आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

चोरीको ‘चल्ला’ समूह

बाबु–छोरा नै चोरीमा
मङ्गलबार, ०३ पुस २०८०, १९ : ४२
मङ्गलबार, ०३ पुस २०८०

काठमाडौँ । काठमाडौँमा हुने चोरीमा एउटा समूह बेला–बेला प्रहरीको निशानामा परिरहन्छ । भारतको बिहारस्थित समस्तीपुर, मोतिहारी र बैशाली जिल्ला घर भएका उनीहरु तिलगंगामा बस्छन् । अनि, बेलाबेलामा चोरीको आरोपमा पक्राउ पर्छन् ।

किशोर अवस्थाका उनीहरु चोरहरुको बिचमा ‘चल्ला ग्रुप’ भनेर चिनिन्छन् । चल्ला समूहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १८ वर्षका संजिव बानियाँ उर्फ घुच्की, १९ वर्षका किशन गिरी उर्फ फ्रुटी र २१ वर्षका कृष्ण पोदार छन् ।

काठमाडौँको फरक–फरक चोरीको घटनामा संलग्न आरोपमा उनीहरुलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी (एसपी) रविन्द्र रेग्मीले रातोपाटीलाई बताए ।

२०८० असार १५ मा काठमाडौँ महानगरपालिका–९, शम्भुमार्गस्थित भगवती श्रेष्ठको घरमा १ तोला सुन र १ लाख ८० हजार नगद चोरी भयो । कार्तिक ५ मा काठमाडौँ–९ स्थित विजयचोकमा बालकृष्ण श्रेष्ठको डेराबाट १३ लाख ५८ हजार चोरी भयो । शम्भुमार्ग र विजयचोकको चोरीमा चल्ला समूह संलग्न रहेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

दुई ठाउँको गहना र नगद चोरीमा कृष्ण पोदार नेतृत्वको समूह संलग्न देखिएको अनुसन्धानमा संलग्न डीएसपी डिल बहादुर मल्लले जानकारी दिए ।

‘चल्ला समूह’ले चोरेको पोते सहितको सुनको नौगेडी ३ थान, मंगलसुत्र ३ थान, रिङ ३ थान, तिलहरी २ थान र दुईजोर झुम्का अनुसन्धान अधिकृतहरुले बरामद गरेका छन् ।

आरोपितहरुलाई वृत्त गौशालाको हिरासतमा थुनेर प्रहरीले अनुसन्धान गरिरहेको छ । भारत घर भएका आरोपितहरु बोतल–कागज संकलन गर्ने निहुँमा घर निगरानी गर्छन् । अनि, मान्छे नभएको मौकामा चोर्न पस्छन् । चोरी आरोपमा पक्राउ परेपछि मुद्दा लड्न कानुन व्यवसायी राख्दा लाखौँ खर्च गरेर उनीहरु पुरानै आर्थिक हैसियतमा फर्किने गरेको अनुसन्धान अधिकृतहरु बताउँछन् ।

बाबु–छोरा नै चोरीमा

मङ्सिर २६ मा प्रहरीले पक्राउ गरेको मध्येका हुन् कृष्ण पोदार । चल्ला समूहको नेतृत्व कृष्णले गर्छन् । बिहार राज्यको समस्तीपुर जिल्ला, मुरातपुर ग्राम घर भएका कृष्णका बुबा पनि चोरी गरेको कसुरमा जेलमा छन् ।

२०६८–०६९ तिर महाराजगञ्जमा सेनाका एक जना कर्णेलको घर चोरेको आरोपमा उनका बुबा बौजनाथ पोदार उर्फ सलमान जेल परेका हुन् । अहिले उनी कारागारमा छन् ।

२१ वर्षका कृष्ण यसअघि लागुऔषध मुद्दामा जेल परेका थिए । लागुऔषध मुद्दाबाट छुटेपछि उनी समूह तयार गरेर चोरी धन्दामा लागेका हुन् । चल्ला समूहले चोरेको सुनका गहना खरिद गर्ने ३ जना सुन पसलेहरुलाई पनि प्रहरीले पक्रेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्ने पसेलहरुमा नागार्जुन घर भएका विक्रम गर्तौला, झापा घर भएका रमेश विश्वकर्मा र मोरङ घर भएका डिल्लीराम विश्वकर्मा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप