शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
संकल्प यात्रा

एमाले अभियानमा ४२ जनसभा–१०० भेला, यस्ता छन् ७ निष्कर्ष (पूर्ण पाठसहित)

आइतबार, ०८ पुस २०८०, १६ : २२
आइतबार, ०८ पुस २०८०

काठमाडौँ । नेकपा एमालेले मध्य पहाडलाई सम्मृद्धिको केन्द्र बनाउने घोषणा गरेको छ । मङ्सिर १४ देखि पुस १ सम्म गरेको मध्यपहाडी राजमार्गको यात्राबारे मध्य पहाडमा गर्नुपर्ने केही अनिवार्य कामहरूको सूची तयार गर्दै एमालेले यस्तो सङ्कल्प गरेको हो ।

स्थानीयका समस्या र समाधान खोज्ने उद्देश्यले यात्रा सम्पन्न गरेको एमालेले त्यसअन्तर्गत मध्य पहाडमा ४२ वटा ठुला सभा र सयभन्दा बढी संक्षिप्त सभा गरेको थियो  । आइतबार संकल्प यात्राबारे पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा एमालेले तीन साता लामो यात्राका क्रममा खासगरी मध्य पहाडको आर्थिक राजनीतिक, सामाजिक तथा सांस्कृतिक समस्या बुझ्ने मौका पाएको जनाएको छ ।

बैतडीको झुलाघाटबाट सुरु भएर पाँचथरका चिवाभञ्ज्याङ पुगेर समापन भएको उक्त यात्रामा एमालेले गोठाला पानी, अमरगढी, सिलगढी, साँफेबगर, मङ्गलसेन, राकम–कर्णाली, दैलेख बजार, सुर्खेत, सल्ली बजार, सिम्ता, छेडागाड, रिम्ना, रुकुमकोट, लुकुम, बुर्तिबाङ, वामीटक्सार, गलकोट, बागलुङ, कुस्मा, हेम्जा, अमरसिंह चोक, तालचोक, सुन्दरबजार, पालुङटार, आरुघाट, बट्टार, छहरे, बाहुनेपाटी, कुन्ताबेसी, खाडिचौर, चरिकोट, मन्थली, खुर्कोट, हर्कपुर, दिक्तेल, पङ्खु, अन्नपूर्ण, भोजपुर, वसन्तपुर, सक्रान्तिबजार, फिदिम, च्याङ्थापु लगायतका स्थानमा ठुला सभा गरेको थियो । त्यस्तै १०० भन्दा बढी संक्षिप्त सभा, जनभेला र भेटघाटहरू भएको एमालेले जनाएको छ ।

यात्राका क्रममा मध्य पहाडमा सबभन्दा ठुलो समस्या बसाइसराइ रहेको निष्कर्ष निकालेको एमालेले ती क्षेत्रको विकास निर्माणका लागि सातवटा निष्कर्षसहित सङ्कल्प गरेको छ । एमालेले नेपाली जनता लोकतान्त्रिक गणतन्त्र र समाजवादका पक्षमा रहेको निष्कर्ष निकाल्दै सामाजिक न्याय, राष्ट्रिय एकता र सामाजिक सद्भावका पक्षमा रहेको जनाएको छ ।

‘निश्चय नै, जनताका गुनासा पनि छन्, सुझावहरू पनि छन् । कतिपय सन्दर्भमा आलोचना पनि छन् । रचनात्मक र सही गुनासा, सुझाव र आलोचनाहरूलाई ग्रहण गर्दै हामी सङ्कल्प गर्दछौँ– हामी लोकतान्त्रिक गणतन्त्रका पक्षमा दृढतापूर्वक उभिने छौँ’, एमालेले भनेको छ ।

परिवर्तनलाई उल्ट्याउन, नेपाललाई मध्ययुगतिर फर्काउन र जनताको अभिमत बिनाको जन्मसिद्ध श्रेष्ठताको सामन्ती व्यवस्था पुनर्स्थापना गर्ने प्रयासलाई कुनै पनि हालतमा सफल हुन नदिने सङ्कल्प गरेको एमालेले भनेको छ, ‘हामी स्पष्ट छौँ– लोकतान्त्रिक गणतन्त्रको विकल्प अझ उन्नत स्तरको लोकतान्त्रिक गणतन्त्र मात्रै हुनसक्छ ।’

त्यस्तै एमालेले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विविधता एवम् त्यही विविधता भित्रको एकता नै नेपालको पहिचान भएको भन्दै एकतालाई अझ सुदृढ र मजबुत बनाउन लागिपर्ने जनाएको छ ।

‘सामाजिक विद्वेष, अतिवाद, हिंसा र अराजकताका कुनै पनि प्रयासलाई सफल हुन दिने छैनौँ । विधिसम्मत, कानुन मुताबिक र लोकतान्त्रिक ढङ्गले प्रस्तुत हुने जुनसुकै विषयमा छलफल गर्न र लोकतान्त्रिक विधिबाट समाधान खोज्न हाम्रो पार्टी सधैँ सकारात्मक र खुल्ला छ’, एमालेले भनेको छ, ‘तर हुलहुज्जत, अराजकता र हिंसाको बाटो अस्वीकार्य छ । हाम्रो संवैधानिक व्यवस्था भनेको खुल्ला प्रतिस्पर्धात्मक व्यवस्थामार्फत समाजवादतिरको यात्रा हो ।’

एमालेले विचारमा बहुलता स्विकार्ने तर भिन्न मत भएका दल वा समूहको उपस्थितिलाई समेत प्रतिबन्ध लगाउँछौँ भन्ने खालका ‘तानाशाही’ सोच र व्यवहारलाई  अस्वीकार गर्ने जनाएको छ ।

एमालेले समृद्धि र विकासको जगमा मात्रै लोकतन्त्र अप्रतिरोध्य बन्न सक्ने निष्कर्ष पनि निकालेको छ । ‘यसको बलमा मात्रै राष्ट्रियता सुदृढ हुनसक्छ । तर पछिल्लो समय गठबन्धन सरकारका भ्रष्ट र दोहनकारी क्रियाकलापका कारण जनतामा निराशा बढ्दो छ । राष्ट्रिय हित जोखिममा पर्न थालेको छ’ एमालेले आफ्नो निष्कर्षमा भनेको छ, ‘कतिपय लोकतन्त्र विरोधी तत्त्वहरू यस्ता निराशालाई लोकतन्त्रकै विरुद्ध प्रयोग गर्न प्रयत्नशील देखिएका छन् । हामी सङ्कल्प गर्छौँ– हामी सुशासनको प्रत्याभूति गर्न, विकासको यात्रालाई निर्बाध अगाडि बढाउन र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा साकार पार्न सदनभित्र र बाहिर थप प्रयत्नशील रहने छौँ ।’

एमालेले आवश्यक परे जनपरिचालनको बाटो अवलम्बन  गर्ने समेत सङ्केत गरेको छ । साथै एमालेले यात्राका क्रममा जनताले राखेका मागलाई पुरा गर्नेतिर लाग्ने समेत जनाएको छ ।

‘तपाईंहरुको भरोसा र तपाईंहरुले दिनुभएको नासोलाई हामीले अलपत्र पर्न दिने छैनौँ’, एमालेले भनेको छ, ‘यतिबेला हामी ती मागहरूको अध्ययन, विश्लेषण र वर्गीकरण गरिरहेका छौँ । यो काम सकिने बित्तिकै हामी ती विषयहरू राज्यको जुन तह– सङ्घीय, प्रादेशिक या स्थानीय तह– सँग सम्बन्धित छ, त्यहाँ बुझाउने छौँ र तिनको समाधानका लागि सम्बन्धित निकायसँग ध्यानाकर्षण र पहल गर्नेछौँ, आवश्यकताअनुसार जनदबाब दिनेछौँ ।’

वर्तमान सरकारले जनताका माग सम्बोधन नगरे पनि आफ्नो नेतृत्वको सरकार बन्नासाथ यसको दिगो समाधान र कार्यान्वयन गर्ने एमालेको भनाइ छ ।

साथै आफूले देखेका र स्थानीयबाट अभिव्यक्त भएका सम्भावना र चुनौतीका आधारमा एमालेले मध्य पहाडको विकास र समृद्धि सम्बन्धी ठोस परियोजना सार्वजनिक गर्ने पनि जनाएको छ । ‘यसक्रममा हामी विज्ञहरू, जनप्रतिनिधिहरू र अन्य आवश्यक पक्षसँग सघन छलफल गर्नेछौँ, गहन अध्ययन गर्नेछौँ । हाम्रो सङ्कल्प छ– हामी पहाडी भूभागलाई समृद्धिको केन्द्र बनाउने छौँ’, पत्रकार सम्मेलनमा यात्राबारे संक्षिप्त जानकारीमा एमालेले भनेको छ । 

पूर्णपाठ :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप