‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
सारांश
- कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित थाती रहेका कामहरूलाई चाँडो टुङ्गोमा पुर्याउन सरकारसँग आग्रह गरेकी छन्।
- उनले सङ्क्रमणकालीन न्याय निरूपणमा देखिएका समस्या समाधान हुने गरी कानुन निर्माण गर्न समिति प्रतिबद्ध रहेको बताइन्।
- सभापति बास्कोटाले यो विषयलाई अहिलेकै सरकारले टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै नत्र भविष्यमा कुनै पनि सरकारले नसक्ने स्पष्ट पारिन्।
काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बास्कोटाले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित थाती रहेका कामहरूलाई चाँडो टुङ्गोमा पुर्याउन सरकारसँग आग्रह गरेकी छन्।
बिहीबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति बास्कोटाले सङ्क्रमणकालीन न्याय निरूपण लगायत मानव अधिकारसँग जोडिएका बाँकी सम्पूर्ण कामहरू सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन्।
यी कामहरूलाई पूर्णता दिनका लागि आवश्यक कानुनी सुधारका काममा समितिले समन्वयकारी भूमिका निर्वाह गर्न तयार रहेको समेत उनले बताइन्। सरोकारवाला पक्षहरूसँग छलफल गरेर सङ्क्रमणकालीन न्याय निरूपणमा देखिएका समस्या समाधान हुने गरी कानुन निर्माण गर्न समिति प्रतिबद्ध रहेको उनको भनाइ छ।
सरकारले सङ्क्रमणकालीन न्याय निरूपणका लागि प्रतिबद्धता जनाएको उल्लेख गर्दै सभापति बास्कोटाले त्यसलाई अब ढिला नगरी निष्कर्षमा पुर्याउनुपर्नेमा जोड दिइन्। विभिन्न समयदेखि मानव अधिकारका विषयहरू थाती रहँदै आएको बताउँदै उनले यो विषयलाई अहिलेकै सरकारले टुङ्गो लगाउनुपर्ने स्पष्ट पारिन्।
कार्यक्रममा आफ्नो धारणा राख्दै सभापति बास्कोटाले भनिन्, ‘विभिन्न समयदेखि मानव अधिकारका विषयहरू थाती रहेका छन्, चाहे त्यो सत्य निरूपणको विषय होस् वा बेपत्ता पारिएका व्यक्तिको विषय। यो सबैलाई अहिलेको सरकारले टुङ्गो लगाएर जान सकेन भने अब कुनै पनि सरकारले टुङ्गो लगाउन सक्दैन। त्यसमा सरकार र कानुन मन्त्रालयका तर्फबाट पनि प्रतिबद्धता आएको छ। कानुनहरूमा केही समस्या छन् र हामी समस्याको समाधान निकाल्ने राजनीति गर्न चाहन्छौँ। कानुन, न्याय तथा मानव अधिकार समितिमा धेरै विकास साझेदारका साथीहरू आएर नीतिमा सुधार गरौँ भन्नुहुन्छ। हामी सम्बन्धित पक्षसँग समितिकै हलमा छलफल गर्न तयार छौँ। कहाँ कहाँ समस्या छन्, ती सबैलाई समाधान गरौँ। हामी कानुन निर्माण गर्न आएका हौँ र त्यसमै केन्द्रित भएर काम गर्छौँ।’
मुलुकमा विद्यमान रहेका विभिन्न समस्याहरूलाई सम्बोधन गर्ने गरी कानुन निर्माण गर्ने कार्यमा आफू र आफ्नो समिति दृढताका साथ लागिपरेको जिकिर पनि सभापति बास्कोटाले गरेकी छन्। लामो समयदेखि गम्भीर बहसको विषय बन्दै आएको सङ्क्रमणकालीन न्यायको मुद्दालाई तार्किक निष्कर्षमा पुर्याउन संसदीय समितिले सरकारलाई घच्घच्याउने कामलाई निरन्तरता दिने सङ्केत उनले दिएकी छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
-
सुकुमबासी बस्तीबाट विस्थापित भेषबहादुर दर्जीको मृत्यु
-
झापामा हुरी र वर्षाले केराखेती नष्ट
-
फिल्म ‘बाः एक योद्धा’ ले सार्वजनिक गर्यो कलाकार
-
कलाकार लुकाएर छायांकन सकेको ‘बाः एक योद्धा’ले सार्वजनिक गर्यो कलाकार
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण