बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

गण्डकीका चार सय ६७ स्थानमा डढेलो

सोमबार, १७ वैशाख २०८१, ११ : ४७
सोमबार, १७ वैशाख २०८१

कास्की ।  गण्डकी प्रदेशका विभिन्न चार सय ६७ स्थानमा डढेलो लागेको छ । प्रदेश वन निर्देशनालयका अनुसार हालसम्म करिब आठ हजार दुई सय ७७ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । सुक्खा याम लम्बिँदा डढेलोका घटना अझै बढ्ने देखिएको निर्देशनालयका वन अधिकृत तिलकबहादुर थापाले बताए ।  

हिमालपारिको जिल्ला मुस्ताङबाहेक प्रदेशका दसवटै जिल्लामा डढेलोका घटना भएको निर्देशनालयले जनाएको छ । सबैभन्दा बढी नवलपुरमा झण्डै २५ सय ५३ हेक्टर र सबैभन्दा कम मनाङमा दुई हेक्टर वन क्षेत्रमा डढेलो लागेको हो । सबैभन्दा बढी म्याग्दीमा ८१ र मनाङमा एक स्थानमा डढेलो लागेको वन अधिकृत थापाले बताए । 

नवलपुरमा ८० स्थानमा, पर्वतमा ५५, बागलुङमा ५२, स्याङ्जामा ५२, गोरखामा ५१, कास्कीमा ४५, तनहुँमा २६ र लमजुङमा २४ स्थानमा डढेलो लागेको उनको भनाइ छ । नवलपुरपछि सबैभन्दा बढी बागलुङमा १६ सय ८५ हेक्टर वन क्षेत्र डढेलोबाट प्रभावित बनेको छ । पर्वतमा १४ सय १६ हेक्टर, म्याग्दीमा नौ सय २२, कास्कीमा सात सय ५०, स्याङ्जामा चार सय ९७, गोरखामा दुई सय १५, तनहुँमा एक सय ८४ र  लमजुङमा ५१ हेक्टर वन क्षेत्रमा डढेलो लागेको निर्देशनालयले जनाएको छ । 

डढेलोले धनजनकोसमेत क्षति निम्ताएको वन अधिकृत थापाले बताए। बागलुङको तमानखोला गाउँपालिकामा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको र दुई जना घाइते भएको उनको भनाइ छ । ताराखोला गाउँपालिकामा स्थानीयवासीको घरगोठ जलेको र पशुधनको क्षति भएको उनले बताए । म्याग्दीमा पनि डढेलो नियन्त्रणमा लिने क्रममा एक जना घाइते भएको जनाइएको छ । 

निर्देशनालयका अनुसार डढेलोबाट नवलपुरमा ८५ क्यूफिट काठ र एक चट्टा दाउरा क्षति भएको छ । वन क्षेत्रमा हुने बोटबिरुवा, वन्यजन्तु, काठ र दाउराको क्षति भने आँकलन नै गर्न नसकिने वन अधिकृत थापाले बताए । 

डढेलोले पर्यावरणीय स्वच्छतामा पनि नकारात्मक असर पु¥याइरहेको वन अधिकृत थापाले बताए । नेपालमा मुख्य गरी फागुनदेखि जेठसम्ममा डढेलोका घटना बढी हुने गरेको उनको भनाइ छ । 

वन तथा वातावरण मन्त्रालयका उपसचिव प्रकाश थापाले गर्मीयाममा वनमा हुने पातपतिङ्गर र घाँसदाउरा बढी प्रज्वलनशील हुने हुँदा डढेलो छिटो फैलने गरेको उनको भनाइ छ । हिउँदे वर्षा नहुनु, हावाहुरीको याम जस्ता कारणले पनि डढेलोले प्रश्रय पाउने गरेको उपसचिव थापाले बताए । 

मानवीय कारणले नै डढेलो लाग्ने गरेको उनको भनाइ छ । आगो लगाउँदा घाँस र बुट्यान राम्रोसँग पलाउँछ भनेर व्यक्तिले जानजानी आगो लगाउँदा त्यो अनियन्त्रित भई डढेलोको रुप लिने गरेको उनको भनाइ छ । वन डढेलोका बहुअसर रहेको उपसचिव थापाले बताए । 

डढेलोले माटोको प्राङ्गारिक तत्व नष्ट हुने, जनजन्तुको बासस्थान नासिनेलगायतका समस्या निम्तने गरेको उनको भनाइ छ । डढेलोले भू–क्षय, बाढीजस्ता प्राकृतिक विपतका घटना पनि बढाउने उपसचिव थापाले बताए । 
डढेलो लगाउने व्यक्तिलाई कानुनबाट दण्डित गर्ने गरिएपनि यसमा कमी आउन नसकेको उनको भनाइ छ । जनचेतना फैलाउने र प्रचारप्रसारका काम गर्नुपर्ने उनले बताए । सुक्खायामपूर्व नै डढेलो संवेदनशील क्षेत्रबाट पातपतिङ्गरलगायत जल्ने पदार्थ हटाउनुपर्ने उपसचिव थापाले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप