शनिबार, ०३ जेठ २०८२
ताजा लोकप्रिय

मुख्यसचिव अर्यालको अपिल : स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसालौँ

शनिबार, ०७ पुस २०८०, १७ : ५०
शनिबार, ०७ पुस २०८०

काठमाडौँ । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले स्वदेशी वस्तुको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरेका छन् । स्वदेशी उद्योगलाई सफल बनाउनका लागि पनि आम उपभोक्ताले स्वदेशी वस्तुको उपभोग गर्ने बानी बसाल्नुपर्ने उनको भनाई थियो । 

शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मुख्यसचिव अर्यालले आफूले नेपाल सरकारको सचिव भएयता प्रायः नेपाली जुत्ता नै प्रयोग गर्ने गरेको उल्लेख गर्दै आम उपभोक्ताले पनि त्यसरी नै प्रयोगमा ल्याए स्वदेशी उद्योगको पनि प्रवर्द्धन हुने बताए । उनले नेपाली वस्तु उत्पादनका लागि चाहिने पूर्वाधारको विकासमा सरकारले भरपुर सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । 

उनले भने, ‘उद्योगीहरूले मात्रै गरेर हुँदैन । हामी उपभोक्ताहरूले पनि सँगसँगै साथ दिनुपर्छ । सरकारले उत्पादन र बजारीकरणलाई सहयोग गरिदिने हो । उत्पादनलाई बढाउनका लागि सरकारले पूर्वाधारको तर्फबाट केही गरिदिन सक्छ । सरकार फेरि आफैँ उत्पादन गरेर निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्ने पक्षमा छैन अहिले । विगतमा कुनै बेला त्यो पनि गरियो होला । तर उत्पादनका लागि चाहिने पूर्वाधारहरू हुन्छन् । कहिले भौतिक पूर्वाधारका कुरा होलान् । कहिले काहीँ संस्थागत पूर्वाधार भनेको कानुनी पूर्वाधारको कुरा पनि होला । त्यो पाटोमा हामी भरपुर सहयोग गर्छौँ । उत्पादन उहाँहरूले गर्नुहुन्छ । अनि सरकारबाट नहेरीकन एउटा उपभोक्ता म र एउटा उपभोक्ता यहाँहरू सबैले नेपाली वस्तुहरूलाई उपभोग गर्दै जाने बानी बसाल्नुभयो भने अनि हामी यसमा सफल हुन्छौँ । होइन भने यसो स्वदेशीको लोगो, गैँडाको लोगो रहेछ भनेर चित्त बुझाएर मात्रै हुँदैन ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले स्वदेशी वस्तुको उत्पादनमा नै सरकारले सहयोग गर्नुपर्ने बताए । उनले जुत्ता लगायतका वस्तुहरूमा नेपाल आत्मनिर्भरतातर्फ उन्मुख रहेको उल्लेख गर्दै त्यस्ता वस्तुहरूको उत्पादनमा सरकारको पनि सहयोगको अपेक्षा गरिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप