बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय
इलाम-२ उपनिर्वाचन

मध्यान्तरमा सुहाङको प्रतिक्रिया : परिवर्तन र समृद्धिको पक्षमा जनमत देखियो

सोमबार, १७ वैशाख २०८१, ११ : ५२
सोमबार, १७ वैशाख २०८१

काठमाडौँ । इलाम–२ प्रतिनिधि सभा सदस्यको मतगणनामा अग्रता बढाउँदै लगेका एमाले उम्मेदवार सुहाङ नेम्वाङले समाज परिवर्तन र आर्थिक समृद्धिको पक्षमा जनमत देखिएको प्रतिक्रिया दिएका छन् । 

मतान्तर फराकिलो बनाउँदै गर्दा नेम्वाङले कांग्रेस उम्मेदवार डम्बरबहादुर खड्का भन्दा झन्डै चार हजार मतले अग्रता लिएका छन् । इलाम २ मा ६९ हजार २८७ मत खसेको थियो ।  

‘समाज परिवर्तन र आर्थिक समृद्धिका लागि अघि बढ्ने अभियानको सुरुवात भएको छ र यो अभियानलाई जनताले पनि हार्दिकताका साथ स्वागत गर्दै विश्वास गरेको पाइएको छ’, रातोपाटीलाई संक्षिप्त प्रतिक्रिया दिँदै सुहाङले भने, ‘मत दिने सबैलाई धन्यवाद दिन चाहन्छु । उहाँहरूको एकएक मतको मूल्याङ्कन गरेर संगठनसहित मिलाएर समृद्धिको यात्रामा अघि बढ्न मलाई थप जिम्मेवारी बढ्दै गएको महसुस भएको छ ।’ 

उनले फराकिलो मतान्तर देखिनुलाई नयाँ युगको सुरुवात भएको टिप्पणी गरे । ‘हाम्रा अग्रजहरूले जसरी रगत पसिना बगाएर व्यवस्था परिवर्तन र सबै पहिचानको हक अधिकार सुनिश्चित हुने संविधान बनाउनुभयो’, उनले भने, ‘त्यसपछि समाज परिवर्तन र आर्थिक समृद्धिका काममा ढिलासुस्ती भइरहेको अवस्थामा नयाँ युगमा प्रवेश गर्दा युवाहरूलाई अवसर दिलाउनुभएको थियो ।’ 

उनले इलामका सबै पालिका र वडाहरूमा घुम्दा सबैले माया गरेको भन्दै मतगणना बाँकी रहेका स्थानीय तहमा पनि आफ्नो लिड कायमै रहने विश्वास गरे ।

सुहाङले अग्रता बढाउँदै गर्दा कांग्रेसका डम्बर खड्का दोस्रो, तेस्रोमा स्वतन्त्र डकेन्द्रसिंह लिम्बु र चौथोमा रास्वपाका मिलन लिम्बुले पछ्याइरहेका छन् । यो समाचार तयार पार्दासम्म खड्का र लिम्बुको मतान्तर धेरै छैन । हालसम्म करिब साढे २७ हजार सदर मत गणना सकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप