मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

रास्वपाको केन्द्रीय सदस्यमा प्रकाशचन्द्र परियारको उम्मेदवारी

मङ्गलबार, ०९ असार २०८३, १२ : ०४
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता प्रकाशचन्द्र परियारले केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिने भएका छन्।
  • पत्रकारिता, मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा क्रियाशील परियारले वैकल्पिक राजनीतिक अभियानमा सक्रिय अनुभवलाई पार्टी संगठन निर्माण तथा नीतिगत नेतृत्वमा प्रयोग गर्ने प्रतिबद्धता जनाएका छन्।
  • दलित समुदायबाट आएका परियार शिक्षित, अनुभवी र राष्ट्रिय दृष्टिकोण भएका नेताका रूपमा चिनिन्छन् र उनले अन्तर्राष्ट्रिय स्तरमा समेत नेतृत्व विकास र सामाजिक न्यायका क्षेत्रमा पहिचान बनाएका छन्।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदका लागि नेता प्रकाशचन्द्र परियारले उम्मेदवारी दिने भएका छन्। चितवनमा जारी पार्टीको महाधिवेशनबाट चयन हुने नयाँ कार्यसमितिका लागि प्रतिनिधिसभाका सचेतक समेत रहेका उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन् । 

 पत्रकारिता, मानवअधिकार, सामाजिक न्यायका क्षेत्रमा क्रियाशील हुँदै वैकल्पिक राजनीतिक अभियानमा सक्रिय परियारले आफ्नो अनुभव र दृष्टिकोणलाई पार्टी संगठन निर्माण तथा नीतिगत नेतृत्वमा प्रयोग गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिन लागेको बताए । 

मूलधारको पत्रकारिताबाट सार्वजनिक जीवन सुरु गरेका परियारले कान्तिपुर टेलिभिजनमा एक दशकभन्दा बढी समय सामाजिक तथा राजनीतिक विषयमा सक्रिय पत्रकारिता गरेका थिए। पत्रकारका रूपमा उनले शासन, राजनीति र सार्वजनिक सरोकारका विषयमाथि निरन्तर निगरानी गर्नुका साथै सीमान्तकृत समुदायका मुद्दालाई राष्ट्रिय बहसको केन्द्रमा ल्याउने प्रयास गरेका थिए। 

परियारले मानवअधिकार र सामाजिक न्यायका क्षेत्रमा पनि लामो समय काम गरेका छन्। उनले ह्युमन राइट्स जर्नालिस्ट एसोसिएसन (एचआरजेए) को संस्थापक अध्यक्षका रूपमा काम गरेका थिए। त्यस्तै, नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा रहेर प्रेस स्वतन्त्रता, समावेशिता र जिम्मेवार सञ्चारको पक्षमा भूमिका निर्वाह गरेका थिए।

 दलित समुदायबाट आएका परियार शिक्षित, अनुभवी र राष्ट्रिय दृष्टिकोण भएका नेताका रूपमा चिनिन्छन्। परियारले अन्तर्राष्ट्रिय स्तरमा समेत नेतृत्व विकास र सामाजिक न्यायका क्षेत्रमा पहिचान बनाएका छन्। उनले अस्ट्रेलियन लिडरसिप अवार्ड प्राप्त गरी नेतृत्व विकाससम्बन्धी अध्ययन तथा तालिम पूरा गरेका छन्। साथै मानवअधिकार र सामाजिक न्यायको क्षेत्रमा योगदान पुर्‍याएबापत भारतमा डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका थिए।

विगतमा विवेकशील साझा पार्टीको केन्द्रीय उपाध्यक्षको जिम्मेवारी सम्हालेका उनले नीतिगत बहस, संगठन निर्माण र सुशासनका एजेन्डालाई निरन्तर उठाएका थिए। विवेकशील साझा पार्टी रास्वपामा एकीकृत भएसँगै केन्द्रीय सदस्य तथा संघीय सांसदका रूपमा सक्रिय रहेका उनी पार्टीभित्र सामाजिक न्याय, समावेशिता र जवाफदेहिताका मुद्दामा मुखर मानिन्छन्।

रास्वपाको महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप