बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

जलवायु परिवर्तनले किशोरीहरूको शिक्षासहित मानसिक स्वास्थ्यमा प्रभाव

बिहीबार, २६ पुस २०८०, १० : १६
बिहीबार, २६ पुस २०८०

काठमाडौँ । जलवायु परिवर्तनले किशोरीहरूको जीवनमा पारेको असरबारे अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।  जलवायु परिवर्तनले किशोरीहरूमा पारेको असर सम्बन्धमा नेपालसहित अस्ट्रेलिया र इन्डोनेसियामा अध्ययन गरिएको प्रतिवेदन सार्वजनिक गरिएको हो । 

३० जना अध्ययन कर्ता किशोरीहरूले अनुसन्धान गरी तयार पारिएको ‘फर आवर फ्युचर्सः युथ भ्वाइस अन क्लाइमेट जस्टिस एण्ड एजुकशेन’ लाई प्लान इन्टरनेसनले काठमाडौँमा सार्वजनिक गरेको हो । अध्ययन प्रतिवेदनमा जलवायु परिवर्तनले विकसित देश अस्ट्रेलियाका किशोरीमा पारेको असर र विकासोन्मुख देश नेपाल र इन्डोनेसियाका किशोरीहरूमा पारेको असरलाई तुलना पनि गरिएको छ । 

तीन वटै मुलुकका १०/१० जना किशोरीहरू संलग्न रहेको अध्ययनमा सबै वर्ग तहसहित बढी जोखिमयुक्त क्षेत्रका १ सय ५२ जना नेपाली किशोरीसहित ५ सय जना किशोर किशोरीलाई सहभागी गराइएको थियो । अध्ययनले जलवायु परिवर्तनका कारण किशोरीहरूको शिक्षा, स्वास्थ्य र खानपानमा असर परेको देखाएको छ । 

शिक्षामा परेको प्रभावले दीर्घकालीन रूपमा रोजगारीसँग जोडिएर भविष्यमा नै ठुलो प्रभाव पार्ने अध्ययनमा देखाइएको छ । रोजगारीकै समस्याका कारण पनि किशोरीहरूमा थप मानसिक समस्या निम्त्याउने गरेको अध्ययन प्रतिवेदनले देखाएको छ । प्लान इन्टरनेशनल नेपालका क्याम्पेन प्रमुख लक्ष्मी चौधरीले पिछडिएका क्षेत्रमा अभिभावकहरूले जलवायुजन्य विपद्लाई बहाना बनाएर छोरीलाई शिक्षाको पहुँचबाट टाढा राख्ने गरेको पाइएको बताइन् । अध्ययनमा सहभागी ९८ प्रतिशत किशोरीहरूले जलवायु परिवर्तनले आफूहरूको शिक्षामा बढी असर परेको बताएका छन् ।

यसैबिच अध्ययनमा संलग्न किशोरीहरूले पेन्टिङको माध्यमबाट आफूहरूमा परेको असरबारे उजागर गरेका छन् । प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनीहरूले गरेको पेन्टिङलाई पनि प्रदर्शनीमा राखिएको थियो ।

अध्ययनकर्ता बाँकेकी रहिमान खानले जलवायु परिवर्तनका कारण किशोरीहरूमा परेको असरलाई पेन्टिङका माध्यमबाट देखाइएको बताइन् । समाजमा छोरीलाई शिक्षाको अधिकारबाट वञ्चित गराउने प्रयास जारी रहेको बेलामा जलवायुजन्य विपद्ले अभिभावकलाई झनै विद्यालय नपठाउने बहाना मिलेको उनको भनाई थियो ।

उनले भनिन्, ‘हाम्रो समाजमा एक त छोरीलाई विद्यालय नपठाउने प्रचलन त्यो माथि बुबाआमाहरुलाई भूकम्प लगायत, वर्षा, बाढीका कारण विद्यालय नपठाउने बहाना हुन्छ । त्यो नै हामीले देखाउन खोजेका छौँ । क्लाइमेट राम्रो भयो भने हामीले हाम्रो समाजमा पनि राम्रो साथ र सहयोग पाउँछौँ ।’

अध्ययन प्रतिवेदनले १० देखि २४ वर्षका किशोरीहरूको शिक्षामा जलवायु परिवर्तनको प्रभावलाई उजागर गरेको छ । युवा अनुसन्धानकर्ताहरूले जलवायु सङ्कटबाट प्रभावित किशोर किशोरीको ९६ तस्बिर, ग्राफिक्स र भिडियो सङ्कलन गरेका छन् । तीमध्ये ५५ तस्बिर नेपालका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप