली र एमाले त्यहीँ भित्र छ । यसलाई एमालेको मात्र भनेर सीमित नगरौँ ।

  • अध्यक्षले मात्र बोल्नुभयो, अरूले बोल्नु भएन भन्छन् नि ?

यसलाई दुईवटा कोणबाट हेरिनुपर्छ । एक दिनमा कमसे कम चार पाँचवटा कोणसभा र एउटा ठुलो सभा भयो, सामान्य भेटघाट धेरै नै भए । अरूबेलाको जस्तो घोषित आमसभा पनि होइन । केहीले अन्य नेताहरूलाई सुन्न खोजे पनि मुख्य रूपमा अध्यक्षलाई नै सुन्न खोजेका थिए । त्यसैले छोटो समयभित्र अध्यक्षले नै त्यो सन्देश दिनु उपयुक्त हुन्थ्यो ।

अर्को, यो अभियानको मुख्य नेता नै केपी ओली हो । उहाँले प्रस्तुति दिनु नौलो होइन । उहाँले नै राष्ट्रका ज्वलन्त समस्यामा पार्टीको धारणा राख्ने हो । अध्यक्ष भनेको राजनीतिक नेता पनि हो, साङ्गठनिक नेता पनि हो, प्रवक्ता पनि हो । उहाँले बोलेको अन्य पदाधिकारीले बोले सरह हो ।

  • कार्यक्रम गर्दै आउँदा माझ किराँत भन्ने ठाउँमा आएपछि कार्यक्रम गर्न सक्नुभएन नि ?

खोटाङमा भयो, दिक्तेलमा भयो । हाम्रो पूर्वनिर्धारित कार्यक्रम हर्कपुरमै थियो । त्यसपछि हलेसीमा पनि भयो । भोजपुरमा ठुलै कार्यक्रम हुन्थ्यो, मौसम प्रतिकुल भयो । वसन्तपुर पुगेपछि निकै ठुलो कार्यक्रम भयो । केही ठाउँमा अवरोध गर्न खोजियो, त्यसलाई एमालेले पन्छाउँदै, बुझाउँदै गयो ।

जो अवरोध गर्ने भन्ने समूह छ, उनीहरूबिच पनि एकमत छैन । केही अतिवादी छन्, गोपाल किराँती जस्ता अतिवादी छन् । तिनीहरूले एमालेको चिहान खन्छौँ भने, केपी ओलीलाई यहीँ गाड्छु भने, मेरो पनि नाम हाले । ती अतिवादी हुन्, ती पहिचानवादी होइनन्, विखण्डनवादी हुन् । पहिचानवादीसँग हाम्रो सौहार्द्रपूर्ण कुराकानी भयो ।

  • द्वन्द्व बढाउने कामचाहिँ किन गर्छ एमालेले ? पहिचानवादीसँग त कुरै गर्दैन एमाले ? पेलेरै जान खोज्छ ।

हामीसँग कुरा गर्न आउनु भनेर त पटक पटक भनिरहेका छौँ । हिक्मतजी मुख्यमन्त्री हुँदा वार्ता कमिटी नै बनाइयो । तर उहाँहरू आउनै चाहनु भएन । आजको सरकारले के गर्दै छ ? आज जो उहाँहरूसँग वार्ता पनि गर्दैन, प्रचण्डजीहरू मित्र भए, जो यत्रो इन्टर्‍याक्सन गरिरहेका छौँ जनतासँग गएर, अध्यक्ष ओलीसँग आएर यो कोशी प्रदेश नामकरण बदल्नुस भनेको भए गोपाल किराँतीको हाइट कहाँ पुग्थ्यो ? तर त्यो बुद्धि उहाँसँग छैन ।

  • तपाईंसँग यति धेरै रिसिइबी पहिचावादीहरूले किन गरे ? केपी ओलीसँग वक्तव्यमा नाम जोडिएर आउँछ, तपाईंको गाडीसमेत फोरिन्छ, किन ?

त्यो बितेको कुरालाई म दोहोर्‍याउँदिन । हाने, एक दुई जनाले ढुङ्गाले मेरो गाडीको अलिकति सिसा फुट्यो । त्यसले कोशी प्रदेशको नाम त बदलिँदैन ।

  • यस पटक एमालेमा पार्टी प्रवेश गरेनन्, प्रवेश नै गराउन चाहनु भएन कि ?

यो विषयमा हामीले त्यति धेरै फोकस गरेनौँ । जिल्ला जिल्लामा कार्यक्रमहरू हुन्छन्, त्यहाँ प्रवेश गर्नुहुन्छ । तर समग्रतामा अब मध्य पहाडी क्षेत्रमा अरू कम्युनिस्ट हुँदैनन्, एमाले मात्र हुन्छ ।

  • भनेपछि फुटको असर रहेछ ?

छ नि, किन नहुनु । त्यसलाई हामीले कसरी इन्कार गर्नु । तर अब एउटै पार्टी हुन्छ एमाले, मध्य पहाडी क्षेत्रमा ।

  • अरू माओवादी, एकीकृत समाजवादी बाँकी रहँदैनन् ?

कांग्रेसले अलि अलि काँध थापुन्जेल होला, एक दुई सिट । जब काँध छोड्छ, त्यहाँ कांग्रेससँग प्रतिस्पर्धा गर्ने ल्याकत राख्दैन ।

  • एमालेको यो सङ्कल्प यात्रा मध्यावधि चुनावसँग लक्षित छ पनि भन्छन् नि ?

कतिपय मानिस यो अभियानबाट त्रसित भएको पनि देखेँ । मध्यावधि चुनावको योसँग कुनै सम्बन्ध छैन, चर्चा पनि गरेनौँ । तर एमाले मुख्य पार्टी हो, यसले कुनै पनि विपत्तिको तयारीमा बस्नुपर्छ । अहिलेको टाउकाको पोलिटिक्स हेर्दा यिनीहरूले जसरी भ्यागुताको धार्नी एक ठाउँ बसेका छन्, मोलतोल मिलेन भने यो कुनै पनि बेला उफ्रिन्छ ।  त्यसको परिणति कि नयाँ सरकार बन्नु पर्‍यो, त्यसमा एमालेले पहल लिनु पर्‍यो । फेरि त्यसमा हामीले पनि कसैसँग जोडजाड गर्नुपर्‍यो । हामी यस कार्यमा त्यति इन्ट्रेस्ट छैनौँ । 

  • अध्यक्षले यही यात्राका क्रममा हामीले वैधानिक ढङ्गले सरकार ढाल्छौँ भनेर भन्नु भयो नि ?

एउटा प्रतिपक्षी दलले त्यो कोसिस त गर्छ, लुकाउनु पर्ने कुरा होइन । प्रतिपक्षी दल त वेटिङ फर गोभरमेन्ट पनि हौँ हामी । २०/२५ सिटको प्रतिस्पर्धी दल होइन नि ।

  • काठमाडौँमा जसरी यो व्यवस्थाको विकल्पको खोजी गर्नुपर्छ भनेर जुलुस भइरहेका छन्, तपाईंहरूको यात्रामा त्यहाँका जनताको के रहेछ ?

जनतामा मिश्रित प्रतिक्रिया छ । हिजोको व्यवस्थापन देखेर आएको जनताको ठुलो हिस्साले राजतन्त्रका बारेमा बुझेकै छन् । अहिलेको नयाँ पुस्ता जो सूचना प्रणालीबाट सुसूचित छ, उसलाई हिजोका कष्ट थाहा छैन । जेल पर्ने किन हो भन्ने थाहा छैन, आन्दोलन के हो भन्ने बुझेको छैन । उसमा अलिकति छटपटी हुनु स्वाभाविक हो । साथै यो व्यवस्था ठिक छ भन्ने स्ट्रोङ सपोर्टरहरू पनि छन् । तर बहुसङ्ख्यक यो व्यवस्थाका पक्षधर छन् ।

तसर्थ एमालेले अर्को एउटा अभियान गर्नुपर्छ, त्यो सहर केन्द्रित हुन्छ । त्यस्ता सहरहरूमा ५ दिन, १० दिन बसेर मानिसहरूसँग अन्तक्र्रिया गर्छौं हामी । सहर केन्द्रित युवाहरूमा यो व्यवस्थाप्रति किन विचनल आएको छ, अथवा उनीहरूका भावनालाई सम्बोधन गर्न सकिरहेका छैनौँ कि ? गर्नुपर्‍यो नि राज्यले, पार्टीहरूले । प्रचण्डजी राज्य पक्ष होइन, बरु एमाले राज्यपक्ष हो । किनभने अहिले बागमती प्रदेशलाई तामसालिङ भनेर नाम परिवर्तन गर्न सक्नुहुन्छ ? अस्ति भाषण नै गर्दै हुनुहुन्थ्यो । जनतालाई लडाउने भिडाउने काम गरिहाल्नु हुन्छ । आज पनि उहाँ विद्रोही नै हो ।

  • टपक्क टिपेर प्रधानमन्त्री बनाउनु हुन्छ अनि यसरी लाञ्छना लगाउन कसरी सक्नुहुन्छ ?

गरिखान्छन् कि भनेर गरेको, धोका दिए गए । के गर्नु त ? त्यसैमा कविता किन लेख्ने ?

  • अब प्रचण्डलाई प्रधानमन्त्री बनाउनु हुन्न ?

एमालेको समर्थनमा प्रचण्ड प्रधानमन्त्री हुन धेरै गाह्रो छ । अब राजनीतिमा असम्भव त केही हुन्न भन्ने छ । तर घटनाक्रमले उहाँ र एमालेको केमेस्ट्री त्यति मिल्छ जस्तो लाग्दैन ।

  • यो सरकार कहिलेसम्ममा ढाल्नुहुन्छ तपाईंहरू ?

कांग्रेसले कहिलेसम्म सिनो बोकेर हिँड्छ, त्यो कांग्रेसको काम हो नि ।

  • एमाले चाहिँ अब मिसन ८४ भनेर हिँड्यो भनेर बुझे भयो हैन ?

हाई साउन्डिङ हामीले गरेका छैनौँ । त्यसलाई पार्टीको इन्टरनल म्यासेज दिन खोजेकोे हो । पार्टीभित्र म्यासेज दिँदा बाहिर पनि जान्छ । यो ७९८४ खेर गयो, त्यसपछि हामीलाई देऊ, देश ट्रयाकमा ल्याउँछौँ भन्ने हो अब हामीले । त्यसका लागि पर्खिएका हौँ ।

  • नयाँ पार्टीहरूको अवस्था चाहिँ बुझ्नु भयो यात्राका क्रममा ?

नयाँ पार्टी के हुन् भन्ने सोधीखोजी छ, तर ठुलो सङ्गठन बनेको छैन, बन्ने सम्भावना कम देख्छु ।

  • एमालेलाई पनि धक्का दिन्छ भन्छन् ?

त्यो त पार्टीले सामना गरिहाल्छ नि । हामीलाई जितेर सिंहदरबारमा राज गर्छन् भने हस हजुर भन्नुपर्छ नि हामीले । एमाले त्यो डेमोक्रेटिक कल्चर भएको पार्टी हो नि 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया