शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भारतको कोलकाता र सिक्किममा नौमती बाजाको माग

शनिबार, ०७ पुस २०८०, १४ : ४७
शनिबार, ०७ पुस २०८०

झापा । भारतको दार्जीलिङ, सिक्किममा हुने कार्यक्रममा नौमती बाजाको माग हुन थालेपछि झापाली महिलाको टोली पटकपटक पुग्न थालेका छन् । महिलाको बाजाको टोली ती स्थानमा पुगेर उत्कृष्ट बाजा बजाएबापत पुरस्कारसमेत प्राप्त गर्न थालेपछि उनीहरुको मनोबल बढेको छ ।

जिल्लामा नौमती घन्काउने महिलाको दुई दर्जनभन्दा बढी टोली तयार भइसकेका छन् । तीनमध्ये आर्ट स्टुडियो महिला नौमती बाजाको टोली भारतको सिक्किम, दार्जीलिङ र कोलाकता पुग्न थालेको हो ।

विवाह, व्रतबन्ध, गुन्यूचोली, पुराण, उद्घाटन र साधारणसभालगायत कार्यक्रममा एउटै पहिरनमा सजिएका महिला टोलीले नौमती बाजा घन्काउँदै गरेको रोचक दृश्य झापामा पछिल्लो समय बाक्लै देख्न पाइन्छ ।

विर्तामोड–२ की शान्तादेवी पौडेलको नेतृत्वमा झापामा महिलाको नौमती बाजा बजाउने पहिलो टोली बनेको थियो । पाँच वर्षअघि पश्चिम नेपालमा एउटी महिलाले नर्सिङा बाजा फुकेको देखेपछि उनलाई महिलाको अलग्गै टोली बनाउने रहर जागेको पौडेलले बताइन् ।

“त्यसबेला मेरो नेतृत्वमा गाउँका महिला नाटक खेल्ने गर्थे । रुवा र खरानीको धागोजस्ता राम्रा नाटकमा उत्कृष्ट अभिनय गरेसँगै विर्तामोडलगायत झापाका विभिन्न स्थानमा नाटक मञ्चन गरेका थियौँ । पछि उक्त टोली महिला कलाकारका रुपमा परिचित बनेको थियो”,उनले भनिन् । 

सोही टोलीलाई समेटेर शान्ताले नौमती बाजा बजाउने समूह खडा गरिन् । आवश्यक तामिल लिएपछि विर्तामोड वडा नं २ का तत्कालीन वडाध्यक्ष नगेन्द्र सङ्ग्रौलाले टोलीलाई बाजा किन्न रू डेढ लाख बजेट दिनुभएको संस्थाकी अध्यक्ष पौडेलले जानकारी दिइन् । उनका अनुसार नमूना कार्य भन्दै कनकाई नगरपालिकाले पनि बाजा खरिदका लागि रू ३० हजार थपिदिएको थियो । 

केही नयाँ काम गरौँ भन्ने शान्ताको त्यही हुटहुटीले झापामा महिला मात्र रहेको पहिलो नौमती बाजा बजाउने टोलीको जन्म भयो । उनीहरुले टोलीलाई संस्थागत गर्दै ‘आर्ट स्टुडियो महिला नौमती बाजा संस्था’ दर्ता गरेका छन् । पौडेलका अनुसार टोलीमा १४ जना सबै महिला सदस्य छन् । समूहमा नौमती बाजामा चाहिने दमाहा, टेम्को, बाम्ताल, झ्याम्टा, ढोलक, सनाई र नर्सिङा रहेका उनले जानकारी दिइन् ।

विभिन्न कार्यक्रममा समूहले निश्चित शुल्क लिएर बाजा बजाउँदै आएको पौडेलले बताइन् । उनका अनुसार अवधि र अवस्था हेरेर शुल्क निर्धारण हुने छ । एउटा कार्यक्रममा बाजा बजाएबापत बढीमा रू दुई लाखसम्म शुल्क पाउने गरेको संस्थाकी कोषाध्यक्ष गोमादेवी विमलीले जानकारी दिइन् । उनका अनुसार एउटा कार्यक्रमबापत टोलीले नेपालमा रू १५ हजारदेखि ३० हजारसम्म शुल्क लिने गरेको छ । 

भारतमा भने भारू ५० हजार शुल्क निर्धारण गरिएको विमलीले जानकारी दिइन् । “केही समयअघि जिल्लामा महिलाले नौमती बाजा बजाउँछन् भन्ने थाहा पाएपछि दार्जीलिङका एक जना सैनिक जर्नेलले आफ्नो छोराको बिहेमा बाजा बजाउने टोली झिकाएका थिए । दार्जीलिङबाट कोलकातामा जन्ती जाँदा रू ५० हजार दिने सहमति भएको थियो”, उनले भनिन्– “हामीले नौमती बजाएको मन पराएर उहाँहरुले भारू डेढ लाख दिनुभयो ।” 

बाजा बजाउन आमन्त्रण गर्नेहरुले टोली र बाजा बोक्नका लागि गाडी भाडा व्यहोर्ने गरेको विमलीको भनाइ थियो । उनका अनुसार काठमाडौँमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा सुनको जलहरी चढाउँदा झापाको यही टोलीले नौमती बाजा बजाएको थियो । ऊबेला बाजा बजाएबापत रू एक लाख शुल्क दिइएको उनले जानकारी दिइन् । 

भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले एउटा कार्यक्रममा नौमती बजाउन उनीहरुको टोलीलाई निमन्त्रणा गरेका थिए । तामाङले महिलाको नौलो र राम्रो कार्य भनेर प्रशंसा गर्दै भारू एक लाख पुरस्कार दिएका थिए । टोलीले चर्चित टेलिभिजन कार्यक्रम इन्द्रेणीमा बाजा बजाउँदै दोहोरीसमेत खेल्ने अवसर पाएको थियो ।

संस्थाकी अध्यक्ष शान्तादेवी पौडेलले नौमती बाजा बजाउन सुरु गर्दा आफू र आफ्ना साथीले पारिवारिक र सामाजिक असहयोग खेप्नुपरेको बताइन् । दलितले मात्र बजाउने बाजा भनेर अपहेलना गर्न खोजिए पनि आफुहरुले बलियो आत्मविश्वास र लगनका साथ डटेर सामना गरेको उनले अनुभव सुनाइन् ।

“यस्तो दमाईं बाजा पनि महिलाले बजाउने भनेर परिवारका सदस्यबाटै साथीहरुले अवहेलना भोग्नुपर्यो”, अध्यक्ष पौडेलले सङ्घर्षका दिन सम्झिँदै भनिन्, “सुरुमा कसैले पनि साथ दिएनन् । तथापि हामी पछाडि हटेनौँ । अहिले चाहिँ प्रशस्त आम्दानी र सामाजिकरुपमा प्रशंसा हुन थालेपछि परिवारका सदस्य खुसी छन् ।”

टोलीका सदस्यहरुले घरको कामधन्धा छाडेर बाजा बजाउन जाने भएकाले सङ्कलन भएको आम्दानीको ९० प्रतिशत बाँडेर लिने गरेका छन् । दश प्रतिशत आम्दानी चाहिँ संस्थाको कोषमा जम्मा गर्दै आइएको कोषाध्यक्ष विमलीले बताइन् ।  लोकभाका र चल्तीका जुनसुकै गीतमा सुमधुर धुन निकाल्ने महिलाको नौमती टोलीलाई अचेत कार्यक्रममा भ्याइनभ्याइ छ ।

व्यावसायिकरुपमा शुल्क लिने भएकाले आयआर्जनका दृष्टिले प्रशस्त आम्दानीको स्रोत बनेको छ भने सामाजिकरुपमा पनि प्रशंसा हुन थालेको छ । यसरी महिलाले नौमती बजाएर कला, संस्कृतिको संरक्षण हुनुका साथै यस क्षेत्रको पहिचानमा योगदान पुगेको स्थानीय बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप