शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
विकासमा विवाद

सुर्खेतमा विमानस्थल विस्तार कि नयाँ बनाउने भन्नेबारे विवाद उत्कर्षमा

कांग्रेसमा दुई धार, एमालेको ढुलमुले नीति
शुक्रबार, ०६ पुस २०८०, १२ : ३५
शुक्रबार, ०६ पुस २०८०

सुर्खेत । निकै लामो समयदेखि चर्चा र विवादमा रहेको सुर्खेत विमानस्थल विस्तारको विषय पुनः बल्झिएको छ । सुर्खेत क्षेत्र नं.–२ बाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद हृदयराम थानीले नयाँ बन्ने भनिएको विमानस्थल र पुरानो विमानस्थलको विषयमा तयार गरेका डकुमेन्ट सार्वजनिक गरेपछि पुनः सो विषयले चर्चा पाएको हो ।

थानी सांसद बनेदेखि नै वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्ने आवाज निरन्तर उठाइरहेका छन् । तर, उनकै पार्टीका नेता, उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का भने अहिलेको विमानस्थल दीर्घकालका लागि नहुने भएकाले नयाँ विमानस्थल बनाउनुपर्ने पक्षमा छन् । सोही अनुसार खड्काकै निर्वाचन क्षेत्र नं.–१ अन्तर्गत भेरीगंगा नगरपालिकाको रामघाटमा विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

तर, थानीले वर्तमान विमानस्थललाई लत्याई नयाँ विमानस्थल बनाउने योजना अघि सारेर प्रदेश राजधानीलाई नै कमजोर बनाउने काम भइरहेको भन्दै निरन्तर त्यसको विरुद्धमा आवाज उठाइरहेका छन् । थानीले सार्वजनिक गरेका विभिन्न प्रमाण अनुसार सुर्खेत विमानस्थलको विकल्पमा रामघाट विमानस्थल बनेपछि सुर्खेत विमानस्थललाई वनक्षेत्रका रुपमा विकास गर्न सकिन्छ वा सकिँदैन भनी इआईएमा विकल्प विश्लेषण गर्ने लगायतका कुरा उल्लेख छन् ।

०८० वैशाख २७ गते वन तथा वातावरण मन्त्रालय, वातावरण तथा जैविक विविधता महाशाखाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई ‘भेरीगंगा रामघाट विमानस्थल आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनका क्षेत्र निर्धारण प्रतिवेदन तथा कार्यसूची स्वीकृत सम्बन्धमा’ लेखेको पत्रमा विभिन्न ७ वटा सर्त उल्लेख छ । जसमध्ये ७ नम्बर बुँदामा नयाँ विमानस्थल बनेर सञ्चालनमा आएको खण्डमा वर्तमान विमानस्थललाई वन क्षेत्रको रुपका विकास गर्ने उल्लेख छ ।

उक्त पत्र सार्वजनिक भएपछि कर्णालीको राजनीतिमा नयाँ तरङ्ग पैदा भएको छ । अहिले अधिकांश राजनीतिक दल र नेताहरु वर्तमान विमानस्थललाई विस्तार गर्नुपर्नेमा सहमत देखिन्छन् भने कांग्रेसमा दुई वटा धार देखिएको छ । थानी पक्षका नेताहरु वर्तमान विमानस्थलको विकल्प नहुने बताइरहेका छन् भने पूर्णबहादुर खड्का पक्षका धेरै नेताहरु ना–जवाफ छन् । खड्का पक्षधर धेरै नेताको प्रतिक्रिया देखिएको छैन ।

सुर्खेत विमानस्थल विस्तार योजना र स्वार्थको राजनीति

सुर्खेत विमानस्थल ५७ वर्ष पुरानो हो । संघीयतापछि वीरेन्द्रनगर कर्णालीको राजधानी बन्यो । त्यसपछि विमानस्थल विस्तारका लागि प्रदेश सरकार निरन्तरण अग्रसर भयो । विमानस्थलको उत्तरतर्फको धावनमार्ग अहिले १ हजार २५५ मिटरको छ । धावनमार्ग साँघुरो हुँदा ठुला जहाज अवतरण हुन सक्दैनन् ।

लम्बाई कम हुँदा एटीआर–७२ लगायतका ठुला जहाजको क्षमता अनुसार भार बोक्न नसक्ने, प्रदेशको प्रमुख र सक्रिय विमानस्थल भए पनि सर्वसाधारण नागरिकको पहुँचमा छैन । कम्तीमा पनि एक हजार पाँच सय मिटरको धावनमार्ग विस्तार गर्ने, रात्रिकालीन उडान पनि भर्ने गरी विस्तार गर्ने उद्देश्य थियो ।

तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा ०७७ मङ्सिरको अन्तिम साता बसेको बैठकले विमानस्थललाई ‘एप्रोच लाइट’ सुविधायुक्त विमानस्थलका रूपमा विकास गर्न दीर्घकालीन सोचसहित काम अघि बढाउने निर्णय ग¥यो ।

झण्डै २ अर्ब बराबर रकम लाग्ने अनुमान गरिएको विमानस्थल विस्तार र स्तरोन्नति भन्दै पहिलो चरणमा प्रदेश सरकारले ५० करोड र केन्द्र सरकारले ५१ करोड बजेट छुट्याए । विस्तारका लागि संघीय र प्रदेश सरकारबिच ०७७ असोज १५ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । तर, प्रदेश सरकारले विस्तारको काम अघि बढाउनै सकेन । केन्द्र र प्रदेश सरकारले छुट्याएको एक अर्ब १ करोड रकम फ्रिज भयो ।

०७८÷०७९ मा पनि १ अर्ब ५० करोड बराबरको रकम विनियोजन भएको थियो । तर, त्यो बेला सबैजसो राजनीतिक दलले विस्तार कार्य अगाडि बढाउन सहयोग गरेनन् । नागरिक उड्डयन प्राधिकरण र प्रदेश सरकारले विस्तार कार्य अगाडि बढाउन जग्गाको कारोबार रोक्का गर्दै लगत संकलनको कार्य अघि बढाइसकिएको थियो ।

प्रदेश सरकारले नागरिक तहमा कुनै छलफल नै नगरी जग्गा रोक्का प्रक्रियाका लागि पत्र लेख्ने काम ग¥यो, जसको व्यापक विरोध भयो । टीकाराम आचार्यको नेतृत्वमा गठित नागरिक सरोकार समितिले विमानस्थलका लागि अहिलेको स्थान प्रभावकारी नहुने निष्कर्ष निकाल्यो ।

विमानस्थलको धावनमार्ग विस्तार गर्दा वीरेन्द्रनगर नगरपालिका १०, ११, र १२ नं वडाका करिब ९ सय २३ घरधुरी परिवार, विद्यालय पनि प्रभावित हुने भएपछि समितिले दीर्घकालीन र अन्तर्राष्ट्रिय विमानस्थलका लागि हाल भएको स्थान प्रभावकारी नहुने निष्कर्ष निकालियो । चर्को विरोध थेग्न नसकेपछि ०७८ फागुन अन्तिम सातातिर तत्कालीन मुख्यमन्त्री जीवनबहादुर शाहीले विमानस्थल विस्तारको ‘च्याप्टर क्लोज’ गरिदिए । त्यसपछि रोक्का भएको जग्गा फुकुवा गरियो ।

साथै विमानस्थल विस्तार कार्य महँगो भएको शाहीले बताएका थिए । उतिबेला नै प्राधिकरणले सरकारलाई बुझाएको प्रतिवेदन अनुसार मुआब्जा लगायतका सबै काम गर्न ९ अर्ब ४० करोडभन्दा बढी रकम लाग्ने अनुमान गरिएको थियो ।

प्राधिकरणले नयाँ विमानस्थल बनाउन ११ अर्ब रकम लाग्ने अनुमान गरेको थियो । शाही नेतृत्वको सरकारले नै प्राधिकरण र संघीय सरकारको समन्वयमा भेरीगंगा नगरपालिकाको रामघाटमा नयाँ विमानस्थल बनाउने तय ग¥यो । उक्त विषय अगाडि बढाउन रक्षा मन्त्री पूर्णबहादुर खड्काको महत्त्वपूर्ण भूमिका रहेको धेरैको बुझाइ छ ।

गत वर्ष नै त्यसका लागि अध्ययन पनि गरिसकिएको छ । ०७९÷०८० को बजेटमा रामघाटमा विमानस्थल बनाउन संघीय सरकारसँग समन्वय गर्ने भनिएको थियो । यद्यपि चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा भने पुनः पुरानै विमानस्थललाई स्तरोन्नति गर्ने भनेर योजना आएको छ ।

नीति तथा कार्यक्रमको २६ नम्बर बुँदामा भनिएको छ, ‘कर्णालीमा हवाई सेवालाई नियमित, सुरक्षित, भरपर्दो र सुलभ बनाउन समन्वय र सहकार्य गरिने छ । सुर्खेत विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकारसँग समन्वय गरिने छ ।’

वर्तमान आवश्यकतालाई परिपूर्ति गर्न सुर्खेत विमानस्थलको स्तरोन्नति गर्ने र दीर्घकालीन आवश्यकता परिपूर्तिका लागि रामघाटमा प्रादेशिक विमानस्थल निर्माण कार्य अगाडि बढाउन संघीय सरकारसँग आवश्यक समन्वय र सहकार्य गरिने बजेटमा उल्लेख छ ।

विमानस्थलमा नेताहरुको ढुलमुले राजनीति

सुर्खेत विमानस्थल विस्तार कार्य अघि बढ्न नसक्नुको पछाडि वीरेन्द्रनगर नगरपालिका र एमाले संसदीय दलका नेता यामलाल कँडेल लगायतको असहयोग नै हो । कर्णालीका तत्कालीन मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पालामा विस्तार कार्य अघि बढाउन जग्गा रोक्का प्रक्रिया समेत अघि बढेको बेला नेता कँडेलले प्रभावित क्षेत्रका बासिन्दालाई सहजीकरणमा ल्याउने कुरामा सहयोग गरेका थिएनन् । त्यसपछि टीकाराम आचार्यको नेतृत्वमा नागरिक सरोकार समिति नै बनेर वर्तमान विमानस्थल दीर्घकालीन नहुने भन्दै नयाँ विमानस्थलको आवश्यकता औंल्याइयो । त्यो बेला स्वयं कँडेलले प्रभावित क्षेत्रका बासिन्दालाई विभिन्न ठाउँमा भेला गराई उनीहरुका सुझाव सुन्ने गरेका थिए । सयौँ घर हटाउनुपर्ने र सार्वजनिक संरचना समेत हटाउनुपर्ने भएपछि नागरिकहरु कुनै पनि हालतमा विस्तार कार्य अघि बढाउन नदिने पक्षमा उभिए । कँडेल त्यो बेला विमानस्थल विस्तारमा सहजीकरण गर्नुको साटो नागरिकको पक्षमा उभिएको तत्कालीन मन्त्रीहरुको भनाइ छ ।

०७७ माघ दोस्रो सातामा वीरेन्द्रनगरकै एक विद्यालयमा गरिएको भेलामा कँडेलले जनताको प्रतिनिधि भएकाले जनताकै पक्षमा रहेर कुरा गर्ने बताएका थिए ।

विमानस्थल विस्तार कार्य नहुनुका पछाडि त्यो बेलाको वीरेन्द्रनगर नगरको नेतृत्व पनि हो । जनताको प्रतिनिधित्व गर्ने भन्दै ०७७ माघ ५ गते नगरपालिकाले प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र केन्द्रको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई पत्र नै लेख्यो । पत्रमा भनिएको छ, ‘धावनमार्ग विस्तारको सम्बन्धमा सो क्षेत्रका स्थानीय बासिन्दाबाट विस्तार कार्य अघि नबढाउन अनुरोध भै आएको सम्बन्धमा सो क्षेत्रमा विमानस्थल विस्तारमा कठिनाइ देखिएकाले सुर्खेत जिल्लाको अन्य नयाँ वैकल्पिक स्थानमा विमानस्थलको खोजी गरी निर्माण गर्ने व्यवस्था हुन प्रदेश सरकार तथा संस्कृति, पर्यटन, नागरिक उड्डयन मन्त्रालयमा अनुरोध गर्ने ।’

तर, जब भेरीगंगा रामघाटमा विमानस्थल बन्ने तय भयो, त्यसपछि यामलाल कँडेल वर्तमान विमानस्थललाई नै विस्तार गर्नुपर्छ भन्ने आवाज उठाउन थाले । त्यसो गर्नुका पछाडि पूर्वमा विमानस्थल बने वीरेन्द्रनगर कमजोर हुन सक्ने आकलन हो । कँडेलले प्रदेश स्थापना दिवसको दिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै अगाडि वर्तमान विमानस्थललाई नै विस्तार गरिदिन आग्रह गरेका थिए ।

त्यसपछि कँडेलले हरेकजसो कार्यक्रममा रक्षामन्त्री खड्कालाई लक्षित गर्दै ‘विकास सबै पूर्वतिर (खड्काको क्षेत्र) जाने, वीरेन्द्रनगर राजधानी भएर मात्र के गर्ने ? सबैले वर्तमान विमानस्थल विस्तार गर्ने कुरामा आवाज उठाउनुस्’ भन्ने गरेका छन् । प्रदेश सरकारका तत्कालीन मन्त्रीहरु विमानस्थलको विषयमा कँडेलको दोहोरो चरित्र रहेको बताउँछन् ।

नयाँ विमानस्थल बने वर्तमान विमानस्थललाई जङ्गल बनाइने कुरा आएपछि कँडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘स्थानीय बासिन्दालाई मर्का नपर्ने गरी मुआब्जा वितरण गरी सुर्खेत विमानस्थललाई थप पूर्वाधारसहित विस्तार गर्नु अहिलेको प्रमुख आवश्यकता हो । यही विषयमा सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गरौँ । नयाँ विमानस्थलबारे छलफल गर्दै जाउँला ।’

रक्षामन्त्री खड्काको भने विमानस्थलबारे प्रस्ट धारणा आएको देखिन्न । केही दिन अघि वीरेन्द्रनगरको एक कार्यक्रममा उनले भने, ‘वर्तमान विमानस्थललाई विस्तार नगर्ने भन्ने कुरा होइन तर, दीर्घकालीन रुपमा यो हुन्छ कि हुँदैन भन्ने कुरा सोच्नुपर्छ ।’

तर, कांग्रेसकै नेता तथा सांसद हृदयराम थानी भने खड्काले पहुँचका आधारमा विकास सबै पूर्वी सुर्खेत लगेर वीरेन्द्रनगरलाई कमजोर बनाइरहेको आरोप लगाउँछन् । थानीले वर्तमान विमानस्थललाई नै विस्तार गर्न भनेर सम्बन्धित सबै निकायमा धाइसकेका छन् ।

निजी क्षेत्रले पनि निरन्तर वर्तमान विमानस्थललाई नै विस्तार गरिनुपर्ने भनेर प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउनेदेखि पटक–पटक आवाज उठाइरहेको छ ।

विमानस्थलको विषयमा सांसद हृदयराम थानीले रातोपाटीसँग राखेको धारणा

Hridayram Thani Nepali Congress

विमानस्थलको विकल्प खोज्दा मुलुकको आर्थिक स्थितिले तत्काल सम्भव छैन । यही विमानस्थलको धावनमार्ग विस्तार मुलुक र कर्णालीवासीलाई लाभदायी हुन्छ । विकल्प सोच्दा पनि १५÷२० वर्ष लाग्ने, त्यो अवधिसम्म यही विमानस्थल चलाउनुपर्ने हुँदा थप ३०० मिटर विस्तार गरेर छिटो सम्पन्न गर्नु लागत र प्राविधिक दृष्टिकोणले सहज हुन्छ । विस्तारका लागि साथीहरूले बोलिरहनुभएको छ, मैले पनि बोलेँ ।

यामलालजीले प्रधानमन्त्रीकै अगाडि बोल्नुभएकै छ । वातावरण बन्छ । यो अहिलेको आवश्यकता हो ।४ बिघा जग्गा अधिग्रहण गरे पुग्ने छ । कम पैसामा छिट्टै बन्ने र नयाँ बनाउन वर्षौं लाग्ने हुन्छ । अहिलेको उपप्रधानमन्त्रीजीले यसलाई विस्थापित गर्न खोज्नुभएको छ । म सुरुदेखिनै यसैलाई विस्तार गर्न भनेर लागिरेहको छु । उहाँको दृष्टिकोण मेरो क्षेत्रमा एयरपोर्ट चाहिन्छ भन्ने होला । उहाँ उतातिर लाग्नुभयो । हामीले यो एयरपोर्ट विस्थापित नगर भन्दा नगरपालिकाले पनि खासै ध्यान दिइरहेको छैन । लागतको हिसाबले पनि यहीँ राम्रो हुन्छ । तर उता इआइए गरिएको कुरा छ, नयाँ विमानस्थल बनाए यो एयरपोर्टलाई जङ्गल बनाउन पाइन्छ कि नाइँ भनेर वन मन्त्रालयले लेखिदियो । के अब वीरेन्द्रनगरलाई जङ्गल बनाइदिने ? अन्त बनाउने भन्ने कुरा त अहिले हाँस्यास्पद छ । एउटै पार्टीका नेता भए पनि हामीबिच समन्वय भएको छैन । कहाँबाट समन्वय हुन्छ ? उहाँको निर्वाचन क्षेत्रमा नलगी नहुने, ऐलानी जग्गामा उहाँ एयरपोर्ट बनाउन चाहनुहुन्छ, म यसलाई विस्तार गर्ने कुरा भन्छु अनि कहाँबाट समन्वय हुन्छ ?

एउटा पार्टी भनेर के गर्ने एउटाले अर्कोलाई सिध्याइदिने भइरहेको छ । के गर्नु, पार्टीभन्दा पनि जनताको कुुरा आइसक्यो । हिजो पनि केही साथीहरु कर्णालीलाई सुदूरमा मिसाउने भनेर लागिरहेका थिए, म एक्लै भए पनि वीरेन्द्रनगरलाई राजधानी बनाउँछु भनेर लागेको थिएँ ।

अहिले उहाँले उता नयाँ एरपोर्ट बनाउने कुरा गरिहनुभएको छ, सरुवा रोग अस्पताल पनि उतै सार्नुभयो, भेरी करिडोरको अफिस पनि उतै लानुभएको छ । बिस्तारै सबै अफिस पनि उतै लाने हो कि भन्ने डरलाग्दो परिस्थिति छ । अरु त मान्छे नै हैनन् भन्ने कुरा आयो ।  

वीरेन्द्रनगर नगरपालिका प्रमुख मोहनमाया ढकालको भनाइ–

यहाँ एयरपोर्ट बन्द गर्ने, उता सार्ने भन्ने सम्भावनाको कुरा होइन । सम्भावना भन्दा बाहिरको विषय हो । अहिलेकै विमानस्थल विस्तार गर्ने, त्यसको उचित मुआब्जा दिनुपर्छ भनेर हामीले सोचिरहेका छौँ । मैले पनि पढेँ, उताको एयरपोर्ट सञ्चालनमा आए यताकोमा रुख रोप्न सक्ने÷नसक्ने भनेको छ । हामीसँग यो विषयमा कुनै छलफल पनि भएको छैन । स्थानीयसँग छलफल नगरेका विषय लागु हुन पनि सक्दैनन् । त्यसैले यसको कुनै औचित्य छैन ।

हामीले यसअघि एयरपोर्ट सार्ने भन्दा पनि यो भन्दा ठुलो विमानस्थलको सम्भाव्यता बाहिर गर्ने कि भन्ने हो तर, एयरपोर्ट सार्ने भन्ने कुरा होइन र हामीले त्यो कुरा स्वीकार गर्ने कुरा पनि रहँदैन ।

विश्लेषक पिताम्बर ढकालको भनाइ–

अहिले आइरहेको कुरा हेर्दा त दुर्भाग्य हो, महेन्द्र शाहीको पालामा समेत विस्तारको कुरा ठिकै थियो । तर, जीवन शाही मुख्यमन्त्री बनेपछि विस्तार गर्नुपर्दैन भनेर जग्गा फुकुवा भए । पूर्णबहादुर खड्काजीकै पहलमा उता रामघाटमा एयरपोर्ट बन्ने कुरा आयो । त्यो पनि खासै सम्भावना भएको ठाउँ होइन, धेरै हुस्सु लाग्ने गर्छ । यसैलाई विस्तार गर्न आवश्यक हो । भइरहेको विमानस्थललाई जङ्गल बनाउने भन्ने कुरा असम्भव कुरा हो । एयरपोर्ट अन्त सारेर वीरेन्द्रनगर उपत्यकालाई खण्डहर बनाउन पाइँदैन । यो राजधानी हो । एयरपोर्ट नभएपछि यहाँ को बस्न चाहन्छ ? हिजोकै दिनमा अहिलेको विमानस्थललाई पूर्व–पश्चिम बनाइदिएको भए हुन्थ्यो तर, अहिले सम्भावना छैन । यद्यपि जङ्गल नै बनाइने भन्ने कुरा गलत हो, भोलि जनता जागेपछि माफी माग्नुपर्ने स्थिति आउँछ ।

नेताहरुको पनि ढुलमुले राजनीति भयो, महेन्द्र शाहीको पालामा यामलालजीहरुले किन विस्तार गर्ने, जनताको किन उठिबास गराउने भनेर सहयोग गर्नुभएको थिएन । जब च्याप्टर क्लोज भयो, त्यसपछि उहाँहरु पुनः यसैलाई विस्तार गर्नुपर्छ भन्न थाल्नुभयो । अर्कोतर्फ जीवन शाहीजीको कमजोरी के देखियो भने पूर्णजीले जे–जे भन्नुभयो, त्यो कुरालाई मात्रै उहाँले स्वीकार गर्नुभयो । जनताको कुरा सुन्नु भएन । एयरपोर्ट क्षेत्रका केही मान्छेले विमानस्थल विस्तार गर्नैपर्छ भनिरहनुभएको थियो । तर, जीवनजीले हुँदैन, अन्त बनाउनुप¥यो भनेर नेताकै कुरा सुनेर निर्णय गर्नुभयो । अरु सबै पार्टी पनि यसैलाई विस्तार गर्नुपर्छ भन्ने पक्षमा छन् ।

त्यहाँका केही बासिन्दाले मागेको मुआब्जा दिनुपर्छ, हामी छोड्न तयार छौँ समेत भनेका थिए । तर, जीवनजीले खासै छलफल नै गर्नुभएन । मैले खण्डहर बनाउन पाइँदैन भनेपछि पूर्णजी मेरै घरमा आएर यही विमानस्थललाई विस्तार गर्ने कुरा गर्नुभएको थियो । तर, फेरि अहिले आएर उतै बनाउनुपर्छ भन्ने आयो । डकुमेन्टले पनि त्यही भनिरहेको छ । उपत्यकामा ठुलो लगानी भइसकेको छ । फेरि यो संरचना अन्त गए त ठुुलो घाटा लाग्छ नि । त्यसैले राजनीतिक दल, त्यसमा पनि अहिलेको प्रतिपक्ष दल एमालेले खासै बुद्धि पु¥याइरहेको देखिन्न ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप