मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

ओस्कार विजेता फिल्म ‘प्यारासाइट’का अभिनेता लि सन–क्युन मृत भेटिए

बुधबार, ११ पुस २०८०, १२ : ०१
बुधबार, ११ पुस २०८०

सोल । दक्षिण कोरियाली अभिनेता लि सन–क्युन मृत भेटिएका छन् । लि ओस्कार विजेता फिल्म प्यारासाइटमा उनको भूमिकाका लागि चर्चित थिए । ४८ वर्षीय अभिनेता बुधबार सोलको एउटा मुख्य पार्क क्षेत्रमा कारभित्र अचेत अवस्थामा भेटिएको सञ्चार माध्यमहरूले बताएका छन् । लिको मृत्यु हो कि आत्महत्या भन्ने चाँहि स्पष्ट भई नसकेको भन्दै बीबीसीले समाचार छापेको छ ।

लिले घरमा एउटा नोट लेखेर हिँडेको प्रहरीले बताएको छ । उनीमाथि अक्टोबरदेखि लागू औषध दुर्व्यसनको आरोपमा छानबिन भइरहेको थियो । स्थानीय समाचार संस्था योन्ह्यापका अनुसार सोलमा बारका एक कर्मचारीसँग बसेर उनले लागू औषध खाएका थिए । आफूले खाएको चिज गैर कानुन लागू औषध भएको थाहा नपाएको सोधपुछका क्रममा लिले भनेका  थिए । बारकी ती कर्मचारीले भने लिले आफ्नो घरमा कयौं पटक लागू औषध खाएको प्रहरीलाई भनेकी थिइन् । यो आरोपको लिले खन्डन गरेका थिए ।

उनले आफ्नो वकिलमार्फत लाइ डिटेक्टर  परीक्षण गराउन अनुरोध समेत गरेका थिए । लिको लागू औषध परीक्षणको नतिजा भने नकारात्मक वा अपुरो आएको थियो । अनुसन्धानको बीचमा लिको मृत्युको घटनाबाट प्रहरीहरू पछुतो मानिरहेका छन् । अनुसन्धान लिकै अनुमतिमा भएको बताइएको छ ।  पछिल्लो समय दक्षिण कोरियाले लागू औषध विरुद्ध कारबाही तीव्र पारेको थियो । यस मामिलामा अन्य केही सेलिब्रेटीहरु पनि मुछिएका छन् ।

दुई दशक लामो करियरमा उनले दर्जनौँ चलचित्र र टेलिभिजन शोमा काम गरेका थिए । सन् २०१० का ताका उनी दक्षिण कोरियामा निकै लोकप्रिय थिए । प्यारासाइटबाट उनले अन्तर्राष्ट्रिय ख्याती कमाएका थिए । चलचित्रले सन् २०२० मा ओस्कार अवार्ड हात पारेको थियो । उनले नायिका जिओन हेई–जीनसँग विवाह गरेका थिए । उनका दुई छोरा रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप