बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
हिजोबाट

राजनीतिक चोरको बकपत्र

चुनाव जित्ने म पुरानो चोर, मैले यिनलाई बनाइदिनुपर्ने नयाँ नेपाल !
शनिबार, ०७ पुस २०८०, १५ : ०५
शनिबार, ०७ पुस २०८०

कमसेकम म आफूलाई ढाँट्दिनँ । म खसोखास राजनीतिक चोर हुँ । अहिले चुनावी आचारसंहिताले मलाई तँ मौन अवधिमा बस् भनेको छ । त्यसैले अहिले आफैँसँग आफ्नो पौरख, आफ्नो दौलत, आफ्नो गौरव र आफ्नो उज्यालो भविष्यबारे मौन संवाद गर्दै छु म । 

एकताक म पनि क्रान्तिकारी थिएँ । अथवा भनुँ म पनि क्रान्तिकारीको अभिनयमा थिएँ । हुन त अहिले पनि म क्रान्तिकारी हँु भनिरहेकै छु । दुनियाँका आँखा छलेर चोर्दै जान मैले यसो भनिरहनुपर्‍या छ । अमूल्य अनुभव भन्छ— भाँती पारेर चोर्नलाई क्रान्तिकारी सिद्धान्तको झन्डा बोकिरहनुपर्ने रहेछ । खासमा यो झन्डा मेरो भ्रान्तिकारी आवरण हो । साला जिन्दगी ! चमकदार झन्डा नबोके मेरो चोरीले फिटिक्कै गरिखाँदैन । त्यसैले त झन्डा बोक्छु र म चोर्छु । हिजो पुरानो नेपालमा चोरेँ । आज नयाँ नेपालमा चोर्दै छु । भोलि झन् नयाँ नेपालमा ? भोलिको कुरो पर्खेर हेरुँला । 

पन्ध्रै वर्षअघिको कुरा त हो । मसँग सिरिखुरी सम्पत्ति भन्नु केवल छाप्रो टाइपको एउटा घर र एक–दुई फोक्टा बारी थियो । भुत्ते खुकुरी उजाउँदै ताता नारा लाएर केही वर्ष म जेल बसेँ । त्यसपछि आफ्नै अतीतको सङ्घर्ष र दुःखका कथाले जनजनका मन पगाल्दै म सांसद भएँ । अनि त्यसपछि उही संघर्ष र दुःखको भर्‍याङ चढेर म मन्त्री भएँ— एकपटक, दुईपटक, तीनपटक । हरेकपटक मन्त्री भएको पनि उति धेरै वर्ष कहाँ हो र ? पटकैपिच्छे मालदार मन्त्रालयको दमदार मन्त्री पद थियो, त्यो मलाई राम्रै फलिफाप भयो । अहिले राजधानीमा महल भन्न मिल्ने मेरा एकाध घर छन् । नगरको नाभिस्थलमा एकाध घडेरी पनि छन् । एकाध वित्तीय संस्थामा मेरा मुनाफाकारी सेयरहरू छन् । अहो ! सानदार पजेरो त मेरो सुखसयलको जीवनसाथी नै भइहाल्यो । अहो ! म के थिएँ, राजनीतिमा चोर्न थालेपछि हिजोको आजै म के भएँ ? हिजो प्रायः मेरो खल्तीमा फुटेको कौडी हुँदैनथ्यो । आज मलाई पैसा नाथेलाई कसरी सम्हाल्ने भन्ने लेठो आइलाग्या छ । 

मेरो बुताले भ्याएछ भने संविधानसभामा म लोकदृष्टिमा राष्ट्रिय चोर भनीकन कहलिएका भूतपूर्व महाराज ज्ञानेन्द्रलाई घ्याप्प काँध थाप्छु । मलाई थाहा छ, मौसुफको सिंहासनको निरन्तरतामा मेरो चोरी राम्ररी सुरक्षित हुनेछ । यो मेरो पार्टीको गोप्य सपना हो ।

एक महिनाअघिसम्म चुनाव नहुने लक्षण दह्रो थियो । र, म ढुक्क थिएँ । चुनाव हुने लक्षण जब देखियो, म भित्रभित्रै डरले कामेँ । दुनियाँका घरदैलामा के भनेर भोट माग्न जाऊँ म ? मलाई तँ चिनिएको चोर होस् भन्लान् । सके मलाई दह्रा चालले हातपातै गर्लान् । अनि म कुटिँदाको रक्ताम्य फोटो मिडियामा छापिएला । अहो ! म कत्रो अत्यासमा परेको थिएँ ! तर थिति मैले चिताएजस्तो खराब रहेनछ । जोरी खोज्नेहरूले एकाध ठाउँमा अप्ठेरा प्रश्न नउठाएका होइनन् । त्यसो त तिनले एकाध ठाउँमा ‘चोरदेखि होसियार’ भन्ने पर्चा पनि छरेकै हुन् । एउटा कोणसभामा मलाई ‘तँ राजावादी चोर’ भनेर तिनले नारा पनि लाए । म ढाँट्दिनँ । मलाई लागेका यी दुईटै फत्तुर सत्य हुन् । तर पार्टीका कार्यकर्ताले आँखा चिम्लेर मलाई बोके । सम्झेर त्यसैत्यसै दङ्ग पर्छु म, कार्यकर्तागण भनेको गणेशमानका भेडाको बगालजस्तो रहेछ । एकपटक नेता मानेपछि के राजावादी के गणतन्त्रवादी, के इमानी के बेइमान, के साधु के चोर, त्यसको हिसाब हुँदो रहेनछ । फेरि मेरो ब्रह्मास्त्र सम्मोहनकारी चुनाव चिह्न छँदै छ । चरित्र हेरी वास्तवमा मेरो पार्टी धार्मिक मठ हो । र, म हुँ त्यसको मठाधीश । र, मेरा भेडा कार्यकर्ता हुन् म चोर मठाधीशका अन्धभक्तहरू ! 

यसो सोच्छु, मान्छेको जात अजीवको रहेछ । एकपटक कसैमाथि भक्ति अर्पण गरेपछि समय क्रममा त्यो भक्ति जब्बर संस्कार बन्दो रहेछ । भेडागणको यही अन्धसंस्कारमा त छ मेरो अजेय शक्ति । म घोडचढी हुँ, मेरा कार्यकर्ता मेरा आज्ञाकारी घोडा हुन् । कसैले मलाई छिसिक्क केही भन्यो कि भन्नेलाई ती घोडाले झैँ टोक्न जाइलाग्छन् । धन्य मेरो कर्म ! धन्य मेरो भाग्य ! धन्य पवनपुत्र–औतारी मेरा निहुरमुन्टी कार्यकर्ताहरू !

जब चुनाव हुने भयो, दह्रो ज्यालामा मैले दह्रादह्रा गुन्डा खरिद गरेँ । अनि तिनलाई अघिपछि लाएर चुनावी दौडाहामा निस्केँ म । यसो हेर्दा धेरैजसो पुराना मतदाता जहाँको त्यहीँ भएजस्तो लाग्यो मलाई । निहुरिएर नमस्ते गर्ने, वरिपरि झुम्मिने र हात मल्नेहरूको कतै कमी भएन । चैनको सास फेर्दै मैले आफैसँग भनेँ— धन्य कृपाकारी भगवान् ! यसपालाको चुनाव पनि म चोरलाई फलिफापै हुने छाँट छ ।

दङ्ग पर्दै म गम खान्छुु, मान्छे नाथेको संस्कार र मनोविज्ञान सधैँजसो चिनिएको चोरको पक्षमा हुँदो रहेछ । मान्छे मुलालाई नचिनिएको सज्जनसँग भन्दा चिनिएको चोरसँग व्यवहार गर्न सजिलो लाग्दो रहेछ । एकपटक भोट हालेको चिह्न छाड्न मान्छेलाई साह्रै गाह्रो पर्दो रहेछ । कुराको गुह्य बुझेर त्यसैत्यसै मखलेल भएँ म । कुन्नि, यसपाला पनि म प्रलय भोट ल्याएर पो जित्ने हुँ कि !

म चोरको जय होस् !

यसअघि मैले लगालग तीनपटक भोट जितेको हुँ । भोट माग्न जाँदाका मेरा अनुभव बडो स्वादका छन् । तेस्रोपटकको चुनावमा अचम्म भा’थ्यो । केही आदर्शवादी र त्यागी भनाउँदाले सुविधाको पजेरो लिएनन् । म कत्ति न त्यागी हुँ भनेर यता पजेरो लिएनन्, उता चुनावमा ती ख्याँस्स गुल्टिए । मतदाताले सोचे हुनन् — नाथे एउटा पजेरो पनि छैन । यस्ता जोगीलाई के भोट दिनु ? पजेरोविनाका जोगीको लज्जाजनक हार भयो, मेरो विलासी पजेरोको सानदार जित भयो । यस्तो छ दुनियाँ ! यस्तो छ दुनियाँको सोचाइ ! मेरा दुवै हातमा लड्डु बर्सिए । आदर्शका पुच्छर समात्नेहरू हिस्स परे । र, मलाई लाग्यो— चोर यस युगको आदर्श नायक हो । र, त्यो मै हुँ !

साला जिन्दगी ! चमकदार झन्डा नबोके मेरो चोरीले फिटिक्कै गरिखाँदैन । त्यसैले त झन्डा बोक्छु र म चोर्छु । हिजो पुरानो नेपालमा चोरेँ । आज नयाँ नेपालमा चोर्दै छु । भोलि झन् नयाँ नेपालमा ?

अतीततिर फर्केर म सोच्छु— आजसम्म मान्छेले रचेको कुन सभ्यता र कुन व्यवस्थामा चोरको चकचकी भएन ? कहिलेकाहीँ त मलाई सभ्यता र चोर ठ्याक्कै पर्यायवाचीजस्ता लाग्छन् । र, मलाई व्यवस्था र चोर खास्सा मन मिलेका मितज्यूजस्ता लाग्छन् । 

नयाँ नेपालका कुरा सम्झेर म भित्रभित्रै हाँस्छु । चुनाव जित्ने म पुरानो चोर, मैले यिनलाई बनाइदिनुपर्ने नयाँ नेपाल ! हो, जितेर म नयाँ नेपाल त पक्कै बनाउँछु । तर त्यो मेरै नयाँ नेपाल हुनेछ । म र मजस्ता पारङ्गत चोरहरूको नयाँ नेपाल ! मेरो बुताले भ्याएछ भने संविधानसभामा म लोकदृष्टिमा राष्ट्रिय चोर भनीकन कहलिएका भूतपूर्व महाराज ज्ञानेन्द्रलाई घ्याप्प काँध थाप्छु । मलाई थाहा छ, मौसुफको सिंहासनको निरन्तरतामा मेरो चोरी राम्ररी सुरक्षित हुनेछ । यो मेरो पार्टीको गोप्य सपना हो । नढाँटी भनुँ भने मेरो पार्टीमा जपिने गणतन्त्र रुद्रघण्टीमाथिको कुरा हो, बोकिने राजतन्त्र रुद्रघण्टीमुनिको सत्य हो । 

सोच्दै छु, चुनावको नतिजा कसो भनेजस्तो नहोला ? सक्दो यत्न गरेकै छु । निर्वाचन आयोगको आचारसंहिता पल्टाएर यसो हेरेँ । मौन अवधिमा मौन शैलीमा लाटासिधा र भोका–नाङ्गा मतदातालाई पैसा बाँड्न मिल्दैन भनेको रहेनछ । क्या गजपको आचारसंहिता ! दुई रात मेरा परमभक्त कार्यकर्ताले एक धोक्रो पैसो बाँडे । म लख काट्छु, तिनले अलिकता रकम भोट किन्नमा लगाए हुनन्, अलिकता रकम खुत्रुक्क खल्तीमा खसाए हुनन् । मह काढ्नेले चाट्छ त हात !

पैसा भनेको नुन हो । नुन खानेले नुनको सोझो गर्नैपर्छ भन्ने नीति वचनलाई तोड्ने दम कसको ? 

म चोरको जित अब करिबन पक्का छ । आचारसंहिताले दिँदैन र पो, नत्र म देब्रे खुट्टो दुई हात उचालेर भन्थेँ— भोट कसलाई ? म चोरलाई ? अहिले म निर्वाचन आयोगले नसुन्ने गरी मौन भाकामा यति मात्र भन्छु —गणेशमानका भेडागण ! म चोर पनि मैदानमा छु । जनी गरेर मलाई जिताओ ।

म चोरको सदा जय होस् !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप